PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

मलिन मुहार लिएर अस्पताल पुगेका प्रचण्ड फर्किँदा प्रफुल्ल, ओलीको अवस्थाबारे गरे ब्रिफिङ



पहिलोपोस्ट

मलिन मुहार लिएर अस्पताल पुगेका प्रचण्ड फर्किँदा प्रफुल्ल, ओलीको अवस्थाबारे गरे ब्रिफिङ

काठमाडौं : प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे उनको सचिवालय र ग्रान्डी अस्पतालले अपूरो सूचना दिइरहेको अवस्थामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओली आज बालुवाटार फर्किने सम्भावना रहेको बताएका छन्।

मलिन अनुहार लिएर प्रधानमन्त्री ओलीको अवस्था बुझ्न ग्रान्डी अस्पताल पुगेका प्रचण्डको मुहार अस्पतालबाट बाहिरिँदा भने केही फेरिएको थियो। दुई बजे ग्रान्डी पुगेका प्रचण्ड तीन बजे त्यहाँबाट बाहिरिएको ग्रान्डीमा रहेका हाम्रा सहकर्मी कुञ्जरमणि भट्टराईले जनाएका छन्।

प्रधानमन्त्रीलाई हिजो र आज गरी लगातार दुई पटक डायलासिस गरिएको छ। प्रधानमन्त्रीको सचिवालय, प्रेस सल्लाहकार र ग्रान्डी अस्पताल प्रशासनले अपूरो सूचना दिइरहेकाले जनमानसमा ओलीको स्वास्थ्यलाई लिएर चिन्ता प्रकट भइरहेको छ। त्यही अवस्थामा अस्पताल पुगेका प्रचण्डले भने - 'उहाँको डायलासिस सकियो। मिलेदेखि आजै बालुवाटार जानुहुन्छ।'

यो पनि पढ्नुहोस् : प्रधानमन्त्रीको स्वास्थ्यको सूचनाबारे सामाजिक सञ्जालमा व्यङ्ग्यात्मक प्रश्न : प्रम देशको कि कोटरीको मात्र?

एक घन्टा अस्पतालभित्र रहेका प्रचण्डले पार्टीका अर्का अध्यक्ष तथा प्रधानमन्त्री ओलीसँग कतिबेर भेट गरे यकिन छैन। तर, प्रचण्डको मुहार भने जाँदा र फर्किँदा फरक देखिएको थियो। अस्पतालबाट बाहिरिँदै गर्दा प्रचण्डले ओलीलाई उदृत गर्दै भने, 'समस्या अलि छिटोछिटो देखियो। डायलासिस भयो। आज फर्केन कुरा छ।'

अझैसम्म पनि प्रधानमन्त्रीको सचिवालय तथा अस्पतालले उनको डायलासिस भएको सार्वजनिक गरेको छैन। प्रचण्डभन्दा अगाडि पुगेका नेकपाका नेता भीम रावलले भने ओलीलाई भेट्न पाएका थिएनन्। डायलासिसकै क्रममा रावल पुगेकाले फर्किन परेको थियो।

प्रचण्डसँगै अस्पताल भित्रिएका नेकपाका महासचिव विष्णु पौडेल भने बाहिरिसकेका छैनन्। प्रधानमन्त्रीको उपचारमा संलग्न चिकित्सकहरुलाई उदृत गर्दै प्रचण्डले भने, 'उहाँको स्वास्थ्य अवस्था सामान्य छ।'

प्रचण्डसँगको भेटमा ओलीले छिटै संक्रमण भएको विषयमा छोटो कुराकानी गरेका थिए। प्रचण्डले स्थिति हेरेर ओलीको पुन: डायलासिस हुनसक्ने चिकित्सको भनाइ रहेकोसमेत सुनाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell