PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

लड्खडाएको कांग्रेसलाई हिन्दु राष्ट्रको वैशाखी? पार लगाउला त धर्मले?



नेत्र तामाङ

लड्खडाएको कांग्रेसलाई हिन्दु राष्ट्रको वैशाखी? पार लगाउला त धर्मले?

मुलुक संघीयतामा प्रवेश गरेसँगै भएको पहिलो निर्वाचनमा कांग्रेसले नमीठो हार व्यहोर्‍यो।

किन हार्‍यो त पार्टी? यस विषयमा कांग्रेसले लामो समय समीक्षा पनि गर्‍यो। उत्तर एकमात्र थिएन।

वाम एकता, नाकाबन्दीमा खुलेर बोल्न नसक्नु, टिकट वितरण अपारदर्शी, वागी उम्मेद्वार, पार्टी सभापति शेरबहादुर देउवाको बोली आदि आदि...। हारको कारण यिनैलाई देखाइयो।

अन्तर्घातीको सूची पनि सार्वजनिक गर्‍यो कांग्रेसले। कारबाही पनि गर्‍यो।

अहिले कांग्रेस भातृ संगठनको विषयमा निर्णय गर्न भन्दै केन्द्रीय समितिको बैठक जारी छ। भदौ २४ बाट शुरु हुने दोस्रो राष्ट्रिय जागरणमा कसरी जाने/ कसरी प्रस्तुत हुने भन्ने विषय पनि कांग्रेस केन्द्रीय समितिको छलफलको विषयमा छ।

तर, यही केन्द्रीय समितिमा नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरुले कांग्रेसले अब 'हिन्दु राष्ट्र'को मुद्दा बोक्न तयार हुनुपर्ने भन्न थालेका छन्।

भदौ १३ को बैठकमा केन्द्रीय सदस्यसमेत रहेका कांग्रेस नेता डाक्टर शेखर कोइरालाले धर्मको विषयमा संवेदनशील हुनुपर्ने सुझाव दिँदै केन्द्रीय समितिमा कोइरालाले भने- 'पार्टीको १४औं महाधिवेशनमा हिन्दु राष्ट्रको विषय चर्को रुपले उठ्छ। यसलाई कसरी ब्यवस्थापन गर्ने हो त्यसतर्फ हाम्रो ध्यान जान जरुरी छ।'

भावि पार्टी सभापतिकाका रुपमा हेरिएका डाक्टर कोइरालाको यो भनाइ आफैमा अर्थपूर्ण छ। यस्तो धारणा राख्ने कांग्रेसका उनी एक्ला होइनन्। डाक्टर शशांक कोइरालाले त पटक पटक हिन्दु राष्ट्रका पक्षमा वयानबाजी गरिसकेका छन्।

केन्द्रीय समितिमा प्रमुख सचेतकसमेत रहेका बालकृष्ण खाण, एनपी साउदलगायतले हिन्दु धर्मका बारेमा गम्भीर भएर पार्टी लाग्नुपर्ने बताएका छन्।

पार्टीमा पछिल्लोपटक कुनै जिम्मेवारी नपाएर बसेका पाका नेताहरु समेत हिन्दु राष्ट्रको मुद्दालाई जोडदार उठाउनुपर्ने अडानमा देखिन्छन्। कांग्रेस महासमितिमा शंकर भण्डारीको नेतृत्वमा हस्ताक्षर अभियानसमेत चल्यो। ती नेताहरुको भनाइलाई मान्ने हो भने कांग्रेसले 'आफ्नो धर्म छाडेकै कारण' निर्वाचनमा पराजय भोग्नुपरेको हो।

सनातन धर्म छाडेर बाटो बिराउँदा कांग्रेसलाई अफापसिद्ध भएको उनीहरुको दाबी छ।

त्यसो त सुरुदेखि नै हिन्दु राष्ट्रको मुद्दालाई बलियोसँग समातेका थिए - खुमबहादुर खड्काले। अस्वस्थ अवस्थामा पनि उनीसँग बलियो गुट थियो। उनको निधनपछि कांग्रेसमा हिन्दु राष्ट्रको मुद्दा केही मत्थर भयो। एक किसिमले सेलायो नै।

गएको वैशाखमा नयाँ वर्ष मनाउँदा हिन्दु राष्ट्रको पक्षमा कांग्रेस महामन्त्री शशांक कोइरालाले आफ्नो धारणा फेरि दोहर्‍याए। हिन्दु राष्ट्रको पक्षमा उनले फायर गरेको भनाइको तीब्र विरोध भएपछि 'मिस कोट' भएको भन्दै सच्चिए पनि। उनले त्यतिबेला संविधान बमोजिमै धर्म निरपेक्षतालाई स्वीकार्ने बताए।

हिन्दु राष्ट्रको मुद्दाले कहाँ पुग्छ कांग्रेस?

पछिल्लोपटक हिन्दु राष्ट्रको पक्षमा जोडदार आवाज उठाउने दल हो - कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)। राप्रपा नेपाल हुँदै पुन: राप्रपा बनेको यो दलले दोस्रोपटको संविधानसभामा समानुपातिकमा राम्रै मत बटुल्यो।

यद्यपि, संघीयतापछि निर्वाचनमा भने उही मुद्दामा राप्रपाले आफ्नो जनमत अलिकति पनि जोगाउन सकेन। संविधान जारी हुनुअघि देश धर्मनिरपेक्ष भइसकेको थिएन। देश संघीयतामा गएसँगै राप्रपाले हिन्दु राष्ट्रको मुद्दालाई जोडतोडले उठाएको थियो। तर, राप्रपालाई जनताले पत्याएनन्। अहिले राप्रपा राष्ट्रिय दलको सूचीमा समेत छैन। नेपाली कांग्रेसले हिन्दु धर्मको मुद्दालाई क्यास गर्ने हो वा हैन यसबारे १४ औं महाधिवशेन नै पर्खनुपर्ला।

हिन्दुवादी नेताहरुले भने भरपर्दो पार्टी कांग्रेसलाई नै देखेको छन् र यो मुद्दा कांग्रेसलाई नै बोकाउने तरखरमा पनि। कोइराला परिवार हिन्दुवादी नेताहरुको आँखामा परेका छन् यतिखेर। खुमबहादुर खड्कापछि अहिले यो मुद्दा कोइराला परिवार वरिपरि नै घुमिरहेको छ। कहिले महामन्त्री डाक्टर शशांक कोइराला आफैँ मिस फायर गर्छन् त कहिले डाक्टर शेखरले लिखित रुपमै यसको पक्षमा आवाज उठाउँछन्।

यस्तो अवस्थामा महाधिवशेनबाट कांग्रेसले हिन्दु राष्ट्रको मुद्दालाई समेटे यसको परिणाम पर्खन पनि अर्को निर्वाचन नै पर्खनुपर्ने होला। त्यतिबेलासम्म देशको राजनीतिक अवस्था कुन दिशामा पुग्छ त्यही विषयले पनि कांग्रेसको चुनावी परिणाम तय गर्छ।

अग्रजको कदम आत्मसात गर्न हिचकिचाहट

संविधान कांग्रेसकै नेतृत्वमा प्रधानमन्त्री सुशील कोइरालाको पालामा जारी भयो। नेपालको संविधान २०७२ असोज ३ गतेदेखि विधिवत रुपमा राष्ट्रपति डाक्टर रामवरण यादवले जारी गरेका हुन्। त्यसबेलादेखि मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राष्ट्रमा रुपान्तरित भएको हो।

यही संविधानमार्फत् नै नेपाललाई सात प्रदेशमा वर्गीकरण भयो।

संघीयता कार्यन्वयनमा पनि कांग्रेसकै नेतृत्व रह्यो। कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएकै बेला सातै प्रदेशको प्रदेश केन्द्र तोकियो भने प्रदेश प्रमुखहरु पनि त्यही बेला नियुक्त भए। निर्वाचन कांग्रेसकै नेतृत्वमा भयो। निर्वाचनले सातै प्रदेशको सरकार पनि गठन भयो। अहिले नामकरण क्रमश: जारी छ।

तर, कांग्रेस पार्टी आफैँ भने संघीयताको अभ्यासमा बल्ल बामे सर्दै छ। महाधिवेशनको समय घर्केपछि बल्ल कांग्रेसले स्थानीय तहको पदाधिकारी टुंगोमा लगाउने तरखरमा छ। कांग्रेसका कतिपय पुराना नेताहरु संघीयताको विरोधमै छन्। उनीहरु आफ्नै प्रधानमन्त्रीले जारी गरेको संविधान र आफ्नै प्रधानमन्त्रीले निर्वाचन गराएर थालनी गरेको संघीयताको खिलाफमा छन्। केन्द्रीय सदस्य कुलबहादुर गुरुङले संघीयता धान्न नसक्ने भन्दै पहिलेदेखि नै चर्को आवाज उठाउँदै आएका थिए। अहिले पनि उनी यही मतमा छन्। पूर्व महामन्त्री रहिसकेका पूर्व सभामुख तारानाथ रानाभाट पनि यस विषयमा कांग्रेसले फितलो निर्णय गरेको दावी गर्छन्।

संघीयतामा कछुवा हिँडाइ चलिरहँदा अहिले धर्मनिरपेक्षताको विषयले कांग्रेसलाई नराम्ररी पोलेको छ। अधिकांश जनता हिन्दु भएकाले हिन्दु राष्ट्र कायम गरिनुपर्ने मुद्दालाई व्युताउँन केही नेता लागे पनि कतिपयले भने संविधानको बर्खिलापमा जान नहुने बताउँदै आएका छन्। यस्तो अवस्थामा कांग्रेसले हिन्दु राष्ट्रको मुद्दा चर्काउँदा संघीयतामा पनि आँच आउने ती नेताहरुले दाबी गरेका छन्।

आदिवासी जनजाति मतको वेवास्ता

पछिल्लो समय कम्युनिस्ट सरकारको कदमले आदिवासी जनजाति समूदाय क्रुद्ध छ। गुठी विधेयकदेखि लोकसेवामा आरक्षण मुद्दामा सरकारको तीव्र विरोध भइरहेको छ। गुठी विधेयक फिर्ता लिए पनि लोकसेवाको आरक्षणमा सरकार सच्चिएको छैन। यस्तो अवस्थामा कांग्रेसले आदिवासी जनजाति समुदायको मतलाई आफ्नो पक्षमा पार्न आन्दोलनलाई साथ दिनुपर्ने हो। तर, यो प्रयासमा कांग्रेस लागेको देखिँदैन। आफैँ कोमामा छ जस्तो लाग्छ कांग्रेस। त्यसैले आदिवासी समुदाय कांग्रेसमाथि चिढिएका छन्। हिन्दु राष्ट्रको मुद्दाले आदिवासी जनजाति समूदाय थप चिढिने नै छन्। कांग्रेसको बाँकी चिन्ता कांग्रेसका नेताजनमै छोडौं।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell