काठमाडौं: नेपालभाषामा टुँडिखेललाई 'तुंख्यो' भनिन्छ। तुंख्यो अर्थात 'पानी भएको खेत'। परापूर्वकालमा ढिस्कोले पुरिएर रहेको यस खेतमा रुखैरुख थिए। पानी निस्किरहने भएकाले धेरै क्षेत्रमा दलदल थियो। त्यसैले जताजतै पानी नै पानी भएकाले यसलाई 'तुंख्यो' भनियो।
नेपालमा राणाशासन सुरु हुने बेलासम्म काठमाडौंको मध्य भागमा रहेको यो खेत बहुप्रयोजनका लागि प्रयोग गरिन्थ्यो। त्यहाँ नेवार समुदायले कूल पूजा गर्थे। दुईमाजु मन्दिरमा शक्तिको उपासना हुन्थ्यो। गाइगोरु चराउने काम हुन्थ्यो। स्थानीयका लागि 'रिक्रिएसनल' स्थान जस्तै थियो टुँडिखेल।
काठमाडौंका अजिमाहरुलाई एकै स्थानमा ल्याएर भेटाउने स्थान थियो टुँडिखेल। तर, विशाल मैदान देखेर जंगबहादुर राणाले छाउनीमा गरिने सैन्य परेड टुँडिखेलमा सारे। त्यहीँबाट सुरु भयो टुँडिखेल अतिक्रमणको खेल।
त्यो खेल आजसम्म पनि जारी छ।
Source: Images of the Century
पढ्नुस: एसियाकै विशाल 'परेड मैदान टुँडिखेल': कसरी पर्यो राणा, राजा, सेना र गणतन्त्रको अतिक्रमणमा
वि. सं १९१२ मा जंगबहादुर राणा प्रधानमन्त्री हुँदा नेपाल आएका इतिहासकार हेनरी एम्ब्रोस ओल्डफिल्डले टुँडिखेल २-३ माइल लामो र ३ गज चौँडा रहेको उल्लेख गरेका थिए। हेनरीद्वारा लिखित पुस्तक 'स्केच्स् फ्रम नेपाल'मा टुँडिखेललाई 'एसियाको सबैभन्दा ठूलो परेड मैदान' भनिएको थियो। टुँडिखेल हाल त्रिपुरेश्वरमा रहेको दशरथ रंगशालादेखि रानीपोखरी (न्हु पुखु) सम्म फैलिएको थियो।
समयक्रममा टुँडिखेलभित्र नै खुल्लामञ्च बनाइयो। नेपालमा प्रजातन्त्र ल्याउन ठूलो भूमिका खेलेको त्यही पानीको खेतमाथि बनाइएको खुल्लामञ्चमाथि अहिले पटकपटक आक्रमण भइरहेको छ।
राजा फाल्नेदेखि गणतन्त्र ल्याउनेसम्मका भाषण गुञ्जिएको खुल्लामञ्च अहिले गाडी राख्ने डम्पिङ साइट बनेको छ। पुरानो बसपार्क क्षेत्रमा बहुप्रयोजनको भ्यू टावर बनाउने भनेर खुल्लामञ्चमा बसपार्क स्थान्तरण गरियो। भ्यू टावर त बनेन नै वर्तमान राजनीतिक नेतृत्वको उदयस्थल खुल्लामञ्च साँघुरिँदै गयो।
खुल्लामञ्चमाथि ढलान गरियो। कालोपत्रे गरियो। लाखौंको 'डिल'मा सटर बनाइयो। मल्ल राजाहरुको देवाली मन्दिर दुईमाजुमा जनप्रतिनिधिकै संलग्नतामा अतिक्रमण गरियो।
मानव साङ्लो बनाएर 'अकुपाई टुँडिखेल '
टुँडिखेल अतिक्रमणका विरुद्ध जनता धेरैपटक सडकमा ओर्लिए। खुल्लामञ्चमा बनाइएको सटर हटाइयो। सेनाविरुद्ध नारा लाग्यो, सरकारविरुद्ध नारा लाग्यो। मेयर विद्यासुन्दर शाक्यसँग जनता रुष्ट भए। दुईमाजु खुल्ला गर्न संघर्ष भयो। खुल्लामञ्चमा ढलान गर्न नदिने भन्दै ढलानमाथि नै गाडी गुडाइयो। तर, दशैंको मौका छोपी मेयरकै आदेशमा 'धुलो नउडोस् भनेर' खुल्लामञ्चमाथि ढलान गरियो। दुईमाजुमा बनेका पसल हटाउन अझै संघर्ष जारी छ।
राणाशासनदेखि सुरु भएको अतिक्रमण गणतन्त्रसम्म आइपुग्दा बिकराल बन्दै गएको छ। जनप्रतिनिधिकै संलग्नतामा टुँडिखेल अझै साँघुरिँदै जाने देखेर 'काठमाडौंको मुटु टुँडिखेल'लाई जनताको स्वामित्वमा ल्याउन दबाब दिने उद्देश्यका साथ स्वतन्त्र नागरिक अभियान सुरु भएको छ।
'अकुपाइ टुँडिखेल' नाम दिइएको अभियान अन्तर्गत कात्तिक २३ गते शनिवार टुँडिखेल खुल्ला हुनुपर्ने मागसहित जनदबाब स्वरुप मानव साङ्लो बनाएर टुंडिखेल घेरिदैछ।
बिहान ८ बजेदेखि १० बजेसम्म टुँडिखेल अन्तर्गतको खुल्लामञ्च र दुईमाजुमा भएको अतिक्रमण विरुद्धको 'अकुपाइ टुँडिखेल' अभियानमा हजारौं मानिस मानव साङ्लो बनाएर सांकेतिक आन्दोलनमा सहभागी हुने अपेक्षा आयोजकले लिएको छ।
पढ्नु: खुल्लामञ्चपछि मल्ल राजाको देवाली मन्दिर 'दुईमाजु' अतिक्रमणमा, साँघुरिँदै टुँडिखेल
कसरी सुरु भयो 'अकुपाइ टुँडिखेल'?
'हामीले धेरै हेरेर बस्यौं। अब पनि चुप लागेर बस्यो र सरकारलाई सचेत गराएन भने केही बांकी रहँदैन।' अकुपाइ टुँडिखेलका संयोजक विजय श्रेष्ठले पहिलोपोस्टसँग भने।
५२ वर्षीय श्रेष्ठ बाल्यकालमा चंगा उडाउन साथीभाइसँग टुँडिखेल पुगेको दिन सम्झदै भन्छन्,' अकुपाइ टुँडिखेल राजनीतिक अभियान होइन। नागरिक अभियान हो। हामी सरकारको होइन सरकारी शैलीको विरोधमा छौं। पुरानो बसपार्कलाई खुल्लामञ्चमा सारिँदादेखि नै हामीले विरोध गर्दै आएका थियौं। त्यो बेला नागरिक सुनुवाई समेत भयो। तर जनताको आवाजलाई दबाइयो। त्यसपछि त खुल्लामञ्च मात्रै होइन दुईमाजुमाथि नै आक्रमण भयो।'
उनी त्यही आक्रमणको उपज 'अकुपाइ टुँडिखेल' सुरु भएको बताउँछन्। २०७२ सालको भूकम्पमा खुल्ला आकाशमुनिको टुँडिखेललाई जनताले आफ्नो घर बनाएको र आउने विपत्तमा पनि टुँडिखेल मात्रै विकल्प रहेकाले यसको संरक्षणमा जनता उठेको उनको भनाइ छ।
जनताले पटकपटक खुल्लामञ्च खाली गराउने प्रयास गर्दा पनि कहिले ढलानको नाममा त कहिले व्यवसायको नाममा खुल्लामञ्च अतिक्रमणमा परेको श्रेष्ठ बताउँछन्।
'टुँडिखेल त उदाहरण मात्रै हो। काठमाडौंमा नै सार्वजनिक जग्गाको अतिक्रमण हुन्छ भने बाहिर जिल्लाको अवस्था कस्तो होला। अकुपाइ टुँडिखेल सबै जनताको आवाज हो' उनी भन्छन्।
'अकुपाइ टुँडिखेल' अन्तर्गत पहिलो चरणमा कात्तिक २३ गते रत्नपार्कदेखि खुल्लामञ्च र सैनिक मञ्चको बीचको बाटोसम्म मानव साङ्लो बनाएर आन्दोलन सुरु हुने उनले बताए। त्यसक्रममा विद्यालय, कलेज, विभिन्न संघसंस्थालाई सहभागी हुन आग्रह गरिएको छ। सांस्कृतिक आन्दोलनको रुपमा बाजागाजासहित प्लेकार्ड बोकेर चारैतिरबाट टुँडिखेलको एक हिस्सा 'अकुपाइ' गरिनेछ। ट्राफिक र सवारी आवगमनमा कुनै समस्या नहोस भन्ने हेतुका साथ स्वयमसेवक परिचालन गरिनेछ।
अहिले सामाजिक संजालमा अकुपाइ टुँडिखेलप्रति समर्थन बढ्दै गएकोले त्यसदिन धेरै संख्यामा मानिस भेला हुने अपेक्षा आयोजकको छ। ट्वीटरमा ह्यासट्रयाग अकुपाइ टुँडिखेल (#OccupyTundikhel) ट्रेन्डिङ भइरहेको छ।
जनतादेखि जनप्रतिनिधिसम्मको साथ
'अकुपाइ टुँडिखेल'मा जनतादेखि जनप्रतिनिधिसम्म समर्थनमा उत्रने अभियानले विश्वास लिएको छ। त्यसका लागि अभियानले विभिन्न राजनीतिक दलका प्रतिनिधि, काठमाडौंका संघीय र प्रदेश सांसद, जनप्रतिनिधिहरुलाई सहभागी हुनेमा आह्वान गरेको छ।
टुँडिखेल रहेको क्षेत्रबाट प्रतिनिधिसभा सदस्य रहेका भीमसेनदास प्रधान भन्छन्,' अकुपाइ टुँडिखेल नागरिक समाजले खुल्ला ठाउँलाई खुल्ला नै हुनुपर्छ भनेर सुरु गरेको आन्दोलन हो। राणाशासनको बेलादेखि अतिक्रमित हुँदै आएको टुँडिखेल अहिले व्यापारको नाममा अतिक्रमण भइरहेको छ। टुँडिखेलमा हुँदै आएको नेवारहरुको सांस्कृतिक चाड रोकिएको छ। त्यसैले जनताको सर्वोच्चता कायम होस् भनेन् उद्देश्यमा काठमाडौंका सबै जनप्रतिनिधिले साथ दिनपर्छ।'
प्रदेश ३ सांसद विराजभक्त श्रेष्ठ नेपालमा अहिले बनाउने भन्दा भत्काउने राजनीति हाबी भएको भन्दै 'अकुपाइ टुँडिखेल' मा आफ्नो समर्थन रहेको बताउँछन्। त्यसैले उनी नेता नभइ स्वयमंसेवक भएर शनिवार उपस्थित हुने तयारी गर्दैछन्।
खुल्लामञ्चलाई अतिक्रमण गर्न दिएर सरकारले नीतिगत भ्रष्टाचार गरिरहेको बताउँदै उनले भने,' सरकारले यहाँका जनतामाथि अन्याय होइन अपराध गरिरहेको छ। यत्रो शहरमा खुल्ला ठाउँ कहाँ छ? त्यसको संरक्षण गर्नुको सट्टा सरकार उल्टै त्यसको दोहनमा लाग्दैछ। केन्द्र सरकार, प्रदेश र स्थानीय सरकारले आँखै अगाडि भइरहेको अतिक्रमण नदेख्दा जनता सडकमा ओर्लिनु परेको हो।'
हाल टुँडिखेलको धेरै जग्गा सेनाले उपभोग गरिरहेको कुरा उल्लेख गर्दै उनी सेनासँग वार्ता गरेर त्यस स्थानलाई खुल्ला बनाएर पार्क बनाउन सकिने बताउँछन्।
'यहाँ सेनाको लागि जमिन छ। तर जनताका लागि छैन। विकासका नाममा जनताको घरमा डोजर चल्छ। भूकम्पमा त्यही जमिन नै जनताको आश्रयस्थल बन्यो। त्यसैले सेनालाई सहमतीमा ल्याएर हामी टुँडिखेललाई खुल्ला गर्न सक्छौं। त्यहाँ पार्क बनाएर बोटविरुवा रोप्न सक्छौं। खुल्ला ठाउँ सबैको हो। त्यसलाई हामी मिलेर साझा गर्नुपर्छ।'
सांसद् प्रधानपनि आफू रक्षामन्त्री हुँदा सेनाले टुँडिखेलमा बनाएका संरचनाहरुको विरुद्धमा आवाज उठाएको बताउँछन्। भन्छन्,' सेनाले टुँडिखेलको आधा हिस्सा नियन्त्रणमा राखेको छ। मन्त्री हुँदा मैले सेनालाई नक्सापास बिना संरचनाहरु बनाएकोमा प्रश्न गरेकै हुँ। सेना व्यवसायमा केन्द्रित भएको बारेमा ध्यानाकर्षण गराएकै हुँ। हाम्रो माग भनेको त्यो स्थान जनताको लागि खुल्ला होस् भन्ने नै हो। यो न त सेनाको विरोध हो न त सरकारको। यो जनताको जाज माग हो।'
कसरी साँघुरियो टुँडिखेल ?
२०१९ मा प्रकाशित त्रिरत्न सौन्दर्यगाथामा प्रत्यांगिरादेवी र वज्रभैरवले वज्रतुण्डी देवीलाई दाइजो दिएको स्थान भएको हुनाले उक्त स्थानलाई तुण्डीक्षेत्र- तुण्डीखेल भनी कहलिएको भनी उल्लेख गरिएको छ। धनवज्र बज्राचार्यले सम्पादन गरेको उक्त किताबमा टुँडिखेलमा घोडा ढौडाउने परम्परा मल्लकालदेखि सुरु भएको भनेर उल्लेख गरेका छन्।
अहिले 'घोडा दौड' गर्ने परम्परा भने जंगबहादुरले बेलायत भ्रमण गरी फर्किएपछि सुरु गरेका थिए।
गुरुमापा राक्षसको संहारस्वरुप टुँडिखेलमा त्यसअघि सिपाही गुठीका भोसीको र बागबजारका खड्गीहरुले घोडा दौडाउने गरेको स्थानीयहरूको दाबी छ।
इतिहासकार डा साफल्य अमात्य तुण्डीक्षेत्र- तुण्डीखेल, तुंख्यो हुँदै नेपाली भाषामा अपभ्रंश हुँदै टुँडिखेल भएको बताउँछन्।
राणा शासनकै समयमा टुँडिखेल साँघुरिँदै गएपनि जनतालाई प्रवेशमा रोक थिएन। वि.सं १९८१ पौष १४ गते राणा प्रधानमन्त्री चन्द्र शमशेर जंगबहादुर राणाले त्यस बखतको विशाल टुँडिखेलको मध्य भागमा रहेको खरीको बोटसहितको ऐतिहासिक चौतारामा बसेर नेपाल अधिराज्यबाट दासत्व मोचनको घोषणा गरेका थिए। टुँडिखेलको सोही चौतारामा बसेर राणाहरुले ऐतिहासिक निर्णय लिने गरेका थिए।
प्रजातन्त्रपछि त्यही 'ऐतिहासिक खरिबोट' काटेर फालियो।
Source: Images of the Century
राणा शासनमा अतिक्रमण गरेर भए पनि विशाल बनाइएको टुँडिखेल प्रजातन्त्रपछि भने साँघुरिँदै गयो। पञ्चायत शासनका सूत्रधार महेन्द्रले टुँडिखेलको मध्य भागमा रहेको ऐतिहासिक खरिबोटसहितको चौतारा भत्काउन लगाएका थिए।
२००७ पछि भारतका तत्कालीन प्रधानमन्त्री जवरलाल नेहरु नेपाल आउँदा होस् या २०१७ सालमा बेलायती महारानी एलिजावेथको स्वागत टुँडिखेलमा नै गरिएको थियो। शाहकालमा टुँडिखेल राजाको शक्तिकेन्द्र बन्यो।
तत्कालीन रानी रत्न राज्यलक्ष्मीको नाममा टुँडिखेलको एक भागमा पार्क बनाइ त्यसलाई 'रत्नपार्क' नामकरण गरियो।
रानीलाई खुसी बनाउन बनाइएको टुँडिखेल अतिक्रमण गरी बनाइएको रत्नपार्कलाई गणतन्त्रपछि महानगरपालिकाले शंखधर उद्यान नामकरण गर्यो। तर महानगरले शंखधर उद्यानमा शंखधरको नभई प्रथम अन्तरिक्ष यात्री युरी गाग्रीनको शालिक बनायो। यसलाई स्थानीयहरूले शंखधरको अपमान र सांस्कृतिक अतिक्रमणको संज्ञा दिएका छन्।
हाल टुँडिखेलको नाममा सैनिक मञ्चदेखि शहीद गेट क्षेत्रसम्म केही खुल्ला भाग बाँकी रहेको छ। जसको आधा भागमा जनतालाई प्रवेश निषेध छ। उसो त जनताका लागि खुल्ला गरिएको केही भागमा समेत सेनाले आफूले चाहेको बेला प्रवेश निषेध गराउन सक्छ।
शहीदगेट पारीको स्थानमा अहिले सैनिक मुख्यालय त्यहीँ छ। फिब्वख्य: (माइतीघर) हुँदै भद्रकाली आउने पुरानो बाटो सैनिक मुख्यालयको निजी बाटो सरह भएको छ। त्यहीको टुकुचानिर फिब्वख्य: अजिमा विराजमान रहेकी छिन्।
संयोजक श्रेष्ठ भन्छन्,'अकुपाइ टुँडिखेल यस्तै अतिक्रमण विरुद्धको सांकेतिक आन्दोलन हो। यसलाई जग्गासँग मात्रै तुलना गर्नु हुँदैन। यसको उद्देश्य टुँडिखेल वा खुल्लामञ्च खुल्ला गराउने मात्रै होइन। हामी टुँडिखेलमा पार्क बनेको हर्न चाहन्छौं। प्रदूषित वातावरणको विरुद्धको अभियान हो यो। सरकारले टुँडिखेललाई खुल्ला गरोस्, त्यसलाई पार्क बनाउन नागरिक स्तरबाट हामी सहयोग गर्छौं।'