टुँडिखेलको मध्य भागमा रहेको ऐतिहासिक र सांस्कृति महत्व रहेको खरीको रुख ब्युताउँने प्रयास सुरु भएको छ। अकुपाइ टुँडिखेल अभियान अन्तर्गत दोस्रो हप्ता शनिवार खरीको बोट रोपिएको हो।
अकुपाइ टुँडिखेलका संयोजक विजय श्रेष्ठका साथै स्थानीय मिलेर टुँडिखेलमा खरीको बोट रोपेका हुन्। उनीहरुले बोटको संरक्षण गर्न टुँडिखेल आउने सबैलाई आग्रह समेत गरेका छन्। पुराना रस्ताले बोट रोपिरहँदा नयाँ पुस्ताले बोटमा पानी हालेर खरीको रुख ब्युताउँने अठोट गरेका थिए।
कार्यक्रममा बोल्दै वनस्पतिविद् तीर्थबहादुर श्रेष्ठले टुँडिखेल खुल्ला हुनुपर्नेको महत्वबारे बोलेका थिए। काठमाडौंमा अक्सिजनका लागि टुँडिखेलजस्ता खुल्ला ठाउँ आवश्यक रहेको बताएका थिए।
पढ्नुस: एसियाकै विशाल 'परेड मैदान टुँडिखेल': कसरी पर्यो राणा, राजा, सेना र गणतन्त्रको अतिक्रमणमा
वि.सं १९८१ पौष १४ गते राणा प्रधानमन्त्री चन्द्र शमशेर जंगबहादुर राणाले त्यस बखतको विशाल टुँडिखेलको मध्य भागमा रहेको खरीको विशाल रुखसहितको ऐतिहासिक चौतारामा बसेर नेपाल अधिराज्यबाट दासत्व मोचनको घोषणा गरेका थिए।
चन्द्र शम्शेरको उक्त घोषणालाई त्यस बेला धेरैले क्रान्तिकारी परिवर्तनको संकेतका रूपमा व्याख्या गरेका थिए। टुँडिखेलको सोही चौतारामा बसेर राणाहरुले ऐतिहासिक निर्णय लिने गरेका थिए।
Source: Images of the Century
खरीको बोटसँग थुप्रै किम्बदन्तीहरु रहेका छन्। वसन्तपुरमा होलीमा ठड्याइने चीरलाई खरीको बोट सँगै ल्याएर सेलाउने प्रचलन रहेको थियो। फागु पूर्णिमाका दिन टुँडिखेलमा गुरुमापा राक्षसलाई भोज खुवाउने गरिन्छ भने पाहँचह्रेको एक दिनपछि त्यहाँ द्य: ल्वाकिगु (खट जात्रा) गरिन्छ। गुरुमापा राक्षसको संहारस्वरुप टुँडिखेलमा त्यसअघि सिपाही गुठीका भोसीको र बागबजारका खड्गीहरुले घोडा दौडाउने गरेको स्थानीयहरूको दाबी छ।
राणा शासनको अन्त्यपछि भारतका तत्कालीन प्रधानमन्त्री जवरलाल नेहरु नेपाल आउँदा होस् या २०१७ सालमा बेलायती महारानी एलिजावेथको स्वागत टुँडिखेलमा रहेको खरीबोटको चौतारामा नै स्वागत गरिएको थियो।
शाहकालमा टुँडिखेल राजाको शक्तिकेन्द्र बन्दै गएपछि पञ्चायत शासनका सूत्रधार महेन्द्रले टुँडिखेलको मध्य भागमा रहेको ऐतिहासिक खरिबोटसहितको चौतारा भत्काउन लगाएका थिए।
त्यसयता, टुँडिखेलमा रहेको अर्को रुखलाई खरीको रुख मानि पूजा हुँदै आएको थियो।
अकुपाइ टुँडिखेल अन्तर्गत गत शनिवार भने रत्नपार्कदेखि खुल्लामञ्च र सैनिक मञ्चको बीचमा रहेको बाटोमा मानव साङ्लो बनाइएको थियो। तीन महिनासम्म प्रत्येक शनिवार टुँडिखेल क्षेत्रमा रचनात्मक र चेतनामुलक कार्यक्रम संचालन गरिनेछ। आउने दिनहरुमा टुँडिखेलको कथा, यहाँ संचालनहरु जात्रा पर्वका बारेमा चर्चाका साथै कविता वाचन,चेस प्रतियोगिता, विभिन्न खेलकुद गतिविधिहरु संचालन गरिने बताइएको छ।