ललितपुरको न: त्वामा रहेको पलेस्वाँ पुखु (कमल पोखरी) ब्युताउँने विषयमा महानगरपालिका र स्थानीयबीचको विवाद अन्त्य भएको छ।
मल्लकालीन पोखरी रहेको स्थानमा ललितपुर महानगरपालिकाले पर्यटक बसपार्क संचालन गर्दै आएको छ। तर, न:त्वाका स्थानीयले भने सो स्थानमा पोखरी नै बनाउनुपर्ने माग गरिरहँदा महानगरपालिकाले पर्यटक बसपार्क संचालनका लागि ठेक्का दिएपछि एक महिनायता स्थानीयले विरोध गर्दै आएका थिए। उनीहरुले पोखरी प्रवेश गर्ने ढोकामा ताल्चा लगाइ दिनहुँजसो धर्ना र विरोधका कार्यक्रमहरु गरिरहे।
ज्यापु महागुथीको मध्यस्थतामा मंगलवार महानगरपालिका भवनमा महानगर र स्थानीयबीच भएको वार्ताबाट पलेस्वाँ पुखु ब्युताउने सहमति भएसँगै स्थानीयले विरोधका कार्यक्रम फिर्ता लिएका हुन्। महानगरले मंगलवार स्थानीयले लगाएको ताल्चा फोडेर पोखरी खुल्ला गराउने प्रयास गरेपछि स्थानीयले फेरि पोखरीमै दिनभर धर्ना दिएका थिए।
धर्नाबीच मंगलबार साँझ महानगर र स्थानीयबीच नेपाल भ्रमण वर्षलाई प्रभावित नपार्नेगरी त्यहाँ फेरि पोखरी बनाउन सहमति भएको हो। सहमति अनुरुप अब नेपाल भ्रमण २०२० का लागि मात्रै पोखरी रहेको स्थानमा पर्यटक बसपार्क संचालन हुनेछ।
ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले पहिला नै आफूहरु सो स्थानमा पोखरी नै बनाउने पक्षमा रहेको र पर्यटन वर्षलाई लक्षित गर्दै सो स्थानमा बसपार्क बनाउनै पर्ने भएको बताएका थिए। तर, ५ वर्षको ठेक्का दिइसकेकाले स्थानीय भने उनको भनाईसँग आश्वास्त हुन सकेका थिएनन्।
अब भने भ्रमण वर्ष २०२० को अवधिभर त्यहाँ पर्यटक पार्किङ संचालन गर्न दिनेमा स्थानीय सहमत भएका हुन्। २०२१ को जनवरी तेस्रो सातादेखि भने त्यहाँ रहेको पार्किङ हटाएर पोखरी निर्माण गर्ने सहमति समेत भएको छ।
सहमति पत्रमा हस्ताक्षर गरेका न: त्वा मंका खल: का अध्यक्ष कदमलाल महर्जनले आफूहरुले भ्रमण वर्षलाई सजिलो होस् भन्दै सो अवधिका लागि मात्रै बसपार्क संचालन गर्न दिने सहमति गरेको बताए। भने, 'भ्रमण वर्ष हामी सबैको हो। यसलाई सफल बनाउन हामी सबैले सहयोग गर्नुपर्छ। भ्रमण वर्ष नभएको भए पोखरी निर्माणको काम अहिले नै सुरु हुन्थ्यो।'
सहमति अनुसार अब सात दिनभित्र पलेस्वाँ पुखु निर्माणको लागि डिपिआरको प्रस्तावना बनाउनका लागि टोली गठन हुनेछ। सो टोलीमा महानगरपालिका, न: त्वा मंका खल: र ज्यापु समाजबाट दुई-दुई जनाको प्रतिनिधित्व हुनेछ।
पोखरी निर्माणका लागि आवश्यक बजेट महानगरले व्यवस्था गर्नेछ भने पोखरी निर्माणपछि त्यसको रेखदेख भने न: त्वा मंका खलले गर्नेछ। यस्तै हाललाई त्यहाँ पोखरी रहेको कुरा जनाउन महानगरपालिकासँगको समवन्यमा ठेकेदार मार्फत् २५/२५ को सानो पोखरी निर्माण गर्ने समेत सहमति भएको छ। पोखरी निर्माणस्थल भनेर होर्डिङ बोर्ड समेत राखिने भएको छ।
मेयर महर्जनले त्यहाँ पर्यटन वर्ष सकिए लगत्तै पोखरी बन्ने बताए। भने, 'पाटन दरबार क्षेत्रमा प्रवेश गर्ने मुख्य स्थान नै पुल्चोक हो। भ्रमण वर्षका क्रममा पार्किङको व्यवस्था मिलाउन मात्रै त्यहाँ फेरि पार्किङ गर्ने योजना हो। पछि त्यहाँ पोखरी नै बन्छ।'
सो स्थानमा २०२१ सालतिर पनि भवन निर्माण गर्ने प्रयास भएको थियो। तर, स्थानीयको विरोध पछि सो कार्य रोकिएको थियो। राष्ट्रिय पञ्चायत हुँदै सर्वोच्च अदालतसम्म पोखरीका बारेमा बहस भएको थियो। सर्वोच्चले त्यहाँ पोखरी नै निर्माण हुनुपर्ने फैसला सुनाएको थियो।
कदमलालका अनुसार त्यहाँ रहेका पोखरीहरु उनीहरुको मृत्यु संस्कारसँग सम्बन्धित छ। अहिले पनि सो पोखरीमा गएर श्राद्य पछि चोख्याउने चलन छ।
ऐतिहासिक ढुंगेधारा तथा मुहान संरक्षण समितिका अध्यक्ष सुशील श्रेष्ठका अनुसार पहिला न: त्वामा चारवटा पलेस्वाँ पुखु थिए। चार पोखरीमध्ये हाल भने एउटा पोखरी 'स्वीमिङ पुल शैली' मा जिवित छ। तीनवटा पोखरीको अस्तित्व नै समाप्त भइसकेको छ।
उनी भन्छन्, 'पोखरी छँदा नै २०२१ सालबाट नै यहाँको पोखरी अतिक्रमण सुरु भयो। चार वटामध्ये तीनवटा अस्तित्व नै बिलिन भइसकेको पोखरी रहेको स्थानमा हाल महानगरपालिका रहेको भवन, त्रि-पद्यम विद्याश्रम माध्यमिक विद्यालय, पर्यटक बसपार्क बनिसकेको छ।' यस्तै, महानगरपालिका भवन पछाडि फाउन्टेन सहितको कृतिम पोखरी रहेको स्थानमा अर्को पोखरी थियो।
यी सबै पोखरीहरु मंगलबजार प्रवेश गर्ने पानीको भेल नियन्त्रण गर्न बनेको श्रेष्ठ बताउँछन्। अहिले तिनै पोखरी नहुँदा सो क्षेत्रमा पानीको अभाव हुनुका साथै डुबानमा पर्ने गरेको उनको तर्क छ। सो पोखरीमा टीका भैरबबाट राजकुलो मार्फत् पानी आउँथ्यो भने त्यहाँको पोखरीबाट नजिकै रहेका ढुंगेधारामा पानी जान्थ्यो।
स्थानीय श्याम महर्जन चारवटा पलेस्वाँ पोखरीको रहेको स्थानमा जन्मराजले दण्ड दिने स्थान रहेको किम्बदन्ती रहेको बताउँछन्। कालान्तरमा लिच्छवी कालमा रातो मछिन्द्रनाथको रथ जात्राको क्रममा पुल्चोकबाट रथ तान्ने बेलामा मानिसहरुलाई दण्ड दिइरहेको दृश्य देखिँदा मानिसहरु बेहोश हुने गर्थे। पछि मिननाथले यमराजलाई सो स्थानमा मानिसले नदेख्ने गरी कार्य गर्न भनेपछि त्यहाँ चारवटा कमल पोखरी निर्माण गरिएको कथन छ।
के होला महानगर प्रहरी प्रमुखको निलम्बन?
पोखरी निर्माण विषयको टुंगो लागे पनि 'पोखरी निर्माण गर्नका लागि महानगरलाई असहयोग गर्दै जनतालाई उक्साएको' आरोप लगाइ निलम्बनमा परेका ललितपुर महानगरपालिकाका प्रहरी प्रमुख कदमलमल महर्जनको बारेमा भने सहमति पत्रमा केही उल्लेख गरिएको छैन।
साउन १ गते पोखरीको शिल्यान्यास कार्यक्रममा सहभागी भएको र महानगरको निर्णय विरुद्ध मानिसहरुलाई पोखरी निर्माणका लागि उक्साएको भन्दै न: त्वा मंका खल: का अध्यक्ष समेत रहेका महर्जनलाई निलम्बन गरिएको महानगरले जनाएको थियो। उनलाई आफूले टेन्डर नपाएको भन्दै पोखरी ब्युताउँन आन्दोलनमा सरिक भएको आरोप लगाइएको थियो।
उनलाई निलम्बन गरिनुको कारणबारे ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रेमप्रसाद भट्टराईले साउन ७ गते पहिलोपोस्टसँग भनेका थिए, 'नयाँ टेन्डर आह्वान हुँदा पोखरी बनाउनुपर्छ भनेर महानगरको कर्मचारी नै लागे। पोखरी त महानगरले बनाउने हो। बसपार्क बनाउने निर्णयमा असहयोग गरेका कारण उनलाई निलम्बन गरिएको हो।'
हुन त सोमबार जिल्ला प्रशासन कार्यालयमा समेत पोखरी सम्बन्धमा कुरा भएको थियो। त्यस बैठकमा भने निलम्बित कर्मचारीलाई बहाली गर्ने कुरा उठेको बैठकमा सहभागी स्थानीयले बताए। भने, 'उहाँको पुर्नबहाली गर्ने पहिलो बुँदामा नै थियो। महानगरपालिकामा भने त्यसबारे छलफल भएन।'
मंगलवार महानगरपालिकासँग सहमति पत्रमा हस्ताक्षर गर्न पुगेका उनै कदमलमल सो बैठकमा आफ्नो बारेमा कुरा नउठेको बताए। 'निलम्बनबारे केही कुरा नभएको छैन। हामी त्यहाँ हाम्रो पोखरी बनाउनु पर्ने माग सम्बोधन गराउन गएका थियौं। समाजको लागि गएको ठाउँमा आफ्नो व्यक्तिगत कुरा उठाउनु मलाई ठीक लागेन,' उनले भने।
महर्जनले आफूले पोखरी ब्युताउँ भनेर केही पाप नगरेको भन्दै निलम्बनमा परेर दु:खी नभएको बताए। 'टोलको अभिभावकको नाताले त्यो समय मैले आफ्नो कुरा राखेको थिएँ। अब मेरो निलम्बनको विषयमा के हुन्छ मलाई थाहा छैन। केहीले भने अब पोखरी ब्युतियो, निलम्बन पनि फुकुवा हुन्छ भनिरहेका छन्। तर एक वर्षपछि पोखरी निर्माण हुने पक्का भयो। म त्यसैमा खुशी छु,' उनले भने।
यता, महानगरपालिकाले पनि उनको निलम्बनको विषय अहिले अनुसन्धानको क्रममा रहेको बताएको छ। महानगरका प्रमुख प्रशासकिय अधिकृत प्रेमप्रसाद भट्टराईले निलम्बित प्रहरी प्रमुखलाई स्पष्टिकरण सोधिएको तर जवाफ चित्त बुझ्दो नआएकोले उनलाई फेरि स्पष्टिकरण दिन भनिएको जानकारी दिए।
'स्पष्टिकरणमा सोधिएका सबै प्रश्नको उत्तर आएन। जवाफ चित्त बुझ्दो भएन। त्यसैले हामीले उनलाई फेरि स्पष्टिकरण दिन भनिसकेका छौं। बाँकी निर्णय त्यसपछि मात्रै हुन्छ,' उनले भने।