भक्तपुर: भक्तपुरको सल्लाघारीमा रहेको सैनिक आवासीय महाविद्यालय अन्तर्गत विज्ञान तथा व्यवस्थापन संकाय) रहेको भवनको माहौल आज भिन्न छ। सैनिकको बाक्लो उपस्थिति हुने र महाविद्यालयमा अध्ययन गर्ने विद्यार्थीबाहेक अहिले त्यहाँ भक्तपुरका स्थानीयहरुको जमघट छ।
महाविद्यालय परिसरभित्र रहेको रानीपोखरी वरिपरि रहेको आ-आफ्नो दिगु द्य: (कुलदेवता) को वार्षिक पूजाका लागि भक्तपुरवासी रानीपोखरी पुगिरहेका छन्।
अरु समय भने स्थानीयहरुलाई आफ्नै कुलदेवता रहेको रानीपोखरीमा प्रवेशको अनुमति दिइँदैन। कुनै विशेष अवसरमा त्यहाँ जान परे सेनाको अनुमति आवश्यक पर्छ।
वि सं २०४० सालभन्दा पहिला पोखरी सबैका लागि खुल्ला थियो। तर तत्कालीन शाही सरकारले सैन्य तालिम केन्द्रको विकास गर्न रानीपोखरी लगायत आसपासका ३२ रोपनी क्षेत्रफल अधिग्रहण गर्यो। जनताको जमिनमा सेनाको नियन्त्रणमा पुग्यो। त्यसपछि स्थानीयहरु स्वतन्त्र रुपमा आफ्नै देवता पुज्नबाट वञ्चित भए।
सेनाले वर्षको दुई दिन अर्थात् अक्षय तृतीया र त्यसको पर्सिपल्ट (आज) स्थानीयहरुको कुलपुजाका लागि रानीपोखरी परिसर खुल्ला गर्छ।
अहिले रानीपोखरीमा आफ्ना कुलदेवता पूजा गर्ने मानिसहरुको घुँइचो लागेको छ।
काठमाडौंको भन्दा जेठो भक्तपुरको रानीपोखरी
हुनत भक्तपुरमा पनि रानीपोखरी रहेको बारेमा भक्तपुरकै धेरै मानिसहरु अनभिज्ञ छन्। भक्तपुरभन्दा बाहिरका मानिसलाई थाहा हुने त कुरै भएन।
सेनाको नियन्त्रणमा पुगेको रानीपोखरी काठमाडौंको रानीपोखरीभन्दा जेठो पोखरी हो। भक्तपुरका राजा जगज्योति मल्लले विक्रम संवत् १६८७ मा आफ्नी रानी राजलक्ष्मीको सम्झनामा रानीपोखरी निर्माण गरेको बताउँछन् संस्कृतिविद् पुरुषोत्तमलोचन श्रेष्ठ। उनका अनुसार सो पोखरीको बीचमा सुनको नागको टाउको र चारैतिर विभिन्न मूर्तिहरु रहेको थियो।
काठमाडौंको रानीपोखरी भने त्यसको ४० वर्षपछि विसं १७२७ मा प्रताप मल्लले बनाउन लगाएका थिए। प्रताप मल्लले आफ्नो छोरा चक्रवतेन्द्रको मृत्युपछि आफ्नी रानीको मन बुझाउन बनाएका थिए।
'प्रताप मल्लले भक्तपुर आक्रमण गर्दा यहाँका पोखरीहरु भत्काएका थिए। भक्तपुरको रानीपोखरीमा क्षति पुर्यााउने उनी नै थिए। त्यसमा सायद भाजुपुखुसमेत थियो। पछि उनैले काठमाडौंमा भाजुपुखुको नक्कल गर्दै रानीपोखरी बनाए,' श्रेष्ठले भने।
भक्तपुरभन्दा पछि बनेकोले काठमाडौंका स्थानीयहरु यहाँको रानीपोखरीलाई 'न्हू पुखु' भन्ने गर्छन्।
अहिले भने दुवै पोखरीको अवस्था दयनीय छ।
काठमाडौंमा रहेको रानीपोखरी पुनर्निर्माणको क्रममा छ। काठमाडौं महानगरपालिकाले २०७५ साउन महिनाको सुरुवातमा रानीपोखरीको पुनर्निर्माण गर्ने जिम्मेवारी एकाएक नेपाली सेनालाई दिने समाचार बाहिरियो।
आफ्नो रानीपोखरी सेनाले नियन्त्रणमा राखेको भोगेको भक्तपुर नगरपालिकाले काठमाडौं महानगरपालिकालाई काठमाडौंको रानीपोखरी सेनालाई नदिन सुझाव दिँदै सचेत गराएको थियो। भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले साउन १३ मा काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, कीर्तिपुर नगरपालिका र मध्यपुर थिमी नगरपालिकाका मेयरहरुलाई बोलाई काठमाडौं उपत्यकामा अवस्थित पुरातात्विक, ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेका संरचनाहरु पुनर्निर्माणमा जनसहभागिता जुटाइ गर्ने निर्णय गरेको थियो।
भक्तपुरका मेयर सुनिल प्रजापतिले पहिलोपोस्टलाई भनेका थिए, 'हाम्रो सम्पदाहरुको पुनर्निर्माण गर्ने काम सेना वा ठेकेदारलाई दियो भने हाम्रो औचित्य नै समाप्त हुन्छ।'
अहिले काठमाडौंको रानीपोखरीको पुनर्निर्माणमा भक्तपुरका रैथानेहरु खटिएका छन्। काठमाडौंको रानीपोखरी निर्माणमा सहयोग गरिरहेको भक्तपुर आफ्नै रानीपोखरी खुलाउन भने संघर्ष गरिरहेको छ।
सेनाको नियन्त्रण रहेको रानीपोखरीलाई नगरपालिकाले सेनासँग सहकार्य गर्दै सर्वसाधारणका लागि सदाका लागि खुल्ला गराउने प्रयास अहिले पनि गरिरहेको छ।
प्रमुख प्रजापति भन्छन्,'यो पोखरी भक्तपुरको नासो हो। यसलाई खुलाउन हामीले सेनासँग कुरा गरिरहेका छौं। कसैले नियन्त्रणमा राख्नु उपयुक्त होइन। '
प्रजापतिले भक्तपुरका स्थानीयले दिगु पुजा गर्दै भक्तपुरको रानीपोखरी जनताकै ठाउँ भएको र यो ठाउँको नाप नक्सा गरी पुराना भेटिएका तस्बीरहरूका आधारमा पुरानै शैली र परम्परागत निर्माण सामग्री प्रयोग गरी पुनःनिर्माण गर्न सम्बन्धित निकायसँग छलफल भइरहेको बताए।
उनले भक्तपुरको रानीपोखरीको अवस्था अहिले दयनीय भएको भन्दै विज्ञहरुको सल्लाह बमोजिम त्यसलाई पुनर्जीवन दिने बताए। त्यसैले वैशाख १५ गते भक्तपुर नगरपालिकाले रानीपोखरीमा सरसफाई समेत गरेको थियो।
अहिले सेनाको नियन्त्रणमा रहेको रानीपोखरीको मध्यभागमा मात्रै पानी छ। मध्य भागमा रहेको नागको टाउको देखिँदैन। चारैतिर झारपातले ढाकेको छ। स्थानीयहरु झारपात सफा गर्दै आफ्नो धार्मिक कार्य गर्दैछन्। सेनाले स्थानीयलाई प्रवेश नदिए पनि पोखरी जगेर्ना गरेको भए राम्रो हुने स्थानीयहरु बताउँछन्। तर उल्टै पोखरी सुकाएर त्यसको वरिपरि घर र रुखहरु काटेकोमा निराश छन्।
कुलपुजा गर्न पुगेका विकास भुसिटु पहिला खुल्ला रहेको स्थानमा अहिले धमाधम भौतिक संरचना निर्माण भइरहेको बताउँछन्। भने ,'पहिला पोखरीको मध्य भागमा एउटा लामो काठ थियो। अहिले त्यो पनि भाँचियो। कुलपुजा गर्ने स्थानसँगै विद्यालयको भवन र क्यान्टिन र सेनाका लागि आवास बनाइएको छ। कुल देवतालाई पूजा गर्ने विधि हुन्छ। तर त्यससँगै क्याटिन खोल्नु उपयुक्त लागेन।'
सिद्धपोखरी जाने क्रममा देखिने खुल्ला मैदान सबै सेनाले अधिग्रहण गरेको जग्गा हो। अहिले त्यहाँ सैनिक आवासीय महाविद्यालय रहेको छ।
भुसिटु सानो छँदा पहिला दिनभर कुलपूजा हुने र त्यहीँ भोज खाने चलन भए पनि अहिले भने पूजा गरेर समयबजी खाएर घर फर्कने गरेको उनी बताउँछन्। भने, 'वर्षको दुई दिन खुल्छ। अस्ति प्रजापति र अवाल आए। आज धेरैजसो ज्यापु आउँछन्। सबैलाई पालो दिनै पर्यो। दिउँसो त हुल हुन्छ।'
रानीपोखरीमा प्रजापति, अवाल, जोन्छे, महर्जन, भुसिटु लगायत विभिन्न समुदायको कुल देवता रहेको छ। त्यसबाहेक त्यहाँ विभिन्न सांस्कृतिक पर्वहरु हुने गर्थे। सेनाले लिएपछि ती चाडपर्वहरु बिस्तारै लोप हुँदै गए।
काठमाडौंको टुँडिखेलमा सेनाले अतिक्रमण गरेपछि त्यहाँ पनि स्थानीय नेवारहरुले गर्दै आएका कुलपूजा र विभिन्न जात्रा पर्वमा समस्या पर्दै असनका स्थानीय लाभरत्न तुलाधर बताउँछन्। टुँडिखेलमा सेनाले मुख्यालयमात्र बनाएन, पार्टी प्यालेस र पछिल्लो समयमा सैनिक पुस्तकालयको भवनसमेत ठड्याएको छ।
भक्तपुरका धेरै स्थानीयहरु आफ्नो छोरी इही र छोराको ब्रतबन्ध देवालीकै समयमा गर्छन्। अहिले पनि त्यो परम्परा कायम छ। सेनाले आवश्यक बेलामा रानीपोखरी प्रवेशको अनुमति त दिन्छ। तर आफ्नै कुल देवता कहाँ जान पनि सेनाको अनुमति लिनुपर्ने भन्दै स्थानीयहरु आक्रोशित छन्। त्यसैले उनीहरु सेनाले नियन्त्रणमा राखेको रानीपोखरी खुल्ला गर्नुपर्ने माग गरिरहेका छन्।