PahiloPost

Dec 26, 2024 | ११ पुष २०८१

एसियाकै विशाल 'परेड मैदान टुँडिखेल': कसरी पर्‍यो राणा, राजा, सेना र गणतन्त्रको अतिक्रमणमा



सहयोग रञ्जित

एसियाकै विशाल 'परेड मैदान टुँडिखेल': कसरी पर्‍यो राणा, राजा, सेना र गणतन्त्रको अतिक्रमणमा

वि.सं १९८१ पौष १४ गते राणा प्रधानमन्त्री चन्द्र शमशेर जंगबहादुर राणाले त्यस बखतको विशाल टुँडिखेलको मध्य भागमा रहेको खरीको बोटसहितको ऐतिहासिक चौतारामा बसेर नेपाल अधिराज्यबाट दासत्व मोचनको घोषणा गरेका थिए।

चन्द्र शम्शेरको उक्त घोषणालाई त्यस बेला धेरैले क्रान्तिकारी परिवर्तनको संकेतका रूपमा व्याख्या गरेका थिए।

Source: Images of the Century

'जहाँनिया राणाशासन' मा पनि कोही दासत्वबाट मुक्त हुन सक्ला भनेर कसैले सोचेका पनि थिएनन् होला।

घोषणापछि सबैतिरबाट दासत्व समाप्त नभए पनि उदार मानिएका चन्द्रशम्शेरले परिवर्तनको सुरुवात गरेका थिए।

दासत्वबाट मुक्त भएको करिब ९४ वर्षपछि आजको दिनसम्म बिरलै चन्द्रशम्शेरको सो निर्णयको सम्झना नेपाली माझ हुन्छ।

टुँडिखेलको सोही चौतारामा बसेर राणाहरुले ऐतिहासिक निर्णय लिने गरेका थिए।

 

कसरी रहयो टुँडिखेलको नाम?

नेपाल भाषामा टुँडिखेललाई तुंख्यो भनिन्छ।

२०१९ मा प्रकाशित त्रिरत्न सौन्दर्यगाथामा प्रत्यांगिरादेवी र वज्रभैरवले वज्रतुण्डी देवीलाई दाइजो दिएको स्थान भएको हुनाले उक्त स्थानलाई तुण्डीक्षेत्र- तुण्डीखेल भनी कहलिएको भनी उल्लेख गरिएको छ।  धनवज्र बज्राचार्यले सम्पादन गरेको उक्त किताबमा टुँडिखेलमा घोडा ढौडाउने परम्परा मल्लकालदेखि सुरु भएको भनेर उल्लेख गरेका छन्।

अहिले 'घोडा दौड' गर्ने परम्परा भने जंगबहादुरले बेलायत भ्रमण गरी फर्किएपछि सुरु गरेका थिए।

गुरुमापा राक्षसको संहारस्वरुप टुँडिखेलमा त्यसअघि सिपाही गुठीका भोसीको र बागबजारका खड्गीहरुले घोडा दौडाउने गरेको स्थानीयहरूको दाबी छ।

फागु पूर्णिमाका दिन टुँडिखेलमा गुरुमापा राक्षसलाई भोज खुवाउने गरिन्छ भने पाहँचह्रेको एक दिनपछि त्यहाँ द्य: ल्वाकिगु (खट जात्रा) गरिन्छ।

इतिहासकार डा साफल्य अमात्य तुण्डीक्षेत्र- तुण्डीखेल, तुंख्यो हुँदै नेपाली भाषामा अपभ्रंश हुँदै टुँडिखेल भएको बताउँछन्। उनका अनुसार परापूर्वकालमा ढिस्कोले पुरिएको उक्त स्थानमा धेरै रुख थिए। पानी निस्किरहने भएकाले धेरै क्षेत्रमा दलदल थियो। त्यसैले त्यस क्षेत्रलाई तुंख्यो अर्थात् 'पानी भएको खेत' भनिएको हो।

 

सेना प्रवेश गराउने जंगबहादुर

टुँडिखेलमा नेवारहरुले आफ्नो सांस्कृतिक चाडपर्व मनाउँदै आएका थिए। विशाल मैदान देखेर जंगबहादुर राणाले छाउनीमा गरिने सैन्य परेड टुँडिखेलमा सारे। त्यहीँबाट सुरु भयो टुँडिखेल अतिक्रमणको खेल।

अमात्यका अनुसार वि. सं १९१२ मा जंगबहादुर राणा प्रधानमन्त्री हुँदा नेपाल आएका इतिहासकार हेनरी एम्ब्रोस ओल्डफिल्डले टुँडिखेल २-३ माइल लामो र ३ गज चौँडा रहेको उल्लेख गरेका थिए। हेनरीद्वारा लिखित पुस्तक 'स्केच्स् फ्रम नेपाल'मा टुँडिखेललाई 'एसियाको सबैभन्दा ठूलो परेड मैदान' भनिएको थियो।

Source: Images of the Century

पछि बिस्तारै राणाहरूले टुँडिखेल विस्तार गर्दै लगेका थिए। टुँडिखेल हाल त्रिपुरेश्वरमा रहेको दशरथ रंगशालादेखि (न्हु पुखु) रानी पोखरीसम्म फैलिएको थियो।

नेवारहरूले भोगचलन गर्दै आएको गुठीको जग्गा लिएर राणा प्रधानमन्त्रीहरूले विशाल टुँडिखेल बनाएका थिए।

जनताको जग्गा अतिक्रमण गरेर राणाहरूले टुँडिखेललाई शक्ति प्रदर्शन गर्ने सैन्य मैदानमा रूपान्तरण गरे।

२००७ मा राणा शासनको अन्त्यसँगै नेपालमा प्रजातन्त्र आयो। राजा त्रिभुवन 'राष्ट्रपिता' बने। २००८ मा नेपाली कांग्रेसका मात्रिकाप्रसाद कोइराला प्रधानमन्त्री बने।

जनताले टुँडिखेल बनाउन आफूहरूबाट लुटिएको जमिन फिर्ता पाउने आश गरिरहे। तर, परिवर्तन नेपाली जनताले त्योबेला पनि देख्न पाएनन्।

२००७ पछि भारतका तत्कालीन प्रधानमन्त्री जवरलाल नेहरु नेपाल आउँदा होस् या २०१७ सालमा बेलायती महारानी एलिजावेथको स्वागत टुँडिखेलमा नै गरिएको थियो। शाहकालमा टुँडिखेल राजाको शक्तिकेन्द्र बन्यो।

राणा शासनमा अतिक्रमण गरेर भए पनि विशाल बनाइएको टुँडिखेल प्रजातन्त्रपछि भने साँघुरिँदै गयो।

त्रिभुवनपछि राजा बने महेन्द्र। पञ्चायत शासनका सूत्रधार महेन्द्रले टुँडिखेलको मध्य भागमा रहेको ऐतिहासिक खरिबोटसहितको चौतारा भत्काउन लगाए।

अमात्य सम्झन्छन्, 'टुँडिखेल काठमाडौँकै खुल्ला स्थान थियो। त्रि-चन्द्र कलेज पढ्दा हाल प्रहरी कार्यालय रहेको स्थानमा हात्ती पाटी थियो। त्यहाँ टाढा-टाढाबाट आउनेहरुका लागि बस्ने, खाने, विश्राम गर्ने धेरै पाटीहरु थिए। २०१७ सालपछि सबै अतिक्रमणमा पर्‍यो। त्यहाँका सांस्कृतिक संरचना मासियो। सबै खत्तम पारे।'

 

रानीको नाममा पार्क

महेन्द्रको शासनकालमा टुँडिखेल झनै साँघुरियो। तत्कालीन रानी रत्न राज्यलक्ष्मीको नाममा टुँडिखेलको एक भागमा पार्क बनाइ त्यसलाई 'रत्नपार्क' नामकरण गरियो। गणतन्त्रपछि सो पार्कलाई शंखधर उद्यान बनाइएको छ।

रत्नपार्क, खुल्लामञ्च, सैनिक मञ्च, शहीद गेट, जंगी अड्डा बन्दै गर्दा टुँडिखेल साँघुरिँदै गयो। रानीपोखरी पनि साँघुरियो।

हाल टुँडिखेलको नाममा सैनिक मञ्चदेखि शहीद गेट क्षेत्रसम्म केही खुल्ला भाग बाँकी रहेको छ। जसको आधा भागमा जनतालाई प्रवेश निषेध छ। त्यहाँ सेनाको हैकम चल्छ। उसो त जनताका लागि खुल्ला गरिएको केही भागमा समेत सेनाले आफूले चाहेको बेला प्रवेश निषेध गराउन सक्छ।

आफ्नो शासन टिकाउन जनताको जग्गा अतिक्रमण गरी बनाइएको टुँडिखेल अहिले सेनाको नियन्त्रणमा छ। सैनिक मुख्यालय त्यहीँ छ। फिब्वख्य: (माइतीघर) हुँदै भद्रकाली आउने पुरानो बाटो सैनिक मुख्यालयको निजी बाटो सरह भएको छ।

भूकम्पपछि जंगी अड्डाभित्र नयाँ भवन बनाइएका छन्। सैनिक मुख्यालयको गेटसँगै पुस्तकालय बनाइएको छ। मुख्यालयभित्रै मिनी रंगशाला बनाइएको छ।

प्रतिनिधिबाटै अतिक्रमण

सेनाले नियन्त्रणमा नराखेको र महानगरपालिको अधीनमा रहेको टुँडिखेलको बाँकी भागको अतिक्रमण त जनताबाटै चुनेर पठाएका प्रतिनिधिबाटै भएको छ।

खुल्लामञ्च विभिन्न राजनीतिक परिवर्तनको साक्षी पनि बन्यो। राजादेखि अदालतविरुद्ध त्यही खुल्लामञ्चमा उभिएर भाषण गर्नेहरु सत्तामा पुगे। प्रधानमन्त्री बने। पशुपतिनाथको भक्ति गीत गाए।

देशमा गणतन्त्र आयो। अहिले त्यही खुल्लामञ्चमा एउटा मञ्चमात्रै इतिहासको साक्षीको रूपमा उभिएको छ।

Photo by Ganesh Man Malla

पुरानो बसपार्कमा २१ तल्ले बहुउद्देश्यीय 'भ्यू टावर' बनाउने भनेर त्यहाँको बसपार्क अस्थायी रूपमा खुल्लामञ्चको आधा भागमा सारियो। आधा भाग दरबार हाइ स्कुलको चिनियाँ कन्ट्रयाक्टर र वीर अस्पताललाई दिइयो।

राजनीतिक आन्दोलनको साक्षी खुल्लामञ्च अतिक्रमणको चपेटामा पर्‍यो।

पुरानो बसपार्कमा 'भ्यू टावर' बनाउने अनुमति पाएको ठेकेदार जलेश्वर स्वच्छन्द बिकोईसँग नै खुल्लामञ्च अत्यावश्यक केही सटर बनाउने सम्झौता महानगरपालिकाले गरेको थियो। अत्यावश्यक केही सटर बनाउन सम्झौताको विपरीत ठेकेदार मनोज भेटवालले त्यहाँ अवैध रूपमा करिब ४० सटरहरू बनाए र लाखौँको भाडा असुल गर्दै सार्वजनिक सम्पत्ति हड्पन खोजे।

यो कुरा सार्वजनिक भएपछि काठमाडौँ महानगरपालिका दबाबमा आयो। काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्य र उपप्रमुख हरि प्रभा खड्गीको चर्को आलोचना भयो। सम्पदा अभियान्ता, स्थानीय  र जनप्रतिनिधिहरूले विरोध गरेपछि वैशाख १४ गते अवैध रूपमा बनाइएका संरचना भत्काइए।

वीर अस्पतालबाट खुल्लामञ्चमा बनाइएको बसपार्क प्रवेश गर्ने भागमा रहेको श्री दुईमाजु मन्दिर परिसरमा समेत पसल सञ्चालन गरिँदै आएको छ।

गुठी संस्थान अन्तर्गत रहेको सो मन्दिर क्षेत्रमा व्यवसाय गर्न दिएको विषयलाई सम्पदा अभियान्ताहरुले विरोध गरेका छन्।

यस्तै रानीलाई खुसी बनाउन बनाइएको टुँडिखेल अतिक्रमण गरी बनाइएको रत्नपार्कलाई महानगरपालिकाले केही वर्षअघि शंखधर उद्यान नामकरण गर्‍यो। तर महानगरले शंखधर उद्यानमा शंखधरको नभई प्रथम अन्तरिक्ष यात्री युरी गाग्रीनको शालिक बनायो। यसलाई स्थानीयहरूले शंखधरको अपमान र सांस्कृतिक अतिक्रमणको संज्ञा दिएका छन्।

तर, महानगरका प्रवक्ता ईश्वरमान डंगोल भने यो सामान्य विषय रहेको बताउँछन्। पार्कमा शंखधरको शालिक पनि स्थापना गर्ने भन्दै उनले अन्तरिक्ष यात्रीको सम्मानस्वरूप गाग्रीनको शालिक बनाएको बताए।

शाहकालमा रानीपोखरी पनि निश्चित भागमा खुम्चियो। राणाहरूले त रानीपोखरीको स्वरूप नै परिवर्तन गरिदिएका थिए। प्रताप मल्लले  ग्रन्थकुट (शिखर) शैलीमा निर्माण गरेको रानीपोखरीलाई राणाहरूले गुम्बज शैलीको बनाए।

२०७२ को भूकम्पपछि पनि रानीपोखरीको स्वरूप झनै बिगार्ने प्रयत्न भयो।

रानीपोखरीको पुनर्निर्माणको काम सेनालाई दिने कोसिस भयो। त्यहाँ 'कंक्रिट' का संरचना बनाइयो भने रानीपोखरी परिसरमा 'कफी सप' खोल्ने योजना महानगरले ल्यायो। स्थानीयको विरोधपछि महानगर पछि हट्यो। अब रानीपोखरी ग्रन्थकुट शैलीमा नै बन्ने भएको छ।

रानीपोखरीसँगै रहेको हात्ती पाटीमा महानगरीय प्रहरी कार्यालय बनाइयो। रत्नपार्क र रानीपोखरीको बीचमा सडक बनाइयो। एक समयमा एसियाको विशाल परेड मैदान अहिले भूमाफियाहरुको हातमा पुगेको छ।

तर, अहिले खुल्लामञ्चलाई व्यापार गर्ने स्थान बनाउँदै सार्वजनिक सम्पत्ति हडप्न खोज्नेहरूलाई पराजित गरेका सम्पदा अभियान्ता र स्थानीय टुँडिखेल पनि पुरानै स्वरूपमा फर्कनु पर्ने अडान लिइरहेका छन्। टुँडिखेललाई सेनाको कब्जाबाट हटाएर जनताका लागि सदा खुल्ला गर्नुपर्ने माग गरिरहेका छन्।

अमात्य भन्छन्, 'खुल्लामञ्च अतिक्रमण भयो भनेर अहिले जे बाहिर आइरहेको छ त्यहाँको समस्या त्यतिमात्रै होइन नि। टुँडिखेल त उहिल्यै मासियो। अहिले टुँडिखेल नै छैन।'

सत्तामा बसेका शासकमा लोभ-लालच भयो भने सार्वजनिक सम्पत्ति अतिक्रमण हुने भन्दै उनले बाग्मतीको उदाहरण दिए। भने, 'वाग्मतीका लागि एडिबीले अर्बौँ पैसा दिएको छ। तर काम हुन सकेन। अहिले वाग्मती कति अतिक्रमण भयो भन्नेबारे यहाँ चासो नै छैन। सुकुमबासी र भूमाफियाहरुका कारण वाग्मती सभ्यतासँग जोडिएका सबै सम्पदा मठ मन्दिर विलीन हुँदै गइसके। खोइ सरकारको ध्यान गएको। कमिटी बनाएर मात्रै केही हुँदैन।'

अमात्य सरकारले नै कडा रूपमा प्रस्तुत हुँदै टुँडिखेल र बाग्मती जस्ता ऐतिहासिक सम्पदा बोकेको स्थानको संरक्षण गर्नुपर्ने मत राख्छन्।

राणाले सैन्य परेडका लागि अतिक्रमण गरी बनाएको विशाल टुँडिखेल राजत्रन्त्र, बहुदल, पञ्चायत, प्रजातन्त्र, लोकतन्त्र ,गणतन्त्रसम्म आइपुग्दा झनै साँघुरिँदै गएको छ।

प्रधानमन्त्री निवास रहेको बालुवाटार क्षेत्रको जग्गा प्रकरणमा नेकपाकै महासचिव विष्णु पौडेल मुछिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार भनेका थिए,'महासचिवले बालुवाटारको जग्गा राजाको शासनकालमा किनेको हो।  हडपेको होइन'।

दुई तिहाइ बहुमत भएको सरकारका शक्तिशाली प्रधानमन्त्रीले नै यस्तो बयान दिँदै गर्दा राजाले विभिन्न घटनाक्रमको साक्षी खरीबोटलाई काटेर फालेर साँघुरो बनाएको टुँडिखेल अतिक्रमण गर्नेहरूले पनि 'राजाकै पालामा साँघुरिएको हो। हडपेको होइन' भन्न के बेर र!



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell