PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

यो तीन वर्षमा बाबुरामले बुझेको राजनीति: 'नयाँ भन्दा पुराना अनुहारबाट सहज'



विधुर ढकाल

यो तीन वर्षमा बाबुरामले बुझेको राजनीति: 'नयाँ भन्दा पुराना अनुहारबाट सहज'
फाइल फोटो

काठमाडौं: २०७२ सालमा संविधान बन्यो। संविधान बनाउन संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको संयोजक भएर महत्त्वपूर्ण भूमिका खेले डा बाबुराम भट्टराईले। असोज ३ गते संविधान जारी गरेसँगै आफ्नो असन्तुष्टि व्यक्त गर्दै बाहिरिए।

संविधान निर्माण गर्न महत्त्वपूर्ण भूमिका खेलेका नेता भट्टराईले आफ्ने माउ पार्टी तत्कालीन एकिकृत नेकपा माओवादी नै परित्याग गरे। सोही वर्षको असोज ९ गते अप्रत्यासित रुपमा पार्टीका हरेक जिम्मेवारीबाट बाहिरिए। नयाँ शक्ति निर्माण गर्ने भन्दै मालेमावाद त्याग्दै वैकल्पिक शक्ति निर्माण गर्ने अभियानमा होमिए।

मंसिर ६ मा नयाँ शक्ति निर्माण अभियानको कार्यक्रम गरेर आफ्नो स्ट्याण्ड सार्वजनिक गरे।

कार्यक्रममा नयाँ शक्ति बाबुरामकोमात्र नभइ सबैको भएको स्पष्टीकरण दिए। 'बाबुराम वा एउटा व्यक्ति प्रधान हुने गरी यो शक्ति गठन हुने होइन नयाँ पार्टी थप्नुकोमात्र कुनै अर्थ छैन। त्यस्ता व्यक्तिप्रधान, समूहप्रधान पार्टीहरु पहिला पनि थुप्रै भए, अर्को त्यस्तै पार्टी चाहिएको होइन।'

उनले संविधान निर्माण र त्यसका उपलब्धिहरुलाई सगरमाथा आरोहणको संज्ञा दिँदै सगरमाथाबाट ओर्लिन लागेको बताए। 'एकपटक सगरमाथा चढिसकेपछि पुनः सगरमाथा चढ्नुको अर्थ हुँदैन, एकपटक सगरमाथा चढेपछि ऊ ओर्लिने नै हो, जति उक्लने र ओर्लने गरे पनि अनुभव उस्तै हो', भट्टराईले भनेका थिए, 'त्यसैले एकचोटी प्रधानमन्त्री भइसकेको व्यक्ति पटक पटक प्रधानमन्त्री भइरहने अपेक्षा राख्नु आवश्यक पनि छैन, त्यसले उसको निजी जीवनमा फरक पनि पार्दैन।'

पूर्व माओवादीको छायामा नयाँ अनुहार

उनले सबैको पार्टी बनाउने घोषणा गरे पनि बिस्तारै नयाँ शक्तिमा पुराना राजनीतिक दलका नेताहरुको भेला हुन थाल्यो। अझ भनौँ माओवादी समूह त्याग गर्दै बाबुरामको साथ दिन आउनेहरु बढी भए। डा भट्टराईले एमाओवादी छाडेको महिना दिनपछि तत्कालीन एमाओवादीभित्रको एउटा समूहले पार्टी परित्याग गर्दै नयाँ शक्ति अभियानमा जुटेको घोषणा गरे। यसरी प्रचण्डलाई छाडेर बाबुरामको साथमा आउनेहरु एमाओवादीभित्रै बाबुराम गुटका नेताहरु थिए।

कार्तिक १७ गते एमाओवादीका ४५ केन्द्रीय नेताहरु नयाँ शक्ति निर्माण अभियानमा जुटे। देवेन्द्र पौडेल, स्वनाम साथी, हिसिला यमी, नवराज सुवेदी, खिमलाल देवकोटा, महेन्द्र पासवान, भीमप्रसाद गौतम, भक्तबहादुर शाह, रामकुमार शर्मा, रामरिझन यादव, रामचन्द्र झा, कल्पना धमला, गंगानारायण श्रेष्ठ, कुमार पौडेल, महेन्द्र श्रेष्ठ, शरुण बाँठा मगर, रमेश रञ्जन झा, प्रमोदनारायण यादव, रामलौटन तिवारीलगायतले उनको साथ दिए।

नयाँ शक्तिको नाममा भेला नयाँ अनुहारहरु नयाँ शक्तिभित्र पुराना राजनीतिक खेलाडीहरुको ओझेलमा पर्दै गए।

२०७३ साल जेठ ३० गते नयाँ शक्ति पार्टी नेपालको घोषणा भयो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासमेत घोषणासभामा पुगेर शुभकामना दिए।

पूर्व अर्थसचिव रामेश्वर खनालसहितका विज्ञहरुलाई समेत समावेश गरेर आर्थिक नीति दिएको नयाँ शक्तिले करिश्मा मानन्धरसम्मलाई पार्टीमा गोलबन्द गराएको थियो। सबै समूहलाई समावेश गरेको नयाँ शक्तिले लैंगिक अल्पसंख्यकहरुलाई पनि स्थान दिएर नयाँ हुने चेष्टा गरेको थियो।

नयाँ शक्ति घोषणा गरेको समय बित्दै गयो। नयाँ अनुहारहरुलाई पुराना अनुहारहरुले ओझेलमा पार्दै गए। बाबुरामले नयाँ शक्ति घोषणासँगै क्रान्तिकारी नाम 'लालध्वज' त त्यागे तर पुराना साथीहरुको साथ भने छाड्न सकेनन्। उनले नयाँ शक्तिमा स्थान दिएका उनका अधिकांश पुराना सहयात्रीहरुले बाबुरामलाई मात्र होइन नयाँ शक्तिलाई पनि छाडिसकेका छन्।

त्यति मात्र होइन उनको साथमा रहेका रामेश्वर खनालसहितका नयाँ शक्तिका अभियन्ताहरुले पनि उनको साथ छाडिसकेका छन्।

नयाँ शक्ति गठन भएको एक वर्षमा नै नयाँ शक्ति पुरानै अभ्यासमा फर्किँदै गयो। पुराना पार्टीमा अवसर नपाएकाहरु नयाँ पार्टीतिर होमिए। नयाँ अनुहारहरुले पनि उनलाई छाड्दै गए।

स्थानीय तहको निर्वाचनमा नयाँ शक्ति बाबुरामको आफ्नै गृहजिल्लामा नै पछारिए। स्थानीय तहको निर्वाचनमा संघीय समाजवादी फोरमको साथ लिएर पनि बाबुरामले आफ्नो करिश्मा देखाउन सकेनन्।

स्थानीय तहको जनमतले झस्किएका बाबुराम संसदीय निर्वाचनमा पुरानो लयमै फर्किने प्रयास गरे। स्थानीय तहको निर्वाचनको पराजयपछि बाबुरामलाई अर्को झड्का पनि लाग्यो। उनको साथमा पुगेका पूर्व माओवादी नेताहरु देवेन्द्र पौडेलसहितका नेताहरु पुन प्रचण्डको हात थाम्न आइपुगे।

स्थानीय तहको चुनावको पराजय आफ्ना राजनीतिक सहकर्मीहरुले विस्तारै साथ छाड्दै जाँदा बाबुराम एक्लिन पुगे। उनले यही महसुस गरेर तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रसँग चुनावी गठबन्धन गरेर जाने र चुनावपछि पार्टी एकता गर्ने गरी सहमति गरे।

कम्युनिस्ट सिद्धान्तको परित्याग गरेका बाबुरामले २०७४ असोज १७ गते ओली र प्रचण्डसँगै एउटै मञ्चमा उभिएर एउटै कम्युनिस्ट पार्टी बनाउने सहमति पत्रमा हस्ताक्षर गरे।

यो गठबन्धन १० दिन पनि टिक्न सकेन। सिटको भागबन्डा र बाबुरामको चुनावी क्षेत्रमा प्रचण्डसँग कुरा नमिल्दा असोज २७ गते वाम गठबन्धनबाट अलग भएको घोषणा गरे।

वाम गठबन्धनबाट अलग भएका बाबुराम संसदीय चुनावमा नेपाली कांग्रेससितको तालमेलमा चुनावमा सहभागी भए। प्रतिनिधिसभामा गोरखाबाट बाबुरामले खाता खोले पनि समानुपातिकमा भने निल हुन पुग्यो। प्रदेशसभामा रसुवाबाट प्रेम तामाङ र गोरखाबाट हरिशरण आचार्य निर्वाचित भए। समानुपातिक तर्फ गण्डकी प्रदेशसभामा धनमाया तामाङ सांसद छन्।  

एक्लै भएपछि पुरानै लयमा फर्किँदै बाबुराम

नयाँ शक्ति निर्माणका लागि पुरानो पार्टी र पुराना साथीलाई त्यागेर नयाँ साथी खोज्दै हिँडेका बाबुरामले केही नयाँ साथी त पाए। जसमध्ये केहीले साथ छाडिसके। रहेका नयाँ साथीले मात्र बाबुरामको राजनीतिक अभिष्ठ र सोचलाई पूरा हुने आशा मर्दै गयो।

निर्वाचनमा अपेक्षा अनुरुप उपलब्धि हासिल हुन नसक्दा बाबुराम पूराना पार्टीसँगको एकता गर्नुपर्ने निष्कर्षमा पुगे। असोज १७ गते गठबन्धन बनाएर पार्टी एकता गर्ने घोषणा गरेका एमाले र माओवादी एक भई नेपाल कम्युनिस्ट पार्टी (ने क पा) बनिसकेको छ।

त्यही गठबन्धनमा रहेको भए अहिले भट्टराई ने क पाको सचिवालयमा रहेर प्रभावशाली भूमिकामा रहन्थे। तर उनी अलग भए। अलग हुँदा झन् एक्लै भए। नयाँ शक्तिमा उनी बाहेकका नेतामा नेता हुने उचाई पुग्न सकेन। त्यसैले पनि उनले पूराना पार्टीको एकतामा देखिए।

शनिवारमात्र संघीय समाजवादी पार्टी नेपाल र नयाँ शक्ति पार्टीबीच एकताका लागि सहमति भएको छ।

सहमति पत्रमा साटासाट गर्ने कार्यक्रमको एउटा फोटो नयाँ शक्ति नेपालले नै सार्वजनिक गरेको छ। जुन फोटोमा नयाँ शक्तिबाट बाबुराम एक्लै देखिन्छन्। फोरमका तीन नेता उपेन्द्र यादव, अशोक राई र राजेन्द्र श्रेष्ठ।

भोलि नयाँ पार्टीको घोषण हुँदै छ। ‘समाजवादी पार्टी, नेपाल'। नयाँ शक्ति बनाउने भन्दै पार्टीको नाममै नयाँ राखेका भट्टराईलाई यो तीन वर्षको अनुभवले पुन पुरानै लयमा फर्काएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell