PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

धमाधम मुद्दा छाड्दै कांग्रेस, छाया सरकार गठन प्रक्रियामा कमा, १४ दिनपछि खुलायो सदन, गलेकै हो त कांग्रेस?



बीपी साह

धमाधम मुद्दा छाड्दै कांग्रेस, छाया सरकार गठन प्रक्रियामा कमा, १४ दिनपछि खुलायो सदन, गलेकै हो त कांग्रेस?

काठमाडौं: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले १४ दिनपछि सदन सामान्य रुपमा चल्न दिएको छ।

दुई तिहाईको सत्तारुढ दलले पेलेरै गएपनि १४ दिनपछि कांग्रेस सदन खोल्न बाध्य भएको हो। संसदमा बल प्रयोग गरी राष्ट्रिय चिकित्सा विधेयक पारित गरिसकेको छ भने डा.गोविन्द केसी अनशनबाट पछि हट्न बाध्य भएका छन्।

कांग्रेसको विरोधले सरकार एउटा निर्णय सच्याउन भने बाध्य भयो। कांग्रेसका नेताद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा रहेको अस्पतालहरु केन्द्रमै राख्ने निर्णय गरेको छ। यसबाट कांग्रेसलाई केही राहत भएको देखिन्छ।

संसद अवरोधको टाइमलाइन

माघ सात गतेदेखि नियमित संसद अवरुद्ध गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आइतबारबाट सदन खुलाएको हो।

चिकित्सा शिक्षामा सुधारको माग राखी पुस २५ गतेबाट १६ औं पटक अनशन थालेका डा.गोविन्द केसीको समर्थन गर्दै कांग्रेसले सदनमा सरकारले प्रस्तुत गरेको चिकित्सा शिक्षा विधेयकमा असहमति जनाउँदै आएको थियो। तर, डा.केसीकै विषयलाई लिएर कांग्रेसले सदन भने अवरुद्ध गरेन।

तर, कांग्रेसका नेताहरु स्व.गिरिजाप्रसाद कोइराला र स्व.सुशील कोइरालाको नामको अस्पतालहरु केन्द्र सरकारले आफ्नो मातहतमा नराखेको भन्दै कांग्रेसले सदन अवरुद्ध सुरु गरेका थिए।

पुस १९ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रिपरिषद्मा पठाएको विभिन्न ११ अस्पताल मध्ये कोइराला द्वयको नाममा रहेको अस्पतालहरुलाई केन्द्रमा राखिएको थिएन। जसको विरोध कांग्रेसले सुरु गरेको थियो।

पुस ३० गते पत्रकार सम्मेलन गरी कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारको निर्णयको विरोध गरेको थियो।

माघ ७ गतेबाट कांग्रेसले संघीय संसद अवरुद्ध गर्ने क्रम सुरु गर्‍यो।

माघ ७ गते कांग्रेसले राष्ट्रिय सभाको दुईवटै बैठक अवरुद्ध गरेको थियो। त्यसपछि एक साताका लागि बैठक स्थगित गरिएको थियो।

सोही दिनबाट प्रतिनिधि सभाको बैठक पनि अवरुद्ध गर्ने क्रम सुरु भयो। प्रतिनिधि सभाको बैठक अवरुद्ध गर्नु अघि बैठकमा बोल्दै संसदीय दलका उपनेता विजय गच्छदारले कांग्रेसको इतिहासमाथि प्रहार भएको बताएका थिए।

माघ ८ गतेको प्रतिनिधि सभा बैठकमा नेता प्रकाशमान सिंहले बोले र वेलमा पुगेर नारावाजी सुरु भएको थियो । १५ मिनेटका लागि स्थगित भयो। दोस्रो बैठकमा पनि कांग्रेसले वेल घेर्दै नारावाजी सुरु गरेका थिए तर नारावाजीका बिच सभामुख कृष्णबहादुर महराले चिकित्सा शिक्षा विधेयक संसदमा पेश गर्न शिक्षा मन्त्री गिरिराजमणि पोखरेललाई निर्देशन दिएका थिए।

वेलमा ठेलाठेलका बिच मन्त्री पोखरेल विधेयक टेबुल गर्न असफल भएका थिए।

त्यसपछि माघ ११ गतेको प्रतिनिधि सभा बैठकमा कांग्रेसको अवरोधका बिच चिकित्सा विधेयक पारित भएको थियो।

माघ १७ गते संसद अवरुद्ध गर्दै मिनेन्द्र रिजालले बोलेका थिए। त्यतिन्जेल नेताद्वयको नाममा रहेको अस्पताल केन्द्रको मातहतमा ल्याउने निर्णय सरकारले गरिसकेको थियो। तर पनि संसद अवरोध जारी रह्यो।

चिकित्सा विधेयक दुबै सदनबाट पारित र डा.गोविन्द केसीले अनशन तोडेपछि माघ २० गतेको बैठकमा कांग्रेस नेता गगन थापाले बोल्दै सदन खुलाएका छन्।

उता राष्ट्रिय सभामा माघ १४ गतेको दुबै बैठक कांग्रेसले अवरोध गरेका थिए। तर अवरोधकाबिच चिकित्सा शिक्षा विधेयक टेबुल भएको थियो।

माघ १७ गते कांग्रेसको विरोधका बाबजुद राष्ट्रिय सभाबाट पनि चिकित्सा विधेयक पारित भयो। र, सोमबारबाट राष्ट्रिय सभा पनि कांग्रेसले खुलाएको छ।

कांग्रेसलाई चिढाउँदै सरकारले संवैधानिक परिषद्बाट ५ वटा संवैधानिक आयोगका अध्यक्षहरुको नाम सिफारिस गरेको थियो। जसप्रति कांग्रेसले असन्तुष्टि जनाउँदै निर्णय सच्याउनु पर्ने माग गरेका थिए।

तर, त्यसबाट पनि कांग्रेस पछि हटेको छ । सर्वोच्च अदालत जाने तयारी गरेको कांग्रेस अब संवैधानिक आयोगका विषयमा पनि आजाव मत्थर पारेको हो।

पछिल्लो पटक कांग्रेसले सभामखु र उपसभामुख फरक फरक दलको हुनुपर्ने अडान पनि छोडेको छ। वाइडवडी विमान भ्रष्टाचारको विषयलाई पनि कांग्रेसले उठाउन छाडेको छ। एक पछि अर्को गरी कांग्रेसले अडान छोड्दै जाँदा कांग्रेस गलेको भन्ने चर्चा पार्टीभित्रै सुरु भएको छ।

सत्तारुढ दलले पेलेर गएपछि कांग्रेस गलेको भनेर नलिन कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा बताउँछन्। भोलि कांग्रेसले आफ्नो शक्ति प्रदर्शन गर्नेसमेत उनले बताए।

‘हामी गलेका छैनौं। कांग्रेस कांग्रेस नै हो। कहिले गल्दैन,’ पहिलोपोस्टसँग प्रवक्ता शर्माले भने,‘कांग्रेसले आवश्यता अनुसार अडान लिन्छ। आवश्यकता अनुसार सहयोग गर्छ।’

कांग्रेस कम्युनिष्ट पार्टी जस्तो कुर्सी भाँच्ने खालको नरहेको उल्लेख गर्दै भने,‘कांग्रेस भनेको कम्युनिष्ट होइन। कांग्रेसले रोष्टम घेर्‍यो। तर कुर्सी भाँचेन। हामी सभ्य भएर प्रस्तुत भयौं।’

कांग्रेसले सदन खुलाए पनि आफ्ना मागहरुबाट पछि नहटेको उनी बताउँछन्।

‘हामी भोलि देशव्यापी प्रदर्शन गर्दैछौं। सडकमा भोलि देखिने छ,’ शर्माले भने,‘सदनमा पनि हाम्रो भूमिका राहिरहनेछ।’

कांग्रेसले सडक र सदनबाट सरकारलाई सही बाटोमा हिडाउँने तयारी गरेको शर्माले बताए।

यसैबीच आइतबारको संसद बैठकमा पनि कांग्रेस नेता गगन थापाले आफूहरु कमजोर नभएको बताउँदै सरकारलाई आश्चर्य चकित पार्ने दाबी गरे।
 

छाया सरकारको चर्चा ओझेलमा

पटकपटक छाया सरकार बनाउने विषय चर्चामा ल्याए पनि कांग्रेसले छाया सरकार गठन गर्न सकेको छैन। पुस २४ गते बसेको संसदीय दलको बैठकले सात दिनभित्र छाया सरकार गठन गर्ने निर्णय गरेको थियो। विभिन्न सांसदहरुले नाम पनि टिपाए। सभापति शेरबहादुर देउवाको नेतृत्वमा छाया सरकार गठन गर्ने भनिए पनि त्यो विषय अहिले सेलाएको छ। यसअघि पनि कांग्रेसले छाया सरकार गठन गर्ने चर्चा चलाएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell