येँया: (इन्द्रजात्रा)सँगै काठमाडौं जात्रामय भएको छ।
येँयाको मुख्य केन्द्रमा हुन्छिन् जिवित देवी कुमारी। उनीसँगै रथको अगाडि दुई जीवित देवको रथ यात्रा हुनेगर्छ। तर, जात्रा हेर्न पुग्ने धेरैलाई ती को हुन् भन्नेबारे पनि थाहा हुँदैन। कोहीले त ती पनि कुमारी नै हुन् भनेर पूजा गर्छन्। यथार्थमा पहिलो र दोस्रो रथमा क्रमश: गणेश र भैरव हुन्छन्। कुमारीको रथ त सबैभन्दा अन्त्यमा तानिन्छ।
जिवित देवीमात्र हैन, काठमाडौँमा दुई जिवित देवता पनि छन् जसबारे धेरैलाई थाहै छैन
हाल जिवित देव गणेशका रुपमा समवेग शाक्य र भैरवका रुपमा रुजन शाक्य छन्। उनीहरु दुवै १४ वर्ष पुगिसके। यसपटकको येँया: पुन्हीमा उनीहरु गणेश र भैरवका रुपमा नै रथ यात्रा गर्दैछन्। अर्को वर्षको येँया:मा भने उनीहरुको अन्तिम रथ यात्रा हुनेछ। उनीहरुले जीवित देव गणेश र भैरवबाट अवकाश पाउँदैछन्।
अर्थात, २०७८ को येँयामा भने शाक्य परिवारबाट छानिएको नयाँ गणेश र भैरवले रथ यात्रा गर्नेछन्।गणेशको रथयात्रा
अहिलेकी राजकीय कुमारी तृष्णा शाक्यको जीवित देवी कुमारीको रुपमा यो दोस्रो रथ यात्रा हो। दुई वर्ष अघि मतिना शाक्यले राजकीय कुमारीबाट अवकाश पाएपछि उनी दशैंको महाअष्टमीको दिन कुमारी घरबाट बिदा भइन्।
मतिना : जीवित देवीबाट सामान्य किशोरी बनेपछिको एक वर्ष, भन्छिन्- 'रमाइलो लागिरा'छ'
अर्को वर्षको दशैंको महानवमीमा भने गणेश र भैरबले पनि अवकाश पाउँने बताउँछन् वर्तमान तथा पूर्व श्री गणेश श्री भैरब संरक्षण समितिका अध्यक्ष गणेश शाक्य।
कुमारी झै गणेश र भैरव पनि हरेक ८ – १० वर्षमा परिवर्तन हुने गर्छन्। वर्तमान गणेश र भैरवको उमेर पुगिसकेकाले अर्को वर्षको दशैंसम्म नयाँ गणेश र भैरव चयन गर्ने प्रक्रिया सुरु हुने उनले बताए।
गणेश हाल गणबहालस्थित 'ग्रिनपिस कोएड' मा र भैरव भने ताहाचलस्थित जनज्योति विद्यालयमा कक्षा ९ मा पढ्दैछन्।
कुमारीले झै उनीहरुले घरैमा बसेर पढ्नु पर्दैन। उनीहरुलाई हिँड्डु गर्न स्वतन्त्रता रहेको छ तर केही प्रतिबन्धका साथ। हिँड्न स्वतन्त्र भए पनि अरु बच्चाहरुलाई जस्तो स्वतन्त्रता उनीहरुलाई छैन। घरबाहिर खेल्न वा रमाइलो गर्न पाउँदैनन्। देवताका रुपमा कडा नियमका बीच बस्नुपर्ने हुन्छ।समवेग शाक्य जीवित देवता गणेशका रुपमा
गणेश र भैरवले सामान्य मानिस झै फेन्सी लुगा लगाउन पाउँदैनन्। उनीहरुको आफ्नै 'ड्रेस कोड' हुन्छ। प्रायजसो उनीहरु रातो र सेतो रंगको 'भान्ता लँ' भनिने लामो लुगामा देखिन्छन्। विद्यालयमा जाँदा आउँदा उनीहरु भिन्न पोसाकमा देखिन्छन्। विशेष अवसरमा खटमा राखेर उनीहरुलाई लगिन्छ।
कुमारी घरमा विशेष पूजा, रथ यात्राका क्रममा छुट्टै पोशाक, गहना लगाउनु पर्ने हुन्छ उनीहरुले।कुमारीको जस्तो गणेश र भैरवको स्थायी ठेगाना छैन। गणेश भएदेखि समवेग न्यूरोडमा रहेको मामाघरमा बस्दै आएका छन् भने भैरव भएदेखि समवेग ओमबहालस्थित मञ्जुश्री नक महाविहारको चोकमा रहेको ४ तल्ले साँघुरो घरमा बस्दै आएका छन्।
रुजन शाक्य जीवित देवता भैरवका रुपमा
+++
२०१३ सालमा जीवित गणेश बनेका गणेश शाक्य भन्छन्, 'गणेश र भैरव छान्ने आफ्नो प्रक्रिया हुन्छ। देवता बन्न निश्चित मापदण्ड पूरा गर्नुपर्छ। यो वर्ष नयाँ देवता छनौट छान्न पर्याप्त समय नपुग्ने भयो। अर्को वर्षको इन्द्रजात्रामा हालकै गणेश र भैरवले रथ यात्रा गर्नेछन्। अर्को वर्षको दशैंमा भने नयाँ गणेश र भैरव छनौट भइसक्नेछन्।'
शाक्य यस विषयामा गुठी संस्थानमा छलफल भइरहेको बताउँछन्। भने, 'पहिला राजाको पालमा राजपुरोहितले गणेश भैरव छनौट गर्ने गर्थे। हाल त्यो हट्यो। अब नयाँ गणेश र भैरव छनौट गर्न नयाँ कार्यविधि बनाउन एउटा समिति गठन भएको छ।'
उनका अनुसार नयाँ गणेश र भैरव छनौटका लागि उनका साथै कुमारी घरको चिताइदार, शाक्य महाविहार, तलेजुको पुजारी, पंचबुद्धबाट प्रतिनिधि समितिमा रहेका छन्। उनीहरुले नयाँ कार्यविधिको खाका तयार गरेर बुझाइसकेका छन्।
भैरवको रथयात्रा।
उनका अनुसार सम्भवत छिट्टैनै कार्यविधि पारित हुने र नयाँ गणेश र भैरवको छनौटको प्रक्रिया सुरु हुनेछ। त्यसपछि शाक्यहरुको १८ महाविहारबाट आफ्ना छोरालाई गणेश वा भैरव बनाउन चाहनेहरुका लागि आवेदन खुल्ला गरिन्छ।
कसरी छानिन्छन् गणेश र भैरव?
इन्द्रजात्रा लिच्छवी कालदेखि नै मनाइँदै आएको भए पनि कुमारी, गणेश र भैरवको रथयात्रा भने कान्तिपुरका अन्तिम मल्ल राजा जयप्रकाश मल्लले चलाएका हुन्। त्यतिबेला गणेश र भैरवको रथलाई अगाडि पारेर राजा जयप्रकाश स्वयं कुमारीको रथमा बसी यात्रा चलाउने गर्ने गरेको कथन छ।
कुमारी छनौट गर्दा अपनाइने विधिहरु नै गणेश र भैरव छनौट गर्नका लागि अपनाइन्छ। तर, कुमारीले प्रायः १२ वर्ष हुँदा अवकाश पाएता पनि शाक्य परिवारका छोरा १४ वर्ष उमेरसम्म जीवित देवता गणेश र भैरवका रुपमा रहन्छन्। अवकाश लिने समय नजिकिँदै गर्दा काठमाडौंका शाक्य समुदाय बीच आफ्नो छोरालाई गणेश र भैरव बनाउन इच्छुक परिवारलाई आवेदन गर्न लगाइन्छ।तर, गणेश भैरव बन्नका लागि केही कडा नियमहरु पनि छन्।
पहिलो, गणेश भैरव बन्ने बालकको बुबा आमा काठमाडौं कै शाक्य हुनुपर्छ। काठमाडौंको पनि १८ शाक्य महाविहार मध्येको परिवारबाट हुनुपर्छ। ती विहार बाहिरका शाक्य परिवारले यसमा सहभागी हुन पाउँदैनन्। काठमाडौं बाहिरका शाक्यसँग बिहे भई जन्मेको छोरा भए ऊ गणेश वा भैरव बन्न पाउँदैन।
दोस्रो, बालकमा कुनै रोग, चोट वा खोट हुन हुँदैन। भएमा पनि उनीहरु योग्य मानिँदैनन्।
बालकहरुको प्राप्त चिना तलेजुको पुजारी कहाँ पठाइन्छ। पुजारीले बालकको चिना हेरी राज्यको हितमा रहेको नरहेको बुझी उपयुक्त उम्मेदवारको चिना पठाई सिफारिस गरिन्छ। पहिला एक जना मात्र सिफारिस भएमा ऊ स्वतः पदका लागि छनौट हुन्थ्यो। तर, दुई चार जना भए आपसी सल्लाहमा छनौट गर्ने गरिन्थ्यो। नयाँ बन्ने कार्यविधिले यस बारे थप प्रस्ट पार्नेछ।