PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

स्थानीयको विरोधबीच विश्वरुप मन्दिरमा 'कंक्रिटका पिल्लर' ठड्याउन १२ वटा खाल्डो

स्थानीयको विरोधबीच विश्वरुप मन्दिरमा 'कंक्रिटका पिल्लर' ठड्याउन १२ वटा खाल्डो

सहयोग रञ्जित/पहिलोपोस्ट


काठमाडौं : भूकम्पले क्षतिग्रस्त पशुपति श्लेष्मान्तकमा रहेको विश्वरुप मन्दिर पुनर्निर्माण विवादमा परेको छ। 

२०७२ सालमा वैसाख १२ गतेको भूकम्पले प्रभावित मन्दिरको समयमै संरक्षण नहुँदा वर्षाले गजुरको पूरै भाग भत्किएको थियो।

भूकम्प गएको ४ वर्ष पुग्न लाग्दा पनि मन्दिर पूर्नर्निर्माण हुन सकेको छैन। अझ मन्दिरको संरक्षण गर्ने नाममा मन्दिरको अस्तित्व नै संकटमा पर्ने गरी पुन:निर्माण भइरहेको छ। 

आज काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, प्रदेश नम्बर तीनका सांसद नरोत्तम बैद्य लगायत स्थानीय निकायका प्रतिनिधि र सम्पदा संरक्षण अभियानका अभियन्ताहरुले गरेको निरीक्षणका क्रममा श्लेष्मान्तक वनमा रहेको विश्वरुप मन्दिरमा ढलान गरी कंक्रिटका पिल्लर ठ्ड्याउन खाल्डो खनेको भेटेको छ। 

पशुपति क्षेत्र विकास कोषले पुरातत्व विभाग र काठमाडौं महानगरपालिकालाई जानकारी नदिइ विश्वरुप मन्दिरमा उत्खनन गरेको पनि खुलेको छ। 

कोषले मन्दिरका काठ, झ्याल, इँट्टा लगायतका सामाग्रीहरु संरक्षण गरी राखेको बताए पनि त्यहाँ पुग्दा त्यस्तो देखिएन। मन्दिरको गजुर ढलेको अवस्थामा नै छ। वरिपरिका भवनहरु भूकम्पले भत्किएका छन्। ऐतिहासिक काठ, मूर्ति र इँट्टाहरु खुल्ला रुपमा राखिएका छन्। मन्दिर प्रवेश गर्नेबित्तिकै तारे जाली र पिल्लर ठड्याउन तयार अवस्थामा रहेको डण्डीहरु देख्न सकिन्छ।  

हात्तीपाइले कंक्रिटका पिल्लर ठड्याउन मन्दिरका चारै भागमा ५/५ फुटका १२ वटा खाल्डो खनिएको छ। मन्दिरको जगमा असर पुग्नेबारे कुनै अध्ययन नगरी मन्दिर पुनर्निमाण नहुन्जेलसम्मका लागि ठूलो ट्रस बनाउने भन्दै र्निर्माण कार्य भइरहेको बताइएको छ। 

उपप्रमुखको नेतृत्वमा निरीक्षण गएकाले मात्रै मन्दिरभित्र आज प्रवेश दिइएको हो। अरु समय त्यहाँ जान र फोटो लिन प्रतिबन्ध लगाइएको छ।
मन्दिर क्षेत्रको निरीक्षण गर्दै उपप्रमुख खड्गीले विश्व सम्पदा क्षेत्रमा सूचिकृत सम्पदामा कुनै नयाँ निर्माण गर्न सम्बन्धित निकायको स्वीकृति बिना केही गर्न नहुने प्रावधान हुँदा हुँदै विश्वरुप मन्दिरको जगमा नै असर पर्ने गरी भएको निर्माण बारे आपत्ति जनाएकी थिइन्। 

पुरातत्व विभाग र महानगरलाई कुनै जानकारी नदिइ सम्पदा क्षेत्रमा बालुवा, डण्डी, गिट्टी, तारे जाली लगायतका सामाग्री प्रयोग गर्दा पशुपति विश्व सम्पदा क्षेत्रबाट हट्न सक्नेतर्फ सचेत हुनुपर्ने उनले बताइन्। 

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकाललाई मन्दिरलाई पानीबाट बचाउन पुर्ननिर्माण नभएसम्म त्यसलाई संरक्षण गर्न भनेकोमा कंक्रिटको संरचना नै ठ्ड्याउने प्रयास भएकोमा स्थानीय सरकारको अवमूल्यन भएको उनको तर्क थियो। 

यस्तै प्रदेश नम्बर ३ का सांसद नरोत्तम वैद्यले प्राचीन स्मारक संरक्षण ऐन र सम्पदा सूचीमा परेको सम्पदाको मर्म विपरीत काम भएको भन्दै कोषमा तानाशाही प्रवृत्ती हावी हुँदा एकलौटी ढंगले काम भइरहेको बताए। विश्वरुप र पशुपति क्षेत्रमा रहेका अन्य सम्पदाहरुको सम्बन्धमा सर्वोच्च अदालतको आदेश नै पालना नगरी कोष 'दादागिरी' तरिकाले अघि बढ्न खोजेको उनको आरोप थियो।

विश्वरुप मन्दिरको निरीक्षणपछि टोली गौशालास्थित पशुपति क्षेत्र विकास कोषको कार्यलयमा पुगेको थियो। कार्यव्यस्तताले ढिला पुगेका सदस्य सचिव डा प्रदीप ढकाल मन्दिरमा बनिरहेको खाल्डो र त्यसको प्रायोजनबारे अनभिज्ञ जस्तो देखिन्थे। 

कंक्रिटका पिल्लर बनाउनेबारे प्रश्न गर्दा उनले कोषको योजना महाशाखाका प्रमुख भरत मरासिनीलाई उत्तर दिन भने।

मरासिनीले मन्दिरका पर्खालहरु जीर्ण भएकाले 'स्ट्रक्चल एनालाइसिस' बाट मन्दिरको काम नसकेसम्म त्यहाँका सामाग्रीहरु संरक्षण गर्न ट्रस बनाएको बताए। उनले ट्रस बनाउने नाममा कंक्रिट र डण्डीको प्रयोग गरेको स्वीकर गरे। यद्यपि, मन्दिर पुनर्निर्माण सकेपछि पिल्लरहरु र त्यसको निर्माणमा प्रयोग भएका सबै सामाग्रीहरु हटाउने गरी काम गरेको उनले दाबी गरे। 'रिभर्सिवल केस'- पुनर्निर्माण पछि सबै संरचना हटाउने गरी कार्य भइरहेकाले आफूहरुले पुरातत्व र महानगरलाई जानकारी नगराएको उनले स्वीकारे। 

लगत्तै उपप्रमुख खड्गीले सिमेन्टको प्रयोगबाट भइरहेको निर्माण रोक्न र सच्याउन कोषलाई निर्देशन दिएकी थिइन्। उनले फलामले बनेको अस्थायी संरचनाले सम्पदाको जगेर्ना नहुने भन्दै विकल्प खोज्न निर्देशन दिइन्। 

खड्गीले सदस्य सचिव ढकाललाई पशुपतिको महिमालाई मनन गर्दै यहाँका स्थानीयहरुको कथा र व्यथा समेत बुझेर काम गर्न आग्रह गरिन्।  
ढकालले भने सिमेन्ट लगायत अत्याधुनिक सामाग्रीको प्रयोग नभएको दाबी गरेका थिए। 

मन्दिरकै निरीक्षण गरेर फर्केका अभियन्ताहरुले ढकाललाई कसरी र के तरिकाले पुर्नर्निर्माण भइरहेको छ भन्ने बारे ज्ञान नै नभएको भन्दै तत्काल काम रोक्न सचेत गराएका थिए।   

अभियानका संयोजक गणपतिलाल श्रेष्ठले भूकम्पभन्दा मानिसले नै पशुपति क्षेत्रको क्षति गरिरहेको भन्दै मन्दिरको जगमै असर परेको पुष्टि भए अवैध निर्माणमा संलग्नलाई कानूनी दायरामा ल्याउने बताए।  

ढकालले 'नजिकै भइरहेको सबै कुरा आफूले देख्न नसक्ने' भन्दै सम्पदा पुनर्निर्माणमा सबै मिलेर अघि बढ्ने र विश्वरुपमा भएको निर्माणबारे बुझेर सच्चाउने वाचा गरे। पशुपति क्षेत्र र कोषका बारे बाहिर धेरै नकरात्मक कुराहरु बाहिरिएकाले मानिसहरुले प्राविधिक पक्षलाई बुझ्नु पर्ने उनले बताए। 

निरीक्षण टोली आउनुअघि फोनबाट प्राविधिकहरुलाई निर्माण प्रकियाबारे सोधेको बताएका ढकालले नीतिगत रुपमा भएका त्रुटिहरु स्वीकार्दै 'वास्तविक विज्ञ' हरुसँग समवन्य गरेर विश्वरुप मन्दिरको निर्माण गर्ने बताए। त्यसका लागि पुनर्निर्माण प्राधिकरणसँग कुरा भइरहेको उनले जानकारी गराए।  

२०७३ मै सर्वोच्च अदालतले पशुपति क्षेत्रमा कंक्रिटको प्रयोग गरी बनाइएका संरचनाहरु भत्काउन फैसला गरे पनि पशुपति विकास कोषले सर्वोच्चको आदेशको अवहेलना गर्दै कंक्रिटको प्रयोग विभिन्न संरचनाहरु बनाउँदै आएको छ। 

गत माघ १६ गते सर्वोच्च अदालतले मापदण्ड विपरितका कार्य नगर्नु नगराउनु भन्दै अन्तरकालीन आदेश दिएको अवस्था र हिजो त्यसै

फैसलालाई सदर गर्दै सर्वोच्चले अन्तरिम आदेश दिएकाले कोषले सर्वोच्चको फैसलाको सम्मान गर्नुपर्ने अभियन्ताहरुको माग छ।  
स्थानीयहरुले भूकम्पपछि रोकिएको विश्वरुपको पुजाको कार्य पुन: सुरु गर्ने वातावरण निर्माण गर्न समेत आग्रह गरेका थिए। 

वसन्तपुरको नासलचोकमा असरल्ल रहेको मल्लकालीन मूर्तिलाई विसं १९१९ मा जङ्गबहादुर राणाले विश्वरुप मन्दिरको स्थापना गरी पुजा गर्ने चलन सुरु गरेको स्थानीयहरु बताउँछन्।  

गुम्बज शैलीमा निर्माण गरिएको मन्दिरको बाहिरपट्टि उत्तरी भागमा नेपाल-भोटबीच युद्ध हुँदा फर्कने क्रममा बाटोमा भेटी ल्याइएको भैरवको मूर्ति स्थापना गरिएको बताइन्छ। 



ट्रेन्डिङ पोस्ट

Ncell