PahiloPost

Jan 22, 2025 | ९ माघ २०८१

नेपाल र कुवेतबीचको विश्वकप छनोट भुटानमा गर्न एएफसीको ग्रिन सिग्नल, कुवेतको लबिङ असफल



मुकुन्द घिमिरे

नेपाल र कुवेतबीचको विश्वकप छनोट भुटानमा गर्न एएफसीको ग्रिन सिग्नल, कुवेतको लबिङ असफल

काठमाडौं : विश्वकप छनोट अन्तर्गत नेपाल र कुवेतबीचको खेल भुटानमा हुने निश्चित भएको छ। आज एन्फाले एक विज्ञप्ति निकाल्दै भुटानमा खेलाउने प्रस्ताव स्वीकृत भएको बताएको हो। मङसिर ३ गते हुने खेल भुटानको चाङलिमिथाङ स्टेडियममा हुनेछ।

कतार विश्वकप २०२२ तथा एएफसी एसियनकप २०२३ चीनको दोस्रो चरणको छनोटमा नेपाल समूह 'बी' मा छ। नेपालले समूह 'बी' मा सबै 'अवे गेम' खेलिसकेको छ। र, 'होम गेम' दशरथ रंगशाला गराउने तय थियो। तर, रंगशाल पुननिर्माण भइनसकेको भन्दै एसियन फुटबल फेडेरेसनल (एएफसी)ले खेल अन्यत्र 'न्युट्रल भेन्यु'मा सार्न निर्देशन दिएको थियो।

एएफसीको निर्देशन पछि एन्फाले नेपालको 'होम गेम' भुटानमा हुनुपर्ने प्रस्ताव गरेको थियो। तर, कुवेतले भने भुटानबाट पनि खेल सार्न एएफसीमा लबिङ गरेको थियो। कुवेतको दाउ नेपालसँगको खेल खाडी मुलुकमै तान्ने थियो।

शनिवार फेसबुकमार्फत् कुवेत फुटबल एसोसिएसनका अध्यक्ष शेख अहमेद अल युसुफले एसियन फुटबल फेडेरेसनका अध्यक्ष शेख सलमान बिन इब्राहिम बिन खलिफासँग भेट गर्दै नेपालसँगको खेलबारे छलफल गरेका थिए। कुवेतले भुटानमा खेल्न भिषा प्रकृया, अफिसियलहरुको बासस्थान, अभ्यासजस्ता कारण देखाउँदै भुटानबाट पनि खेल सार्न लबिङ गरेको जनाइएको छ।

यता एन्फाले भने वातावरणसँग मिल्दोजुल्दो भएकाले विकल्पमा भुटानमा म्याच हुनुपर्ने दावी गरिरह्यो।

कुवेत फुटबल फेडेरेसनको लबिङको बावजुत एएफसीले भुटानमा खेल खेलाउन स्वीकृत गरेको हो।

यस अघि पनि नेपालमा रंगशाला निर्माण भइनसकेकाले विश्वकप छनोटका खेलहरुमा पहिला 'अवे गेम' खेलेर पछि 'होम गेम' खेल्ने प्रस्ताव नेपालले गरेको थियो। समूहमा रहेका देशहरुले स्वीकार गरेपछि नेपालले पहिला 'अवे गेम' खेलेको थियो।

नेपालले 'अवे गेम' का ४ खेल खेलिसकेको छ। जसमा ३ खेलमा हार र १ खेलमा जित निकालेको छ। नेपालले चाइनिज ताइपेईसँग २–० को जित बाहेक अरु टिमसँग पराजय भोगेको छ।

संबन्धित समाचार: नेपाल VS कुवेत विश्वकप छनोट : 'होम ग्राउन्ड' खोसिएपछि भुटानमा खेलाउने दाउमा एन्फा, खाडीमै तान्ने प्रयासमा कुवेत



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell