PahiloPost

Jan 24, 2025 | ११ माघ २०८१

काठमाडौंको गोली कनेक्सनमा लिखु गाउँपालिकाको राजनीति : 'अध्यक्षसँग रकम असुल्न वडा अध्यक्षको योजना!'



सविन ढकाल

काठमाडौंको गोली कनेक्सनमा लिखु गाउँपालिकाको राजनीति : 'अध्यक्षसँग रकम असुल्न वडा अध्यक्षको योजना!'

काठमाडौं : लिखु गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर खड्कालाई बारम्बार पैसा माग गर्दै धम्की आइरहन्थ्यो। पछिल्लो पटक त २ करोड रुपैयाँ चाहियो भन्दै धम्की दिएका थिए। नदिए छोरीदेखि परिवारका अरु सबैलाई मार्न सुरु गर्छु भन्ने धम्की दोहोरिएपछि खड्का निक्कै आत्तिए।

'मार्छु नै भनेपछि बाध्य भएर प्रहरीकहाँ पुग्नै पर्‍यो,' खड्काले पहिलोपोस्टसँग भने, 'एकदमै धम्क्याएपछिमात्र प्रहरीकहाँ पुगेँ।'

लामो समयदेखि तनावमा रहेका खड्का अहिले काठमाडौंमा नै छन्।

संयोग नै हो, उनलाई धम्की दिने व्यक्ति आजै प्रहरीको गोलीको सिकार भएका छन्। धम्की दिने दुई जना घाइते अवस्थामा प्रहरीको नियन्त्रणमा छन्। उनीहरुको खुट्टामा गोली लागेको छ।

 

'म प्रहरीलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। मेरो उजुरीमा प्रहरीले उनीहरुलाई कारबाही गर्न सफल भयो,' उनले भने।

आज मध्यान्ह स्वयम्भू बिजेश्वरीमा महानगरीय अपराध महाशाखाको टोलीले गोली चलाएको थियो। लुटेरा समूहविरुद्ध परिचालित प्रहरीले अमृत तामाङ र लोप्साङ भनिने मिलन तामाङलाई नियन्त्रणमा लिइएको महाशाखाका एसपी केदार ढकालले पहिलोपोस्टलाई जानकारी दिए।

'दुवै जना रामेछाप घर भएका हुन्,' ढकालले भने, 'उनीहरु लामो समयदेखि लुटपाटमा संलग्न रहँदै आएका थिए।'

उनीहरुलाई नियन्त्रणमा लिने क्रममा घुँडामुनि गोली हानिएको ढकालले दाबी गरेका छन्। रामेछापका जनप्रतिनिधिसँग रकम माग्दै धम्की दिने गरेको ढकालले जानकारी दिए।

काठमाडौंमा गोली : गाउँपालिकामा राजनीतिक झगडा

काठमाडौंमा चलेको प्रहरीको गोलीको कनेक्सन भने रामेछापको लिखु गाउँपालिकासम्मै जोडिएको छ। लुटेराहरुले गाउँपालिकाका अध्यक्षलाई मार्ने धम्की दिँदै आएका थिए।

गाउँपालिकाका अध्यक्ष गोविन्द खड्का भने धम्की दिनेहरु प्रयोग भएका गुन्डाहरुमात्र रहेको बताउँछन्।

'यी केटाहरुलाई पैसा दिएर धम्की र तर्साउन लगाइएको हो, आफैँ गरेका होइनन्,' खड्काले भने, 'सात नम्बर वडा अध्यक्ष सुवास बोहरा मुख्य योजनाकार हुन्।'

उनका अनुसार गाउँपरिषदको विषयमा विवाद भएपछि बोहरा उनीविरुद्ध सक्रिय भएका हुन्। त्यसैले काठमाडौं आइपुगेका लिखु गाउँपालिकाका अध्यक्ष खड्का प्रहरीमा किटानी उजुरी गर्ने तयारीमा छन्।

दिउँसो सवा १ बजे लिखु गाउँपालिका ७ का वडा अध्यक्ष सुवास बोहरालाई सम्पर्क गर्न खोज्दा उनको मोबाइल 'स्वीच अफ' थियो। 

आज बिहानदेखि नै महाशाखा र महानगरीय प्रहरी परिसर काठमाडौंले लुटेरा समूहको संयुक्त खोजी अपरेसन चलाएको थियो।

'बिहानसम्म प्रहरीले दश जनाभन्दा बढी लुटेरा नियन्त्रणमा लिएको छ,' परिसरका डिएसपी होबिन्द्र बोगटीले जानकारी दिए।

सम्बन्धित समाचार

ब्रेकिङ : स्वयम्भू नजिकै गोली चल्यो

किन हान्यो प्रहरीले दिनदहाडै गोली?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell