- नेत्र तामाङ/प्रवीन रानाभाट -
मंगलबार हामी सिन्धुपाल्चोकको सुकुटे पुग्दा सोनाम तामाङ ड्युटीमा आउँदै रहेछन्। ड्युटी चाहिँ सुकुटे बिच रिसोर्टमा । बस दुर्घटनामा उद्दारका लागि खटेपछि मिडियादेखि सामाजिक सञ्जालमा स्याबासी पाएका उनलाई ठम्याउन हामीलाई अलिकति पनि समय लागेन।
रिसोर्टको गेटमै भेट भयो सोनामसँग। दुई वर्षयता सुकुटे बिचमा 'फ्रिलान्स गाइड' रहेछन् उनी।
हाँसिला र फूर्तिला सोनामको उमेर भर्खरै २२ वर्ष। हामीसँग कुराकानी गरिरहँदा सोनामलाई फोन आइरहेको थियो। हो, अधिकांश फोन बधाईका लागि थिए। अनि उनलाई भेट्ने अपेक्षासहितका कलहरु पनि।
ट्रिप कुरिरहँदा खटिनुपर्यो उद्धारमा
सोनाम हामीसँगै सुनकोशी बगरतिर ओर्लिँदै छन्। घटनास्थल देखाउँदै उनी हामीसँग कुरा गरिरहेका छन्। आइतवारका दिन रिसोर्टबाट र्याफ्टिङका केही ट्रिप रहेछ। त्यसमा सोनामको पनि जिम्मेवारी थियो, आएका पर्यटकलाई भरपुर मनोरञ्जन दिलाउने।
तर, त्यसदिन उनी ढिलो भए। जतिखेर उनी रिसोर्ट पुगे, त्यतिखेर पाहुनाहरु डुङ्गामा सबार भएर निस्किसकेका रहेछन्। 'ट्रिपमा जानु पर्ने थियो। तर म ढिला आइपुगेँ। मेरो सट्टामा अर्कै दाइ जानुभएछ,' सुनकोशी किनारा पुगेपछि ट्क अडिँदै सोनामले सुनाए, 'कतै अर्को नम्बर आइपर्छ कि भनेर मोबाइल चलाएर बसिरहेँ।'
डुङ्गा मिस भएपछि काम भएन। मोबाइल चलाएरै बसेका उनले एक्कासी रिसोर्टका म्यानेजर श्याम श्रेष्ठले बोलाएको सुने।
'ठूलो आवाजमा मलाई बोलाउनु भयो। रिसोर्टभित्रै थिएँ। श्याम दाइले दुर्घटना भएको बताउनुभएपछि म मोबाइल र ज्याकेट फालेर आत्तिँदै बत्तिँदै बगर पुगेँ,' दुर्घटना लगत्तैको परिस्थितिलाई उनले व्याख्या गरे। हुन्निएर पुगेका उनले नदीमा बसको टायरमात्र देखे।
बगर पुगेका सोनाम र श्याम दौडिएर डुङ्गा भएको ठाउँ पुगे। तर डुङ्गा थियो माथि रिसोर्टमै। 'एकै छिनमा लक्ष्मण गुरुङ र राजकुमार श्रेष्ठहरु पनि जम्मा हुनुभयो। श्याम दाइको निर्देशनमा उहाँसहित हामी चारै जना आवश्यक सामाग्रीसहित डुङ्गा लिएर नदीतिर दौड्यौं,' सोनामले भने।
झन्डै २ सय मिटर तल पुगेपछि पल्टेको बसमा पुगे उनीहरु। उत्तानो परेको बस नदी बीचमा पुगेको थियो। गहिरो परेको ठाउँ भएकाले पानीको करेन्ट भने त्यति चर्को थिएन। त्यही उत्तानो परेको बसमाथि केही मान्छे देखे सोनामले।
'त्यहाँका मानिसहरुको रुवावासीजस्तै रहेछ। पहिले त उद्धार गर्न आएकाहरु नै हो कि भन्ने सोचेँ,' सोनामले भने, 'तर उनीहरु रगतम्मे देखिए। बसकै यात्री रहेछन्। उनीहरु आफन्त खोज्दै रहेछन्। यी सबै देख्दा एकछिन आत्तिएँ। अनि एक छिन मन ढक्क पारेर बसेँ। अनिमात्र घाइते तान्न थालेँ।'
उद्धारका क्रममा सुकुटे बिचबाट तीनवटा डुङ्गा पुगिसकेको थियो। त्यसबाहेक अरु रिसोर्टबाट पनि डुङ्गा आइपुगेको थियो। 'हामी पुगेको तीन चार मिनेटपछि अरु डुङ्गा पनि आयो। ती सबैको सहयोगमा यो उद्धार सम्भव भयो।'
नदीको बीचमा रहेको बसलाई तान्न स्थानीयले माथिबाट डोरी खसाले। बस फोर्न गल र बन्चरो पनि ल्याएका थिए उनीहरुले।
गाउँलेले गल र बन्चरो ल्याए। त्यसैले सिसा फोर्दै भित्रका मानिस निकाल्न थाले। सिसा नभएको ठाउँमा बन्चरो र गलले प्वाल पारे। अनि घाइतेलाई बोकेर सडकसम्म पुर्याए। त्यसपछि एम्बुलेन्स पनि आइपुग्यो। 'कति साथीहरु डुंगा लिएर बगेका मानिस खोज्न गए। हाम्रो टिम रेस्क्युमै केन्द्रित भयो। मान्छे निकाल्दै किनारामा राख्न थाल्यौ हामी चाहिँ,' सोनामले भने।
स्थानीय र रिभर गाइडको सहयोगले उद्धार चलिरहँदा प्रहरी पनि पुग्यो। तर, निक्कै ढिलोगरी। प्रहरीमा सूचना ढिला पुगेको हो कि भन्ने सोनामलाई लागेको रहेछ।
'त्यसो त प्रहरीसँग नदीमा यस्तो घटना पर्दा डुङ्गा लगायतका सामग्री नभएर हो कि?,' उनले अनुमान गरे।
यद्यपि, ढिलै सहि प्रहरीको रेस्क्यु टिम पनि आइपुग्यो दुर्घटनास्थल। त्यतिखेर लगभग उद्धार कार्य सकिन लागेको थियो।
उद्धारमा अप्रत्यासित रुपमा खटिन पाएकोमा खुशी छन्, सोनाम। भने, 'मैले के नै गरेँ र जस्तो लाग्छ अहिले पनि। कहिले डिएसपीले फोन गरेर धन्यवाद दिन्छन्। कहिले गाउँपालिका प्रमुखले फोन गरेर धन्यवाद दिन्छन्।'
मिडियाले बनाएको हिरो
दोलखाको मुडे देउरालीबाट काठमाडौं आउँदै गरेको बा २ ख ७२४५ नम्बरको बस दिउँसो सवा १ बजे सुनकोशीमा खसेको थियो। बस खसेको केही बेरमै पुगेको सोनामको टिम तीन घन्टा लगातार खटिए उद्धारमा।
'त्यस अवधिमा मैले चाहिँ ८ जना जति ताने हुँला। त्यसपछि अरु पनि आइपुगे। हाम्रो टिमलेमात्र २० जना जतिको उद्धार गर्यौं।'
रेस्क्युपछि डोजर आइपुगेको र बस किनारामा तानेको समयमा उनी मिडियाकर्मीको नजरमा परे।
'रेस्क्युपछि मान्छे पाखामा ल्यायौं। सबै ओसारेपछि डोजरले बस सुल्टाउन लागे। बसमा बच्चामात्र रहेछन्। त्यहीं बच्चा बोकेर म सडकमा उक्लेँ। अनि सडकको माथि रहेको पसलमा पानी पिएँ। पानी पिएर बस्नै लागेको थिएँ। मिडियाका दुईजना साथीहरु आइपुगेछन्। कसले उद्धार गरेको भनेर सोधे। छेवैको दाइहरुले मलाई देखाउनुभयो - 'ऊ नै हो उद्धारमा पहिलो खटिएको' भनेर। केही कुरा सोध्नुभयो अनि एउटा फोटो खिच्नुभयो,' मिडियामा चर्चित हुनुको कारण उनले मुस्काउँदै सुनाए।
हामीसँग कुरा गर्ने क्रममा सोनामसँग सेल्फी खिच्ने र बधाई दिनेहरु पनि आइरहेका थिए सुनकोशी बगरमा।
डुङ्गा नभएको भए...
डुङ्गा नभएको भए उद्धारको कल्पना नै गर्न नसक्ने बताउँछन् सोनाम।
'ममात्र होइन सबैले धेरै सहयोग गर्नुभयो। यो सुकुटे बिचमा डुङ्गा नभएको भए सम्भव थिएन। त्यसैले यसमा सहयोग गर्नुहुने सबैलाई मेरो तर्फबाट धन्यवाद दिन चाहन्छु,' उनी आफ्नोमात्र प्रचारले सन्तुष्ट रहेनछन्।
उद्धारमा खटिएका कतिपय गाइडले पानीभित्रै पसेर यात्री बचाएको पनि उनले सुनाए। 'कतिपय साथीहरुले पानीभित्रै छिरेर मान्छे ताने। मैले पानीभित्र चाहिँ छिर्नुपरेन,' उनले भने।
उद्धार टोलीमा डाक्टरको खाँचो
बलेफी गाउँपालिका वडा ४ डाँडागाउँका हुन् सोनाम। यतै हुर्केका, यतै पढेका। पढाई भने कक्षा १२ बाट अघि बढाउन सकेका रहेनछन्। सुनकोशीमा र्याफ्टिङ गर्न थालेको पनि ६ वर्ष कटिसकेको।
र्याफ्टिङको सिलसिलामा उनी कालीगण्डकीदेखि कर्णालीसम्म पुगिसकेका। तर, प्यारो भने सुनकोशी नै लाग्ने। 'र्याफ्टिङका क्रममा कर्णाली, कालीगण्डकी, सेती नदीसम्म पुगेँ। तर, सुनकोशी नै प्यारो लाग्छ,' उनले भने।
सुनकोशी नदीमा र्याफ्टिङमा धेरैलाई रमाइलो गराएको पनि सुनाउन भ्याए उनले। भने, 'सुनकोशी नदीमा धेरैलाई कुदाइयो। तर, यस्तो यस्तो दुर्घटना पहिलोपटक देखेँ र भोगेँ पनि।'
आफ्नो प्यासन नै र्याफ्टिङ भएको उल्लेख गर्दै कुराकानीको बिट मार्ने क्रममा उनले सुझाव पनि दिन भ्याए। सोनामको सुझाव थियो - उद्धार गरिरहँदा साथमा डाक्टर भइदिएका भए अझ धेरैलाई बचाउन सकिन्थ्यो। अनि क्षति कम हुने थियो। त्यसैले उनी चाहन्छन् - यस्तो उद्धार गरिने ठाउँमा डाक्टर पनि होउन्।