PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

आजदेखि हनुमानढोका क्षेत्रमा पार्किङ गर्न निषेध



समर्थ रञ्जित

आजदेखि हनुमानढोका क्षेत्रमा पार्किङ गर्न निषेध

विश्वसम्पदा क्षेत्रमा सूचीकृत वसन्तपुर दरबार क्षेत्रमा सम्पदा माथि नै असर पर्ने किसिमले गरिएको पार्किङ हटाउने कार्य सुरु भएको छ।

बुधवार हनुमानढोकामा बसेको सरोकारवालाहरुको बैठकले पार्किङको दीगो व्यवस्थापन गर्ने निर्णय गरेको थियो। स्थानीय जनप्रतिनिधि, प्रहरी, नगर प्रहरी, ट्राफिक, हनुमानढोका हेरचाह अड्डाका प्रतिनिधि र स्थानीयबीच भएको छलफलमा सम्पदा क्षेत्रमा गरिँदै आएको पार्किङलाई रोक्ने निर्णय भएको हो।

नगर प्रहरी र स्थानीयको सक्रियतामा आजैबाट कुमारी घरदेखि पार्किङ गर्न रोकिएको छ। पहिलोचरणमा कुमारीघर र गद्दी बैठक क्षेत्रमा पार्किङ गर्न रोकिएको छ। विस्तारै दरबारक्षेत्रमा नै पार्किङ गर्न पुन: रुपमा प्रतिबन्ध लगाउने योजना बनाउने तयारी भइरहेको छ। दरबार क्षेत्र घुम्न आउनेलाई महानगरले संचालन गरिरहेको पार्किङ क्षेत्र वा पार्किङ गर्न छुट्याइएका अन्य स्थानमा सवारी साधन पार्किङ गरेर सम्पदा क्षेत्रको महत्व कायम राख्न सहयोग गर्न आग्रह गरिएको छ।

यसअघि साँझ परेसँगै हनुमानढोका दरबार क्षेत्र पार्किङस्थल बनेको देखिन्थ्यो। विश्व सम्पदा क्षेत्र प्रवेश गर्ने जुद्ध शालिकदेखि कुमारी घरसम्मै अहिले मोटरसाइकल र कारहरू निर्बाध रूपमा पार्किङ हुने गर्थ्‍यो।

पढ्नुस : विश्व सम्पदा क्षेत्रमा मनपरी, हनुमानढोका परिसर बन्यो पार्किङस्थल

विश्व सम्पदा क्षेत्रको 'युनिभर्सल आउटस्ट्यान्डिङ भ्यालु'का अनुसार सम्पदा क्षेत्रमा अत्यावश्यक बाहेक अन्य सवारीसाधन चलाउन पाइँदैन। तर, स्थानीय प्रशासनको आँखै अगाडि सम्पदामाथि असर पुग्ने गरी पार्किङ सुरु हुँदा समेत कुनै कारबाही नहुँदा स्थानीयले विरोध गरेका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell