PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

उपाकुका लागि सुन्धाराको बाटो खोलिने, ज्ञवाली भन्छन्,'धरहरा निर्माणपछि बाटो यथावत् रहन्छ'



सहयोग रञ्जित

उपाकुका लागि सुन्धाराको बाटो खोलिने, ज्ञवाली भन्छन्,'धरहरा निर्माणपछि बाटो यथावत् रहन्छ'

काठमाडौं:  येंया: (इन्द्रजात्रा) अन्तर्गत उपाकुका दिन काँचो माटोको दियोमा बत्ती बाल्दै नेवार समुदाय पित्तृ मोक्षका लागि ऐतिहासिक मार्ग हुँदै नगर परिक्रममा गर्ने गर्छन्। तर, यसपटक सुन्धारा बागदरबारबीचमा पर्ने उपाकु मार्ग निर्मार्णधिन धरहराका कारण अवरुद्ध भएपछि स्थानीय विरोधमा उत्रेका छन्। उनीहरुले धरहराका कारण सो मार्ग अतिक्रमणमा परेको आरोप लगाउँदै यसपटक भाद्र २४ गते परेको उपाकुका लागि सो सांस्कृतिक मार्ग खुल्ला हुनुपर्ने माग गरिरहेका छन्।

यता, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भने उपाकु मार्ग यथावत् नै रहने जनाएको छ। पहिलोपोस्टसँग कुरा गर्दै प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले उपाकु मार्ग संरक्षणको कुरा धरहरा निर्माणको क्रममा रहेको मास्टर प्लानमा रहेको बताए। भने,'हामीले स्थानीय र जनप्रतिनिधिहरुसँग कुरा सल्लाह गरेर मास्टर प्लान बनाएका छौं। एक वर्षपछि त त्यो बाटो सबैका लागि फेरि खुल्ला नै हुन्छ।'

उनले धरहरा निर्माणका कारणले स्थानीयले मृत्यु संस्कारलगायत विभिन्न जात्रा पर्वका लागि प्रयोग गर्दै आएको सो रुट संरक्षण गर्नु दायित्व प्राधिकरणको रहेको बताए। यस्तै अब उपाकुका लागि सुरक्षित ढंगले त्यहाँ आवतजावत गर्ने वातावरण मिलाउने प्रयास हुने बताए।

पढ्नुस: २२ तले बन्दैछ 'नयाँ नेपालको नयाँ धरहरा': साढे तीन अर्बको प्रोजेक्ट

'अहिले त्यहाँ निर्माणको काम भइरहेको छ। निर्माणस्थल र जनतालाई असर नपर्ने गरी बाटो खोल्छौं। तर मानिसहरुले व्यवहारिक पक्षमा पनि ध्यान दिनुपर्छ' ज्ञवालीले भने,' अहिले त्यहाँ खतरा छ। मानिसलाई यसै हिँड्न दिने कुरा पनि भएन। कोही लड्न सक्छन्, केही हुन सक्छ। अब त्यही नै बाटो चाहिन्छ भनेर भन्नु नि भएन। सबैको सुरक्षाको कुरा छ। अलि साइडबाट हिँडे पनि हुन्छ। अर्को वर्ष त यो बाटो हामी सबैको लागि हो नि। यसमा विरोध गरिरहनु पर्दैन।'

ज्ञवाली अहिले आएर फेरि पुरानै तरिकाले धरहरा बनाउनु पर्छ भन्ने कुरा सम्भव नरहेको बताउँछन्। विगतमा गएका भूकम्पका कारण धरहरा जहिल्यै ढलेको स्मरण गराउँदै उनी भन्छन्,' अहिले पनि त्यही माटो चुनाको प्रयोग गरेर धरहरा बनाउन सकिँदैन। त्यसबेलाको धरहरालाई संरक्षण गर्दै हामी भूकम्प प्रतिरोधात्मक धरहरा बनाउँदैछौं। अहिले आएर विरोध गर्नुको कुनै तुक छैन।'

जात्रा पर्व नेपालीहरुको भावनासँग जोडिएको भन्दै ज्ञवालीले विकास निर्माणका कार्यलाई प्रभावित गर्न केही मानिस लागि परेको बताउँदै भने,' यो गलत हो। उनीहरुले यसलाई व्यवसायका रुपमा लगेका छन्। तर प्राधिकरण जनताको हित भावनाको कदर गर्दै पुनर्निर्माण कार्यमा अग्रसर रहि रहनेछ।'  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell