PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

टुँडिखेलमा रहेको मल्लकालीन दुईमाजु मन्दिर अतिक्रमण गरी बनाइएका पसलहरु हटाइन्छ : उप–प्रमुख खड्गी

टुँडिखेलमा रहेको मल्लकालीन दुईमाजु मन्दिर अतिक्रमण गरी बनाइएका पसलहरु हटाइन्छ : उप–प्रमुख खड्गी

कुञ्जरमणि भट्टराई/पहिलोपोस्ट


काठमाडौं : काठमाडौं महानगरपालिकाकी उप–प्रमुख हरिप्रभा खड्गीले दुईमाजु मन्दिर परिसर अतिक्रमण गरी बनाइएका पसलहरु हटाइने बताएकी छिन्। खुल्लामञ्च नजिकै रहेको मल्लराजाहरुको देवाली मन्दिर दुईमाजु परिसरमा धार्मिक मान्यतामा ठेस पुग्ने गरी व्यवसाय सञ्चालन भइरहेको समाचार आएपछि खड्गी अनुगमन गर्न त्यहाँ पुगेकी थिइन्।

वैशाख १४ गते शनिवार खुल्लामञ्च परिसरमा अवैध रुपमा बनाइएका ४० वटा सटरहरु भत्काइको थियो। त्यसबेला समेत खड्गीले दुईमाजु मन्दिरमा पसल स्थापना गरेको बारेमा अनुगमन गरेकी थिइन्। पछि केही समयपछि सञ्चालक आफैंले पसल हटाएका थिए। तर, ६ महिनापछि फेरि दुईमाजु परिसरमा पसलहरु राखिएको थियो।

पहिला हटाएको पसलहरु फेरि राखेकोमा आश्चर्य प्रकट गर्दै उनले भनिन्, 'सम्पदा मासिनुहुँदैन। ऐतिहासिक मन्दिर परिसरमा यसरी पसलहरु राख्न मिल्दैन, गुठी संस्थानसँग छलफल गरेर उठाउँछौं।'

इतिहास बोकेको सम्पदामा खेलबाड गर्न नहुने बताउँदै खड्गीले व्यवसायीहरुले अन्यत्रै व्यवसाय गर्नुपर्ने बताउँदै उनले महानगरका कर्मचारीहरुलाई नै सरसफाइ गर्न लगाउने र अब महानगरले नै यसको संरक्षण र व्यवस्थापन गर्ने बताइन्।

गुठीको जग्गामा पसल सञ्चालन गर्न गुठी संस्थानले २०७५ सालमा नै अमृता भट्टराईलाई महिनाको १५ हजार तिर्ने करार गराएर पाँच वर्षमा मन्दिरमा व्यापार गर्न भाडामा दिएको देखिन्छ। तर, भट्टराईले सम्झौता विपरीत अरुलाई मन्दिर परिसरमा व्यापार गर्न दिएर आफूले मासिक रुपमा धेरै भाडा असुल्ने गरेको खुलेको थियो।

भट्टराई गुठी संस्थानले मन्दिर सरसफाइ गर्ने दायित्व दिएकी कर्मचारी थिइन्। उनलाई दुईमाजु मन्दिरमा व्यापार गर्न दिन काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको समेत संलग्नता रहेको स्थानीयले दाबी गर्दै आएका छन्।

चौतर्फी विरोधपछि गुठीसँग मन्दिर परिसरमा व्यवसाय सञ्चालन गर्न सम्झौता गरेकी अमृता भट्टराईले अहिले आएर सम्झौता खारेजी गर्न निवेदन दिएकी छिन्। कार्यव्यस्तताका कारण सम्झौताअनुरुप आफूले मन्दिर हेरचाह गर्न नसक्ने भन्दै भट्टराईले गुठी संस्थानमा सम्झौता खारेजीको निवेदन दिएकी छिन्।

उनले गुठी संस्थानमा सम्झौता खारेजीको निवेदन दिए पनि दुईमाजुमा निर्वाध रुपमा पसल सञ्चालन भइरहेका छन्।

खुल्लामञ्च बचाउ अभियानले दुईमाजु मन्दिर परिसरमा बनाइएका पसल हटाउन माग गरेको छ। अभियानले गुठी संस्थानले अवैधानिक तरिकाले स्वीकृति दिएका कारण दुईमाजुमा अनधिकृत रुपमा कब्जा गरिएको र खुल्ला क्षेत्र कुरुप बनाइएको तथा धर्म लोप भएकाले पसल हटाउन माग गरेको हो।

अभियानले आज बिहान १० बजेदेखि एक घण्टा धर्ना दिएको थियो।

अभियन्ता गणपतिलाल श्रेष्ठले आफूहरुको आन्दोलन व्यापारीसँग नभइ गुठी संस्थानसँग भएको बताए। गुठी संस्थानले महानगरलाई समेत झुक्याएर सम्झौता गरेको उनको भनाइ थियो।

यता मन्दिर परिसरमा पसल चलाएर बसेका व्यापारीहरुले भने पसल बनाइएपछि पहिले त्यहाँ हुँदै आएको अनैतिक काम कम भएको दाबी गरेका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell