
काठमाडौं : प्रणालीको खराबी पत्ता नलाग्दै नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स लिमिटेड (नेप्स) ले कार्डको प्रयोग सुरु गरेको छ।
नेप्सको प्रणालीमा आबद्ध बैंकहरुले पूरै प्रणाली परिवर्तन नगरी कार्ड चलाउन नहुने बताइरहँदा नेप्सेले भने 'सिस्टम ओपन' गरेको हो।
'कहाँ समस्या छ भन्ने थाहा छैन। पुरानै प्रणाली अनुसार कार्ड चलाउँदा अझै लुट मच्चिन सक्छ', एक बैंकका प्रमुख कार्यकारीले भने, 'नेप्सले न सिस्टम परिवर्तन गर्छ न त सुधारको उपाय अपनाएको छ।'
नेप्सका अधिकारीहरु भने यस प्रकरणमा बोल्न चाहेका छैनन्।
चिनियाँ ह्याकरले नेप्सको प्रणाली ह्याक गरेर १३ बैंकको कार्ड र एटिएम बुथ प्रयोग गरेर साढे ३ करोड लुटेका थिए। त्यसपछि बैंकहरुले नेप्सलाई प्रणाली परिवर्तन गर्न भनेका थिए।
नेप्सले तत्कालै प्रणाली परिवर्तन गर्न गाह्रो भएको उत्तर दिने गरेको छ। सोमबार राष्ट्र बैंकले पनि प्रणाली परिवर्तन गर्न निर्देशन दिएको छ।
यता सिगापुरबाट आएको फरेन्सिक टोलीले आफ्नो प्रतिवेदन लुकाएको छ। 'टिओआर'मै ७ दिनभित्र प्रतिवेदन दिने उल्लेख गरेको टोलीले ३ महिना लाग्ने जवाफ दिएको नेप्सका अधिकारीहरुले राष्ट्र बैंकलाई जानकारी गराएका छन्।
'फरेन्सिक टिमले ७ दिनमै प्रतिवेदन दिनुपर्छ। यो लिखित शर्त नै हो,' राष्ट्र बैंकका एक अधिकारीले भने, 'प्रणालीमा केही समस्या पक्कै छ। यसले प्यानिक अवस्था नआओस् भनेर उनीहरुले ३ महिना भन्दै ढाँटेको हुन सक्छ।'
अहिले नेप्सको कार्ड अन्तर्गतका बैंकहरुमा मात्र चल्छ। भिसा नेटवर्कमा नेप्स अन्तर्गतका कार्ड चल्दैनन्।
'प्रणाली परिवर्तन नगर्दा दशैं तिहारको मुखमा सर्वसाधारणलाई अप्ठेरो पर्ने अवस्था छ,' ती बैंकरले भने।
सम्वन्धित समाचार