PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

सरकारी निवासबाट महराको हिरासत यात्रा : बलात्कारको दावी भएको ७ दिनपछि समातिए पूर्व सभामुख



सविन ढकाल

सरकारी निवासबाट महराको हिरासत यात्रा : बलात्कारको दावी भएको ७ दिनपछि समातिए पूर्व सभामुख

काठमाडौं : बालुवाटारस्थित सरकारी निवासबाटै कृष्णबहादुर महरा पक्राउ परेका छन्। यौन दुर्व्यवहारको आरोप लागेका प्रतिनिधिसभाका पूर्व सभामुख कृष्णबहादुर महरालाई अदालतबाट पक्राउ पुर्जी जारी भएलगत्तै  महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले नियन्त्रणमा लिएको हो। उनलाई रातो कारमा प्रहरीले सभामुख निवासबाट निकालेको थियो। उनलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारको हिरासतमा राखिएको छ।

बालुवाटारमा रहेको सभामुख निवासमा प्रहरीले पक्राउ पूर्जी हात पारेलगत्तै निगरानी थालेको थियो। आइतवार नै जिल्ला अदालत काठमाडौंले महरालाई नियन्त्रणमा लिन प्रहरीलाई अनुमति दिएको हो।

संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीमाथि बलात्कार प्रयासको महरामाथि आरोप छ। प्रहरीलाई फोन गरेर ती महिलाले बलात्कारको प्रयास भएको बताएकी थिइन्। सोही दिन महानगरीय प्रहरी वृत नयाँ बानेश्वरबाट पुगेको टोलीले घटना भएको स्थानको फोटो मात्र लिएर फर्किएको थियो। प्रहरीले घटनास्थलबाट सबुत प्रमाण समेत संकलन गर्न सकेको थिएन।

ने क पाको सचिवालय बैठकले सभामुख महरालाई पदबाट राजीनामा दिन आग्रह गरेपछि असोज १४ गते सभामुख पदबाट राजीनामा दिएका थिए। तर, पनि पीडित महिलाले लिखित उजुरी नदिएको भन्दै प्रहरीले उनलाई नियन्त्रणमा लिने हिम्मत गर्न सकेको थिएन।

बरु उल्टै महिलाले महराको राजीनापछि भने आफ्नो भनाइ फेरेकी थिइन्। फेरि १६ गते प्रहरीकहाँ पुगेर उनले उजुरी दिएकी थिइन्। प्रहरीले महिलाको स्वास्थ्य परीक्षण समेत गरिसकेको छ।

महिलाले उजुरी दिएलगत्तै प्रहरीले सभामुख महराको निगरानी बढाएको थियो।

असोज १२ गते राति ९ बजेतिर ती महिलाले महराले दुर्व्यवहार गरेको भन्दै प्रहरीलाई फोन गरेपछि महिलाको कोठामा पुगेर प्रहरीले केही तस्वीर लिएको थियो। सभामुखबाट राजीनामा दिएपछि भने प्रहरीले पुनः कोठामा पुगेर प्रमाण संकलन गरेको थियो।

सभामुख महराले आफू महिलाको कोठामा नगएको दावी गर्दै आएका छन्। तर, प्रहरीले संकलन गरेको प्रमाणहरु सीसी क्यामरा, मोबाइल लोकेसन आदिले उनी महिलाको कोठामा गएको खुलेको थियो। घटनास्थलबाट प्रहरीले सभामुख महराको भनिएको भाँचिएको चम्मा, जुत्ताको तलुवा लगायत सबुत प्रमाण संकलन गरेको थियो।

प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालबीच भएको छलफलमा महरा पीडित महिलाको कोठामा गएको र दुर्व्यवहारको प्रयास गरेको पुष्टि भएपछि प्रधानमन्त्रीले अनुसन्धान अगाडि बढाउन प्रहरीलाई निर्देशन दिएका थिए।

सम्वन्धित समाचार

सभामुखको सरकारी निवासमा प्रहरीको निगरानी, त्यहीँ बयान कि हिरासतको यात्रा?

महरालाई 'अरेस्ट वारेन्ट', पक्रिने तयारीमा प्रहरी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell