PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

पीएम कप क्रिकेट : 'लो स्कोरिङ' खेलमा बलर हावी बन्दा पुलिस च्याम्पियन



गोविन्दराज नेपाल

पीएम कप क्रिकेट : 'लो स्कोरिङ' खेलमा बलर हावी बन्दा पुलिस च्याम्पियन

काठमाडौं : नेपाल पुलिस र त्रिभुवन आर्मीले पहिलो प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि सेयर गरेका थिए। वर्षाले फाइनल खेल प्रभावित बन्दा दुवैले स्पष्ट रुपमा उपाधि जित्न सकेका थिएनन्। तेस्रो संस्करणमा फाइनलमा पुगेका यी दुवैको लक्ष्य स्पष्ट जितसहित च्याम्पियन बन्ने थियो।

यस पटक मौसमले फाइनल खेललाई साथ दियो। तर लगातार तेस्रो पटक फाइनल पुगेको आर्मीलाई ब्याटिङले भने राम्रो साथ दिएन। लो स्कोरिङ फाइनल खेलमा स्पीनरद्वय ललित नारायण राजवंशी र पवन सर्राफ चम्केपछि पुलिसले आर्मीलाई ४ विकेटले पराजित गर्दै उपाधि जितेको हो। यी दुईले फाइनलमा ८ विकेट लिएका थिए।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर आर्मीले पहिले ब्याटिङ गरेको थियो। तर ललित र पवनले ४-४ विकेट लिएपछि आर्मी ३३.३ ओभरमा १२५ रनमै अलआउट भएको थियो। सेमिफाइनलसम्म ब्याटिङमा उत्कृष्ट प्रदर्शन गरेको आर्मीको ब्याटिङ लाइनअफ फाइनलमा भने चल्न सकेन।

च्याम्पियन पुलिसका कप्तान मन्जित श्रेष्ठले बलरहरुले राम्रो प्रदर्शन गरेकाले उपाधि जित्न सफल भएको बताए। 'आज हाम्रो बलरहरुले एकदमै राम्रो प्रदर्शन गरे। जितको क्रेडिट बलरलाई जान्छ।'

फाइनलमा पारजित भएपछि आर्मीका कप्तान विनोद भण्डारीले ब्याटिङ राम्रो नहुँदा पराजित हुनपरेको बताए। 'सुरुवात राम्रो रहेपनि मिडल अर्डरले राम्रो ब्याटिङ गर्न सकेनन्। पुलिसले राम्रो बलिङ गर्‍यो।'

प्रतियोगितामा पहिलो पटक ओपनिङ गरेका सोमपाल कामीले सर्वाधिक ३५ रन बनाए। पहिलो विकेटका लागि राजु र सोमपालले ७२ रनको साझेदारी गरेका थिए। त्यसपछि थप ५३ रन जोड्दा आर्मीले बाँकी ९ विकेट गुमायो।

१६औं ओभरमा सोमपाल कामीलाई ललित राजवंशीले पवन सर्राफबाट क्याचआउट गराउँदै पुलिसलाई सफलता दिलाएका थिए। टिमको स्कोर ७२ रन नै हुँदा १७औं ओभरमा ३२ रन बनाएका अर्का ओपनर राजु रिजाललाई सागर ढकालले कुशल भुर्तेलको हातबाट क्याचआउट गराएपछि आर्मीले अर्को विकेट गुमायो। त्यसपछि राजवंशीले २२औं ओभरमा रोहित कुमार पौडेललाई बोल्ड आउट गरे। त्यसपछि भने आर्मीले लगातार विकेट गुमाउन थाल्यो। २५औं ओभरमा पवन सर्राफले ४ रन बनाएका हरि बहादुर चौहानलाई कट एण्ड बोल्ड गरे। २८औं ओभरमा राजवंशीले राजेश पुलामी मगरलाई एलबीडब्लु आउट गरेपछि आर्मी १०६-५ को अवस्थामा पुग्यो।

छैटौँ नम्बरमा ब्याटिङ गरेका भिम सार्कीले एक छेउबाट इनिङ्स सम्हाल्ने प्रयास गरेपनि अर्को छेउबाट विकेट गइरह्यो। २९औं ओभरको पहिलो बलमा आर्मीका कप्तान विनोद भण्डारी (१) पवन सर्राफको बलमा कट एण्ड बोल्ड भए। सोही ओभरको दोस्रो बलमा पवनले कुशल मल्ल (०) लाई बोल्ड आउट गरे। अर्को ओभरमा राजवंशीले करण केसी (०) लाई एलबिडब्लु आउट गरे। १८ रन बनाएका भिम सार्कीलाई पवनले ३३औं ओभरमा आरिफ शेखको हातबाट क्याचआउट गराए। अर्को ओभरमा सुशन भारी रनआउट भएपछि आर्मी १२५ रनमै अलआउट भयो।

पुलिसका पवनले ७ ओभरमा ४ मेडन राख्दै १२ रन खर्चेर ४ विकेट लिए। ललितले ९.३ ओभरमा १ मेडन राख्दै ३६ रन खर्चेर ४ विकेट लिए। सागर ढकालको नाममा १ विकेट रह्यो।

१२६ रनको सामान्य लक्ष्य पछ्याउने क्रममा पुलिसको पनि राम्रो सुरुवात हुन सकेन। अमित श्रेष्ठको ४५ रन र ओपनर सुनिल धमलाको नटआउट ४४ रनको मद्दतमा पुलिसले ४१औं ओभरमा लक्ष्य पूरा गरेको थियो।

अनिल शाह दोस्रो ओभरमा करण केसीको बलमा शहाब आलमबाट क्याच आउट भएका थिए। दोस्रो विकेटका लागि सुनिल र अमितले ५२ रनको साझेदारी गरे। अमितले ४० बल खेल्दा ६ चौका र २ छक्का प्रहार गरे। उनी १३औं ओभरमा बशाबको बलमा सोमपाल कामीबाट क्याचआउट भए। त्यसपछि आरिफ शेख ६, पवन सर्राफ १, दिपेन्द्र सिंह ऐरी ७ र कुशल भुर्तेल ६ रन बनाएर आउट भएपछि पुलिस १०२-६ को अवस्थामा पुगेको थियो।

त्यसपछि सुनिलले कप्तान मन्जित श्रेष्ठसँग मिलेर सातौं विकेटका लागि २४ रनको साझेदारी गर्दै पुलिसलाई जित दिलाए। ओपनर सुनिलले १३१ बल खेल्दै २ चौकाको मद्दतमा नटआउट ४४ रन जोडे। मन्जितले १९ बल खेल्दै १ चौकाको मद्दतमा ११ रन योगदान गरे।

फाइनलमा लो स्कोर रहेपनि सुनिलले एक छेउबाट इनिङ्स सम्हाल्ने योजना अनुसार नै खेलको मन्जितले बताए।

'हामीले आर्मीलाई यति सजिलै जित्छौँ भनेर सोचेका थिएनौँ। बलरले राम्रो गर्दा १२५ मा रोक्यौँ तर ब्याटिङमा राम्रो भएन।' तर सुनिलले योजना अनुसार नै ब्याटिङ गरेपछि खेल जित्यौँ' मन्जितले भने।

बलिङमा आर्मीका करण केसीले ९.३ ओभरमा १ मेडन राख्दै ३५ रन खर्चेर ३ विकेट लिए। यस्तै शहाब आलमले १० ओभरमा २ मेडन राख्दै २५ रन खर्चेर २ विकेट लिए। सुशन भारीले १ विकेट लिए।

च्याम्पियन पुलिसले नगद २० लाख हात पार्दा आर्मीले लगातार दोस्रो पटक उपविजेता बन्दै १० लाखमा चित्त बुझायो।

प्रतियोगितामा सर्वाधिक २० विकेट लिएका च्याम्पियन टोली पुलिसका स्पीनर ललित नारायण राजवंशी म्यान अफ दि सिरिज घोषित भए। उनी नै बेस्टर बलर चुनिए। तीन अर्धशतकसहित २६१ रन बनाएका आर्मीका राजु रिजाल बेस्ट ब्याट्सम्यान घोषित भए। एक अर्धशतकसहित १२१ रन बनाएका सुदूरपश्चिमका खडग बोहरा इमर्जिङ प्लेअर घोषित भए।

सम्बन्धित समाचार:  यी हुन् लगातार दुई पटक प्रधानमन्त्री कप क्रिकेट जित्ने दुई खेलाडी

ललित राजवंशीलाई म्यान अफ दि सिरिजसहित ३ अवार्ड, बाइक भने पाएनन्



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell