PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

जम्मू कश्मिर विवाद: पाकिस्तानले भारतीय राजदूतलाई दिल्ली फिर्ता पठाउने, द्विपक्षीय व्यापार सम्बन्ध रद्द



जम्मू कश्मिर विवाद: पाकिस्तानले भारतीय राजदूतलाई दिल्ली फिर्ता पठाउने, द्विपक्षीय व्यापार सम्बन्ध रद्द

इस्लामावाद:  भारतले जम्मू कश्मिरलाई टुक्राउँदै केन्द्र शासित प्रदेश बनाएपछि भारत र पाकिस्तानबीचको सम्बन्ध झनै तनावपूर्ण भएको छ।

भारतको उक्त कदमको विरोधस्वरुप पाकिस्तानले त्यहाँ कार्यरत भारतीय उच्चायुक्तलाई (राजनयिक) देश निकाला गर्ने निर्णय गरेको छ। पाकिस्तानको यस कदमसँगै दुई देशबीचको कूटनीतिक सम्बन्ध सीमित बनको छ।

पाकिस्तानी प्रधानमन्त्री इमरान खानको अध्यक्षतामा बसेको राष्ट्रिय सुरक्षा समितिको बैठकमा भारतसँगको द्विपक्षीय व्यापारिक सम्बन्ध समेत रद्द गर्ने घोषणा गरिएको छ।

 

बुधवार बसकेको सुरक्षा समितिको बैठकपछि जारी विज्ञप्तिमा कश्मिरको स्वायत्तताप्रति भारत सरकारले एकतर्फी र गैरकानूनी कारवाही गरिएको विषयमा चर्चा भएको उल्लेख गरिएको छ। यस्तै बैठकमा  १४ अगस्तलाई कश्मिरसँग एकता प्रदर्शन गरी मनाइने समेत निर्णय गर्दै पाकिस्तानी सेनालाई तयारी अवस्थामा रहन निर्देशन दिएका छन्।

पाकिस्तानका विदेश मन्त्री शाह मोहम्मदले नयाँ दिल्लीमा रहेका आफ्ना राजदूतलाई चाँडै फिर्ता बोलाउनुका साथै इस्लामावादमा रहेका भारतीय राजदूतलाई पनि फिर्ता जान भन्ने बताए।

भारतीय संविधानको धारा ३७० अन्तर्गत जम्मू कश्मिरले विशेष राज्यको दर्जा पाएको थियो। जस अन्तर्गत त्यहाँ छुट्टै झण्डा र संविधान थिए। सोमबार नरेन्द्र मोदीको सरकारले जम्मू कश्मिरलाई दिएको सो विशेष दर्जा खोस्दै धारा ३६० नै हटाउने विधेयक संसदमा पेश गरेको थियो। यससँगै संविधानको धारा ३५'ए' पनि समाप्त भएको छ। यस धारा अन्तर्गत जम्मू कश्मिरका नागरिक बाहेक अन्य राज्यका नागरिकले त्यहाँ घर जग्गा खरिद गर्न पाउँदैन थिए। यति मात्रै नभइ मोदी सरकारले जम्मू कश्मिरलाई जम्मू कश्मिर र लद्दाख गरि दुई भागमा विभाजित गर्‍यो र दुवैलाई स्वतन्त्र राज्य नभइ केन्द्र शासित प्रदेश बनाउने निर्णय गर्‍यो। सो विधेयक राज्यसभा र लोकसभाबाट बहुमतले पारित भइ राष्ट्रपति रामनाथ कोविन्दले स्वीकृत समेत गरिसकेका छन्।   

लामो समयदेखि भारत र पाकिस्तानबीच कश्मिरको मुद्दालाई लिएर बहस र युद्ध हुँदै आएको अवस्थामा भारतको पछिल्लो कदमले पाकिस्तानलाई थप आक्रोशित बनाएको हो।

मंगलबार नै पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतको जम्मू कश्मिर टुक्राउने निर्णयविरुद्ध लड्ने बताउँदै जातीय हिंसा हुन सक्ने डर सिर्जना भएको बताएका थिए।  

खानले भारतले जम्मू कश्मिरलाई जम्मू कश्मिर र लद्दाख गरी विखण्डन गर्दै केन्द्र शासित प्रदेश बनाउने निर्णय विरुद्ध संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा प्रतिवाद गर्नेसमेत बताएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell