PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

एसीसी यू-१९ इस्टर्न रिजन : नेपाल लगातार च्याम्पियन



पहिलोपोस्ट

एसीसी यू-१९ इस्टर्न रिजन : नेपाल लगातार च्याम्पियन

काठमाडौं : एसियन क्रिकेट काउन्सिल एसीसीले आयोजना गर्ने एसीसी यू-१९ इस्टर्न रिजन २०१९ टुर्नामेन्ट नेपालले लगातार दोस्रो पटक जितेको छ।

डिफेण्डङ च्याम्पियनको रुपमा मलेसिया पुगेको नेपाली युवा टिमले मंगलवार हङकङलाई ६ विकेटले पराजित गर्दै यस संस्करणको उपाधि जितेको हो। सागर ढकालको ५ विकेट लिएपछि ९५ रनमा अलआउट भएको हङकङलाई नेपालले सहजै पराजित गरेको हो। नेपालले ९६ रनको लक्ष्य १६.१ ओभर खेल्दै ४ विकेट गुमाएर पूरा गरेको हो।

सन् २०१७ मा मलेसियामै भएको यस प्रतियोगितामा नेपालले हङकङलाई नै ५ विकेटले हराएर उपाधि जितेको थियो।

राष्ट्रिय टिमका सदस्य समेत रहेका रोहित कुमार पौडेलको कप्तानीमा रहेको नेपालले प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्दै अपारजित रहेर ट्रफी उचालेको हो। च्याम्पियन बनेपछि नेपाल आगामी अगष्ट/सेप्टेम्वर मा श्रीलंकमा हुने यू-१९ एसिया कपको लागि समेत छनोट भएको छ।

मलेसिया जानुअघि कप्तान रोहितले आफूहरुको एक मात्र लक्ष्य एसिया कपको लागि छनोट हुनु नै रहेको बताएका थिए। अब नेपालले एसिया कपमा एसियाका टेष्ट खेल्ने पाँच राष्ट्रका युवा टिमसँगै युएई र कुवेत सहभागि प्रतियोगिता खेल्नेछ।

किनरारा ओभल मैदान नेपालले टस जित्दै हङकङलाई पहिले ब्याटिङको निम्तो दिएको थियो। प्रतियोगिताभर नै उत्कृष्ट बलिङ गरेको नेपालले फाइनलमा पनि त्यसलाई कायम राख्दै हङकङलाई कम स्कोरमै रोक्यो। नेपाली बलरको घातक बलिङ सामु टिक्न नसक्दा हङकङ ४३.१ ओभरमा ९५ रनमा अलआउट भयो।

हङकङका लागि कप्तान अदित गोरवाराले २४, कुलहान मार्स चाल्हुले १९ र रौनक कपुरले १२ रन बनाउनु बाहेक बाँकी खेलाडीले दोहवरो अंकमा रन जोड्न सकेनन्। सुरुवात देखि नै दबाबमा परेका हङहङका ३ ब्याट्सम्यान शून्यमै आउट भए।

हङकङलाई कम स्कोरमा अलआउट गर्न नेपालका सागर ढकाल एक्लैले ५ विकेट लिए। सागरले १० ओभरमा ५  ओभर मेडन राख्दै १८ रन खर्चेर ५ विकेट लिए। यस्तै कमल सिह्यं ऐरीले ८ ओभरमा ३ मेडन राख्दै २३ रन खर्चेर ३ विकेट लिए।

किफायती बलिङ गरेका कुशल मल्ले ८.१ ओभरमा ५ ओभर मेडन राख्दै जम्मा ४ रन मात्र खर्चेर १ विकेट लिए।

९६ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले पहिलो विकेटका लागि अर्धशतकिय साझेदारी गर्दै जितको आधार बनाएको थियो। तर त्यसपछि भने नेपालले निरन्तर रुपमा विकेट गुमायो। ओपनरद्वय रित गौम र पवन सर्राफले ५२ रनको साझेदारी गरे। तर रित र पवन आउट भएपछि कप्तान रोहितले नेपाललाई जित नजिक पुर्‍याए।

रित १३ रन बनाएर पहिलो विकेटका रुपमा आउट भए। यस्तै पवनले ३६ बल खेल्दै ५ चौका र १ छक्काको मद्दतमा ३९ रन बनाए। खडक बहादुर बोहरा ८ विकेट बनाएर आउट भए। त्यसपछि कप्तान रोहित पनि १० बलमा १२ रन बनाएर आउट भए। उनले १ चौका प्रहार गरे।

हङकङका रौनक कपुरले २ विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell