PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

चिनियाँ विदेशमन्त्री वाङ काठमाडौंमा



प्रवीण रानाभाट

चिनियाँ विदेशमन्त्री वाङ काठमाडौंमा

काठमाडौं: चिनियाँ स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यी पाकिस्तानको इस्लमावादबाट काठमाडौं आइपुगेका छन्।

दिउँसो ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम भए पनि वाङ साँझ सवा ६ बजेमात्र विशेष विमानमार्फत् काठमाडौं ओर्लेका हुन्।

वाङलाई परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीले विमानस्थलको अति विशिष्ठ कक्षामा स्वागत गरेका थिए। तीन दिने भ्रमणका लागि आइपुगेका वाङले भोलिबाट उच्चस्तरीय राजनीतिक भेटघाट थाल्नेछन्।

वाङले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्ने तय भएको छ भने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग दुई पक्षीय हितको विषयमा छलफल गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

त्यसैगरी उनले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गर्ने कार्यक्रम तय भइसकेको छ।

उच्चस्तरीय भ्रमणको लामो पर्खाइको घडीलाई अन्त्य गर्दै नेपालमा उनको भ्रमण भएकोले चिनियाँ राजनीतिक नेतृत्वको भ्रमणले चिनियाँ राष्ट्रपति सी जिङपिङको नेपाल भ्रमणको बाटोसमेत खोल्ने अपेक्षा गरिएको छ।

उत्तरी छिमेकी चीनबाट उच्चस्तरीय भ्रमणको प्रतीक्षा पाँच वर्षदेखि हुँदै आएको छ। यसबीच नेपालले पटक-पटक चिनियाँ राष्ट्रपति सीलाई नेपाल भ्रमणका लागि निम्ता दिइँदै आएको छ।

यो पाँच वर्षमा आधा दर्जन सरकार परिवर्तन भए तर राष्ट्रपति सीको भ्रमण हुन नसकिरहेको अवस्थामा चिनियाँ स्टेट काउन्सिलर तथा विदेश मन्त्री वाङ यीको हुन लागेको नेपाल भ्रमणले उत्तरी छिमेकी चीनबाट उच्चस्तरीय भ्रमण हुने अपेक्षालाई बल पुगेको छ।

तेस्रो चरणको चीन-पाकिस्तान-अफगानिस्तानबीचको त्रिपक्षीय विदेशमन्त्री स्तरीय वार्ताका लागि शनिवार पाकिस्तानको राजधानी इस्लामावाद उत्रिएका विदेशमन्त्री यीले यस क्षेत्रको शान्ति र स्थायित्वका लागि चासो व्यक्त गरेका थिए।

छलफलमा पाकिस्तानी विदेशमन्त्री शाह मोहमुद कुरेशी र अफगानस्तानका विदेशमन्त्री सलाहउद्दिन रब्बानी नेतृत्वको टोली सहभागी थियो। २०१७ मा पहिलो पटक बेइजिङमा भएको त्रिपक्षील छलफल दोस्रो पटक अफगानस्तानको काबुल र तेस्रो पटक पाकिस्तानको  इस्लामावादमा भएको हो।

 

विदेश मन्त्री यीले इस्लामावादमा रहँदा त्यहाँका विदेशमन्त्री कुरेशी नेतृत्वको टोलीसँग द्विपक्षीय भेटवार्ता पनि गरेका छन्। शनिवार भएको भेटवार्ताका क्रममा अगस्ट ५ मा भारतको संसदले कश्मिर मामिलामा लिएको कदमको विषयमा छलफल भएको थियो।

भेटवार्ताका क्रममा दुवै पक्ष कश्मिर मामिला यस क्षेत्रको शान्ति स्थायित्वको विषयमा समेत प्रभाव पार्ने भन्दै दुई देश कश्मिर मामिलामा समान धारणा बनाएर अगाडि बढ्ने सहमत भएको पाकिस्तानी विदेश मन्त्रालयले जनाएको छ।

विदेश मन्त्री वाङ यीको टोलीमा चिनियाँ उप विदेशमन्त्री लुओ झाओहुइ लगायतका उच्च अधिकारीसमेत सहभागी छन्।

चिनियाँ विदेश मन्त्रालयले विदेशमन्त्री यीको नेपाल भ्रमणको जानकारी गराउँदै नेपाल र चीन पछिल्ला वर्ष बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) अन्तर्गत हिमालय वारपार बहुआयामिक सञ्जाल विस्तारका क्षेत्रमा काम गरिरहेको भन्दै विदेश मन्त्री यीको भ्रमणले दुई देशबीच यसअघि भएका सम्झौताको कार्यान्वयनमा जोड दिने जनाएको छ।

चिनियाँ विदेश मन्त्रालयमा शुक्रवार आयोजित नियमित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता कङ सुयङले चीन र नेपाल लामो समयदेखि मित्र राष्ट्र रहेको भन्दै अप्रिलमा नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीले चीनको राजकीय भ्रमण गरेको स्मरण गर्दै भ्रमणका क्रममा दुई देशबीच महत्त्वपूर्ण समझदारी भएको र त्यसले नेपाल चीनबीचको सम्बन्धलाई थप मजबुत बनाएको बताएका थिए।

विदेशमन्त्री यीको भ्रमण नेपाली राष्ट्रपति भण्डारीको चीन भ्रमणले क्रममा र यस अघि भएका सम्झौताको कार्यान्वयनमा जोड दिने उनको भनाइ थियो। त्यस्तै भ्रमणले दुई देशबीचको साझेदारीलाई थप मजबुत पार्ने उनले बताए।

पाकिस्तानबाट नेपाल भित्रिँदै चिनियाँ विदेशमन्त्री वाङ यी, राष्ट्रपति सी जिङपिङको भ्रमणको बाटो खुल्ला?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell