PahiloPost

Jul 19, 2025 | ४ साउन २०८२

चार 'च्याट' जसले शकिब अल हसनमाथि आइसिसीले लगायो प्रतिबन्ध



पहिलोपोस्ट

चार 'च्याट' जसले शकिब अल हसनमाथि आइसिसीले लगायो प्रतिबन्ध
photo:times of India

बंगलादेशका कप्तान शकिब अल हसनमाथि केही दिनअघि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले एक वर्षको निलम्बनसहित २ वर्षको प्रतिबन्ध लगायो। जसको कारण थियो सट्टेबाज (बुकी) ले पटक-पटक सम्पर्क गर्दा पनि यसको जानकारी सम्बन्धित निकायलाई नदिनु।

बुकी दीपक अग्रवाल र शकिबबीचको चार वटा कुराकानीले हसनलाई प्रतिबन्धतर्फ डोहोर्‍याएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

आइसिसीको 'प्रेस रिलिज' अनुसार नै शकिबको बुकी दीपक अग्रवालसँग सम्पर्क सन् २०१७ को बंगलादेश प्रिमियर लिगको क्रममा भएको थियो।

नोभेम्बर २०१७: बंगलादेश प्रिमियर लिगमा शकिब 'ढाका डाइनामाइट्स'बाट खेलेका थिए। यसै क्रममा अग्रवालले कुनै माध्यमबाट हसनको नम्बर पाए। अग्रवालले यही माध्यमबाट लिग खेलिरहेका खेलाडीहरुको नम्बर लिन प्रयास गरेका थिए।

१९ जनवरी २०१८: बंगलादेश श्रीलंका र जिम्बावेबीचको त्रिकोणात्मक सिरिजको एउटा खेलमा बंगलादेशले श्रीलंकालाई हराएको थियो। उक्त खेलमा शकिब म्यान अफ दी म्याच भए। यसपछि बधाई दिँदै बुकीले म्यासेज पठाए, 'के हामी यसमा सँगै काम गर्न सक्छौँ? या मैले आइपीएलसम्म प्रतीक्षा गर्नुपर्छ?' यसमा कामको मतलब आन्तरिक सूचना बाहिर दिने हो।

२३ जनवरी २०१८: शकिबले अग्रवालको अर्को म्यासेज पाए जसमा लेखिएको थियो, 'भाइ के यो सिरिजमा केही मिल्छ?'

शकिबका अनुसार अग्रवालले यहाँ पनि सिरिजसँग जोडिएका जानकारी लिन चाहेका थिए। र, यस पटक पनि शकिबले यो विषयको जानकारी आइसिसी वा एन्टिकर्पसन् युनिटलाई दिएनन्।

२०१८ अप्रिल २६: शकिव सनराइजर्स हैदराबादबाट आइपीएल खेलिरहँदा अग्रवालले फेरि उनलाई सम्पर्क गरेका थिए। किंग्स इलाभेन पञ्जाबसँग खेल हुनुअघि हसनलाई बुकीले एक विशेष खेलाडीले म्याच खेल्ने या नखेल्नेबारे जानकारी मागेका थिए।

त्यस्तै सन् २०१८ को अप्रीलमा अग्रवालले बिटक्वाइन र डलरको बारेमा कुरा गर्दै हसनको एकाउन्टबारे जानकारी मागेका थिए। त्यसपछि शकिवले आफू पहिला भेट्न चाहेको बताएका थिए। त्यतिबेला नै शकिबलाई अग्रवाल बुकी भएको शंका लागेको बताएका छन्।

आइसिसीको एन्टी करप्सन युनिटले सन् २०१८ अप्रील २६ को च्याटमा केही म्यासेज डिलीट भएको पनि पाएको छ। शकिवले उक्त म्यासेजमा अग्रवालले केही आन्तरिक जानकारी मागेको बताएका छन्।

यति धेरै च्याटिङ र सम्पर्कहरूकाबीच शकिवले यसको जानकारी आइसिसी  वा आइसिसीको एन्टिकरप्सन युनिटलाई दिएनन्। अनुसन्धानको क्रममा हसनले अग्रवालको कुनै पनि प्रस्ताव स्वीकार नगरेको बताएका छन्। साथै हसनले आफूले कुनै पनि किसिमको जानकारी बुकीलाई नदिएको र कुनै उपहार या पैसा नलिएको समेत स्पष्ट पारेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell