PahiloPost

Jul 10, 2025 | २६ असार २०८२

ज्ञानेन्द्रको कीर्तिमानी अर्धशतकमा नेपालले मलेसियालाई हरायो



पहिलोपोस्ट

ज्ञानेन्द्रको कीर्तिमानी अर्धशतकमा नेपालले मलेसियालाई हरायो
Photo Credit : Cricketingnepal

काठमाडौं : ज्ञानेन्द्र मल्लले कीर्तिमानी अर्धशतक बनाएपछि नेपालले आइसीसी टी २० विश्वकप क्वालिफायर एसिया फाइनलमा मलेसियालाई ७ विकेटले पराजित गरेको छ।

वर्षाले प्रभावित भएपछि ९ ओभरमा छोट्याइएको खेलमा ज्ञानेन्द्रको २० बलमै अर्धशतक बनाएपछि नेपालले ८४ रनको लक्ष्य ८ ओभर खेल्दै ३ विकेट गुमाएर पूरा गरेको हो। पहिलो खेलमा कतारसँग हार बेहोरेको नेपालले पहिलो जितपछि २ खेलबाट २ अंक जोडेको छ र विजेता बन्दै ग्लोबल क्वालिफायर पुग्ने सम्भावना कायम राखेको छ। मलेसिया समान २ अंक रहेपनि नेपाल रनरेटमा पछि पर्दै तेस्रो स्थानमा छ। २ खेलबाट अपराजित रहँदै ३ अंक रहेको सिंगापुर पहिलो स्थानमा छ। २ खेलबाट २ अंक जोडेको कतार चौथो र १ अंक जोडेको कुवेत पाँचौ स्थानमा छ।

ज्ञानेन्द्र र प्रदिप ऐरीले पहिलो विकेटका लागि ६६ रनको साझेदारी गर्दै नेपालको जितको आधार तयार पारेका थिए। नियमित कप्तान पारस खड्काको अन्पस्थितीमा कप्तानी सम्हालेका ज्ञानेन्द्रले २१ बल खेल्दै ५ चौका र ३ छक्काको मद्दतमा ५१ रन बनाए।

यस्तै ज्ञानेन्द्र र प्रदिपको ६६ रनको साझेदारी टी २० आईमा नेपालले पहिलो विकेटको लागि गरेको उच्च साझेदारी हो। प्रदिपले १२ रन जोडे।

आठौं ओभरको अन्तिम बलमा विनोद भण्डारीलेले छक्का प्रहार गर्दै नेपाललाई जित दिलाएका हुन्। उनले ८ बल खेल्दै नटआउट १३ रन बनाए।

मलेसियाका लागि मुहम्मद स्याहादतले ३ विकेट लिए।

त्यसअघि इन्डियन एसोसिएसन ग्राउण्डमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको मलेसियाले ९ ओभरमा ७ विकेट गुमाएर ८३ रन बनाएको थियो।

मलेसियका लागि सायद अजिजले सर्वाधिक ३० र भिरनदिप सिंहले १५ रन बनाए। अजिजले १५ बल खेल्दै ५ चौका र १ छक्का प्रहार गरे।

नेपालका लागि सोमपाल कामीले ३ तथा बसन्त रेग्मीले २ विकेट लिए। सन्दीप लामिछाने र करण केसीले १-१ विकेट लिए।

सोमपालले पहिलो ओभरमै दुई विकेट लिँदै नेपाललाई गतिलो सुरुवात दिलाएका थिए। तर आफ्नो दोस्रो ओभरमा भने उही केही महँगा बने। सोमपालले २ ओभरमा २३ रन खर्चेर ३ विकेट लिएका हुन्। करणले २ ओभरमा १२ रन मात्र खर्चे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell