PahiloPost

Jan 1, 2025 | १७ पुष २०८१

कांग्रेसको दोस्रो जागरणको विशेषता : बोक्सी प्रथाविरुद्ध चेतना फैलाउनदेखि पार्टी प्रवेश बढाउनेसम्म



नेत्र तामाङ

कांग्रेसको दोस्रो जागरणको विशेषता : बोक्सी प्रथाविरुद्ध चेतना फैलाउनदेखि पार्टी प्रवेश बढाउनेसम्म

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भदौ २४ गतेदेखि दोस्रो चरणको जागरण अभियान सुरु गर्ने भएको छ। कांग्रेसले दोस्रो चरणको अभियान सुरु गर्ने जानकारी सानेपास्थित पार्टी कार्यालयमा आज दिउँसो पत्रकार सम्मेलन गरी दिएको हो।

१५ दिनसम्म सञ्चालन गरिने जागरण अभियानको विशेषता यस्ता छन्:

आसन ग्रहण एकै मिनेटमा सकाउने

भदौ २४ गते प्रारम्भ हुने दोस्रो चरण असोज ७ गते समापन हुने जागरणमा आसन ग्रहण एकै मिनेटमा सकाउने बताइएको छ। त्यसैगरी केजीमा तौलिने माला र ब्याज नलगाउने जनाएको छ।

वक्ता सीमित बनाउने र बढी अन्तर्क्रियात्मक बनाउने पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

उद्घाटनमा करिब ३४ हजार विरुवा रोपिने

पहिलो दिन वीपी कोइरालाको १०६ औं जन्म जयन्तीको प्रतीकस्वरूप १०६ विरूवा प्रत्येक प्रदेश सभा निर्वाचन क्षेत्रको निश्चित स्थलमा वृक्षारोपण गरेर दोस्रो चरणको जागरण अभियान उद्घाटन गर्ने कार्यक्रम तय भएको छ। यसरी एकै दिन ३४ हजार ९८० विरूवा रोपेर अभियानको प्रथम दिन पर्यावरणका लागि पार्टीका तर्फबाट योगदान पुर्‍याइने प्रवक्ता शर्माले बताए। 

विशेष सामाजिक संवाद

जागरणमा कांग्रेसले सामाजिक संवादसमेत सञ्चालन गर्नेछ। सरकार भरोसायोग्य नभएको उल्लेख गर्दै कांग्रेसले अभियानको क्रममा देशव्यापी रूपमा समाजिक संवाद चलाउने जनाएको हो।
यस क्रममा नेपाली समाजका विभिन्न समुदाय, वर्ग, पेशा र क्षेत्रका जनताको भावना बुझ्ने र ज्वलन्त प्रश्न, पीडा र अपेक्षासमेत बुझ्नेछ।

सामाजिक विसंगति विरूद्ध छलफल गरिने 

अभियानको क्रममा पार्टीको केन्द्रीय प्रतिनिधिहरूले सम्बन्धित प्रदेश सभा क्षेत्रभित्र कुनै पनि ढंगका सामाजिक विसंगतिका परम्परा, अन्धविश्वास र अप्रिय घटनाहरू भएका छन्, छैनन् त्यसबारे आवश्यक छलफल र अध्ययन समेत गर्नेछन्। यसक्रममा बोक्सी प्रथा, दाइजोको निहुँमा भएका उत्पीडन, जातीय छुवाछुत र विभेद, बाल श्रम शोषण, घरेलु हिंसा, चेलिवेटी बेचबिखन, छाउपडीलगायत अन्य विसंगतिहरूका विरुद्ध आवश्यक चेतना अभिवृद्धिमा पार्टीको सहभागिता रहनेछ। 

युवा केन्द्रित विशेष संवाद 

अभियान क्रममा प्रत्येक प्रदेश सभा निर्वाचन क्षेत्रमा युवा केन्द्रीत विशेष संवादको कार्यक्रम आयोजना गरिने कांग्रेसले जनाएको छ। नेपाल विद्यार्थी संघ, नेपाल तरूण दल र नेपाल महिला संघ लगायत भातृ र शुभेच्छुक संस्थामा आवद्ध युवाहरू तथा अन्य असंगठित युवाहरूको देश, लोकतन्त्र र कांग्रेसको आजको सन्दर्भमा खुला विचारहरू कार्यक्रममा संकलन गरिनेछ। ३३० प्रदेश सभा क्षेत्रमा औसत ३०० युवाका बीचमा वीपीको विचार र संस्कारलाई कार्यक्रम क्रममा सम्प्रेषण गर्दा समग्रमा १ लाख युवासँग संवाद र सम्प्रेषण पन्ध्र दिनको अवधिमा हुने कांग्रेसको दाबी छ। युवा केन्द्रीत विशेष संवाद जागरण अभियान आवश्यकता अनुसार प्रदेश सभा क्षेत्र, गाउँ–नगर या वडा स्तरीय समेत हुने जनाएको छ।

अग्रज, शहीद परिवार र द्वन्द्व पीडितको आँगनमा पुग्ने 

अभियानका क्रममा कांग्रेस अग्रज, शहीद परिवार र द्वन्द्व पीडितको आँगनमासमेत पुग्ने भएको छ। कांग्रेसले अभियानबारे भनेको छ, 'दोस्रो चरणका क्रममा पार्टीका केन्द्रीय प्रतिनिधि र अन्य साथीहरू, यस्ता अग्रजहरु एवं शहीद परिवारप्रति श्रद्धा प्रकट गर्न उहाँहरूको घर आंगनमा पुग्नु हुनेछ। द्वन्दकालका एवं विभिन्न आन्दोलनका घाइतेहरूको पिडा र आजको स्थिति बुझ्नपनि उहाँहरू पुग्नु हुनेछ।' 

पार्टी प्रवेश बढाउने

कांग्रेसले पहिलो चरणमा ३१ हजार ६४२ जना नयाँ कार्याकर्तालाई पार्टीमा स्वागत गरेको दाबी गर्दै दोस्रो चरणमा अझ बढी प्रवेश गराउने जनाएको छ। जागरण अभियानबारेको विज्ञप्तिमा भनिएको छ, 'जागरण अभियानको प्रथम चरणमा ३१६४२ जना नेपाली कांग्रेसमा प्रवेश गर्नु भएको थियो। दोस्रो चरणमा यो भन्दा ठूलो संख्या विभिन्न राजनैतिक दल परित्याग गरेर नेपाली कांग्रेसमा समाहित हुने देखिएको छ।'
नव प्रवेशीलाई विशेष प्रशिक्षण दिनेसमेत काँग्रेसले जनाएको छ।

स्थानीय तहको समीक्षा गरिने

स्थानीय तहको निर्वाचन भएको दुई वर्ष पुग्नै लागेको अवसर पारी यही जागरण अभियानमा कांग्रेसले स्थानीय सरकारको समीक्षासमेत गर्ने भएको छ। अभियानमा यस निर्वाचनमा कांग्रेसका तर्फबाट विजयी भएकाहरुसँग आन्तरिक बैठकमा छलफलसमेत गरिने पार्टीले योजना तय गरेको छ। भनिएको छ, 'जागरण अभियानको दोस्रो चरण क्रममा स्थानीय सरकारहरूको दुई वर्षे समिक्षा पनि गरिनेछ। यसक्रममा नेपाली कांग्रेस पार्टीका तर्फबाट उम्मेदवार भई विजयी भएका भएका जनप्रतिनिधि एवं उम्मेदवारहरू तथा पार्टीको स्थानीय समितिहरूका बीच विशेष आन्तरिक बैठक आयोजना गरिनेछ। 

सरकारविरुद्ध पाँच मुद्दा, जिल्ला सदरमुकाममा प्रदर्शन

जागरण अभियानको अन्तिम दिन कांग्रेसले ७७ जिल्लाका सदरमुकाममा सरकारविरुद्ध प्रदर्शन गर्ने भएको छ। पाँच मुद्दामा केन्द्रीत रहेर सरकारको विरोध गरिने कांग्रेसले जनाएको छ। कांग्रेसले उठाउने मुद्दा यसप्रकार छ।
१. बढ्दो महंगीका विरुद्ध।
२. भ्रष्टाचार (वाइडबडी, न्यारो वडी प्रकरण लगायत) का विरुद्ध।
३. बढ्दो महिला हिंसा, बलात्कार र हत्याका विरुद्ध।
४. अलोकतान्त्रिक विधेयकहरुका विरुद्ध।
५. कम्युनिष्ट सरकारको सम्पूर्ण कुशासनका विरुद्ध।

कांग्रेसको दोस्रो चरणको जागरण अभियान भदौ २४ गतेदेखि, असोज ७ मा सरकारविरुद्ध प्रदर्शन



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell