PahiloPost

Mar 19, 2024 | ६ चैत्र २०८०

नेवार समूदायको भाइटीका कात्तिक १३ गते, बिदा दिने प्रधानमन्त्री ओलीको आश्वासन



सहयोग रञ्जित

नेवार समूदायको भाइटीका कात्तिक १३ गते, बिदा दिने प्रधानमन्त्री ओलीको आश्वासन
नेवार समूदायको भाइटीकाबारे प्रधानमन्त्रीलाई जानकारी गराउँदै प्रतिनिधिमण्डल। फोटो: nepalbhasatimes.com

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले कात्तिक १३ गते सार्वजनिक विदा दिने वचन दिएका छन्।

नेवार समुदायले यो वर्ष कात्तिक १३ गते किजापूजा 'भाइटीका' मनाउँदैछन्। तर, राष्ट्रिय पञ्चांग निर्णायक समितिले जारी गरेको पात्रोमा भने कात्तिक १२ गते भाइटीका उल्लेख छ।  समितिले सार्वजनिक गरेको पात्रो व्यवहारिक नभएको भन्दै परम्परागत तरिकाले नै भाइटीका मनाउने निर्णय नेवार समुदायले गरिसकेको छ। सरकारले कात्तिक १२ गतेसम्म मात्रै सार्वजनिक विदा दिएको हुँदा नेवार समुदायले थप एक दिन विदा दिन प्रधानमन्त्रीलाई आग्रह गरेका हुन्।

प्रतिनिधिसभा सदस्य कृष्णगोपाल श्रेष्ठको नेतृत्वमा आज बालुवाटार पुगेको टोलीले प्रधानमन्त्रीलाई राष्ट्रिय पञ्चांग निर्णायक समितिले जारी गरेको पात्रोका कारण नेवारहरुले मनाउँदै आएको पर्वहरुका व्यवहारिक रुपमा संचालन हुन नसक्ने बताउँदै हाल सिर्जना भएको अन्यौलबारे जानकारी दिएका हुन्।

श्रेष्ठसहित प्रदेश ३ का सांसद राजेश शाक्य, सांसद अजयक्रान्ति शाक्य र काठमाडौं वडा नम्बर २२ का अध्यक्ष चिनिकाजी महर्जनको टोलीले प्रधानमन्त्रीलाई कात्तिक १३ गते सार्वजनिक बिदा दिन आग्रहसमेत गरेका थिए।

प्रतिनिधिमण्डलमा रहेका सांसद राजेश शाक्यले प्रधानमन्त्री ओलीलाई आफूहरुले राष्ट्रिय पञ्चांग निर्णायक समितिले जारी गरेको पात्रोमा नेवार समुदायले परम्परागत रुपमा मनाउँदै आएको न्हु दँ(नयाँ वर्ष) नेपाल सम्वत र म्हपूजाको तिथि गडबड भएकोबारे जानकारी गराएको बताए।

'हामीले म्हपूजा र नेपाल सम्बत छुट्टाछुट्टै मनाउने कुरै आउँदैन। त्यो व्यवहारिक नै छैन। त्यसैले हामीले प्रधानमन्त्रीसँग कात्तिक १३ गते सार्वजनिक विदा दिन आग्रह गरेका छौं' शाक्यले भने।

शाक्यले प्रधानमन्त्री ओली बिदा दिन सकारात्मक देखिएको उल्लेख गर्दै भने, 'उहाँले हुन्छ भन्नु भएको छ।'

पञ्चांग पात्रोका कारण व्यवाहारिक रुपमा तिहार मनाउन नसक्ने भन्दै नेवारहरुले कात्तिक १३ गते विदा दिन माग गर्दै आएका छन्। सरकारले विदा नदिने जनस्तरबाटै स्वघोषित रुपमा विदा घोषणा गर्ने चेतावनी नेवार अगुवाहरुले दिँदै आएका थिए।

पञ्चांग समितिका अनुसार यसपटक यमपञ्चकका रुपमा मनाइने तिहारको पहिलो दिन कात्तिक ९ गते काग तिहार रहेको छ भने १० गते कुकुर र लक्ष्मी तिहार। ११ गते औंसीका दिन भने म्हपूजा र १२ गते एकैदिन न्हु दँ (नयाँ वर्ष) नेपाल सम्वत ११४० र भाइटीका।

तर, यी तिथिहरु नेवार समुदायले मनाउँदै आएको 'स्वन्ति' भन्दा ठीक विपरीत रहेको भन्दै विरोध हुँदै आएको थियो।

नेवार समुदायले कौलागा औंसीको दिनमा लक्ष्मी पूजा गर्दै त्यसको भोलिपल्ट कछलाथ्व प्रतिपदाका दिन 'न्हू दँ' नेपाल सम्वतको पहिलो दिनका रुपमा मनाउँदै आएका छन्। बिहान नेपाल सम्वतको स्वागत गर्दै साँझ आत्मपूजा स्वरुप 'म्हपूजा' गर्ने परम्परा रहेको छ। त्यसको भोलिपल्ट कछलाथ्व द्वितिया अर्थात् नेपाल सम्वतको दोस्रो दिनमात्रै भाइटीका मनाउँदै पर्सिपल्ट लक्ष्मीको फूल बिसर्जन गर्दै प्रसाद ग्रहण गर्ने गरिन्छ।

समितिले म्हपूजा र नेपाल सम्वतलाई छुट्टछुट्टै दिनमा गरेर तिहार मनाउन आह्वान गरेपछि नेवार समुदायले पञ्चांग निर्णायक समितिको पात्रोमाथि प्रश्न उठाउँदै पात्रो नै बहिस्कार गर्ने घोषणा गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell