PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

सभागृहमा के राष्ट्रपतिले देउवाको बोली नबुझेकै हो त?



नेत्र तामाङ

सभागृहमा के राष्ट्रपतिले देउवाको बोली नबुझेकै हो त?

गएको शुक्रवार काठमाडौंको राष्ट्रिय सभागृहमा प्रमुख अतिथिका रुपमा निम्त्याइएकी थिइन् राष्ट्रपति विद्यादेवी भण्डारी। गणेशमान सिंह तथा जनआन्दोलन शहीद स्मृति शान्ति प्रतिष्ठानले आयोजना गरेको 'गणेशमान सिंह जन आन्दोलन स्वर्ण पदक विभुषण तथा अभिनन्दन कार्यक्रम' मा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार संविधान कार्यन्वयनमा चुकेको आरोपमात्र लगाएनन् सरकारको चर्को विरोधसमेत गरे।

देउवाले सरकारको शैली नै निरंकुशतातर्फ अगाडि बढेको दाबी गर्दै दर्शक दीर्घाबाट वाहवाही बटुले। खासमा देउवाले बिहीवार संसदमा बोलेको अभिव्यक्तिको सार नै थियो त्यो भाषण

संविधान कार्यन्वयनको सवालसँग जोडिएकोले आफू यी कुरा बोल्न बाध्य भएको देउवाले शुरुमै भनेका थिए। त्यसपछि आक्रमक बनेका उनलाई दर्शकदीर्घाबाट ताली पाउन थाले। प्राय: सरकारमाथि कड्किँदै सोधिएका प्रश्नमा ताली पाउन थालेपछि देउवा पनि 'पज' गर्दै थप आक्रमक बन्न थाले र अडियन्सबाट थप ताली बटुलिरहे। मानौ, उनी खातामा ताली डिपोजिट गर्नमात्र चाहिरहेका थिए।

प्राय कार्यक्रममा अफ मुडमा देखिने देउवाको शैली हिजो केही फरक थियो सभागृहमा। सम्बोधनको अन्त्यमा अडियन्सबाट ताली पाएपछि हौसिएका देउवा भाषण सकिनसाथ मञ्चको अलि अघिसम्मै आएर उपस्थितसामु हात हल्लाउन पनि भ्याए। यसअघि देउवालाई यस्तो शैलीमा नदेखेकाहरु उनको मुड देखेर होला- धेरैबेर ताली ठोक्न सक्रिय रहे।

त्यसपछि, राष्ट्रपतिलाई आफ्नो धारणाका लागि अनुरोध आयो।

राष्ट्रपति प्राय: लिखित मन्तव्यमा उपस्थित हुन्छिन्। हिजो पनि तयारी त्यही देखिन्थ्यो। तर, लिखित मन्तव्य अघि राष्ट्रपति भण्डारीले अडियन्सलाई आकर्षण गराउन पूर्व वक्ताले बोलेको नबुझेको धारणा राखिन्, अलिक व्यङ्ग्यात्मक शैलीमा। अनि, यो खबर मिडियामा देउवाले बोलेको राष्ट्रपतिले नबुझेको शीर्षकमा फैलिन थाल्यो।

यो पनि: देउवाको 'बोली'माथि राष्ट्रपति भण्डारीको व्यङ्ग्य : 'मैले त बोलेको बुझिनँ, मिडियाबाट थाहा पाइएला'

कतिपयले यस विषयलाई मिडियाले तोडमरोड गरेको आरोप पनि लगाउन भ्याए। कतिपयले देउवाले बोलेको साँच्चै बुझ्न गाह्रो हुने सच्चाई समेत प्रस्तुत गरे। कतिपयले भने राष्ट्रपतिले मञ्चको व्यवस्थापन ठीक नभएकोले दर्शक दीर्घामा सुनिए पनि मञ्चमा बस्नेले नसुनेको आशय प्रकट गरे। कतिपयले भने राष्ट्रपति भण्डारी प्रधानमन्त्री केपी शर्मा ओलीले झै हसाउँने शैली पक्रेको टिप्पणी पनि गरे। राष्ट्रपतिलाई बोलाएर सरकारविरुद्ध प्रमुख प्रतिपक्षी दलका नेताले जसरी बोले त्यो गलत रहेको पनि टिप्पणी गरे। राजनीतिक आस्था यसमा पनि प्रष्ट रुपमा विभाजित भयो र हुनेक्रम जारी पनि छ।

 

के भएको थियो हिजो?

हिजोको घटना कांग्रेस सभापति देउवासँग जोडिएकाले उनी मञ्चमा कसरी उपस्थित हुन्छन् भन्ने कुरा उल्लेख गर्नैपर्छ। नेपाली कांग्रेसले गत वैशाख २५ गते शुरु गरेको पहिलो चरणको जागरण अभियानको उद्घाटन गर्न देउवा यही हलमा पुगेका थिए। त्यतिबेला कार्यकर्तासँग 'तँ तँ र म म' को अवस्था सिर्जना भएको थियो। पार्टीको आन्तरिक कलह, आफूमाथि आरोपै आरोप लागेको कारण होला देउवा प्राय 'मुड अफ'मै देखिएका थिए मञ्चमा। त्यही दिन उनले कार्यकर्तालाई 'दोहोरो कुरा गर्ने हैन है' भन्दै हप्काउन समेत भ्याएका थिए। तर, बिहीवारको वातावरण फरक देखियो। त्यहाँ उनले त्यहाँको अडियन्स (कांग्रेस कार्यकर्ता नै बढी थिए)लाई आफ्नो पक्षमा होमा हो मिलाउन सफल भए।

पछिल्लो समय उनी कार्यकर्ता के मन पराउँछन् र के बोल्दा खुसी हुन्छन् भन्ने विषय ठम्याउन खोजिरहेका हुन् कि भन्ने पनि देखिन्छ। भदौ २० मा प्रदेश ३ का महाधिवेशन प्रतिनिधिहरुको प्रशिक्षण स्थल भक्तपुरमा पुगेर उनले अन्तर्घातीलाई आफू निस्केर भए पनि कारबाही गर्ने चेतावनी दिएका थिए। त्यहाँ पनि वाहवाही पाएका थिए उनले। प्राय रिजर्भ देखिने देउवा पछिल्लोपटक हावाहुरी प्रभावित क्षेत्रदेखि बाढी प्रभावित क्षेत्रसम्म पुग्न थाल्नु पपुलिस्ट अभियानको अंग झै लाग्छ। विभिन्न कारणले पीडामा परेका जनतासम्म पुग्नुको पछाडि नजिकिँदै गरेको १४ औं महाधिवेशन पनि हुनसक्छ।

पार्टीमा रक्षात्मक हुँदै आएका उनी अहिले कार्यकर्ताको मन जित्ने शैलीको खोजीमा देखिन थालेका छन्। पछिल्लोपटक सरकारप्रति पनि आक्रमक हुँदै आएका छन्। बिहीवारको संसदमा उनको प्रस्तुति आक्रमक नै रह्यो। त्यसो त उनले यसअघिका सम्बोधनमा पनि प्रधानमन्त्री केपी शर्मा ओलीलाई आरोप लगाउन भ्याउँथे : अरुले गरेको कामलाई आफूले गरेको भन्ने?

 

देउवाको धारणापछि राष्ट्रपतिको प्रतिक्रिया

कार्यकर्ताको मन जित्न सरकारको कटु आलोचना गरेपछि देउवाले शुक्रबार दिउँसो निकै प्रशंसा बटुले। त्यो तालीको गड्गडाहट राष्ट्रपति भण्डारीले प्रष्ट सुनिन्। सम्बोधन सुरुमै राष्ट्रपतिले देउवाको कुरा नबुझेको प्रतिक्रिया दिइन्।

पोडियममा पुग्नेबित्तिकै राष्ट्रपति भण्डारीले भनिन्, 'सुझावका रुपमा कुरा राख्छु। यो मञ्चमा वक्ताले बोलेको केही नबुझ्ने रहेछ। नेताहरुले जोशिएर बोल्नुभयो। फ्लोरबाट राम्रो स्वागत भयो। ताली बज्यो। राम्रो बोल्नुभयो जस्तो लाग्यो। तर, के बोल्नुभयो भन्ने कुरा आम रुपमा बुझिएन। कान सुनिएन। अब मिडियाबाट थाह पाइएला।'

कार्यक्रममा देउवाभन्दा अघि पूर्व सभामुख एवं नेकपाका संसदीय दलका उपनेता सुवास नेम्बाङ, कांग्रेस नेता कृष्णप्रसाद सिटौला र प्रतिष्ठानका अध्यक्ष एवं सांसद भीमसेनदास प्रधान बोलेका थिए। तर, फ्लोरबाट राम्रो स्वागत भने देउवाकै भाषणलाई मिलेको थियो। जोशिएर बोलेका देउवा नै थिए। ताली उनैलाई मिल्यो।

राष्ट्रपतिलाई साक्षी राखेर देउवाले सरकारको चर्को विरोध गरेकै कारण होला, राष्ट्रपति भण्डारीलाई सहज लागेन। राजनीतिक विषय प्रवेश गर्न पदीय गरिमाले नदिने भएकाले घुमाउरो पारामा देउवाका कुरा नबुझेको धारणा राखिन्। त्यसैले यो देउवाप्रति लक्षित नै थियो।

राष्ट्रपतिले यति बोल्नसाथ हलमा गललल हाँसो फैलियो। त्यसपछि राष्ट्रपति केही सच्चिइन्।

'वक्ताहरुले बोलेको कुरा मञ्चमा बस्ने अतिथि गणले पनि सुन्ने व्यवस्था मिलाउनुहोला।'

त्यसपछि मात्रै राष्ट्रपतिले लिखित मन्तव्य राखिन् जसमा संविधान निर्माणमा स्व कोइरालाको सहमति, सहकार्य र एकताको भावना स्मरणीय रहेको उल्लेख गरिन्।

राष्ट्रपति भण्डारीले असहज परिस्थितिमा समेत सबै शक्तिलाई मिलाएर विचलित नभई एकताको भावनालाई आत्मसात गरी ऐक्यवद्धताका आधारमा संविधान निर्माण गर्नुले सम्पूर्ण नेपालीमा एकताको सञ्चार गराउन कोइराला सफल नेता भएको बताइन्।

 

के देउवाले बोलेको नबुझिने नै थियो?

म आफै पनि पहिले देउवाको बोली बुझ्दिनथेँ। अहिले रिपोर्टिङका क्रममा विभिन्न स्थानमा पुग्ने क्रममा उनको बोली बुझ्न सक्ने भएको छु। सायद नियमित श्रोता बनेकाले 'दिमागी चेत' नै भइसकेको होला। मलाई भने देउवा पछिल्लो समय प्रष्ट बोल्न थालेको झै लाग्छ।

यस आधारमा राष्ट्रपति भण्डारी त राजनीतिक समकक्षीजस्तै। देउवा र भण्डारी राजनीतिक भेटघाटमा कति कुराकानी हुँदो हो! मैले भन्दा धेरै वर्ष अघिदेखि देउवाको बोली दिमागी चेत हुनुपर्ने हो। त्यसैले नबुझ्ने भन्ने कुरै हुँदैन।

अर्को आधार, त्यहाँको साउन्ड सिस्टमलाई दोष लगाइएको छ। त्यही मञ्चमा आसीन थिए- नेकपा संसदीय दलका उपनेता नेम्बाङ। उनीभन्दा अगाडि बोलेका थिए - नेपाली कांग्रेसका नेता सिटौलाले।

सिटौलाका कुरा स्पष्ट सुनेको इंगित गर्दै नेम्बाङले त्यही मञ्चमा आफ्नो सम्बोधनको ११ औं मिनेटमा भने - 'अघि सिटौलाजीले भन्नुभयो। म पूर्णता सहमति जनाउँछु।

लगत्तै उनले थपे, 'प्रधानमन्त्री सुशील कोइरालाले पछिल्लो समयमा त्यतिबेला उहाँ प्रधानमन्त्री हुनुहुन्थ्यो। मलाई पूर्ण सम्झना छ। शेरबहादुर देउवाजी आदरणीय प्रतिपक्षी दलका नेता। राष्ट्रपति विद्यादेवी भण्डारी तत्कालीन एमालेका नेता रुपमा संविधानसभाका सदस्यका रुपमा हुनुहुन्थ्यो। केपी ओली नेकपा ओलीका अध्यक्ष। पुष्पकमल दाहाल प्रचण्ड। मधेशवादी दलका नेता। सबै नेता झलझली सम्झन्छु। प्रधानमन्त्रीका हैसियतले संविधान सभालाई सबै सहयोग उपलब्ध गराउनुभयो।'

सिटौलाले संविधान जारी गर्नमा त्यतिबेला केपी शर्मा ओली र सभामुखका हैसियतमा नेम्बाङले विशेष सहयोग गरेको भन्दै प्रशंसा गरेका थिए। सिटौलाले भनेका थिए, 'ओलीकै सहमतिमा संविधान जारी गर्न सफल भएको थियो।' सम्बोधनका क्रममा नेम्बाङ र सिटौलाले एकअर्काको प्रशंसा गरिरहे।

बरु, सभागृहको त्यो मञ्चमा उभिएकाहरु पत्रकारको लागि छुटाइएको कुर्सीबाट नदेखिने समस्या भने छ। पोडियममा उभिने कतिपय नेताहरुलाई उभिएर हेर्नुपर्ने बाध्यता हुन्छ। यस्ता समस्यालाई भने मञ्च व्यवस्थापकले सुधार्नैपर्छ र यदि मञ्चमा बस्नेले नसुन्ने नै हो भने त्यो पनि सुधार्नैपर्छ।

 

देउवाको मन्तव्य यस्तो थियो

म पनि सुशील कोइरालालाई उच्च सम्मान व्यक्त गर्छु। नेपालको संविधान बहुलवादमा आधारित समावेशी संविधान हो। सबैलाई प्रतिनिधित्व गर्ने किसिमको अत्यन्तै समावेशी छ। ३३ प्रतिशत महिला। राष्ट्रपति वा उपराष्टपतिमध्ये एक महिला हुनुपर्ने। मेयर र उपमेयरमध्ये एक जना महिला हुनुपर्ने व्यवस्था छ। त्यसैले महिलामैत्री संविधान छ। यो वास्तविकता हो।

त्यस्तै जनजाति, दलित, मधेशी, थारु, मुस्लिम सबैलाई उचित व्यवस्थापन गरेको छ। जनजाति मैत्री छ। यसमानेमा पनि नेपालको संविधान प्रजातान्त्रिक छ।

तर, कुनै पनि संविधानको सफलता त्यसको कार्यन्वयन पक्ष हो। आज कार्यन्वयन पक्ष हेर्दा उसको खिलाफमा विधेयकहरु ल्याएको छ। मिडिया काउन्सिल विधेयक ल्याएर लेख्न पाउने, बोल्न पाउने स्वतन्त्रतामाथि डण्डा देखाउन खोजिएको छ।

यही हो प्रजातन्त्रको स्पिरिट?

मानवअधिकार आयोग संसारभर स्वतन्त्रता हुन्छ। त्यसलाई कन्ट्रोल गर्ने?

सूचनाको हक ग्यारेन्टी गरेको छ। संविधानले ग्यारेन्टी गरेको विषयलाई उल्टो गर्ने? संविधानको मुल मर्मलाई बिगार्न पाइँदैन। कांग्रेस २००७ साल देखि यही स्वतन्त्रताका लागि लड्दै आएको हो।

कुनै पनि हालतमा लिबर्टी खोस्न हुँदैन।

म कुनै विरोध गर्नका लागि आएको हैन। तर, भन्नुपर्ने बाध्यता छ।

हाम्रो पार्टी कुनै पनि अप्रजातान्त्रिक 'बाइलज'को विरोध गर्छ।

दुई तिहाई छ भन्दैमा प्रजातन्त्रका आधारभूत कुरा हटाउन पाइन्छ?

प्रधानमन्त्रीले सबै अधिकार खोसेर आफै राख्न थाल्या छ। आफ्नो मन्त्रीको पनि विश्वास छैन।

आफ्नै मन्त्रीलाई विश्वास गर्न नसक्नेले के देश चलाउँछ? विश्वास गर्न सक्नुपर्छ।

देशका कर्मचारी जनताको करबाट तलब खान्छन्। आर्मी पुलिस करबाटै तलब खान्छन्। पार्टीको जस्तो बनाउन पाइन्छ? कुनै पनि पार्टीले त्यस्तो गर्न पाइँदैन। हामी त्यस्तो सहदैनौं।

संविधान कार्यन्वयमा इमानदारीका साथ लाग्नुपर्‍यो। हामी त सहयोग गर्न चाहन्छौं। हामीले रेलिङ भत्काएका छैनौ, कुर्सी तोडेका छैनौं। त्यही भनेर हेप्ने हामीलाई?

प्रहरी र सेना जनताका सेवक हुन्। सबै स्वतन्त्र निकाय स्वतन्त्र ढंगले चल्न पाउनुपर्छ। संविधान छ। जनताले आफ्नो प्रतिनिधिमार्फत् बनाएको संविधान हो। त्यो संविधानलाई बाइलज बनाएर तोडमोड गर्न पाइँदैन। यस्तो कुरामा संसारको कुनै तागतले केही गर्न सक्दैन। हामी एकवद्ध हौं। संविधानलाई बचाउँ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell