PahiloPost

Oct 22, 2019 | ५ कात्तिक २०७६


निर्मलाको सुरुवाल पखाल्ने चाँदनी : हाइप्रोफाइल अपराधीको हल्लामा चेपिएकी प्युसो प्रहरी ( #WhoKilledNirmala शृङ्खला २४ )



पहिलोपोस्ट

निर्मलाको सुरुवाल पखाल्ने चाँदनी : हाइप्रोफाइल अपराधीको हल्लामा चेपिएकी प्युसो प्रहरी ( #WhoKilledNirmala शृङ्खला २४ )

  • महेन्द्रनगरबाट फर्किएर उमेश श्रेष्ठ र सविन ढकाल -

दशैँ सुरु हुनु दुई दिनअघि मिडियामा एउटा समाचार आयो- ‘निर्मला पन्तको बलात्कार र हत्याको घटना अनुसन्धानमा लापरबाही गरेको आरोपमा थप दुई प्रहरी निलम्बनमा परेका छन्।‘

ती मध्ये एक थिइन् प्रहरी जवान चाँदनी साउद। 

आफू निलम्बनमा परेको खबर चाँदनीले समाचार हेरेर मात्र थाहा पाइन्।

समाचारहरुको त के भर हुनु र। एउटा मिडियाले त चाँदनीलाई हवल्दार लेखिदिएको थियो, एक तह बढुवा गरेर। तर यही केसमा सोधपूछका लागि हेडक्वार्टर (काठमाडौँ) तानिएका अरु सरहरुले पनि भनेपछि उनलाई बल्ल यकिन भयो- म त निलम्बनमा परेछु।

‘रोएँ सर अनि,’ महेन्द्रनगरको गल्ली नम्बर २ मा पुराना कुरा सुनाउँदै उनले भनिन्, ‘खानै खाइनँ तीन चार दिनसम्म त।‘ ओठमा हाँसो देखाउन खोजिरहेकी थिइन् तर त्यसले भित्रको पीडा झन् प्रष्ट देखाइरहेको थियो।  

यसपालिको दशैँ उनलाई दशैँ जस्तो भएन। रोएरै बिताइन्। 

***

१७ वर्षअघि पनि उनी खुब रोएकी थिइन्। 

उनी सानै थिइन् तर त्यो कालो दिनको वर्ष, गते र बारसमेत याद छ- २०५८ साल फागुन ४ गते शनिबार। 

त्यो रात तत्कालीन माओवादीले अछामको सदरमुकाम मंगलसेनमा भिषण आक्रमण गरेको थियो। सशस्त्र द्वन्द्व अवधिकै सबैभन्दा ठूलो मानिने यो आक्रमणमा ५३ सैनिक, ५९ प्रहरी, निजामतिका २ र सर्वसाधारण ८ गरी १ सय २२ जना मारिए ।

सेनाका क्याप्टेन, प्रमुख जिल्ला अधिकारी, पत्नीसहित राष्ट्रिय अनुसन्धानका निरीक्षकको मृत्यु भएको घटना भएकोले उनका पिताको नाम मारिनेहरुको लामो लिस्टमा सबैभन्दा मुन्तिर थियो- प्रहरी जवान लक्ष्मणसिंह साउद।

वर्दी मै पिताले ज्यान गुमाए पनि छोरी चाँदनीको वर्दीप्रति आकर्षण धेरै थियो। ‘सानैदेखि पुलिसको वर्दी मन पर्थ्यो। बजार जाँदा प्रहरीलाई देख्दा यस्तै हुन पाए.. भन्ने लाग्थ्यो’, उनले भनिन्।

उनको सपना तीन वर्षअघि पूरा भयो पनि। 

प्रहरी जवानको भर्ती खुलेको बेला दिपायलमा फाराम भरेर छनौटमा परिन्। २०७२ वैशाख २७ गते नियुक्ति पाइन्। पहिलो पोस्टिङ नै महेन्द्रनगरमा भयो। वर्दी लगाउन पाएपछि उनलाई लाग्यो, ‘ड्याडीको सपना पूरा गर्दैछु।‘ 

आकाशे रङको सर्टसहितको सानैदेखि आकर्षण बनेको त्यो वर्दी अहिले अत्तरियाको घरमा झुण्डिएको छ। त्यो लगाउन पाउने अधिकार खोसिएको छ। 

‘घरमा वर्दी छ तर लगाउन पाएको छैन, मन चसक्क हुन्छ’,  किनकि अहिले उनी निलम्बनमा छिन्। 

दुनियाँको नजरमा उनी दोषी छिन्। सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा निर्मलाको सुरुवाल पानीमा चोपल्दै गरेकी रातो कुर्ता लगाएकी युवती उनै हुन्।


***
फोटो त नखिच्ने !

त्यो दिन भएको के थियो? हामीलाई उनकै मुखबाट जान्नु थियो। अहिलेसम्म कुनै मिडियाले उनीसित कुरा गरेको थिएन। 

उनी कुरा गर्न बल्लतल्ल राजी भइन्। तर अनुहार प्रष्ट नदेख्ने गरी फोटो खिच्नसमेत मानिनन्।  

त्यो दिनको घटनाबारे भने उनले बताइन्- ‘म मुद्दा शाखामा थिएँ। घटना भएको दिन (साउन ११ गते) बिहान खानासाना खाएर अफिस पुगेको थिएँ। यस्तो-यस्तो घटना भयो, एक बालिकाको शव भेटियो भन्ने कन्ट्रोलबाट जानकारी आयो।‘ 

उनलाई सरहरुले तयार हुनू, जानुपर्छ भने। 

‘हरसिंह धामी सर, ज्ञानबहादुर सेटी सर र एकिन्द्र खड्का सर अनि म गएको थिएँ। उहाँहरुको कमान्डमा नै गएको थिएँ।‘ सेटी डिएसपी हुन् भने धामी सोको (सिन अफ क्राइम) अफिसर र  इन्स्पेक्टर खड्का अनुसन्धान अधिकृत हुन्।  

‘साढे ९ बजेतिर पुगे जस्तो लाग्छ। हामी पुग्दा पूरै भिडभाड भइसकेको थियो। सालघारीका सइ (रामसिंह धामी) र वडाका इन्सपेक्टर (जगदीश भट्ट) हामीभन्दा अगाडि जानुभएको थियो। उखुबारीभित्र थियो लाश। त्यहाँ पानी पनि थियो।‘ 

‘निर्मलाको लाश घोप्टो अवस्थामा थियो। माथिको लुगा ठीकै थियो। तल नाङ्गै थियो। त्यहाँ पत्रकारहरु थिए। हामी पुग्नुभन्दा अगाडि पत्रकार र अरुले फोटो/भिडियो खिचिरहेका थिए। मान्छे टनाटन थिए। तपाईँले देख्नुभएको भए छक्क पर्नुहुन्थ्यो। सात आठ सय जति मान्छे थिए।‘

‘सोको अफिसरले फोटो खिच्नुभयो। अनि हामीले ओल्टाइपल्टाइ गरी हेर्यौँ । शवको योनीबाट रगत बगिरहेको थियो। अरु घाउचोट पटक केही पनि थिएन।‘ 

त्यो दिन त उनलाई के के गरेँ खासै याद भएन। भाइरल भएको भिडियो हेरेपछि बल्ल उनलाई यस्तो पो गरेछु भन्ने भयो। उनले निकै पटक दोहोर्‍याइ तेहेर्‍याइ भिडियो हेरिन्। 

‘मैले एक पटक मात्र पानीमा चोपलेको हुँ सुरुवाल, तर भिडियोमा पटक पटक रिपिट गरी देखाइएको छ’, उनले स्पष्ट पार्न खोजिन्।

किन उनले त्यसो गरिन् त?

‘रे’ को हल्ला अनुसार भिआइपी अपराधी जोगाउन उनले कसैको आदेश अनुसार त्यसरी चोपलेर प्रमाण नष्ट गरेकी हुन्। 

यसबारे के भन्छिन् त उनी? ‘म आफैले गरेको हो। कसैले भनेको होइन।‘

किन त?

सुरुमा घोप्टो परेको थियो लाश। पल्टाउँदा खेरी नाङ्गो देखियो। 

‘त्यहाँ केटैकेटा। सबैले फोटो खिच्ने र हेर्ने भए अनि। सबै त्यहीँ थिए के! म एक्ली महिलाले हेर्न सकिनँ। सुरुवाल निस्किएको नै थियो। एउटा खुट्टामा अड्किएको जस्तै थियो। सुरुवाल निकालेर उसको शरीरमा राखेकी हुँ।'

‘त्यसलाई निकालेर पानीमा एकचोटी चोपलेको थिएँ, अनि त्यसले योनी छोपेको हुँ’, उनले भनिन्। 

युट्युबमा भेटिएको भिडियोमा हेर्दा सुरुवाल पहिले नै पानीमा डुबेको अवस्थामा रहेको र त्यसलाई चाँदनीले निकालेर एक पटक पानीमा चोपलेर योनी छोपिने गरी शवमा राखेको देखिन्छ। 

यसो गर्नु हुँदैन भनेर कसैले भनेन? ट्रेनिङमा सिकाइँदैन यस्ता कुरा?

‘ट्रेनिङमा सिकाएको त थियो, तर फिल्डमा गएपछि त्यस्तै हुँदो रहेछ’, उनको जवाफ।

पुलिसमा भर्ती भएपछि उनले नग्न शरीर देखेको यो नै पहिलो पटक थियो। यसअघि चाँदनी विष खाएको, झुन्डिएको आदि केसमा मात्र गएकी थिइन्। शायद् त्यसैले उनी आत्तिइन् पनि। 

भनिन्, 'भिड भएर आत्तिएँ। घेराबन्दी पनि गरेको थिएन। सबै नजिकै थिए। आन्दोलन पनि हुन थाल्यो। पुलिसलाई पनि कुटे। लाश नै उठाउन नदिने भएको थियो।‘

अझै पनि उनलाई त्यो दिन के गरेको के नगरेको यकिन याद छैन। यत्ति चाहिँ प्रष्ट छिन्,‘मलाई कसैले गर्नु, नगर्नु केही भन्नुभएको थिएन। मैले आफै गरेको हुँ।'

‘हतार हतार भयो। के गर्ने, कसो गर्ने मेसै भएन।‘

थपिन्, ‘एक महिनापछि भिडियो मिडियामा आएपछि मात्र मैले यस्तो गरेछु भन्ने थाहा पाएँ। त्यो थाहा पाउने बित्तिकै मलाई त काठमाडौं झिकाइहाल्यो। झिकाएर सोधपूछ गरियो।‘

आफूलाई गल्ती गरेको जस्तो लाग्छ कि लाग्दैन त?

‘मलाई गल्ती भए जस्तो लाग्छ। त्यस्तो नगर्नु रहेछ।’ 

उनी आफैले महसूस गरेको यो गल्तीको सजाय उनले प्रशस्तै भोगिसकेकी छिन्। 

असोजमा उनलाई हेडक्वार्टरले सोधपूछका लागि काठमाडौँ बोलायो। १७ दिन जति होटलमै बस्नुपर्‍यो उनलाई।

‘काठमाडौं जाँदा बस्दा खाँदा धेरै पैसा सकियो’, उनले त्यतिबेला ममीलाई भनेर पैसा मगाएकी थिइन्।

पछि उनलाई १ नम्बर गणमा राखियो। त्यतिबेला लगभग नजरबन्दको स्थिति थियो। 

‘कतै जाँदा पनि एक जना पुलिस पछि लगाउँथे। आफन्तको घरमा जाँदा पनि सबैलाई सोध्नुपर्ने, झ्याउ ! कस्तो तनाव भयो। भागेर आउँ जस्तो हुन्थ्यो’, उनले आफ्नो दशा बिग्रेको भन्दै त्यतिबेलाको अवस्था सुनाइन्, ‘कत्ति नै मैले नै हत्या गरे जस्तो !’

***

अरु कारबाही नभएको अवस्थामा चैत २२ गते उनको निलम्बन फुकुवा हुनेवाला थियो। किनभने प्रहरी नियमावली अनुसार बढीमा ६ महिनासम्म मात्र निलम्बन गर्न मिल्छ। निलम्बन अवधिमै कारबाहीको किनारा लगाउनु पर्छ। 

यो केसमा निलम्बनमा परेकी सबैभन्दा तल्लो दर्जाकी प्रहरी जवानलाई अरु कारबाही गर्ने कुनै तयारी थिएन। 

चाँदनीको घरको भित्तामा झुण्डिएको वर्दी। 

तर अधिकारकर्मीहरुको पहलमा निर्मलाकी आमा दुर्गादेवी पन्तले मुलुकी अपराध (संहिता) ऐन २०७४ को  परिच्छेद-४ सार्वजनिक न्यायविरुद्धका कसुरमा उजुरी दर्ता गरिन्। उनले पछि मुद्दा सच्याउन निवेदन दिन खोजिन् तर त्यसको सुनुवाई भएन।

चाँदनी आफूले नै महसूस गरेको गल्ती लापरवाही थियो कि रेको हल्ला चले जस्तो भिआइपी बचाउन गरिएको प्रमाण नष्ट थियो भन्ने विषय हेरिएन। हेडक्वार्टरले विभागीय कारबाहीको विकल्प रोजेन। फलस्वरुप परेको उजुरी उपर मुद्दा चलाउन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरलाई ग्रिन सिग्नल दिइयो। सरकारी वकिलको कार्यालयले मुद्दा दर्ता गर्‍यो। 

उनलाई दफा ९३ को कसूरको प्रमाण दवाउन नहुने अन्तर्गतको आरोप लागेको छ जसमा कसैले कुनै कसूरदारलाई बचाउने नियतले निजले गरेको कसूर सम्बन्धी कुनै प्रमाण दबाउन, नष्ट गर्न वा त्यसलाई प्रमाणको रुपमा प्रयोग गर्न नसकिने गरी बिगार्न हुँदैन लेखिएको छ।

यो कसूरमा अधिकतम सजाय तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हो। 

तर फागुन ३० गते कञ्चनपुर जिल्ला अदालतका डाक्टर राजेन्द्रकुमार आचार्यको एकल इजलासले दर्जा अनुसार धरौटीमा रिहा गर्ने सजाय तोक्यो। 

उनको भागमा पर्‍यो- २ लाख ५० हजार रुपैयाँ। 

सबैभन्दा तल्लो दर्जाकी उनलाई सबैभन्दा कम धरौटी तोकिएको थियो जुन सई रामसिंह धामीलाई तोकिएको भन्दा ५० हजार रुपैयाँ कम थियो।एसपी दिल्लीराज विष्टलाई सबैभन्दा बढी साढे १० लाख रुपैयाँ।

धरौटी नलिई साधारण तारेखमा रहेको भए उनले सेवामा पुनः फर्किने अवसर पाउँथिन्। तर अदालतले त्यो अवसर दिएन। 

त्यति धेरै रकम उनले तत्काल जम्मा गर्न सक्ने स्थिति थिएन। धरौटी नबुझाउँदा थुनामा जानु पर्ने हुन्थ्यो।

धन्न, उनीसँगै मुद्दा परेका अरु ६ जनाले पैसाको जोहो गरे, उनलाई उधारो दिए। 

‘त्यो दिन थुनामा नै पर्थेँ होला। जाबो एउटा जवानको कति तलब हुन्छ र। अझ काठमाडौं जाँदा बस्दा खादा धेरै पैसा सकिसकेको थियो’, उनले सुनाइन्। 

जसोतसो ममीको सुन राखेर १ लाख र बैँकबाट १ लाख ऋण लिइन्। अरुतिरबाट हारगुहार गरेर ५० हजार जम्मा गरिन् र उधारो तिरिदिइन्। 
भनिन्, ‘बेहाल भइसक्यो।’ 

आमाको प्रश्नले पनि चहर्‍यायो उनलाई। ‘किन गरिस् त्यस्तो भन्दै हुनुहुन्थ्यो ममीले। मलाई थाहा भएन भनेँ।‘

उनी आफूले जानीजानी गल्ती नगरेको बताउँछिन्, ‘मेरो कारणले अपराधी फुत्किएको छैन। मैले नै मारे जस्तो गरे। गल्ती भएको हो, तर जानीजानी गरेको होइन। डिएनए राखेको छ त। पानीमा अरु के प्रमाण हुनु?’ 

त्यहाँ शव छोप्न अरु कुनै कपडा नै नभएकोले पनि त्यसो गर्नुपरेको उनको जिकिर थियो।

‘इको’ लागेपछि उनको १२ कक्षा क्लियर भएको छैन। यो पटक दिने तयारी थियो। ‘तर टेन्सनले भरिनँ’, उनले सुनाइन्, ‘अब अर्को साल दिनुपर्ला।‘

अचेल घरैमा बस्छिन् उनी। निर्मला प्रकरणका समाचारहरु पनि पढ्छिन्। 

हामीले सोध्यौँ, किन यो घटना चाहिँ यति ठूलो भयो? 

उनी के जवाफ दिने अन्यौलमा मौन रहिन्। पछि मुख खोलिन्, खै थाहै छैन।

प्रहरी संगठनले उनलाई चोटैचोट दियो। सानोमा बुबा कर्तव्य पालनाको सिलसिलामा मारिए। अहिले उनैमाथि यस्तो  भयो। 

निलम्बन फुकुवा भए उनी फेरि जागिरमा जान्छिन् त?

उनले भनिन्, ‘जान्छु। मन छ जान।‘ 

‘तर सकेसम्म मुद्दा फाँटमा चाहिँ बस्दिनँ।‘

चाँदनीलाई भेटेर फर्कँदै गर्दा टुकटुकमा संयोगले उदयसिंह साउद भेटिए। केही महिनाअघि मात्र हवल्दारबाट रिटायर भएका। त्यसपछि गड्डाचौकी-महेन्द्रनगर बजार रुटमा टुकटुक चलाइरहेका।  

निर्मला प्रकरणबारे कुरा भयो। चाँदनीको बारेमा सोध्दा उनले भने, ‘डिएसपी नै गएका थिए त घटनास्थलमा। जाबो एउटा जवानको के हैसियत हुन्छ र प्रमाण नष्ट गर्न। गर्छु भनेर के गर्न सक्थिन्, अह्राएको भए गर्दिनँ भन्न कसरी सक्थिन्। बिचरीलाई दशा लाग्यो।‘ 
 
(कञ्चनपुरमा महेन्द्र बमको सहयोगमा)

#WhoKilledNirmala शृङ्खला  

विगत : निर्मला प्रकरणले सम्झाएको त्यो हाइप्रोफाइल रेप र मर्डर केस : नमीता-सुनीता-नीरा र चुडामणि
शृङ्खला १ : निर्मलालाई देशभर चिनाउने 'आइकनिक' फोटोमा लुकेको कथा 
शृङ्खला २ : कहाँबाट हराइन् निर्मला : डेढ किलोमिटरको दूरीमा नसुल्झिएको रहस्य
शृङ्खला ३ : क्राइम सिन : के उखुबारीमा भएको थियो निर्मलाको हत्या?
शृङ्खला ४ : निर्मला फर्कँदा बाटोमा पर्ने दुई घर जसमध्ये एउटा यसकारण पर्‍यो अनुसन्धानको घेरामा 
शृङ्खला ५ : 'रे' मा रुमल्लिएको निर्मला प्रकरण 
शृङ्खला ६ : निर्मला हराएपछि तारो बनेको त्यो दुई तल्ले घर 
शृङ्खला ७ : बबिताको त्यो बोली जसले उनीहरुलाई 'अपराधी' बनायो
शृङ्खला ८ : पहिलो दिनदेखि नै भएको प्रहरीको लापरवाहीले उब्जायो विश्वासको संकट  
शृङ्खला ९ : निर्मला प्रकरणमा 'भिआइपी' कनेक्सन 
शृङ्खला १० : निर्मलाको शव भेटिएकै ठाउँतिर एक्टिभेट मोबाइलको म्यासेज: 'त्यो केटी छाड्देऊ, त्यो भन्दा राम्री मिलाइदिन्छु।' 
शृङ्खला ११ : एक युवतीको ३० सेकेन्डको 'बाइट' जसले निर्मला प्रकरणमा दियो महत्त्वपूर्ण क्लु 
शृङ्खला १२: निर्मलाको हत्या भएकै दिन गाउँबाट गायब एक दुर्व्यसनी फेरि किन काठमाडौँमा समातिए? 
शृङ्खला १३: निर्मलाको हत्यामा अम्बाको रुख र रङको चर्चा 
शृङ्खला १४: Exclusive : डिएनए रिपोर्टले देखाउँछ निर्मलाको बलात्कार एक जनाबाट मात्रै, 'प्रहरीको ल्याब अन्तर्राष्ट्रिय मापदण्डअनुसार छैन' 
शृङ्खला १५ : चोरीका आरोपीलाई बलात्कारको 'दोष' : पोस्टर च्यात्दाको बदनामी मेटाउने प्रपञ्च? 
शृङ्खला १६ : निर्मला प्रकरणमा युट्युबरको आफ्नै इजलास, आफ्नै प्रमाण, न्यायाधीश पनि आफै 
शृङ्खला १७ : विश्वकै टप डिएनए एक्सपर्ट के भन्छन् निर्मला प्रकरणमा? यस्तो छ उनको सुझाव
शृङ्खला १८ : को थिए ती तीन युवती जो एसपीका छोरासँगै होटल ओपेरामा देखिए?

शृङ्खला १९ : प्रहरीले गोप्य राखेको निर्मलाको त्यो 'अटोजोमल एसटिआर रिपोर्ट' जसमा बलात्कारीको डिएनए देखिएन

शृङ्खला २० : जब निर्मलाको हत्यामा 'क्लु' खोजिरहेको प्रहरीसामु आफै 'क्लु' आइपुग्यो

शृङ्खला २१ : बरु एक्लै रुन सजिलो : निर्मलाकी आमा

शृङ्खला २२ : 'स्पाइरल अफ साइलेन्स' चिरिएको महेन्द्रनगर : आखिर कसले गर्‍यो निर्मलाको हत्या?

शृङ्खला २३ : अछामबाट 'पक्राउ परेका' दुई आर्मीको निर्मला प्रकरणमा के छ कनेक्सन?

 थप समाचार



निर्मलाको सुरुवाल पखाल्ने चाँदनी : हाइप्रोफाइल अपराधीको हल्लामा चेपिएकी प्युसो प्रहरी ( #WhoKilledNirmala शृङ्खला २४ ) को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell