PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

रानीपोखरीमा पानी अड्याउन 'माअप्पा' बिछ्याउने काम सुरु, पुनर्निर्माण नसकिँदै किन बाहिरियो भक्तपुर?

रानीपोखरीमा पानी अड्याउन 'माअप्पा' बिछ्याउने काम सुरु, पुनर्निर्माण नसकिँदै किन बाहिरियो भक्तपुर?

सहयोग रञ्जित/पहिलोपोस्ट


काठमाडौंः २०७२ सालको भूकम्पमा क्षति पुगेको रानीपोखरीको पुनर्निर्माणको काम भइरहेको छ। अहिले रानीपोखरीमा पानी अड्याउनका लागि कालो माटोले सलामी दिने र माअप्पा (पातलो इट्टा) बिछ्याउने काम भइरहेको छ। मन्दिर र पुलको काम पनि ६ महिना भित्र सकाउने लक्ष्यका साथ कामदारहरु लागि परेका छन्।

सुरुमा पानी अड्याउनका लागि भक्तपुरबाट दक्ष जनशक्ति खटाइएको थियो। त्यसका लागि दैनिक रुपमा ३० देखि ४० महिला खटेका थिए। उनीहरुले हात र खुट्टाले माटो मुस्ने देखि पानि अड्याउनका लागि कालो माटो बिछ्याउने काम गर्दै आएका थिए।

तर, यसरी काम गर्दा ढिला हुने भन्दै अहिले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले एस्काभेटर र डोजरले माटोको काम गर्न सुरु गरेको छ। उपभोक्ता समिति मार्फत माटो र इट्टा बिछ्याउने काम भइरहेको छ।

तिहारपछि भने भक्तपुरबाट रानी पोखरीमा कुनै काम भएको छैन।

रानीपोखरीबाट किन बाहिरियो भक्तपुर ?

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका विज्ञ समुहका राजुमान मानन्धरले भक्तपुरबाट हाल रानीपोखरीमा माटोको काम नभएको बताए।

भने, 'पहिला भक्तपुरका दक्ष जनशक्तिले हात र खुट्टाले माटो मुस्ने काम गर्थे। तर, त्यसरी काम गर्दा त पोखरीमा माटो बिछ्यानउ अझै दुई वर्ष लाग्ने देखियो। महंगो पनि धेरै पर्ने भयो। दैनिक ज्याला दिन पनि हाम्रो लागतले नभ्याउने देखेर अहिले एक्साभेटरले माटो मुस्ने काम भइरहेको छ। डोजरले माटो बिछ्याउने ठाउँमा लगेर लग्छ। दुई – तीन जना दकर्मी र चार पाँच जना ज्यामी लगाएर काम भइरहेको छ। पहिला भन्दा छिटो काम भइरहेको छ।'

मानन्धरका अनुसार पोखरी र मन्दिरको काम अहिले तीव्र गतिमा बढिरहेको छ। पोखरीको चारै तिर पर्खाल लगाउने काम करिब ८७ प्रतिशत काम सकिएको छ भने माटो बिछ्याउने काम १० प्रतिशत भएको छ। पुस मसान्त सम्म माटो बिछ्याउने काम सकिनेछ।

भूकम्पबाट मन्दिरमा क्षति पुगेपछि रानी पोखरीको पुनर्निर्माण ओझेलमा परेको थियो। महिनौंसम्म रानीपोखरी अलपत्र परेपछि सरकारले पहिला रानीपोखरी पुनर्निर्माणको काम काठमाडौं महानगरपालिकालाई दिएको थियो। महानगरपालिकाले रानीपोखरीको पुनर्निर्माणको काम ठेकेदारमार्फत गराउने भएपछि स्थानीयले विरोध गरेका थिए।

पढ्नुस: रानीपोखरी पुनर्निर्माण: काठमाडौँ महानगरपालिका 'निकम्मा' साबित भएपछि भक्तपुरको हातमा आएको जिम्मेवारी

विरोधका बाबजुद रानीपोखरीमा ठेकेदारबाटै कंक्रिटको प्रयोग गरी पुनर्निर्माणको काम सुरु गरिएको थियो। त्रि - चन्द्र कलेजपट्टीको क्षेत्र र मध्य भागमा रहेको मन्दिरमा कंक्रिट प्रयोग गर्दै रानीपोखरीको पानी सुकाइएपछि स्थानीयले विरोध चर्काएका थिए। रानी पोखरीमा कंक्रिटको प्रयोग भएकोमा विरोध खेपिरहेका काठमाडौंका मेयर विद्यासुन्दर शाक्यले रानीपोखरीमा कफी सप बनाउने घोषणासमेत गरेका थिए। मेयरको उक्त घोषणापछि उपमेयर हरिप्रभा खड्गीले निर्माणास्थलमा तालासमेत लगाएर विरोध जनाएकी थिइन्।

विवादकाबीच रानीपोखरीको काम ठप्प भयो। राष्ट्रपति विद्यादेवी भण्डारीले नै रानीपोखरी पुनर्निर्माणको शिलान्यास गरेकोले पनि पोखरी निर्माण नहुँदा सरकार निकै आलोचित बन्दै गएको थियो।

फलस्वरुप गत वर्षमात्रै सरकारले रानीपोखरी पुनर्निर्माणको काम काठमाडौं महानगरपालिकाबाट छिनेर पुनर्निर्माण प्राधिकरणलाई दिएको थियो।

पढ्नुस: रानीपोखरीमा कालो माटो: तिहारसम्म पानी जम्मा गर्ने लक्ष्य, यसरी बन्दैछ पोखरी

प्राधिकरणले स्वामित्व पाएपछि उपभोक्ता समिति अन्तर्गत भक्तपुरका दक्ष जनशक्तिको परिचालन गरि रानीपोखरीको पोखरी र पर्खालका काम भएको थियो। तिहारसम्म पानी अड्याउने लक्ष्य लिइएपनि त्यो पूरा हुन सकेन। त्यसैले हातले माटोको काम गर्दा ढिला हुने देखेर तिहारपछिदेखि मेसिनको प्रयोगले माटोको काम भइरहेको छ।

भक्तपुरबाट करिब ८ महिना ४० भन्दा बढी दक्ष कामदारको टोलीलाई अगुवाई गरेका कृष्ण दुमरुले काम छिटो गर्नका लागि डोजरको प्रयोग गर्ने भनेपछि आफूहरु नआएको बताए। पर्खालको काम केही प्रतिशत बांकी रहेको तर हाल गाडीका लागि बाटो चाहिएकोले पर्खाल बनाउने काम समेत रोकिएको उनले बताए।

भने,' हामी त उहाँहरुले सहयोग गर्न बोलाएका आएका हौं। तर उहाँहरुले का छिटो होस् भनेर माटोको काम डोजर लगाएर गर्ने भन्नु भयो। यस्तै, पर्खालको काम समेत स्थगित भएको छ। भक्तपुरको आवश्यक्ता परेको अवस्थामा रानीपोखरी बनाउन हामी पछि हट्नेछैनौं। उहाँहरुले बोलाए हामी आउँनेछौं।'  

६ महिनामा बन्नेछ मन्दिर

रानी पोखरीको मध्य भागमा रहेको बालगोपालेश्वर मन्दिर अहिलेको पुस्ताले देखेको भन्दा फरक शैलीको हुनेछ। गत फागुनमा रानीपोखरीमा रहेको मन्दिरलाई अहिलेको भन्दा पृथक अर्थात ग्रन्थकुट शैलीमा नै बनाउने सहमति भएको थियो।

अब बन्ने मन्दिरको पुनर्निर्माणका लागि कंक्रिटको प्रयोग गरिने छैन। पुरातात्विक शैलीमा पुरानै विधिले मन्दिर पुनर्निर्माण हुने बताइएको छ।

२०७२ सालमा भूकम्प जाँदा मन्दिर गुम्बज शैलीको थियो। तर त्यो राणाकालमा रानीपोखरीको परिवर्तित स्वरुप थियो।

पर्सियाका राजकुमार वाल्डेमरले नेपाल भ्रमण गर्दा बनाइएको रानीपोखरीको चित्रले फेला परेपछि अभियन्ताहरुले रानीपोखरी राणाकालिन शैलीमा नभएर चित्रमा देखिएको झै ग्रन्थकुट (शिखर) शैलीमा नै बनाउनु पर्ने माग गरेका थिए। काठमाडौं महानगरपालिकाले रानीपोखरी गुम्बज शैलीमा पुनर्निर्माण गर्ने भएपछि स्थानीयहरुको विरोधका कारण रानीपोखरी निर्माण धेरै समय रोकिएको थियो। पछि सबै सरोकालवालाहरुको सहमतिमा रानीपोखरीमा पुरानै शैलीमा मल्लकालिन मन्दिर  बनाउने सहमति भएको थियो।

ठेकेदार कम्पनीले मन्दिरका साथै मन्दिर जाने पुल र पोखरी वरिपरिको बगैंचासमेत पुनर्निर्माण गर्ने ठेक्का पाएको छ। मन्दिर, पुल र बगैंचा पुनर्निर्माणका लागि १४ करोड २७ हजार ५ सय ५७ रुपैयाँ लागत छुट्याइएको प्राधिकरणले जनाएको छ।

मानन्धरका अनुसार अहिलेसम्म मन्दिरको काम करिब १२ प्रतिशत सकिएको छ। मन्दिर निर्माणको काम ६ महिना भित्रै नै सकिने उनले बताए।



ट्रेन्डिङ पोस्ट

Ncell