आजभन्दा ठीक एक वर्ष अघि अर्थात् २०७५ साउन १० गते। बिहानै दुर्गादेवी पन्त घरबाट निस्किइन्। गाउँका अरु महिलाहरु पनि उनीसँगै निस्किए। वनबासा जानका लागि दुर्गादेवी आफैंले साथीहरुलाई खबर गरेकी थिइन्। घरमा तीन छोरीहरु मनीषा, निर्मला र सरस्वतीलाई छाडेर उनी सरसामान किन्नका लागि सीमावर्ती बजार गइन्, अरु बेलामा जस्तै।
१२ वर्षअघि नै श्रीमान यज्ञराज पन्तले अर्की ल्याएपछि तीन छोरीको लालनपालनमा आफूलाई समर्पण गर्दै आएकी उनीसँग गुजाराका लागि संघर्ष गर्नुको विकल्प थिएन। ‘म बिहानै साथीहरुसँग साइकल लिएर सामान लिन वनबासा गएको थिएँ,' साउन १० को बिहानीलाई सम्झिँदै उनले भनिन्, 'एकदमै गर्मीको समय थियो।'
दुर्गादेवी वनबासातिरै थिइन्। साइकल लिएर निर्मला मञ्जु भट्टको घरमा पुगिन्। निर्मलाको घर नजिकै मञ्जु भट्टको घरमा एउटा पसल। पसलका कारण चहलपल भइरहने।
‘म पढ्नका लागि रोशनीको घर जान लागेको। बाबुलाई पनि लिएर जान्छु है,’ निर्मलाले मञ्जुलाई सोधिन्। पाँच वर्षको छोरोलाई लिएर जाने निर्मलाको कुरा मञ्जुलाई चित्त बुझेन। उनले 'हुँदैन' भनेपछि निर्मला साइकल चढेर अघि बढिन्। मञ्जुले हामीलाई बताएअनुसार प्याजी रङको लेडिज साइकल चढेर निर्मला बिहान १०:३० बजेतिर घरबाट निस्किइन्। 'मैले छोरो पठाउँदिन बरु भरे चाँडै फर्किनु र सँगै खेल्नु भनेको थिएँ,' मञ्जुले पनि एक वर्षअघिको आजैको दिन सम्झिइन्।
कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर २ खोल्टीस्थित घरबाट निर्मलाले पढ्न जान लागेको रोशनी बमको घरको दूरी २ किलोमिटरभन्दा कम दुरीमा पर्ने। पैदलै हिँड्ने हो भने फटाफट हिँड्दा करिब २० मिनेटको दुरी। साइकलबाट पनि बढी लाग्यो भने १० मिनेट।
सडकसँगै जोडिएको कम्पाउन्ड वालभित्र रोशनीको घर। निर्मला रोशनीको घरमा पुग्दा उनको हातमा कालो लागेको थियो। साइकलको चेन फुस्किएपछि बनाउँदा हात कालो भएको हुनुपर्छ भन्ने रोशनीको अनुमान। उनले निर्मलालाई बारीसँगैको हात धुने ठाउँ र साबुन देखाइन्। ‘हातमा कालो लागेको थियो। उसले धुने ठाँउ खोजेपछि देखाएँ,' त्यही दिनलाई रोशनीले सम्झिइन्।
त्यसपछि उनीहरु एक तल्लामाथिको कोठामा पुगे। साइन्सको होमवर्क गर्न थाले।
दिउँसको २ बज्यो। दुर्गादेवीको घरमा चटपटे पसल। त्यहीं उधारोमा रोशनीले चटपटे किनेकी रहिछिन्। निर्मलालाई उधारो रकम चुक्ता गर्दै २० रुपैयाँ थमाइन् र केही अम्बा पनि। रोशनीका अनुसार २:१५ को आसपासमा निर्मला उनको घरबाट बाहिरिइन्।
दिउँसो १ बजे वनबासाबाट फर्किन् दुर्गादेवी। घरमा एकमात्र छोरी रहिछिन्। उनी घर पुगेकी केही बेरमै अर्की छोरी पनि आइन्। तर निर्मलाको कुनै पत्तो थिएन। निर्मला उनकै सहपाठी रोशनीको घरमा पुगेको जानकारी दुवै छोरीबाट पाइन्। निक्कै समय त छोरी आउलिन् भनेर कुरिन्। उनी फर्किने बाटोतिर दुर्गादेवीको आँखा पुगिरह्यो। साँझ हुनै लाग्यो। ‘कहिल्यै त्यसरी बाहिर नजाने छोरी। साँझ भएपछि पनि आइनन्,' दुर्गादेवीले भनिन्, 'अनि म खोज्न निस्किएँ।'
दुर्गादेवी पनि लागिन् रोशनीकै घरतिर। त्यहाँ पुग्दा छिमेकी देवी पाण्डे पनि रोशनीकै घरमा थिइन्। देवीको घर रोशनीको भन्दा अगाडितिर सडकपारी हो। देवी त्यहाँ गएकी आफ्नी सानी छोरीलाई लिन पुगेकी थिइन्।
'गेटमा ढ्वाङ ढ्वाङ गरेको आवाज आयो। को आएछ भनेर रोशनी हेर्न गई। हामी पनि पछि-पछि गयौँ। निर्मलाकी आमा रहिछिन्,' त्यही दिनलाई सम्झिइन् देवीले, 'निर्मलाकी आमाले ‘रोशनी, निर्मला खोई बाहिर निकाल’ भनिन्। रोशनीले ‘गा हुन् गा हुन्’ भनिन्।'
यी दुईबीच यति संवाद भइरहँदा रोशनीकी दिदीको बोली सुनियो।
'तपाईँकी छोरी यहाँबाट गई। कहाँ गई, पोइला पो गई कि!'
त्यसपछि दुर्गादेवी आत्तिइन्। बबिताको बोलीले उनलाई सशंकित बनाउनु स्वाभाविक थियो।
त्यसपछि उनी नजिकैका लक्ष्मण भट्टकहाँ पुगिन्। सबै कुरा सुनाइन्। ‘हामीले त्यसपछि स्थानीय प्रहरीलाई फोन गराएर निर्मला हराएको जानकारी दिएका हौं,' दुर्गादेवीले सुनाइन्। यतिखेर रातिको ८ बजिसकेको थियो।
गाँउ र आफन्तमा निर्मला हराएको खबर डढेलोसरी फैलिसकेको थियो। त्यसपछि गाउँलेको हुलसहित दुर्गादेवी फेरि रोशनी बमकै घरमा पुगिन्।
‘दोस्रो चोटी आन्टी (दुर्गादेवी)ले राम्रो कुरा गर्दै थिइन्। कस्तो लुगा लगाएको यो - त्यो भन्दै थिइन्। मैले त दोस्रो पटक घरभित्र नै बोलाएकी थिएँ। उनलाई हामीमाथि शङ्का थिएन। दिदीको एउटा बोलीले मात्र कुरा बिग्रिएको हो,' रोशनीले भनिन्।
राति १२ बजेसम्म निर्मलाको खोजीक्रम जारी रह्यो। ‘राति १२ बजे १८ नम्बर वडामा रहेको प्रहरीलाई जानकारी दिन गएका थियौं। राति नै बम दिदीबहिनीको घरको खानतलासी गर्ने कुरा थियो,' दुर्गादेवीले सुनाइन्। तर साउने झरीले उनीहरुलाई प्रहरी चौकीमा नै रोक्यो। भोलिपल्ट बिहानैदेखि खोज्ने सल्लाह भयो। त्यसपछि भएपछि दुर्गादेवीसहित प्रहरीसम्म पुगेका आफन्तहरु फर्किए। दुर्गादेवी घर पुग्दा बिहानको २ बजिसकेको थियो।
तर, त्यसको भोलिपल्ट बिहान ११ बजे जुन दृष्य देखियो त्यसले धेरैलाई अत्यायो। निर्मला पन्तको शरीर मृत अवस्थामा भेटियो। निर्मला पन्त २:१५ को हाराहारीमा रोशनीको घरबाट निस्किइन् तर त्यसपछि के भयो भन्ने रहस्यकै गर्भमै छ। यतिमात्र हो कलिलो उमेरमा उनको बलात्कार अनि हत्या भयो। सिंगो प्रहरी प्रशासन यस घटनामा लाचार साबित भयो।
त्यसको पछिल्लो उदाहरण हो गृहमन्त्री रामबहादुर थापा बादलको पछिल्लो अभिव्यक्ति। गृह मन्त्रालयले साउन ७ गते आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री रामबहादुर थापा बादलले भनेका थिए - यस्ता घटना हिजो पनि भएका थिए, आज पनि भएका छन् र भोलि पनि हुन सक्छन्।
निर्मला प्रकरणसँग जोडिएका पहिलोपोस्टका ३० श्रृङ्खला
विगत : निर्मला प्रकरणले सम्झाएको त्यो हाइप्रोफाइल रेप र मर्डर केस : नमीता-सुनीता-नीरा र चुडामणि
शृङ्खला १ : निर्मलालाई देशभर चिनाउने 'आइकनिक' फोटोमा लुकेको कथा
शृङ्खला २ : कहाँबाट हराइन् निर्मला : डेढ किलोमिटरको दूरीमा नसुल्झिएको रहस्य
शृङ्खला ३ : क्राइम सिन : के उखुबारीमा भएको थियो निर्मलाको हत्या?
शृङ्खला ४ : निर्मला फर्कँदा बाटोमा पर्ने दुई घर जसमध्ये एउटा यसकारण पर्यो अनुसन्धानको घेरामा
शृङ्खला ५ : 'रे' मा रुमल्लिएको निर्मला प्रकरण
शृङ्खला ६ : निर्मला हराएपछि तारो बनेको त्यो दुई तल्ले घर
शृङ्खला ७ : बबिताको त्यो बोली जसले उनीहरुलाई 'अपराधी' बनायो
शृङ्खला ८ : पहिलो दिनदेखि नै भएको प्रहरीको लापरवाहीले उब्जायो विश्वासको संकट
शृङ्खला ९ : निर्मला प्रकरणमा 'भिआइपी' कनेक्सन
शृङ्खला १० : निर्मलाको शव भेटिएकै ठाउँतिर एक्टिभेट मोबाइलको म्यासेज: 'त्यो केटी छाड्देऊ, त्यो भन्दा राम्री मिलाइदिन्छु।'
शृङ्खला ११ : एक युवतीको ३० सेकेन्डको 'बाइट' जसले निर्मला प्रकरणमा दियो महत्त्वपूर्ण क्लु
शृङ्खला १२: निर्मलाको हत्या भएकै दिन गाउँबाट गायब एक दुर्व्यसनी फेरि किन काठमाडौँमा समातिए?
शृङ्खला १३: निर्मलाको हत्यामा अम्बाको रुख र रङको चर्चा
शृङ्खला १४: Exclusive : डिएनए रिपोर्टले देखाउँछ निर्मलाको बलात्कार एक जनाबाट मात्रै, 'प्रहरीको ल्याब अन्तर्राष्ट्रिय मापदण्डअनुसार छैन'
शृङ्खला १५ : चोरीका आरोपीलाई बलात्कारको 'दोष' : पोस्टर च्यात्दाको बदनामी मेटाउने प्रपञ्च?
शृङ्खला १६ : निर्मला प्रकरणमा युट्युबरको आफ्नै इजलास, आफ्नै प्रमाण, न्यायाधीश पनि आफै
शृङ्खला १७ : विश्वकै टप डिएनए एक्सपर्ट के भन्छन् निर्मला प्रकरणमा? यस्तो छ उनको सुझाव
शृङ्खला १८ : को थिए ती तीन युवती जो एसपीका छोरासँगै होटल ओपेरामा देखिए?
शृङ्खला १९ : प्रहरीले गोप्य राखेको निर्मलाको त्यो 'अटोजोमल एसटिआर रिपोर्ट' जसमा बलात्कारीको डिएनए देखिएन
शृङ्खला २० : जब निर्मलाको हत्यामा 'क्लु' खोजिरहेको प्रहरीसामु आफै 'क्लु' आइपुग्यो
शृङ्खला २१ : बरु एक्लै रुन सजिलो : निर्मलाकी आमा
शृङ्खला २२ : 'स्पाइरल अफ साइलेन्स' चिरिएको महेन्द्रनगर : आखिर कसले गर्यो निर्मलाको हत्या?
शृङ्खला २३ : अछामबाट 'पक्राउ परेका' दुई आर्मीको निर्मला प्रकरणमा के छ कनेक्सन?
शृङ्खला २४ : निर्मलाको सुरुवाल पखाल्ने चाँदनी : हाइप्रोफाइल अपराधीको हल्लामा चेपिएकी प्युसो प्रहरी
शृङ्खला २५ : निर्मला प्रकरणमा वीरबहादुरको बन्दै गरेको घरसँग जोडिएको कनेक्सन
शृङ्खला २६ : निर्मला प्रकरणलाई 'ट्विस्ट एन्ड टर्न' गराउने ती शक्तिशाली व्यक्ति
शृङ्खला २७ : मान्छे मर्ने गरी आन्दोलन चर्काउन उक्साउने ती रहस्यमय व्यक्ति को थिए?
शृङ्खला २८ : 'आन्दोलन नगरे ३५ लाख, मर्ने मार्ने गरी गरे सुविधा' : निर्मलाको नाममा घिनलाग्दो राजनीति
शृङ्खला २९ : निर्मला र रमिलाको पीडा : कानुनको कठघरामा उभ्याउन होइन, चोख्याउन सघाइरहेको छ डिएनए रिपोर्ट
समापन : निर्मला प्रकरण : यसरी गरियो रिपोर्टिङ, यस्तो रह्यो हाम्रो निष्कर्ष(शृङ्खला ३०)
थप समाचार
- निर्मला प्रकरण : पुरानै मिति राखी मानव अधिकार संगठनले गुपचुप सच्यायो प्रतिवेदन, बम दिदीबहिनीबारे तथ्य नै फरक
- निर्मला प्रकरण: राष्ट्रिय मानव अधिकार आयोगको सिफारिस त्रुटिपूर्ण कि प्रहरीको ल्याबको रिपोर्ट?
- आयोगको प्रतिवेदनलाई प्रहरीको काउन्टर अट्याक : यसकारण आमासित डिएनए मिल्दैमा शंका हट्दैन
- निर्मला प्रकरणका एक पीडित : 'मरेको भनौँ सास छ, जिउँदो भनौँ केही गर्न सक्दैन'