PahiloPost

Jan 24, 2025 | ११ माघ २०८१

प्रहरीमाथि अपहेलना मुद्दाको तरबार झुन्डिँदा पक्राउ परे सांसद आलम



सविन ढकाल

प्रहरीमाथि अपहेलना मुद्दाको तरबार झुन्डिँदा पक्राउ परे सांसद आलम

काठमाडौँः पहिलो संविधानसभा निर्वाचन पूर्वसन्ध्याको घटना। धेरैले बिर्सिसकेको एउटा अत्याशलाग्दो बम विस्फोट प्रकरण। प्रहरीको अनुसन्धान फाइल थन्किएको अवस्था थियो। अभियोजनकर्ता निकायले प्रहरी प्रतिवेदन थन्क्याएको थियो। घटनाको १२ वर्ष बितिसकेको थियो।

तर, आइतबार बिहानबाट १२ वर्षको घटनाक्रम एकाएक चर्चामा आयो। कारण, उक्त बमकाण्डको आरोपितमध्ये एक वहालवाला सांसद् मोहम्मद अफताब आलम पक्राउ पर्नु। आलम रौतहट २ बाट कांग्रेसबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन्। 

किन पक्राउ परे आलम?

२०६४ चैत्र २७ गते भएको बमकाण्डको घटना कमैको स्मृतिमा मात्र थियो। रौतहटको तत्कालीन राजपुरफरहदवा गाविस वडा नम्बर ४ स्थित शेख सदिकको छोरा मोहम्मद आफताब आलमको काकाको घरमा बम विस्फोट हुँदा पिन्टु भन्ने त्रिलोक प्रताप सिंह र ओसी अख्तरको मृत्यु भयो। तर, घटना नियोजित रहेको परिवारको दाबी कायमै थियो।

परिवारको दाबी थियो बुथ कब्जाका लागि बम विस्फोट गराई तर्साउने योजना अनुसार बम बीचमै पड्किएको थियो। घाइते भएका सिंह र अख्तरलाई घटना चुहिने डरले इँटा भट्टामा जलाएर हत्या गरिएको थियो।

उक्त घटनापछि पीडित परिवारले प्रहरीमा जाहेरी दियो। तर, दर्ता भएन। जाहेरी दर्ता नभएपछि हुलाकमार्फत जाहेरी पेस भयो। जाहेरीका आधारमा प्रहरीले अनुसन्धान प्रतिवेदन तयार पार्‍यो। प्रतिवेदन सरकारी वकिललाई बुझायो।

तर, जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा चलाउन प्रमाण नपुगेको निर्णय गर्‍यो। जिल्लाको निर्णय तत्कालीन पुनरावेदन सरकारी वकिल कार्यालय र महान्यायाधिवक्ता कार्यालयले पनि सदर गर्‍यो। महान्यायाधिवक्ता कार्यालयले ०६५ असारमा सदर गर्‍यो।

प्रहरीमाथि अवहेलना मुद्दाको त्रास

सरकारी वकिलले मुद्दा नचल्ने निर्णय गरेपछि पीडित परिवारले सर्वोच्चमा रिट दायर गरेको थियो। सर्वोच्चले ०६९ सालमा महान्यायाधिवक्ता कार्यालयको निर्णय बदर गर्दै घटना अनुसन्धानका लागि आदेश गरेको थियो। 

तर आदेश पाएको सात वर्ष बितिसक्दा पनि प्रहरीले सांसद आलमलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्न हिम्मत गरेको थिएन।

प्रहरी भयो यु–टर्न

तर असार ६ गते सर्वोच्च अदालतले एउटा आदेश जारी गर्‍यो। जुन आदेशले प्रहरीमा तरङ्ग पैदा गरिदियो। अदालतले ३० दिनभित्र घटना अनुसन्धानबारे जानकारी गराउन आदेश दिएको थियो। साथै मासिक रूपमा प्रगति विवरण माग गरेको थियो। उक्त आदेशमा अदालतले अपहेलनामा कारबाहीको चेतावनी पनि दियो। आदेशपछि प्रहरीले अनुसन्धान अघि नबढाई सुखै पाएन।

प्रदेश २ का प्रहरी प्रमुख प्रद्युम्न कार्कीले अदालतको आदेश अनुसार नै अलामलाई पक्राउ गरिएको बताए। कार्कीले भने ‘अदालतको आदेश अनुसार हामीले नियन्त्रणमा लिएका हौँ। थप अनुसन्धान भइरहेको छ।’

पूर्वमन्त्री समेत रहेका आलम प्रहरीले खोजी सूचीमा थिए। २०६४ चैत २७ गते राजपुरमा भएको विस्फोटमा २३ जनाको ज्यान गएको थियो। तर, घटनाको लामो समयसम्म राजनीतिक शक्तिको आडमा अलाम अनुसन्धानको दायरामा आएका थिएनन्। त्यसयता भएका सबै निर्वाचनमा समेत आलमले भाग लिएका थिए।

सम्बन्धित समाचार

इँटाभट्टामा 'सामूहिक व्यक्ति हत्या'को आरोप लागेका कांग्रेस सांसद् आलम १२ वर्षपछि पक्राउ



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell