PahiloPost

Nov 25, 2024 | १० मंसिर २०८१

नर्सको हिरासत अनुभव: अस्पतालका निर्देशकले 'एक एक गरेर ठीक पार्छु' भन्दै थर्काए, प्रहरीले लाठी देखाउँदै तर्साए



सागर बुढाथोकी

नर्सको हिरासत अनुभव: अस्पतालका निर्देशकले 'एक एक गरेर ठीक पार्छु' भन्दै थर्काए, प्रहरीले लाठी देखाउँदै तर्साए

प्रहरी दमन बन्द गर!
जोखिम भत्ता लागु गर!
नर्सको उचित सम्मान गर!
वी वान्ट जस्टिस्!
तारा पोखरेल राजीनामा दे!

एक वर्षयता मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरका नर्सहरु लगातार यहीं नारा दोहोर्‍याएका छन्। उनीहरु कहिल्यै माइतीघर मण्डलामा आएर नारा लगाउँछन् त कहिले अस्पताल प्राँगणमै धर्ना बस्छन्। यतिबेला उनीहरु लाजिम्पाटस्थित नेपाल नर्सिङ  संघको प्राँगणमा चिच्याइरहेका छन्। नर्सिङ काउन्सिलले आफूहरुका समस्या नसुनेको भन्दै काउन्सिलका अध्यक्ष तारा पोखरेलको राजीनामा माग गरिरहेका छन्।

यसरी लगातार आन्दोलन गर्दासमेत उनीहरुको माग पुरा हुन सकेको छैन। त्यसैले उनीहरु निरन्तर आन्दोलनमा छन्। 

प्रत्यारोपण केन्द्रका नर्सहरुले पछिल्लो पटक आन्दोलन गरेको १३ दिन भयो। अस्पतालको सेवा अवरुद्ध नगरी उनीहरु आन्दोलन गरिरहेका छन्। डायालासिसका बिरामीहरुलाई गाह्रो हुने भन्दै सेवा अवरुद्ध नगरेको सुनाउँछन्। 

आन्दोलनमा आएकी एक नर्सले भनिन्, 'हामी आधाजस्तो नर्सहरु ड्युटीमा छौँ, आधाजस्तो आन्दोलनमा। सबै आन्दोलनमा आउँदा बिरामीलाई असर पर्छ।'

प्रत्यारोपण केन्द्रका निर्देशक डा पुकारचन्द्र श्रेष्ठले अस्पतालमा आफ्नो मान्छे छिराउन राजनीति गरेको उनीहरुको आरोप छ। उचित पारिश्रमिक नदिएको, सात वर्षदेखि काम गर्दासमेत जोखिम भत्ताहरु उपलब्ध नगराएकाले आन्दोलन गर्न बाध्य भएको उनीहरुको तर्क छ।

***

गत शुक्रबार स्वास्थ्य मन्त्रालय वार्ता गर्न गएका उनीहरुलाई प्रहरीले हिरासतमा हाल्यो। के भएको थियो त त्यो दिन? वार्ता गर्न गएका उनीहरु कसरी हिरासत पुगे।

गिरफ्तारमा परेकी एक नर्सको भनाई जस्ताको तस्तै

बिहीबार नर्सिङ संघको कार्यलयमा हाम्रो मिटिङ भएको थियो। संघकी अध्यक्ष तारा पोखरेलले शुक्रबार एक बजे वार्ताको लागि स्वास्थ्य मन्त्रालय बोलाउनुभयो। हामी भोलिपल्ट स्वास्थ्य मन्त्रालय गयौँ। हामी चार जनालाई बोलाएपनि १० जना गएका थियौँ।

त्यहाँ हाम्रो अस्पतालका निर्देशक पुकारचन्द्र श्रेष्ठलगायत अन्य चार जना आएका थिए। श्रेष्ठले हामीसँग छलफल नगरी धमाधम निर्णय सुनाउन थाले। त्यो निर्णयमा हाम्रो एउटै माग समेटिएको थिएन। त्यो हामीलाई मान्य हुने कुरै भएन। हामीले मानेनौँ। डाक्टर पुकार हामीसँग छलफल नगरी त्यहाँबाट निस्किन लागे।

हामी सात वर्षदेखि त्यो अस्पतालमा काम गरेका छौँ। दैनिक बाह्र घण्टासम्म समय खर्चेका छौँ। समयमै नपाइने स्यालरी भन्न पनि लाज लाग्छ। अन्य सेवा सुविधाहरु केही छैन।

विगतमा पनि डाक्टर पुकारले यसैगरी झुलाइराख्नु भएको थियो। आश्वसन पाएपनि कहिल्यै हाम्रा माग पुरा भएनन्। यस्तो अवस्थामा हामीसँग छलफल नगरी उहाँ निस्कदा रिस उठ्नु स्वाभाविक हो। हामीले उहाँलाई स्वास्थ्य मन्त्रालयमै घेर्यौँ। उहाँलाई निस्कन नदिने भन्ने अडान राख्यौ। यो गर्न जरुरी थियो, किनकि हामीले यत्रो आन्दोलन गर्दा पनि उहाँले सम्पर्क गर्नुभएको छैन।

उहाँलाई निस्कन नदिएपछि प्रहरी बोलाउनु भयो। प्रहरी आएपछि भन्नुभयो, 'तिमीहरु अस्पताल बन्द गरेर आन्दोलन गरिरहेका छौँ। एक जना बिरामीलाई तलमाथि भयो भने म तिमीहरु सबैलाई एक एक गरेर ठीक पार्छु।'

उहाँले त्यहाँ सरासर झुट बोल्नुभयो। हामीले सेवा अवरुद्ध गरेका छैनौँ। साथीहरु ड्युटी गरिरहेका छन्। बिरामीलाई असुविधा नहोस् भनेर हामी यत्रो पीडित हुँदा पनि सेवा दिइरहेका छौँ। 

हामीले उहाँलाई निस्कन नदिएपछि प्रहरीले लछारपछार गरेर भृकुटीमण्डप प्रहरी बिटमा लग्यो। जबर्जस्ती भ्यानमा हाल्ने महिला प्रहरी थिएनन्। छलफलको लागि भनेर लगेका त्यहाँ हामीलाई त्यतिकै राखियो। 

साढे सात बजेसम्म त्यहाँ राखेपछि हामीलाई सिंहदरबार प्रहरी बिट अनामनगर लगे। त्यहाँ लग्नासाथ हाम्रो मोबाइल खोसियो। कपालमा लगाएका क्लिपहरु पनि खोल्न लगाए। त्यसपछि हिरासतमा राखियो।

हामीले त्यहाँ लगेपनि कोही छलफल गर्न आएनन्। न कोही आएर सोधपुछ नै गर्‍यो। त्यतिकै राख्यो।

हामीलाई छोड्दिनुस् भनेर आग्रह गर्दा उनीहरु भन्थे— 'कत्ति कराउँदा रैछन यिनीहरु लाठी हान्नुपर्छ कि क्या हो। चुप लागेर बस्न सक्देनौँ कत्ति कराउन सकेका?'

उनीहरुले त्यसरी थर्काएपछि हाम्रो केही साथीहरु रुन थाले। साथीहरुलाई फकाउनसमेत गाह्रो भयो। राति राति त्यसरी प्रहरीले थर्काउदा डर लाग्नु स्वाभाविक थियो। किनकि, अस्पतालमा सेवा दिने हामी नर्सलाई हिरासतको अनुभव थिएन।

हिरासतमा राख्नुअघि हामीले संघकी अध्यक्ष पोखरेललाई फोन गरेका थियौँ। उहाँले यत्ति राति केही गर्न सक्दिन भन्दै फोन काट्नुभयो। त्यसपछि पटक पटक फोन गर्यौ एकपटक पनि उठाउनु भएन। डा पुकारको पनि फोन स्विच अफ थियो। 

राति अबेरसम्म हामी घर नपुगेपछि हाम्रा अभिभावकहरु अस्पताल पुगेछन्। अस्पतालमा गएर हल्लाखल्ला गरेपछि हामी यता रहेको थाहा भएछ। हाम्रा साथीका अभिभावकहरु राति हिरासतमा आए। उहाँहरु आएपछि प्रहरीले हामीलाई छोडिदियो। हामी घर फर्कदा लगभग ११ बज्न लागिसकेको थियो।

नर्सिङ पढ्दै गर्दा यस्तो दिन आउँछ भन्ने सोचेकै थिएनौँ। तर, यस्तै भयो। अहिलेपनि यसरी आन्दोलनमा छौँ। माग पुरा हुन्छ/हुन्न थाहा छैन। तर, अब चाँहि अन्याय सहेर बस्दैनौँ।


के हो माग ?


•    सबै कर्मचारीहरुलाई समयमै तलब दिनुपर्ने। 
•    ठेकेदार प्रकिया हटाई कार्यरत सम्पूर्ण कर्मचारीहरुलाई अस्पतालले नै तलबको व्यावस्था गर्नुपर्ने
•    सरकारी अस्पतालमा पाईने सेवा सुविधा उपलब्ध गराइनु पर्ने।
•    पुरानो कर्मचारीको कार्यसम्पादन मुल्याकंनको आधरमा ग्रेडिङ गरिनु पर्ने।
•    पुरानो कर्मचारीलाई स्थायी गरिनुपर्ने।

सम्बन्धित समाचार

८५ हजार 'रजिस्ट्रेड नर्स', तर ४८ हजार बेरोजगार: कुन चर्चित अस्पतालमा नर्सको तलब कति?

बाँच्‍ने आशामा निषेधको त्रास : विरामी र कुरुवा उत्रिए अस्पतालविरुद्ध, नर्सको बिजोग उस्तै

छोरीको आन्दोलन, सहभागी आमा : किन रोइन् मायादेवी?

नर्सको व्यथा कसलाई के थाहा!

नर्सको तलब पाँच हजार! श्रमशोषण बन्द गर भन्दै यसरी आन्दोलनमा उत्रिए



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell