PahiloPost

Nov 22, 2024 | ७ मंसिर २०८१

'१२ लाख खर्च गरेर नर्स पढ्यौँ, पछुतो लागिरहेको छ, अब पानीपुरी बेच्‍नुपर्ला जस्तो छ'



सागर बुढाथोकी

'१२ लाख खर्च गरेर नर्स पढ्यौँ, पछुतो लागिरहेको छ, अब पानीपुरी बेच्‍नुपर्ला जस्तो छ'
नर्सहरुको विरोध प्रदर्शनको फाइल फोटो

'के के सोचेर नर्सिङ पढेको थिएँ, अहिले यस्तो बिजोक हुनलाई रै'छ,' घोसेमुण्टो लगाएर उनी बोलिन्, ' कति सपना थिए, सबै चकनाचुर जस्तै भयो। अब त दिक्क लाग्यो। पानीपुरी चटपटे बेचेर बस्नुपर्ला...'

बोल्दाबोल्दै चुप भइन्। कुरा सुनेर सँगैका साथीहरु स्तब्ध। सबै मुखामुख गरे तर कसैको पनि बोली फुटेन। सबै उदास र निरास। अनुहारमा छटपटीको भाव। लामो मौनता तोड्दै उनकी एक साथी बोलिन्, 'हार मान्नुहुन्न के। कति संघर्ष त गरियो, अहिले निराश भएर हुन्छ त...?'

साथीलाई निराश नहुन सम्झाइरहेकी उनी आफै भावुक देखिइन्। आँखामा आँसु छल्कियो। त्यसपछि उनको मुखबाट कुनै शब्द झरेनन्।

उनी पनि साथीहरु जस्तै चुपचाप टोलाइरहिन्।

यो दृश्य हो, लाजिम्पाटस्थित नेपाल नर्सिङ संघको प्राङ्गणको। विगत तीन दिनदेखि मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरका नर्सहरुले यहाँ धर्ना दिइरहेका छन्। अस्पतालले अन्याय गरेको भन्दै उनीहरु लामो समयदेखि आन्दोलनमा छन्। तर, माग पूरा हुन सकेको छैन।

केही क्षणको मौनता तोड्दै नर्सिङ छाडेर चटपटे व्यापार गर्ने मनसाय बनाएकी नर्स आफ्नो कथा सुनाउन तयार भइन्। तर, उनको शर्त थियो - 'मेरो नाम र फोटो चाहिँ नराख्नु।'

कारण सोध्दा जवाफ आयो-  'पहिले अस्पतालको विरुद्धमा बोल्दा साथीहरुको जागिर गयो। लाश नै गायब पार्दिन्छु भन्नेसम्मको धम्की आयो।'

उनले आफ्नो कहानी सुनाइन् -

उनी भक्तपुरको सामान्य परिवारकी। पारिवारिक अवस्था नाजुक। खेती किसानी गर्ने जग्गा थिएन। बुबा आमा दुवै जना अस्पतालका सफाई कर्मचारी। उनी सामान्य स्कुलमै पढिन्, हुर्किइन।

सानैदेखि बिरामी पर्ने भएकाले उनी अस्पताल गइरहनुपर्थ्यो। त्यहाँ नर्सहरुले माया गर्थे। नर्सहरुको काम देख्दा उनलाई चासो लाग्थ्यो। स्कुलमा पनि फ्लोरेन्स नाइन्टिङ्गेलको जीवनी पढ्नुपर्थ्यो। उनले सानैदेखि नर्स बन्ने सपना देखिसकेकी थिइन्।

एसएलसी पास गरिन्। 

त्यसपछि आमाले सोधिन् - 'अब के पढ्ने?'

उनले फ्याट्टै भनिन्- 'नर्स।'

आर्थिक अवस्था कमजोर थियो। नर्स पढाउन सक्ने स्थिति थिएन। आमाले भनिन्, 'अहिले सकिन्न। प्लस टू सक्नु, अनि पढाउँला।'

उनले आमालाई जवाफ दिइन्, - 'पढाउने हो भने नर्सिङ पढाउनु नत्र केही पनि पढ्दिनँ।'

उनकी बहिनीले पनि सँगै एसएलसी पास गरेकी थिइन्। बहिनीको चाहना एयर होस्टेस बनेर आकाशमा उड्नु थियो। बहिनीलाई पनि नर्स पढ्न फकाइन्। बहिनी नर्स बन्न राजी भइन्।

आमाबुबालाई झन दबाव भयो। सामान्य काम गर्ने मजदुरले कसरी उनीहरुलाई नर्स पढाउन सक्थे र? तर, उनको जिद्दीको अगाडि बुबाआमाको केही लागेन। ऋण खोजेरै भए पनि नर्स पढाउन राजी भए।

'अहिले मलाई एकदम 'रिग्रेट' फिल हुन्छ। आमाबुबालाई त्यत्रो खर्च गराएँ,' पुरानो दिन सम्झिँदै उनले भनिन्, 'मेरै कारणले बहिनीको एयर होस्टेस बन्ने सपना चकनाचुर त भयो भयो नर्स बनेर जिन्दगी नि बर्बाद।'

यता उनले आफ्नो कथा सुनाइरहँदा उता धर्नामा बसेका नर्सहरु संघका अध्यक्ष तारा पोखरेललाई भनिरहेका थिए - हामीलाई यत्रो पीडा छ। हामी समस्यामा छौं। तपाईँ हाम्रो आमाजस्तै मान्छे खै त हाम्रा लागि केही गरेको? 

उताका कुरालाई बेवास्ता गर्दै उनले आफ्नो कथा अघि बढाइन्।

आमा बुबालाई दबाव दिएर दिदी बहिनी नर्सिङ कलेजमा भर्ना भए। त्यसपछि आमा बुबा दुवै जना दुई ठाउँमा काम सुरु गर्न थाले। एक ठाउँमा काम गरेर पढाउन सम्भव थिएन। छोरीहरुको सपनाको लागि बुबाआमा दैनिक १८ घण्टा काम गर्थे। त्यतिले मात्र कहाँ पुग्थ्यो र? उनले पानीपुरी चटपटे व्यापार सुरु गरिन्।

आमा बुबा बिहान ६ बजेर उठेर हिँडेपछि राती १० बजे घर आइपुग्थे। उनी कलेजबाट बचेको समयमा चटपटे बेच्थिन्। त्यसले खर्च चलाउन सहयोग गरेको थियो। उनको एउटा सपना पूरा गर्न परिवार नै लागेको थियो। ऋण पनि थपिएको थियो।

तीन वर्षको अन्तरालमा १२ लाख सकियो। आमा बुबाले जोडेको गर गहना बेच्नुपर्‍यो। 'जागिर खाएपछि यस्ता गहना त जोडिहालिन्छ नि' भन्दै उनीहरुले आँटे। २०७१ सालमा दुवै दिदी बहिनी पिसिएल नर्सिङ पास पनि भए।

नर्सिङ पास भएपछि परिवार खुशी थिए। तर, त्यो खुशी लामो समय टिकेन। नर्सिङको सर्टिफिकेट भएर मात्र के गर्नु? काम पाए पो!

जागिरका लागि धेरै ठाउँ भौतारिए। सबैतिरबाट जवाफ आउँथ्यो— 'सुरुमा फ्रि मा काम गर्नुपर्छ। तै पनि अहिले खाली छैन पछि बोलाउँछौं।'

पछि कतैबाट पनि बोलाउँदैन थिए। बेतलवी काम गर्न समेत नपाउँदा दिक्क लाग्थ्यो। अस्पताल चहारेर गाडीमा फर्कँदा दिदी बहिनी दुवै रुन्थे। व्यर्थै पढिएछ नर्सिङ जस्तो लाग्थ्यो उनीहरुलाई।

आमा बुबा दैनिक १८ घण्टा काम गर्दागर्दै गलिसकेका थिए। अस्पताल धाउँदाधाउँदै निराश भइसकेका थिए।

'त्यतिबेला म डिप्रेसनमा गइसकेकी थिएँ। केही गर्न सकिरहेको थिइनँ। सोच्न नसकेर दिमाग शून्य थियो,' विगत सम्झिँदै उनले भनिन्, 'म जे काम भेटे पनि गर्ने मुडमा निस्किएको थिएँ।'

यसरी बेचैन भइरहेको बेला बी एण्ड बी अस्पतालले बोलायो। आशा मारेर घरमा बसेका दिदी बहिनी नै खुशी भएर गए।

अस्पतालले अफर गर्‍यो - सुरुमा फ्रिमै काम गर्नुपर्छ।

'केही नगरी बेरोजगार बस्नुभन्दा काम गर्नु नै ठीक,' यस्तै सोचेर प्रस्ताव स्वीकार गरे। पछि काममा राख्लान् भन्ने झिनो आशा थियो।

नयाँ काम भएकाले जोश थियो। अब त केही होला भन्ने आशा पनि। नर्स बन्ने सानैदेखिको सपना पूरा भएकाले फ्रि मै काम गर्न पनि गाह्रो लागेको थिएन।

काममा गएको हप्ता दिन पनि भएको थिएन। दिदी बहिनी नै ड्युटीमा थिए। अस्पतालको प्रशासनले बोलाएर भन्यो - 'अहिले तपाईँहरु जानुस्, तपाईँहरुलाई पछि बोलाउँछौं।'

दिदी बहिनी नै अक्क न बक्क परे। 

'यो सिफ्टको ड्युटी सकाएर जान्छौँ नि,' - उनीहरुले विनम्रतापूर्वक आग्रह गरे। उताबाट जवाफ आयो- 'हैन अहिले नै गइहाल्नुस्।'

उनीहरु छक्क परे। कुनै गल्ती भएको थिएन। बिरामीलाई नराम्रो व्यवहार गरेका थिएनन्। अस्पतालको व्यवहारले चित्त दुख्यो। दिदी बहिनी नै रोए। नर्सिङको सर्टिफिकेटदेखि घृणा जागेर आयो। रुँदै घर फर्किए। धेरै दिनसम्म मन बैचेन भइरह्यो।

दिन बित्यो, हप्ता बित्यो। महिनौं बित्यो तर अस्पतालले बोलाएन। त्यहाँ फर्कने मूड पनि थिएन।

नर्सिङ संघको प्राङ्गणमा उनले आफ्नो कुरा सुनाइरहँदा उनकी बहिनी टुप्लुक्क आइपुगिन्। दिदीको कुरा सुनेपछि भनिन्, 'यस्ता तीता मीठा अनुभवहरु त कति छ कति। लेख्नुहुन्छ भने त उपन्यास बन्छ। फिल्म बन्छ।'

बहिनीको कुराले दिदी फिस्स हाँसिन्। अनुहारमा पीडा झल्किरहेको थियो। पावरवाला चस्माको लेन्स आँसुको वाफले ढाक्यो।

'अस्पतालले अपमान गरेर पठाउँदा मर्न मन लागेको थियो,' उनी सुस्तरी बोलिन्, 'तर बुबा आमालाई बिजोक बनाएर मर्न गाह्रो हुने रहेछ।'

उनी विरक्तिएर घरमै बसिरहेकी थिइन्। त्यही बेला एकजना अस्पतालको दाइसँग चिनजान भयो। उनले जागिर लाइदिन आग्रह गरिन। ती दाइले ब्लु क्रस अस्पताल त्रिपुरेश्वरमा पठाइदिए। त्यहाँ पनि फ्रि मै काम गर्नुपर्ने। तै पनि फेरि राजी भइन्।

ब्लु क्रस अस्पतालमा काम गरेको महिना दिन पुगेकै थिएन। फेरि बी एण्ड बी अस्पतालबाट काम गर्न आउनु भनेर फोन आयो। त्यहाँ फर्किन मन मानेकै थिएन। उताबाट भनियो, 'पहिले थाहा नभइकन तपाईँहरुलाई निकालेछन्। आउनुस् अब त्यस्तो हुन्न। केही समयमै तलब आउने गरी राख्छौँ।'

केही समयमै तलब आउने कुरा सुनेपछि उनी गइन्। उनकी बहिनीले मानव अंग प्रत्यारोपण केन्द्रमा फ्रि मै काम सुरु गरिसकेकी थिइन्।

पाँच महिना काम गर्दा पनि बी एण्ड बीले तलब दिने कुरा गरेन। उनी दिक्कदार भइसकेको थिइन्। बुबाआमा पनि अचम्ममा परिसकेका थिए। थोरै खर्चमा अन्य विषय पढेका साथीभाइ जागिरे भइसकेका। फ्रस्ट्रेसनले हद नाघिसकेको थियो। उनलाई बी एण्ड बी फर्कनै मन लागेन।

त्यसपछि उनी मानव अंग प्रत्यारोपणमा काम गर्न पुगिन्। त्यहाँको कथा पनि उस्तै। फ्रि मै काम गर्नुपरेको थियो। एक दिन दिक्क भएर त्यहाँकै एक जना सिनियर नर्सलाई पीडा सुनाइन्, 'तीन वर्ष भइसक्यो नर्सिङ पास गरेको अहिलेसम्म फ्रिमै काम गरेको छु। दिक्क लागिसक्यो। म त सुसाइड गर्छु होला।'

सुसाइड गर्ने कुरा सुनेपछि ती दिदी भावुक भइन्। त्यही अस्पतालको एक जना नर्सले पनि यस्तै कारणले विष सेवन गरेर आत्महत्या गर्ने प्रयास गरेकी रहिछन्। आत्महत्याको कुरा सुनेर दिदीले सहयोग गर्ने वाचा गरिन्।

बहिनी १८ महिनादेखि फ्रि मै काम गरिरहेकी थिइन्। उनको अवस्था त्यस्तै। यस्तो हुँदा घरमा तनाव बढ्न थाल्यो। बल्लतल्ल उनले पारिश्रमिक पाउने भइन्। अस्पतालले सर्त राख्यो- 'हप्तामा सात दिन काम गर्ने र चार दिनको पारिश्रमिक दिने।'

उनी राजी भइन्। महिनामा १०/१२ हजार कमाई हुन थाल्यो। त्यहाँ १६ महिना काम गरेपछि करारका लागि परीक्षा दिइन। लिखितमा पास भइन्, अन्तर्वार्तामा फेल। फेरि बेरोजगार हुने दिन आए।

उनीमात्रै होइन पहिलेदेखि काम गर्दै आएका धेरै साथीहरुको अवस्था उस्तै भयो। अस्पताल विरुद्ध बोल्दा अस्पतालले निकालिदियो। मार्ने समेत धम्की आयो। त्यो बेला न्याय माग्दै स्वास्थ्य मन्त्रालयदेखि नर्सिङ काउन्सिलसम्म धाए। जताबाट पनि आश्वासन मात्रै मिल्थ्यो।

देशभर नर्सहरुले आन्दोलन गरेपछि ८ महिनापछि उनीहरु पुनर्वहाली  त भए तर अवस्था उस्तै। 'अस्पतालका निर्देशकले आफ्नो मान्छेलाई सिधै राख्थे, अरुलाई ठेकेदारमार्फत्,' उनले भनिन्, 'त्यसले गर्दा एउटै पोस्टमा काम गर्नेहरुको तलबमै आकाश र जमिनको फरक छ। तलब समयमै नआउने समस्या उस्तै।'

अवस्था भद्रगोल बन्दै गएपछि उनीहरु विभेद विरुद्ध बोल्न थाले। जो अस्पतालविरुद्ध बोल्थ्यो उसलाई एक्लै कोठामा बोलाएर थर्काउँथे। धेरै साथीहरु जागिर जाने डरले मौन भए। बोलिरहनेको जागिर चट्। अस्पतालमा निर्देशकको आफ्नो मान्छे र अरु स्टाफबीच हात हालाहाल समेत भयो। त्यसो हुँदा पनि निर्देशकलाई कुनै फरक परेन। 

केही महिनाअघि अस्पतालले ९६ जना नर्सको आवेदन खुलाएको छ। जसको प्रावधानको कारण त्यहाँ पहिलेदेखि काम गरेका नर्सहरु बाहिरिनु पर्ने अवस्था निश्चित जस्तै छ। त्यो अवस्था नआओस् भन्नको लागि उनीहरु आन्दोलन गर्दैछन्।

उनकी आमा अहिले पनि पुरानै काम गर्छिन। बुबाको हालत पनि उस्तै। आमा बुबा दुवै बिरामी भएकाले पहिले जस्तो काम गर्न सक्दैनन्।

अहिले अस्पतालले झुलाएको छ। नर्सिङ संघले झुलाएको छ। उनलाई आमाले सोध्छिन्, 'खै त कहिले कमाउने हो तिमीहरुले? सधैँ यस्तो विजोग?'

उनीसँग केही जवाफ छैन्। मौन बसे पनि मनमा अनेक तर्कना खेल्छ। फ्रस्टेसनले हद नाघिसक्यो।

भन्छिन्, 'मर्‍यो भने कायर भन्छन्। आमा बुबाको दु:ख हटाउनको लागि पनि अब पानीपुरी बेच्ने योजना बनाएको छु।'
 

सम्बन्धित समाचार

८५ हजार 'रजिस्ट्रेड नर्स', तर ४८ हजार बेरोजगार: कुन चर्चित अस्पतालमा नर्सको तलब कति?

बाँच्‍ने आशामा निषेधको त्रास : विरामी र कुरुवा उत्रिए अस्पतालविरुद्ध, नर्सको बिजोग उस्तै

छोरीको आन्दोलन, सहभागी आमा : किन रोइन् मायादेवी?

नर्सको व्यथा कसलाई के थाहा!

नर्सको तलब पाँच हजार! श्रमशोषण बन्द गर भन्दै यसरी आन्दोलनमा उत्रिए



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell