PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

निर्मला प्रकरणमा नयाँ ट्विस्ट : भेजिनल स्वावबाट निकालिएको 'मेल कम्पोनेन्ट डिएनए' मै शंका



सविन ढकाल

निर्मला प्रकरणमा नयाँ ट्विस्ट : भेजिनल स्वावबाट निकालिएको 'मेल कम्पोनेन्ट डिएनए' मै शंका

काठमाडौं : निर्मला बलात्कार र हत्या प्रकरणमा फेरि नयाँ ट्विस्ट आएको छ। कञ्चनपुरकी १३ वर्षीया निर्माला पन्तको बलात्कार प्रकरणमा अपराधीको पहिचान गर्ने 'अस्त्र' भनिएको डिएनए नै त्रुटिपूर्ण रहेको फेला परेको छ।

यससँगै निर्मला प्रकरणमा परीक्षण गरिएका सबै डिएनए स्वत: अयोग्य बन्न पुगेको छ। डिएनए परीक्षणका लागि लिइएको भेजिनल स्वाब नै त्रुटिपूर्ण भएकाले यसअघि प्रहरीले अनुसन्धानका लागि गराएका परीक्षणहरुले कुनै पनि परिणाम दिन सकेको थिएन। साथै, आगामी दिनमा पनि प्रहरीले अनुसन्धानबाट आशंका गरेका व्यक्तिको डिएनए परीक्षण गरेमा उपलब्धी शून्य हुने समितिको ठहर छ।

प्रहरीले घटनामा संलग्न रहेको अनुमानमा ७० जनाभन्दा धेरैको डिएनए परीक्षण गराएको थियो। उनीहरुको डिएनए भेजिनल स्वाबबाट संकलन गरिएको डिएनएसँग नमिलेको भन्दै छाडिएको थियो।

निर्मलाको भेजिनल स्वाबबाट निकालिएको 'मेल कम्पोनेन्ट डिएनए' पुरुषकै विर्यको हो भन्ने पुष्टि हुन नसकेको हो।

गृह मन्त्रालयले राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका पूर्व निर्देशक जीवनप्रसाद रिजालको नेतृत्वमा गठन गरेको तीन सदस्य छानविन समितिले बुझाएको प्रतिवेदनमा भेजिनल स्वाबमा भनिएको पुरुषको डिएनए विर्य हो भन्न नसकिने उल्लेख छ।

साधारण भाषामा भन्नु पर्दा निर्मलाको भेजिन स्वाबबाट विकसित गरिएको डिएनए पुरुषको विर्यको नभएर अरु नै हुनसक्ने देखिएको हो। स्वाबबाट भेटिएको डिएनए स्वाब संकलन गर्दा कुनै चिकित्सको पसिना वा अरु नै केही भएको हुनसक्ने प्रतिवेदनमा उल्लेख छ।

निर्मलाको भेजिनल स्वाबको एउटा वाई एसटिआरबाट परीक्षण गर्दा त्यसमा पुरुष (बलात्कारी) को डिएनए भेटिएको थियो। प्रहरीले त्यही डिएनए भिडाएर अपराधी खोजिरहेको थियो।

निर्मला प्रकरणले डिएनए परीक्षणमा ल्याबको त्रुटि हुनसक्ने भन्दै राष्ट्रिय मानवअधिकार आयोगले डिएनए र ल्यावको परीक्षण गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको थियो। त्यसपछि, डाक्टर रिजालको नेतृत्वमा समिति गठन भएको थियो।

समितिको रिपोर्टले निर्मलाको शव भेटिएको अवस्था, पोस्टमार्टम गरिएको समयबीच ठूलो समय अन्तर भएकाले निर्मलाको योनीमा रहेको डिएनए क्षय भएर बिग्रिएको हुनसक्ने उल्लेख गरेको छ।

उखुबारीमा निर्मलाको शव भेटिएपछि विभिन्न समूहले हत्यारा पत्ता लगाउन दवाव दिँदै आन्दोलन नै गरेका थिए। जसले गर्दा प्रहरीले निर्मलाको शव तत्काल पोस्ट मार्टमका लागि पुर्‍याउन सकेको थिएन।

यस प्रकरणमा खटिएका प्रहरीबाहेक गृह मन्त्रालयले पनि अनुसन्धान गर्न समिति गठन गरेको थियो। त्यस समितिले सार्वजनिक गरेको छानबिन प्रतिवेदनमा पनि शवको अवस्था आधा शरीरसम्मको भाग पानीमा रहेको र बायाँ खुट्टा आधा खुम्च्याएको अवस्थामा भेटिएको उल्लेख छ।

त्यतिमात्र होइन, डाक्टर रिजाल नेतृत्वको समितिले पोस्ट मार्टमको क्रममा प्रयोग भएका उपकरण, पोस्ट मार्टम गर्ने टेबलको कारणले पनि डिएनए दुषित हुन सक्ने प्रतिवेदनमा उल्लेख गरेको छ। त्यस्तै, चिकित्सकले भेजिनल स्वाब संकलन गर्दा झाडु (कुचो)को सिन्कोमा कपास बेरिएर निकालेको देखिएको छ।

प्रहरीको केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशाला निर्मलाको भेजिनल स्वाबबाट संकलित नमूनामा एउटा मात्र 'वाई' एसटिआर गरेको थियो। यसरी परीक्षण गर्दा भेजिनल स्वाबबाट निकालिएको तीन वटै नमुना परीक्षण प्रहरीको ल्यावमा मात्र गर्नुलाई समितिले गलत ठहर्‍याएको छ।

महाकाली अञ्चल अस्पतालमा साउन ११ गते लगिएको शवको पोस्टमार्टम गर्दा डाक्टरहरुले शवको योनी भित्रबाट तीन थरीका नमूना संकलन गरी टेस्ट ट्युबमा राखेका थिए। त्यही नै परीक्षण गरिएको थियो।

कम प्रयोग हुने गरी नमुना जोगाएर परीक्षण गर्नुपर्नेमा तीन वटै भेजिनल स्वाब ल्यावमा प्रयोग गरिएको र भेजिनल स्वाबमा रगत परीक्षण आवश्यक नभए पनि गरिनुलाई समितिले त्रुटिपूर्ण भनेको छ। अनावश्यक परीक्षणमा संलग्न हुँदा नमुना जोगाउनतिर ध्यान नपुगेको समितिको ठहर छ।

'तीनवटै भेजिनल स्वाब निकालेर डिएनए गरिएको, बाँकी सुख्खा नमुना सामान्य फ्रिजमा राखिएको, यस्तो नमुना खोलिसकेपछि त्यही नमुना प्रयोगशालामा परीक्षण गर्न स्वीकार्य नहुने,' प्रतिवेदनमा भनिएको छ।

२०७५ भदौ ४ गते किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या गरेको अभियोगमा प्रहरीले दिलिपसिंह विष्टलाई सार्वजनिक गरेको थियो। प्रहरीमा साविति बयान र अन्य भौतिक प्रमाण समेतले विष्ट नै अभियुक्त भएको प्रहरीले दावी गरिरहेको समयमा डिएनए नमिलेपछि विष्टलाई प्रहरीले छाडेको थियो। विष्टमात्र होइन उनीजस्ता ७० भन्दा धेरैजनाको डिएनए परीक्षण गरिएको थियो। तर, तिनीहरुलाई भने प्रहरीले सार्वजनिक गरेन। यतिसम्म कि जिल्ला प्रहरी प्रमुख एसपी दिल्लीराज विष्ट र उनका छोरा किरण विष्टको पनि डिएनए परीक्षण गरिएको थियो जुन प्रहरीले कहिल्यै सार्वजनिक गरेन। यसरी आशंकामा संकलन गरिएको डिएनए नमिलेपछि अनुसन्धान अल्मलिएको थियो।

रिजाल नेतृत्वको समितिले चार साता लामो अनुसन्धानपछि बुझाएको प्रतिवेदनमा अन्तिम निष्कर्ष डिएनएलाई मात्र प्रमाणको रुपमा लिन नसकिने उल्लेख गरिएको छ।

'भेजिनल स्वाबबाट संकलन गरिएको नमुना बिग्रने र दुषणको सम्भावना पनि उच्च रहेको हुँदा प्राप्त स्रोत वास्तविक अपराधीको हो वा दुषण परिमाण हो निर्वाद पुष्ट्याइ सम्भव हुन नसक्ने अवस्थामा रहेकाले वाइ एसटीआर नजिता एकमात्र प्रमाणको रुपमा लिन नसक्ने,' प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदनमा निर्मालको बलात्कारपछि अपराधीले छोडेको विर्य फेला पार्ने सम्भावना पनि कम रहेको उल्लेख छ। निर्मला महिनावारी नै नभएको र त्यस्तो अवस्थामा योनीमा विर्य चाँडै नष्ट हुने प्रतिवेदनमा उल्लेख छ।

#WhoKilledNirmala शृङ्खला  

विगत : निर्मला प्रकरणले सम्झाएको त्यो हाइप्रोफाइल रेप र मर्डर केस : नमीता-सुनीता-नीरा र चुडामणि
शृङ्खला १ : निर्मलालाई देशभर चिनाउने 'आइकनिक' फोटोमा लुकेको कथा 
शृङ्खला २ : कहाँबाट हराइन् निर्मला : डेढ किलोमिटरको दूरीमा नसुल्झिएको रहस्य
शृङ्खला ३ : क्राइम सिन : के उखुबारीमा भएको थियो निर्मलाको हत्या?
शृङ्खला ४ : निर्मला फर्कँदा बाटोमा पर्ने दुई घर जसमध्ये एउटा यसकारण पर्‍यो अनुसन्धानको घेरामा 
शृङ्खला ५ : 'रे' मा रुमल्लिएको निर्मला प्रकरण 
शृङ्खला ६ : निर्मला हराएपछि तारो बनेको त्यो दुई तल्ले घर 
शृङ्खला ७ : बबिताको त्यो बोली जसले उनीहरुलाई 'अपराधी' बनायो
शृङ्खला ८ : पहिलो दिनदेखि नै भएको प्रहरीको लापरवाहीले उब्जायो विश्वासको संकट  
शृङ्खला ९ : निर्मला प्रकरणमा 'भिआइपी' कनेक्सन 
शृङ्खला १० : निर्मलाको शव भेटिएकै ठाउँतिर एक्टिभेट मोबाइलको म्यासेज: 'त्यो केटी छाड्देऊ, त्यो भन्दा राम्री मिलाइदिन्छु।' 
शृङ्खला ११ : एक युवतीको ३० सेकेन्डको 'बाइट' जसले निर्मला प्रकरणमा दियो महत्त्वपूर्ण क्लु 
शृङ्खला १२: निर्मलाको हत्या भएकै दिन गाउँबाट गायब एक दुर्व्यसनी फेरि किन काठमाडौँमा समातिए? 
शृङ्खला १३: निर्मलाको हत्यामा अम्बाको रुख र रङको चर्चा 
शृङ्खला १४: Exclusive : डिएनए रिपोर्टले देखाउँछ निर्मलाको बलात्कार एक जनाबाट मात्रै, 'प्रहरीको ल्याब अन्तर्राष्ट्रिय मापदण्डअनुसार छैन' 
शृङ्खला १५ : चोरीका आरोपीलाई बलात्कारको 'दोष' : पोस्टर च्यात्दाको बदनामी मेटाउने प्रपञ्च? 
शृङ्खला १६ : निर्मला प्रकरणमा युट्युबरको आफ्नै इजलास, आफ्नै प्रमाण, न्यायाधीश पनि आफै 
शृङ्खला १७ : विश्वकै टप डिएनए एक्सपर्ट के भन्छन् निर्मला प्रकरणमा? यस्तो छ उनको सुझाव
शृङ्खला १८ : को थिए ती तीन युवती जो एसपीका छोरासँगै होटल ओपेरामा देखिए?

शृङ्खला १९ : प्रहरीले गोप्य राखेको निर्मलाको त्यो 'अटोजोमल एसटिआर रिपोर्ट' जसमा बलात्कारीको डिएनए देखिएन

शृङ्खला २० : जब निर्मलाको हत्यामा 'क्लु' खोजिरहेको प्रहरीसामु आफै 'क्लु' आइपुग्यो

शृङ्खला २१ : बरु एक्लै रुन सजिलो : निर्मलाकी आमा

शृङ्खला २२ : 'स्पाइरल अफ साइलेन्स' चिरिएको महेन्द्रनगर : आखिर कसले गर्‍यो निर्मलाको हत्या?

शृङ्खला २३ : अछामबाट 'पक्राउ परेका' दुई आर्मीको निर्मला प्रकरणमा के छ कनेक्सन?

शृङ्खला २४ : निर्मलाको सुरुवाल पखाल्ने चाँदनी : हाइप्रोफाइल अपराधीको हल्लामा चेपिएकी प्युसो प्रहरी

शृङ्खला २५ : निर्मला प्रकरणमा वीरबहादुरको बन्दै गरेको घरसँग जोडिएको कनेक्सन 

शृङ्खला २६ : निर्मला प्रकरणलाई 'ट्विस्ट एन्ड टर्न' गराउने ती शक्तिशाली व्यक्ति

शृङ्खला २७ : मान्छे मर्ने गरी आन्दोलन चर्काउन उक्साउने ती रहस्यमय व्यक्ति को थिए? 

शृङ्खला २८ : 'आन्दोलन नगरे ३५ लाख, मर्ने मार्ने गरी गरे सुविधा' : निर्मलाको नाममा घिनलाग्दो राजनीति  

शृङ्खला २९ : निर्मला र रमिलाको पीडा : कानुनको कठघरामा उभ्याउन होइन, चोख्याउन सघाइरहेको छ डिएनए रिपोर्ट 

समापन : निर्मला प्रकरण : यसरी गरियो रिपोर्टिङ, यस्तो रह्यो हाम्रो निष्कर्ष (शृङ्खला ३०)

 थप समाचार



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell