PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

अतिक्रमित नेपाली भूमि फर्काउन कुटनीतिक तवरले लड्नुपर्नेछ, हामीसँग पर्याप्त प्रमाण छन् : सापकोटा



नेत्र तामाङ

अतिक्रमित नेपाली भूमि फर्काउन कुटनीतिक तवरले लड्नुपर्नेछ, हामीसँग पर्याप्त प्रमाण छन् : सापकोटा

काठमाडौं: परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानका नवनियुक्त उप उपकार्यकारी निर्देशकमा रुपक सापकोटाले कालापानीको विषयलाई कुटनीतिक तवरले लड्नुपर्ने बताएका छन्।

परराष्ट्र मामिला सम्बन्धी एकमात्र सरकारी थिंक ट्यांकका रुपमा रहेको प्रतिष्ठानमा आज नियुक्त भएलगत्तै सापकोटाले यस्तो प्रतिक्रिया दिएका हुन्। उनले बौद्धिक जगतलाई सहभागी गराएरमात्र वैदेशिक मामलामा छलफल गर्ने बताएका छन्।

चीनबाट विद्यावारिधि गरेका  युवा परराष्ट्र तथा सुरक्षा विज्ञ सापकोटाले पहिलोपोस्टसँग वैदेशिक ममलालाई बहसको विषयसमेत बनाउने बताए।

थिंक ट्याङलाई सरकारले भाइब्रेन्ट गर्न खोजेको छ

सापकोटाले सरकारले थिंक ट्यांकलाई भाइब्रेन्ट गराउन खोजेको पहिलो प्रतिक्रिया दिएका छन्। 'अध्ययन अनुसन्धान रणनीतिका हिसाबले पनि थिंक ट्यांकको उपदेयिता दिनप्रतिदिन बढ्दै गएको छ। पहिले अलि उपेक्षा गरिएको हो कि जस्तो लाग्थ्यो। अहिले भाइब्रेन्टका रुपमा र भरपर्दो रुपमा थिंक ट्याङलाई खोजिएको छ। यसलाई गति दिन जुन पहलकदमी लिएको सरकारले लिएको छ। यो सरकारको स्वागतयोग्य कदम हो,' उनले भने।

सरकारले अन्तर्राष्ट्रिय सम्बन्धसमेत राम्रो बनाइरहेको उल्लेख गर्दै सापकोटले प्रतिष्ठानको काम सरकारलाई नीतिगत रुपमा बलियो बनाउन भएको बताए। उनले भने, 'अहिले सरकारको अन्तराष्ट्रिय सम्बन्ध राम्रो छ। उच्च स्तरीय भ्रमण भइरहेको छ।'

सापकोटाले राज्यलाई नीतिगत सल्लाह सुझाव दिने भूमिकामा आफू रहने उल्लेख गर्दै तत्कालिन मुद्दालाई लिएर नेपालको आवाज विश्वसामू चिनाउन नेपालको बौद्धिक मञ्च तय गर्न पनि लागिपर्ने बताए।

उनले सगरमाथा संवादजस्ता विषयमा समेत सरकार अघि बढिसकेको र  यसमा प्रतिष्ठानलाई सचिवालय जिम्मेवारी तोकिसकेको अवस्थामा क्रियाशिल भएर अघि लाग्ने वचन दिए।

उनले राष्ट्रिय मुद्दालाई वैचारिक बहस गर्नुपर्ने खाँचोसमेत औंल्याए। भने, 'राष्ट्रिय मुद्दालाई वैचारिक बहस गरी बौद्धिक जगतलाई सहभागी गरेर सरकारलाई सुझाव दिन पनि पर्नेछ। शुरुमा त बाहिरबाट हेरिरहेको छु। अब भित्र गइसकेपछि यसको महत्व राज्यलाई बुझाउनु छ।'

चीन र भारतजस्ता इकोनोमिक पावरहाउसलाई आकर्षित गर्ने प्रयास

सापकोटाले चीनमा ९ वर्ष आफू रहेको अनुभव सुनाउँदै सबै मुलुकहरुको सम्बन्ध विस्तारमा आफ्नो अनुभव प्रयोग गर्ने उल्लेख गरे। 'चीन र भारत दुबै आर्थिक हैसियतमा पावर हाउस हो। हाम्रो रणनीतिक साझेदारी भनेको वृहत्तर आर्थिक साझेदारी नै हो। चीनले जुन आर्थिक सफलता हासिल गरेको छ। त्यसबाट सिक्नुपर्छ,' सापकोटाले भने, 'भारत त्यस्तै शक्तिशाली मुलुक हो। यसबाट पनि सिक्नुछ। यही विषयलाई बुझाउँदै थिंक ट्याङमार्फत राज्यलाई सहयोग गर्न सक्छ जस्तो लाग्छ। वृहत्तर आर्थिक विकासमा सहयोग गर्न सक्छौ।'
 
नेपाल र चीनको सम्बन्ध नयाँ उचाईमा पुगिसकेको उल्लेख गर्दै सापकोटाले दुबै देशबीचको थिंक ट्यांकबीच एकेडेमिक लेनदेनसमेत हुने बताए। भने, 'चीनलाई बुझ्ने कुरा भाषा फरक छ। थिंक ट्याङमार्फत ठुलो परिणाममा लगानी गरेको छ। कन्भरजेन विकास भइरहेको छ। दुबै देशको थिंक ट्यांकसँग एकेडेमिक साटासाट हुन्छ। अझ बलियो हुन्छ। यसमा मेरो जोड रहनेछ।' 

लिम्पियाधुरा नेपालकै हो, प्रमाण संगठित हुन सकेको छैन

प्रतिष्ठानका नवनियुक्ता उपकार्यकारी निर्देशक सापकोटाले हाल देशमा कालापानीदेखि लिपुलेकको विषय संगठित प्रमाण नभएको कारण भएको बताए। नेपाली भूमि फर्काउन सक्ने पर्याप्त प्रमाण भएको उनले दाबी गरे। भने, 'कालापानी हाम्रै हो। नेपालको जति पनि प्रमाण छ। लिम्पियाधुरासम्मको कुरा छ। नेपालको भूमिबाट भारतीय सेना हटाउनसम्म होस या नेपालीलाई संगठित गर्न होस यसलाई संगठित गरेर के नीति लिएर हाम्रो भूमि फर्काउन सक्छौ भन्ने लाग्छ। हामीसँग पर्याप्त प्रमाण छन्।'

भएका प्रमाणलाई संगठित गरी कुटनीतिक तवरले लड्नुपर्ने सापकोटाको सुझाव छ। 'यसलाई संगठित गरी कुटनीतिक तवरले लड्नुपर्नेछ। ठीक ढंगबाट संगठित गरेर सबै पक्षलाई बुझाउन नसकेकोमात्र हो।'

थिंक ट्यांकले निरन्तर अभ्यास गर्नुपर्छ

विकसित देशमा थिंक ट्यांकको अभ्यास निरन्तर हुने उल्लेख गर्दै सापकोटाले नेपाल सरकारबाट पनि यस्तो अभ्यासमा निरन्तता दिनुपर्ने खाँचो औंल्याए। उनले भने, 'यसअघि थिंक ट्याङ्कमा उदासीनता थियो। अलि प्राथमिकतामा परेको थिएन। विकसित मुलुकले सधै यस्तो अभ्यास गर्छ।'

रिसोर्स कम भयो भनेर यस विषयमा पछि पर्न नहुने सापकोटाको सुझाव थियो। उनले भने, 'रिसोर्स कम मुलुकमा चाहि यस्तो बेलामामात्र तातो लाग्ने गर्छ। भूराजनीतिक हिसाबले भारत र चीन दुबैसँग सुविचारित ढंगले अध्यन गरिरहरनुपर्छ। निरन्तर रुपमा लागेमा देशका लागि धेरै राम्रो हुन्छ।'  

अरु बलिया र नेपालका शुभेच्छुक मुलुकसँग सम्बन्ध राम्रो बनाइरहनसमेत थिंक ट्याङले भूमिका खेल्ने सापकोटाको भनाई थियो।

परराष्ट्र मामिला प्रतिष्ठानको उपकार्यकारी निर्देशकमा सापकोटा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell