PahiloPost

Jan 24, 2025 | ११ माघ २०८१

चिनियाँ लुटेरा समूहका थप एक व्यक्ति विमानस्थलबाट पक्राउ



सविन ढकाल

चिनियाँ लुटेरा समूहका थप एक व्यक्ति विमानस्थलबाट पक्राउ

काठमाडौं : एटिएमको प्रणाली नै ह्याक गरेर पैसा लुट्ने चिनियाँ आपराधिक समूहका थप एकजना पक्राउ परेका छन्।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले आइतबार राति सु लुसिङ नाम गरेका एक चिनियाँ नागरिकलाई त्रिभुवन विमानस्थलबाट नियन्त्रणमा लिएको हो।

‘विशेष निगरानीको आधारमा नियन्त्रणमा लिएका छौँ। अहिले थप बयान भइरहेको छ,' परिसरका डिएसपी होबिन्द्र बोगटीले भने।

प्रहरीले नियन्त्रणमा लिएका सु एटिएम ह्याकरमध्येका एक सदस्य भएको प्रहरीको अनुसन्धानमा देखिएको छ। 'होटेल र एटिएमको सिसी क्यामराको आधारमा उनीहरु सँगै रहेको समेत खुलेको छ। ‘उनीहरु एउटै होटेलमा समेत रहेको देखिएको छ,' डिएसपी बोगटीले भने। पक्राउ परेका उनी चिनियाँ मूलका फ्रान्सेली नागरिक भएको खुलेको छ। उनीसँग फ्रान्सको पासपोर्ट समेत फेला पारेको छ। उनी मलेसिया जाने तयारीमा विमानस्थल पुगेका थिए।

शनिवार दिउँसोदेखि प्रहरीले ह्याकर समूहका पाँच जनालाई नियन्त्रणमा लिएको थियो। पक्राउ पर्नेहरुमा चिनियाँ नागरिक लिन जियानमेङ, लुओ जियालेइ, झु लियानग्याङ, क्वी युनकिङ र चेन बिन बिन रहेका छन्। प्रहरीले उनीहरुको साथबाट १ करोड २६ लाख २९ हजार ४५ नेपाली रुपैयाँ र ९ हजार १ सय ८ अमेरिकी डलर बरामद गरेको बताएको छ।

समूहमा रहेका तीनजना चिनियाँ नागरिक भने फरार थिए। प्रहरीले ह्याकर समूहमा नेपालीको पनि संलग्नता भएको आशंकामा अनुसन्धान गरिरहेको छ। करौडौँ रुपैयाँ लुट्ने योजना साथ नेपाल आएका उनीहरुले लुटेको रकम कसरी चिन लग्थे? नेपाली रकमलाई डलर वा अन्य मुद्रामा तत्काल परिवर्तन गर्न सम्भवना नरहेकाले यस समूहमा नेपालीको पनि हात हुनपर्ने प्रहरीको भनाई छ।

‘यति धेरै रूपैयाँ विमानस्थलबाट सम्भव थिएन। त्यसैले कोही नेपाली पनि हुनुपर्छ भनेर अनुसन्धान सुरु गरेका छौँ।' महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी उत्तमराज सुवेदीले भने।

सोमबार नै फर्किने योजनाका साथ नेपाल आएका उनीहरुले आइतबार क्यासिनोमा गएर रमाइलो गर्ने योजना बनाएका थिए। उनीहरु मुख्य योजनाकार नभएर कामदार मात्र भएको देखिएको छ।

सम्बन्धित समाचार-

त्यो ‘क्लु’ जसले होटलसम्म पुर्‍याएर पाँच चिनियाँ नागरिकसहित लुटिएको पैसा फेला पार्‍यो

सिस्टम ह्याक गरेर बैंक लुट्ने चिनियाँको 'मास्टर माइन्ड' को? नेपाली पनि संलग्न रहेको आशंका

चीनमै बन्यो नेपालमा 'बैंक लुट्ने' योजना : काठमाडौं झरेको २४ घण्टामा एक्सन, यसरी परे प्रहरी फन्दामा

चिनियाँ ह्याकरले झिकेको पैसा बैंक खातावालाको नभएको राष्ट्रबैकको दाबी, एउटा बैंकको कार्ड अर्को बैंकको मेसिनमा नचल्ने



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell