PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

टुँडिखेल फिर्ता माग्दै मानवसाङ्लो, अतिक्रमण विरुद्ध लड्ने उद्घोष

टुँडिखेल फिर्ता माग्दै मानवसाङ्लो, अतिक्रमण विरुद्ध लड्ने उद्घोष

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : टुँडिखेल खुल्ला हुनुपर्ने माग गर्दै आज बिहान मानव साङ्लो बनाएर रत्नपार्कदेखि खुल्लामञ्चसम्मको क्षेत्र घेरियो। नागरिकस्तरबाट संचालन भएको  'अकुपाइ टुँडिखेल' अभियान अन्तर्गत आज बिहान ८ बजेदेखि पहिलो चरणको कार्यक्रम सुरु भएको थियो।  टुँडिखेल खुल्ला हुनुपर्ने माग गर्दै रत्नपार्क देखि खुल्लामञ्च र सैनिकमञ्चको बीचको बाटोसम्म करिब एक हजार मानिस मानव साङ्लो बनाएर उभिएका थिए।

'अकुपाइ टुँडिखेल' अभियानमा विभिन्न संघ संस्थाले ऐक्यबद्धता प्रकट गरेका थिए। यस्तै पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, नेपाली कांग्रेसका नेता भीमसेनदास प्रधान, गगन थापा, प्रदेश ३ का सांसद विराजभक्त श्रेष्ठ, काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, गायक योगेश्वर अमात्य, जेम्स प्रधान, कलाकार निर्मल शर्मा लगायत पनि खु्ल्लामञ्च पुगेर  'अकुपाइ टुँडिखेल' अभियानमा ऐक्यबद्धता प्रकट गरेका थिए।

मानव साङ्लो सहित टुँडिखेल कसैको विर्ता होइन, जनतालाई टुँडिखेल फिर्ता देउ लगायतका नारा लेखिएका जनचेतनामुलक प्लेकार्ड र ब्यानरहरु प्रदर्शन गरिएको थियो। अन्तयमा नाराहरु सहितको बेलुन उडाइ कार्यक्रम समापन गरिएको थियो।

पढ्नुस: शनिवार 'अकुपाइ टुँडिखेल', मानव साङ्लोलाई जनप्रतिनिधिको साथ: 'हामीले धेरै सह्यौ, अब पनि चुप बसे केही बाँकी रहँदैन'

अभियानका संयोजक विजय श्रेष्ठ भन्छन्,'अकुपाइ टुँडिखेल अतिक्रमण विरुद्धको सांकेतिक आन्दोलन हो। यसलाई जग्गासँग मात्रै तुलना गर्नु हुँदैन। यसको उद्देश्य टुँडिखेल वा खुल्लामञ्च खुल्ला गराउने मात्रै होइन। हाम्रो माग भनेको टुँडिखेल जनताका लागि खुल्ला  गरिनुपर्छ भन्ने नै हो। खुल्ला ठाउँको अभावमा काठमाडौंमा पानीको मात्रा कम हुँदैछ। यो समग्र प्रदूषित वातावरणको विरुद्धको अभियान हो।' उनले सरकारले टुँडिखेललाई खुल्ला गरे त्यसलाई,हराभरा बनाउन नागरिक स्तरबाट सहयोग गर्न आफूहरु तयार रहेको बताए।

आज पहिलो चरणको समापनपछि तीन महिनासम्म प्रत्येक शनिवार टुँडिखेल क्षेत्रमा रचनात्मक र चेतनामुलक कार्यक्रम संचालन गरिने उनले बताए। आउने दिनहरुमा टुँडिखेलको कथा, यहाँ संचालनहरु जात्रा पर्वका बारेमा चर्चाका साथै कविता वाचन,चेस प्रतियोगिता, विभिन्न खेलकुद गतिविधिहरु संचालन गरिने बताइएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell