
अबको ठीक एक महिनापछि इङ्ग्ल्यान्ड र वेल्समा आइसीसी ओडिआई क्रिकेट विश्वकप संयुक्त रुपमा आयोजना हुँदैछ। त्यसका लागि सहभागी १० देशले आफ्नो टिम घोषणा पनि गरिसकेका छन्।
टिम घोषणामा केही ठूला खेलाडी नपरे पनि यस पटक युवा स्टार खेलाडीहरुले पहिलोपटक विश्वकपको टोलीमा स्थान बनाएका छन्।
जसमा ओडिआई वरीयतामा शीर्ष स्थानमा रहेका खेलाडी छन्।
आइसीसीले यो पटक विश्वकपमा डेब्यू गर्न लागेको ५ खेलाडीको बारेमा सामाग्री तयार पारेको छ।
यी हुन् १२औँ संस्करणको विश्वकपमा डेब्यू गर्न लागेका ५ स्टार खेलाडी
जसप्रित बुमराह (भारत)
सन् २०१६ मा भारतको राष्ट्रिय टोलीमा डेब्यू गर्दै बुमराह अन्तर्राष्ट्रिय क्रिकेटमा उदाएका थिए। तीन वर्षको अवधिमा उनले ठूलो प्रगति गरिसकेका छन्। २५ वर्षीय बुमराह आइसीसी ओडिआई बलरको वरीयतामा शीर्ष स्थानमा छन्।
२०१८ मा उनले १३ ओडिआई खेलमा २२ विकेट लिएका थिए। उनी १०० ओडिआई विकेटबाट १५ विकेटले मात्र टाढा छन्।
बुमराह डेथ बलरका रुपमा परिचित छन्।
शिमरोन हेयतमार (वेष्ट इन्डिज)
२२ वर्षको उमेरमै हेयतमार वेष्ट इन्डिजको मध्यक्रमको मुख्य खेलाडी बनिसकेका छन्। वेष्ट इन्डिजको वर्तमान टोलीमा हेयतमार सबैभन्दा क्षमतावान खेलाडी समेत हुन्।
२५ ओडिआई उनले ४ शतक प्रहार गरिसकका छन् र ९०० रन नजिक छन्।
सन् २०१५-१६ मा वेष्ट इन्डिजलाई यू- १९ विश्वकप जिताउन महत्वपूर्ण भूमिका खेलेका उनले टिमलाई विश्वकपमा छनोट गराउन एकनासको प्रदर्शन गरेका थिए।
झ्ये रिचर्डसन (अष्ट्रेलिया)
रिचर्डसन १४० किमीको गतिमा दुबै एण्डबाट बल स्विङ गराउन सक्छन्। अहिलेसम्म १२ ओडिआई मात्र खेलेका उनले नम्बर वान ब्याट्सम्यान विराट कोहलीलाई ४ पटक आउट गराइसकेका छन्।
रिचर्डसनले ओडिआईमा २४ विकेट लिइसकेका छन्। अष्ट्रेलियाको उत्कृष्ट युवा फास्ट बलरको रुपमा परिचित उनले मिचेल स्टार्कसँगै नयाँ बल बलिङ गर्ने सम्भावना रहेको छ।
बाबर अजाम (पाकिस्तान)
इतिहासमा पाकिस्तान फास्ट बलिङका कारण परिचित छ। आजामले आफूलाई ओडिआईमा पछिल्लो दुई वर्ष उत्कृष्ट प्रदर्शन गर्दै स्थापित गरिसकेका छन्। यी दायाँ हाते ब्याट्सम्यानले सन् २०१५ मा डेब्यू गरेका हुन्। ५९ खेल खेलिसकेका उनी २५०० रन नजिक छन्। उनको औसत ५१.२९ छ। आइसीसीको वरीयतामा उनी हाल सातौँ स्थानमा छन्।
आफ्नो सुरुवाती तीन ओडिआई शतक लगातार प्रहार गर्ने उनी एक्ला खेलाडी हुन्। २४ वर्षीय अजामलाई पाकिस्तानका प्रशिक्षक मिक्की आर्थरले पाकिस्तानको बेस्ट ब्याट्सम्यान भनेका छन्।
रसिद खान (अफगानिस्तान)
अन्तर्राष्ट्रिय क्रिकेटमा २० वर्षीय रसिद खनको आगामनले उनको टिम अफगानिस्ताको उदयलाई समेत छायाँमा पारेको छ।
उनी उमेरमा युवा छन् तर सन् २०१५ मा डेब्यू गरे पनि उनको नाम चर्चामा छ। रसिद वर्तमान विश्व क्रिकेटमा सबैभन्दा एक्साइटिङ स्पिनर हुन्। उनले ५७ एकदिवसीयमा १२३ विकेट लिइसकेका छन्।
आइसीसीको ओडिआई अलराउण्डर वरीयतामा उनी शीर्ष स्थानमा छन्।