PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

'अकुपाइ टुँडिखेल' मा मेयर शाक्यलाई निम्तो, सहभागी होलान् 'मानव साङ्लो'मा?



सहयोग रञ्जित

'अकुपाइ टुँडिखेल' मा मेयर शाक्यलाई निम्तो, सहभागी होलान् 'मानव साङ्लो'मा?
फाइल फोटो

काठमाडौँः सूर्योदयसँगै आजकल भक्तपुरका खुल्ला स्थानमा निकै चहलपहल हुने गरेको छ। बालबालिकादेखि वृद्धवृद्धासम्म बिहानै व्यायाम गर्न निस्कने गर्छन्। भक्तपुर नगरपालिकाले नगरका प्रत्येक वडाका खुल्ला स्थानमा व्यायाम केन्द्र बनाएसँगै अहिले स्थानीयले त्यसको फाइदा उठाइरहेका छन्।

भक्तपुरका मेयर सुनिल प्रजापति खुल्ला स्थानमा व्यायामस्थल निर्माण गर्नुको मुख्य उद्देश्य सबै नागरिकहरूलाई स्वस्थ बनाउनु रहेको बताउँछन्।

जनतालाई सैन्य तालिम दिने समाजवाद उन्मुख व्यवस्था अनुसार आफ्ना नीति तथा कार्यक्रमलाई अगाडि बढाइरहेको उल्लेख गर्दै उनले केही दिन अगाडि भनेका थिए,' हाम्रो प्रयास जनता शारीरिक रूपमा तन्दुरुस्त रहुन् भनेर हो।'

खुल्ला स्थानको अपरिहार्यता महसुस गर्दै भक्तपुर महानगरपालिकाले सेनाले नियन्त्रणमा लिएको रानीपोखरी र खेल मैदान जनताका लागि खुल्ला गराउँदैछ।

यता, काठमाडौँमा पनि टुँडिखेल खुल्ला गराउने अभियान 'अकुपाइ टुँडिखेल' आयोजना हुँदैछ। तर कुनै सरकारी निकायबाट होइन, जनस्तरबाट। टुँडिखेलको धेरै क्षेत्र सेनाको नियन्त्रणमा रहेको र बाँकी भाग महानगरकै मिलेमतोमा अतिक्रमणमा पर्दै गएको भन्दै टुँडिखेल खुल्ला गराउन आउने शनिबार 'अकुपाइ टुँडिखेल' अभियान अन्तर्गत बिहान ८ देखि १० बजेसम्म मानव साङ्लो बनाएर टुँडिखेल घेराउ गरिँदैछ।

पढ्नुस:  शनिवार 'अकुपाइ टुँडिखेल', मानव साङ्लोलाई जनप्रतिनिधिको साथ: 'हामीले धेरै सह्यौ, अब पनि चुप बसे केही बाँकी रहँदैन'

भूकम्पका बेलामा धेरैको 'घर' बनेको टुँडिखेल खुल्ला गराएर त्यसलाई जनताका लागि खुल्ला गराउनु पर्ने आयोजकको मत छ। खुल्ला स्थानमा वृक्षारोपणदेखि व्यायामस्थलसम्म बनाएर जनताकै सदुपयोगका लागि उपयोगमा ल्याउन सकिने उनीहरूको भनाई छ। 

शनिबार हुने कार्यक्रममा अभियानले काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई समेत आमन्त्रण गरेको छ।

बुधवार 'अकुपाइ टुँडिखेल' का संयोजक विजय श्रेष्ठ लगायतका अभियन्ताहरूले मेयर शाक्यलाई शनिबार हुने कार्यक्रमका लागि निम्तो दिन पुगेका थिए।

तर, कार्य व्यस्तताको कारण मेयर शाक्यले अकुपाइ टुँडिखेलका आयोजकलाई भेटेनन्। पछि संविधान र स्थानीय सरकार सञ्चालन ऐन २०७४ अन्तर्गत सार्वजनिक स्थानहरूको संरक्षणको जिम्मेवारी भएको कारणले मेयर आफैं उपस्थिति भएर अभियानमा नेतृत्वदायी भूमिका खेल्ने अपेक्षा रहेको उल्लेख गरेको पत्र काठमाडौँ महानगरपालिकामा दर्ता गरिएको थियो।

अभियानका संयोजक विजय श्रेष्ठ भन्छन्, 'उहाँ आफैं आएर टुँडिखेल बचाउने प्रण गर्नुभयो भने उहाँकै लागि राम्रो हो। पत्र दर्ता गराएका छौँ। उपमेयर हरिप्रभा खड्गी श्रेष्ठलाई पनि पत्र दिएका छौँ। आशा छ उहाँ आउनु होला।'

मेयर शाक्यसँग टुँडिखेलका विषयमा स्थानीय रुष्ट छन्। खुल्लामञ्चमा बसपार्क स्थानान्तरण गर्ने बेलादेखि नै स्थानीय काठमाडौँ महानगरपालिको सो निर्णयको विरुद्धमा थिए। त्यो बेला स्थानीय सरकार थिएन। तर स्थानीय सरकार आएपछि खुल्लामञ्च झनै साँघुरिँदै जाँदा र  खुल्लामञ्चमा बनाइएको बसपार्कमा सटर राखेको विषयमा अडान लिन नसक्दा मेयर शाक्यको आलोचना भएको थियो।

यस्तै, दसैँको मौका छोपेर खुल्लामञ्चमा बनाइएको अस्थायी बसपार्कमा स्थायी ढलान गर्न निर्देशन दिएसँगै मेयर शाक्यसँग स्थानीय थप आक्रोशित छन्। विशाल टुँडिखेलको महत्त्वपूर्ण क्षेत्र मल्ल राजाहरूको दुईमाजु मन्दिरमा पसल राख्न दिने विषयमा पनि मेयर शाक्य विवादमा फसेका थिए। मल्लकालीन मन्दिर परिसरमा पसल राख्न गुठी संस्थानले शाक्यको नजिकको मान्छेलाई दिएको स्थानीयले आरोप लगाउँदै आएका छन्। हाल संस्थानले मन्दिर परिसर खाली गराउन जिल्ला प्रशासन कार्यालय र महानगरपालिकालाई पत्र काटे पनि निर्बाध रूपमा पसल सञ्चालन भइरहेको छ।

त्यसैले शनिबार महानगर प्रमुख आफैं उपस्थित भएर टुँडिखेल खुल्ला गराउने अभियानमा सहभागी भए त्यसले जनतामा सकारात्मक सन्देश जाने अनुमान अभियानले गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell