PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

सात महिना दिल्लीको कोठी धाउँदै युवकले उम्काए बेचिएकी नेपाली चेली



सविन ढकाल

सात महिना दिल्लीको कोठी धाउँदै युवकले उम्काए बेचिएकी नेपाली चेली
प्रतीकात्मक फोटो : http://dubeat.com/

काठमाडौं : आठ वर्षअघि भारतमा बेचिएकी नेपाली चेलीको उद्दारसँगै उनलाई बिक्री गर्ने महिलालाई पनि प्रहरीले समाउन सफल भएको छ। मानव बेचविखन व्यूरोको टोलीले १५ वर्षीया बालिका बेचेको अभियोगमा नुवाकोट सूर्यगढी गाउँपालिका वडा नम्बर ६ की ५० वर्षीया कान्छी तामाङ (सुनिता तामाङ) भन्ने कृष्णमाया लामालाई बुधवार नियन्त्रणमा लिएको हो।

१५ वर्षको कलिलो उमेरमा बेचिएकी बालिका २२ वर्षको हुँदा उद्दार भएको हो। आठ वर्ष उनले भारतको कोठीमा नरकीय जीवन बाँच्नुपर्‍यो।

'लगेको केही समयमा नै देह व्यापारमा लगाएका रहेछन्। ग्राहकलाई सन्तुष्टि नदिए पिटाइ खानुपर्ने रहेछ,' अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले उद्दार भएकी युवतीलाई उदृत गर्दै भने।

२०६८ माघमा आफ्नो नाता पर्ने कृष्णमायाले भारतमा लगेर बिक्री गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ। आर्थिक अवस्था कमजोर भएको र काठमाडौंको एक होटलमा काम गर्दै आएकी बालिकालाई ललाइफकाइ भारत पुर्‍याएकी थिइन् उनले। प्रहरी नियन्त्रणमा रहेकी लामाले अहिलेसम्म मुख खोलेकी छैनन्।

'उनले अहिलेसम्म प्रष्ट के हो भनेकी छैनन्। हामी अनुसन्धान गरिरहेका छौं,' व्युरोका एसपी अनुपम शमशेर जवराले भने।

ती महिलाले बालिकालाई भारतसम्म लैजान बसमा वान्ता रोक्ने ‍औषधी भन्दै लठ्ठाउने ‍औषधी खुवाएकी थिइन्। उनलाई सुरुमा भारतको मधुवन पुर्‍याइएको थियो।

'गाडीमा वान्ता हुन्छ। औषधी खाऊ भन्नु भयो। ‍औषधि खाएपछि केही थाहा नै भएन,' उद्दारपछि युवतीले प्रहरीलाई भनेकी छिन्।

भोलिपल्ट लामाले बालिकालाई भारतमा रहेको कोठीका सञ्चालकहरु लक्ष्मी र हेमा नाम गरेका महिलासँग भारु १० हजार रुपैयाँ बुझी ती महिला नेपाल फर्किएकी थिइन्।

त्यसपछि उनीहरुले १५ वर्षीया बालिकालाई करिब एक महिना कोठामा बन्धक बनाई राखेका थिए। कम उमेरकी बालिकाको शाररीक विकास छिटो गराउन सुई र औषधीको प्रयोगसमेत गराएका थिए ।

'उनीहरुले विभिन्न सुई र औषधि खान दिन्थे,' बालिकाले प्रहरीसँग भनेकी छिन्।

त्यसपछि उनीहरुले भारतको नयाँ दिल्लीस्थित कोठी नम्बर ५११ मा ती बालिकालाई पुर्‍याए। उनले त्यहाँ झन्डै दुई वर्ष बिताउनुपर्‍यो। त्यसपछि फेरि कोठी नम्बर ६४ मा उनलाई बेचियो। त्यहाँ पनि उनले दुई वर्ष रहिन्। दुई वर्षपछि फेरि कोठी सारियो। कोठी नम्बर ४० जहाँ उनलाई १५ दिनमात्र राखियो। त्यसपछि उनलाई पुन: कोठी नम्बर मै ६४ सारिएको अनुसन्धानमा देखिन्छ।

कोठी नम्बर ६४ मा नै एक युवक ग्राहक बनेर पुगेका थिए। संयोग नै हो, ती ग्राहक नेपाली नै थिए। बालिका र युवकबीच कुराकानी हुन थाल्यो। युवक विस्तारै उनीप्रति आकर्षित हुन थालिसकेका थिए। त्यो युवक अब ती वयस्क युवतीलाई कोठीमा छोड्न चाहँदैन थिए।

'उसले युवतीलाई कोठीबाट भगाउने उद्देश्यले बाहिर लग्ने अनुमति पनि कोठी संचालकसँग मागेको रहेछ। तर दिएनछन्,' एक प्रहरी अधिकृतले सुनाए।

युवक करिव सात महिना युवतीलाई भेट्न र भगाउने योजना बनाउन कोठी पुगिरहन्थे। एक दिन उनले युवतीलाई भगाउन सफल भए। त्यसपछि आफ्नै कोठामा लगेर राखे। युवक केही वर्षदेखि भारतमा नै रोजगारिको शिलशिलामा बस्दै आएका हुन्। उनीहरुले दुई महिनासँगै बिताए। यसैबीच युवती विरामी परिन्। शरीरभरि खटिरा आए।

'दुई महिनासम्म त उसले नै उपचार समेत गरेर राखेको थियो,' एक प्रहरी अधिकृतले सुनाए।

उनीहरु बिहे गर्ने तयारीमा थिए। तर, त्यसैबीच उनीहरु बीच खटपट भयो। युवती युवकलाई छोडेर नेपाल आइन्। केही समय नेपाल नै बसिन्। तर, युवकको मायाले छोडेन। पुनः भारत नै जाने सोच बनाइन्। त्यसपछि एक जना साथीसँग भारत जाँदै गर्दा माइती नेपालले शंकाकै भरमा नियन्त्रणमा लियो।

यो पनि पढ्नुहोस

गन्तव्य अमेरिका बनाउँदै हिँडेका चार युवक, यसरी भए मलावीमा पुगेर बन्धक, भन्छन् : कति पैसा फस्यो नसोध्‍नुस है



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell