PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

ओली-प्रचण्डको आत्मीयताले चेपुवामा नेपाल, के झनझन् बढ्दै हो दुरी?



कुञ्जरमणि भट्टराई

ओली-प्रचण्डको आत्मीयताले चेपुवामा नेपाल, के झनझन् बढ्दै हो दुरी?

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ( ने क पा)का दुई अध्यक्षबीचको सम्बन्धको उतारचढाब जारी छ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सम्बन्धमा खट्पट भएको संकेत बेलाबेलामा उनीहरुले नै गर्दै आएका छन्।

केही समय अघि प्रचण्डले सम्बन्धमा दुरी बढेको संकेत गरेका थिए। सार्वजनिक कार्यक्रममा प्रचण्डले दिएको अभिव्यक्तिबाट नै दुई अध्यक्षबीच दुरी फराकिलो भएको स्पष्ट हुन्थ्यो। यी दुईबीचको सम्बन्धमा चिसोपन आएलगत्तै नेकपाका वरिष्ठ नेतातिर धेरैको नजर पुग्थ्यो। दुई अध्यक्षबीचको तिक्तताले नेपाललाई कति फाइदा हुन्छ? अनुमानका खेती सुरु भइहाल्छ।

तर, जब कुनै प्रसंगमा प्रचण्ड वा ओलीले असमझदारी नभएको संदेश दिन्छन्, त्यो खेती फेरि सेलाउने गर्छ।

पछिल्लोपटक प्रधानमन्त्री ओली र प्रचण्डबीचको सामिप्यताले नेता नेपाल चेपुवामा छन्। त्यसको असर पार्टीभित्रको समिकरणमा उनको उपस्थिति कहाँ कहाँ छ भन्नेले पनि देखाउँछ। यसको पछिल्लो उदाहरण हो, प्रदेशप्रमुखको नियुक्तिमा नेता नेपाल बेवास्तामा पर्नु। सरकारले कात्तिक १९ गते देउवा सरकारले नियुक्त गरेको सातै प्रदेशका प्रमुख बर्खास्त गर्‍यो। १८ गते ने क पाको सचिवालय बैठकले सोमनाथ अधिकारी 'प्यासी',  तिलक परियार, विष्णु प्रसाईं, अमिक शेरचन,  धर्मनाथ यादव, कर्णाली प्रदेशमा गोविन्द कलौनी र शर्मिला त्रिपाठीलाई नयाँ प्रदेश प्रमुखका लागि सिफारिस गर्‍यो।

जसमा ४ प्रदेश प्रमुख पूर्व एमाले तथा ३ प्रदेश प्रमुख पूर्व माओवादीलाई भागबण्डा भयो। पूर्व एमालेको भागमा परेको ४ प्रदेश प्रमुखमा नेता नेपालले सिफारिस गरेका नाम अटाएनन्। तर, प्रचण्डले पूर्व माओवादीको भागमा परेको ३ प्रदेश प्रमुखहरु पूर्व माओवादीबीच भागबण्डा गरेर टुंग्याए।

आफूले सिफारिस गरेका व्यक्तिहरुको नाम प्रदेश प्रमुखमा नअटाएपछि नेता नेपालले नोट अफ डिसेन्ट लेखे। तर, त्यसले उनको असन्तुष्टि त देखायो, प्रभाव भने छाड्न सकेन।

'अर्का अध्यक्ष प्रचण्डले नेताहरुलाई सन्तुलित गरेर प्रदेश प्रमुख सिफारिस गर्नुभयो। तर ने क पाको अर्को शक्तिशाली नेता नेपाललाई बेवास्ता गर्दै ४ प्रदेशप्रमुख सिफारिस गरेपछि उहाँले नोट अप डिसेन्ट लेख्नुभएको हो,' नेपाल निकट एक नेताले भने।

+++

प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थताका कारण गत भदौमा सिंगापुर जाने क्रममा बसेको सचिवालय बैठकमा नेता नेपालले प्रधानमन्त्रीलाई स्वास्थ्य लाभको शुभकामना दिएका थिए। तर, प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यका बारेमा नकारात्मक टिप्पणी गर्दै हिँडेको भन्दै स्वास्थ्य लाभको कामना आफूलाई नचाहिने बताए। स्वास्थ्य लाभको शुभकामनापछि ओली र नेपालबीच बोलचाल नै बन्द भयो। त्यसपछि ओली र नेपालबीचको बिग्रिएको सम्बन्धमा सुधारका संकेतहरु देखिएनन्। सम्बन्धमा यतिसम्म चिसो पसेको छ कि पछिल्लो समय डायलासिसका कारण ओली ओछ्यान पर्दा नेपाल भेट्न समेत गएको देखिएन।

यी दुई नेताबीच छुट्टै भेटघाट वा कुराकानी पनि भएको देखिएको छैन। एक्लिएको अनुभवपछि अर्का अध्यक्ष प्रचण्डले नेता नेपाललाई भेटे पनि ओलीले भने वास्ता गरेका छैनन्। ने क पा सचिवालय बैठकमा सामूहिक छलफल गरे पनि दुई नेताबीच कुराकानी ठप्प छ।

'त्यस घटनापछि उहाँबीच छुट्टै छलफल भएको छैन। सचिवालय बैठकमा सामूहिक छलफल हुन्छ। छुट्टै छलफलका लागि पहल पनि भएको छैन्,' स्रोतले भन्यो।

नेता नेपालसँग ओलीको सम्बन्धलाई लिएर पूर्व माओवादीका नेताहरुलाई प्रचण्डले सबैलाई मिलाएर लगे पनि ओलीले पूर्व एमालेका नेताहरुलाई चिड्याएको आरोप पूर्व एमालेका नेताहरुकै छ।

+++

पार्टी एकता प्रक्रियामा एकलौटी ढंगले जान थालेपछि नेता नेपालले 'एक व्यक्ति एक मुख्य जिम्मेवारी' लागू हुनुपर्ने अडान लिएका थिए। तर, त्यसो हुन सकेन।

त्यसो हुँदा दुई अध्यक्षपछि वरिष्ठ नेताको रुपमा रहेका नेता नेपाल घटुवामा परे। ने क पाको सचिवालय बैठकले झलनाथ खनाललाई वरिष्ठ नेताको पहिलो वरीयतामा राख्यो, नेपाललाई दोस्रोमा झारिदियो।

त्यस लगतै नेता नेपालले असन्तुष्टि 'नोट अफ डिसेन्ट' जारी गरे। उनको नोट अफ डिसेन्टमा ओलीले प्रधानमन्त्री वा पार्टी अध्यक्षमध्ये एक छाड्नुपर्ने लगायतका ७ बुँदाहरु उल्लेख गरेका थिए। तर, ती बुँदाहरु उनीजस्तै छायाँमा परेका छन्।

माधवकुमार नेपालको सात असन्तुष्टि जसले छताछुल्ल पार्‍यो पार्टीको अन्तर्कलह

***

माधव नेपाल ने क पा भित्रकै प्रतिपक्षीको भूमिकामा पनि देखिन्छन्। नेता नेपाल सचिवालय बैठकमा पनि एक्लदै आएका छन्। ओलीले बामदेम गौतमलाई मिलाउन विधानमै नभएको उपाध्यक्ष पद सिर्जना गर्न चाहे। त्यस्तै झलनाथ खनाललाई वरिष्ठ नेताको पहिलो बरीयतामा उकालेर उनलाई थप शान्त बनाए।

अहिलेको अवस्थामा ओली झनै शक्तशाली बनेका कारण नेता नेपालसँगको सम्बन्धलाई वास्ता गरेका छैनन्। नेता नेपाल छायाँमा परेको जस्तै देखिए पनि उनी नयाँ समीकरणमा भने सक्रिय नै छन्।

'नेपाल कमजोर भएका छैनन्। उनी छायाँमा परेका मात्र हुन्। तर उनी नयाँ समीकरण बनाउने लागिरहेका छन्,' नेता नेपाल निकट ती नेताले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell