PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

क्यानको निलम्बन फुकुवा, पारस खड्काको कप्तानबाट राजीनामा र नयाँ कप्तानको खोजी



मुकुन्द घिमिरे

क्यानको निलम्बन फुकुवा, पारस खड्काको कप्तानबाट राजीनामा र नयाँ कप्तानको खोजी

काठमाडौं : सोमवार बेलुकी नेपाल क्रिकेट संघ (क्यान) निलम्बनबाट सशर्त फुकुवा भएको जानकारी आइसिसीले दियो। त्यही दिन बेलुकीदेखि मंगलवार मध्यान्हसम्म नेपाली क्रिकेटलाई अगाडि बढाउन बाटो खुल्यो भन्ने किसिमका बग्रेल्ति चर्चा परिचर्चा सामाजिक सञ्जालमा आए।

यसमा भर्खरै निर्वाचनबाट आएको क्यान नेतृत्वले पनि आफूहरुलाई काम गर्ने बाटो खुलेको प्रतिक्रिया दिए। तर, यसको चर्चा सेलाउन नपाउँदै क्रिकेटकै अर्को विषय एकाएक चर्चामा आयो 'कप्तानीबाट पारस खड्काको राजीनामा।'

 

नेपाली क्रिकेटलाई एक दशकभन्दा लामो समयसम्म कप्तानी गरेका सफल कप्तान हुन् पारस खड्का। खड्काकै कप्तानीमा नेपालले टी २० विश्वकपको मैदानमा प्रवेश मात्र गरेन बलियो उपस्थिति जनाउँदै नेपाली क्रिकेटतर्फ विश्वको ध्यान तान्न सफल भयो।

खड्काकै कप्तानीमा नेपालले एकदिवसीय मान्यता पायो। अभिभावक निकाय क्यान निलम्बनमा रहँदा रहँदै पनि नेपाली टोलीले आफ्नो राम्रो प्रदर्शनलाई निरन्तरता दिइराख्यो। पछिल्ला केही वर्षमा नेपालमा आयोजना हुन सुरु भएका फ्रेन्चाइज टी २० लिगहरुले पनि नेपालमा सफलता पाउँदै गए।

यता लामो प्रक्रिया र आरोप्रत्यारोपपछि आइससिसीकै रोडम्यापमा रहेर क्यानको चुनाव भयो। नयाँ नेतृत्व आयो। र, सशर्त नै भए पनि क्यानको निलम्बन फुकुवा भयो। क्यान नेतृत्वको विष्लेषणमा भन्ने हो भने 'क्यानलाई काम गर्ने बाटो खुल्यो।'

क्यान निलम्बन फुकुवाका शर्त के हुन्? अध्यक्ष चन्द भन्छन्, 'हामीलाई काम गर्ने बाटो खुल्यो'

तर, त्यसलगत्तै आएको कप्तानीबाट पारस खड्काको राजीनामाले भने नेपाली क्रिकेटमा तरंग ल्याएको छ। त्यसो त खड्का आफैंले राजीनामा दिँदा नेपाली क्रिकेट 'फ्रेस स्टार्ट' र 'कमिटेड भिजन'ले नयाँ बाटोमा अघि बढ्नु पर्ने उल्लेख गरेका छन्। उनको तात्पर्य नयाँ तरिकाले काम गर्न आफूले क्यानलाई बाटो छोडिदिने भनेको हुन सक्छ।

हुन त खड्काले मंगलवार सञ्चारकर्मीहरुसँग कुरा गर्दै आफूले टिम फर्ममा रहँदै कप्तानी छोड्न चाहेको बताएका थिए। 'क्यानमाथिको निलम्बन फुकुवासँगै नेपाली क्रिकेट अघि बढोस् भन्ने मेरो चाहना हो। त्यही भएर मैले राजीनामाको निर्णय गरेको हुँ,' खड्काले भने, 'टिमको हारजितपछि मैदानमा घोषणा गर्ने कुरा मैले कहिल्यै पनि सोचेको थिइनँ। क्यानमा नयाँ नेतृत्व आएको छ। उहाँहरुसँग नयाँ कप्तान छान्ने जिम्मेवारी पनि रहेको छ। आगामी दिनमा खेलाडीको रुपमा पक्कै पनि नेपालका लागि राम्रो क्रिकेट खेल्ने प्रयास गर्ने छु।'

यता नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले आफूले पारस खड्काले कप्तानीबाट राजीनामा दिएको कुरा सामाजिक सञ्जालबाट थाहा पाएको जनाउँदै यो आधिकारिक हो या होइन भन्नेमा आफू क्लियर नभएको बताएका छन्।

'मैले कप्तानले राजीनामा गरेको भन्ने सामाजिक सञ्जालमार्फत् सुनेको छु। यो आधिकारिक हो होइन मलाई थाहा छैन। तर, मलाई के लाग्छ भने राजीनामाको समय केही अनौठो, अचम्मलाग्दो छ,' उनले फेसबुकमा लेखेका छन्, 'आइसिसीले हामीलाई सशर्त निलम्बन फुकुवा गरेको भोलिपल्ट कप्तानको राजीनामा आएको छ। यस अवस्थामा हामी सबै स्टेकहोल्डरले सहकार्य गर्न आवश्यक छ। हाम्रो कसैसँग पूर्वाग्रह छैन।'

त्यस्तै नेपाली टोलीका पूर्वकप्तान विनोद दास पनि पारस खड्काको राजीनामा अप्रत्याशित रुपमा आएको बताउँछन्। उनले सिनियर सेटअपमा चलेका विषयहरुलाई आफूले नजिकबाट हेरेको नभए पनि व्यक्तिगत रुपमा पारस खड्काले अझ केही वर्ष कप्तानी गरेको भए युवा खेलाडीलाई ग्रुम गर्न सजिलो हुने आफूले देखेको बताउँछन्।

'पारस र ज्ञानुले लगभग सँगसँगै सुरु गरेका हुन् र लगभग सँगसँगै रिर्टायर हुन्छन् होला। या सँगसँगै क्रिकेटबाट जान्छन् होला। त्यसैले नयाँलाई अलि समय दिएर ग्रुम गरेको भए हुन्थ्यो,' पहिलोपोस्टसँग कुरा गर्दै दासले भने, 'तर, पारसको यो व्यक्तिगत निर्णय हो। यसलाई हामी सबैले सम्मान गर्नै पर्छ। पारसले केही नसोची त पक्कै राजीनामा गरेको होइन होला।'

नयाँ कप्तानको खोजी

पारस खड्काले कप्तानबाट राजीनामा दिएसँगै नेपाली क्रिकेट टिमको कप्तानी कस्ले सम्हाल्ला भन्ने चर्चा चल्न थालेको छ। यसमा विशेष गरी ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर र दिपेन्द्रसिंह ऐरीको चर्चा चल्न थालेको छ।

हुन त पारस खड्काले मंगलवार सञ्चारकर्मीहरुसँग कुरा गर्दै अबको कप्तानीमा ज्ञानेन्द्र मल्लतर्फ संकेत गरेका थिए। पूर्वकप्तान विनोद दास पनि मल्ल या भेषवाकरकै सम्भावना बढी रहेको बताउँछन्।

'अब कोही नयाँ क्रिकेटर माथि जान योग्य छ भने उसलाई नै प्राथमिकता दिने हो, छैन भने पुरानैबाट ज्ञानेन्द्र या शरद मध्येबाट कोही एकजना छान्ने हो भन्ने लाग्छ,' पूर्वकप्तान एवं प्रशिक्षक दासले भने, 'क्याप्टेन भनेको टिमको कल हो। यसलाई यत्तिकै लिन मिल्दैन। कप्तानीको बारेमा, गेम अवेयरनेसको बारेमा कति जानकारी लिन्छ लगायतको धेरै कुराहरु विश्लेषण गरेपछि कप्तान बनाउने हो।'

अब कप्तानीमा युवा खेलाडी नै आए पनि पारस टिममा हुने भएकाले उसको अन्डरमा रहेर सिक्न सहज हुने दासको ठहर छ। किनभने पारसले अझै केही वर्ष क्रिकेट खेल्ने नै छन्।

युवा खेलाडीको हकमा भने टिमको नियमित सदस्य भएर नखेलुन्जेल या आफ्नो स्थानका लागि संघर्ष गरुन्जेल ती खेलाडीलाई कप्तानको रुपमा लिन नमिल्ने पूर्वकप्तान दासको ठहर छ। 'अहिले जति पनि युवा खेलाडीहरु टिममा खेलिरहेका छन्– रोहित, पवन या अरु कोही आफ्नो स्थानका लागि संघर्ष गरिरहेका छन्,' उनले भने, 'त्यो अर्थमा उनीहरुलाई कप्तानको दाबेदारका रुपमा लिइहाल्न सकिन्न। एउटा दीपेन्द्र छ, उसले डेब्यू गरेदेखि नियमित रुपमा टिममा छ। एकजना उसको चाहिँ दाबेदारी हुन सक्ला। त्यसबाहेक युवा खेलाडीबाट अरुको खासै सम्भावना देखिन्न।'

युवा टिममा प्राक्टिकल आइडिया भएका खेलाडीहरु भए पनि सिनियर लेवलमा कप्तानी गर्न अझै ग्रुमिङको आवश्यकता रहेको उनको ठहर छ। 

यसरी हेर्दा कप्तानको दाबेदारमा ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर र दीपेन्द्रसिंह ऐरी देखिएका छन्।

ज्ञानेन्द्र मल्ल लामो समययता नेपाली क्रिकेट टोलीको उपकप्तान रहेका छन्। उनले पारस खड्काको अनुपस्थितिमा टिमको कप्तानीसमेत गरिसकेका छन्। त्यस्तै शरद भेषवाकर पनि नेपाली टोलीका अनुभवी सदस्य हुन्। घरेलु फ्रेन्चाइज लिगहरुमा सर्वाधिक सफल कप्तानको छवि बनाएका भेषवाकर अबको नेपाली टिमको कप्तान बन्न सक्छन्।त्यस्तै सिंगापुरको त्रिकोणात्‍मक सिरिज र ओमनको पाँच देश सम्मिलित टी २० सिरिजमा उपकप्तानको भूमिका निभाइसकेका ऐरी पनि नेपाली क्रिकेट टिमको कप्तानका लागि दाबेदार हुन्। उनले घरेलु फ्रेन्चाइज लिगहरुमा कप्तानी गर्दै आएका छन्, जसमा उनी समग्रमा सफल नै देखिन्छन्।

अहिलेको हकमा क्यानमा नयाँ नेतृत्व आएको मात्र छैन, आइसिसीको सशर्त नै भए पनि निलम्बन फुकुवासँगै कार्यसम्पादन गर्ने बाटो खुलेको छ। यस्तोमा क्यानले कप्तानीबाट खड्काको राजीनामा र नयाँ कप्तान छनोटको प्रक्रियाबाटै निलम्बन फुकुवा पछिको कार्यसम्पादन गर्नुपर्ने भने निश्चित छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell