PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

डडेल्धुरा अस्पतालका डाक्टरको आग्रह, 'डा केसीलाई सुरक्षित ठाउँमा लैजानु'



एम बम

डडेल्धुरा अस्पतालका डाक्टरको आग्रह, 'डा केसीलाई सुरक्षित ठाउँमा लैजानु'

कैलाली: डडेल्धुरामा अनसनरत डा गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको उनको उपचारमा संलग्न चिकित्सकहरूले बताए छन्। डडेल्धुरामा एउटा घरको कोठामा सोमबारदेखि अनसन सुरु गरेका डा. केसीलाई गत शुक्रवारबाट स्वास्थ्यकै कारण डडेल्धुरा अस्पतालमा सारिएको थियो।
 
अस्पतालमा समेत सघन उपचार कक्ष अभावले उनको स्वास्थ्य अवस्था हेर्दा अन्यत्र रेफर गर्नु पर्ने अवस्था आएको डडेल्धुरा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा जितेन्द्र कँडेलले जानकारी दिएका छन्। ‘उहाँको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ,’ पहिलोपोस्टसँग कँडेलले भने, ‘अस्पतालमा सघन उपचार कक्ष अभावमा उहाँलाई अन्यत्र रेफर गर्नुपर्ने अवस्था देखिएको छ।’

तर केसीले गत शुक्रवार अस्पताल भर्ना भएपश्चात् स्वास्थ्य अवस्था कमजोर हुँदा पनि स्लाईन चढाउन मानेका थिएनन्। बल प्रयोग गरी उनको उपचारमा संलग्न चिकित्सकले केसीलाई अहिले स्लाईन चढाउन थालेको कँडेलले जानकारी दिए।
 
अस्पतालले एक विज्ञप्ति जारी गरेर केसीको उपचारका लागि स्थानान्तरण गर्न आग्रह समेत गरेको छ। केसीको ब्लड प्रेसर घट्न लागेको, मुटुको चालमा वृद्धि भई समस्या देखिएको, रगतमा अक्सिजनको मात्रा घटेको, मिर्गौलामा समस्या लगायतका जटिल समस्या देखिन थालेको भन्दै अस्पतालले भौतिक सुविधा नभएको जनाउँदै स्थानान्तरण गर्न आवश्यक भएको जनाएको छ।

‘अस्पतालमा थप उपचारका लागि आवश्यक पर्ने आइसियू सेवा, ए बिजी सेवा, दक्ष जनशक्ति उपलब्ध नभएकाले केसीको स्वास्थ्य स्थितिको गाम्भीर्ययतालाई मध्यनजर गरी सुरक्षित स्थानमा स्थानान्तरण गर्न आवश्यक देखिएको,’ अस्पतालको विज्ञप्तिमा उल्लेख छ। विज्ञप्तिमा अगाडि भनिएको छ, ‘केसीको स्वास्थ्य अवस्था दिनप्रतिदिन जटिल बन्दै गएका कारण उहाँको स्वास्थ्य अवस्था चिकित्सकीय हैसियतले अस्पतालले क्षमता भन्दा बाहिर गएको बखत डडेल्धुरा अस्पतालबाट कुनै पनि किसिमको जटिलता व्यवस्थापन गर्न नसकिने ब्यहोरा यसै विज्ञप्तिबाट जानकारी गरिन्छ।’  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell