PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

त्रिशुलीमा बेपत्ता व्यक्ति सत्य निरुपणको अध्यक्षको प्रत्यासी सूचीमा, समिति भन्छ : कानुनी रुपमा मृत्युको जानकारी छैन



कुञ्जरमणि भट्टराई

त्रिशुलीमा बेपत्ता व्यक्ति सत्य निरुपणको अध्यक्षको प्रत्यासी सूचीमा, समिति भन्छ : कानुनी रुपमा मृत्युको जानकारी छैन

काठमाडौं : बेपत्ता पारिएको व्यक्तिको छानविन सत्य निरुपण तथा मेलमिलाप आयोगको पदाधिकारी सिफारिस समितिले आकांक्षीको नाम सार्वजनिक गरेको छ। आवेदन दिई योग्यता पुगेका ५०, विभिन्न संस्थाबाट सिफारिसमा परेका चार र राजनीतिक सहमतिपछि समितिले थप गरेका समेत ६१ जनाको नाम सार्वजनिक गरिएको हो।

सार्वजनिक गरिएकोमध्ये एक नाम दुर्घटनामा हराइरहेका एक वरिष्ठ अधिवक्ताको समेत छ। सार्वजनिक भएको सूचीको ४३ औँ नम्बरमा वरिष्ठ अधिवक्ता अरविन्दकुमार सिंहको नाम छ।

साउन २४ गते धादिङको सालाङघाटमा भएको सवारी दुर्घटना परेर सिंह हराइरहेका छन्। परिवारका सदस्यले खोजीको सार्वजनिक सूचना जारी गरेका छन्। उनलाई नभेटिएपछि 'न सास न लास'को अवस्थामा छ परिवार।

हराइरहेका भनिएका व्यक्तिको नाम सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष वा सदस्यको दाबेदारका रुपमा सार्वजनिक हुँदा धेरैले अचम्म मानेका छन्। किनकि सार्वजनिक भएका नाममा सिफारिस समितिले उजुरी माग गरेको छ। पाँच दिनभित्र उजुरीको समय तोकिएको छ। तर, हराइरहेका व्यक्तिको नाम सार्वजनिक सुनुवाइका लागि सार्वजनिक नाममा उल्लेख छ।

सिंह सर्वोच्च अदालत बार एशोसिएसनका पूर्व उपाध्यक्ष पनि हुन्। बारले यसअघि उनकै नाममा शोकसभा पनि गरिसकेको छ।

कसरी परे सिफारिसमा?

सिफारिस समितिले प्रमाण अभावमा भन्दै नाम सार्वजनिक गरेको हो।

सिफारिस समिति सदस्य तथा प्रवक्ता शर्मिला कार्कीले सिंह बेपत्ता भए पनि कानुनी रुपमा मृत्यु भएको प्रमाण नभएको बताइन्। समितिले छलफल गरेरै नाम समावेश गरेको कार्कीको भनाई छ।

कार्कीले भनिन्, ‘उहाँ बेपत्ता हुनुहुन्छ। उहाँको परिवारले मृत्यु भएको भनेर पुष्टि नभएको भन्दै काजकिरिया गरेको छैन। छलफल गरेर नै कानुनी रुपमा हामीले उहाँलाई सिफारिस गरेका हौं।’

के हुन्छ प्रक्रिया?

नामावली सार्वजनिक भएसँगै अब उजुरीको समय रहनेछ। पाँच दिनको अवधिमा परेका उजुरी समेत मूल्याङ्कन गरेर समितिले अन्तिम नामावली सिफारिस गर्नेछ।

राजनीतिक सहमतिमा आयोगले थप गरेका सात जनाको सिफारिस करिब निश्चित देखिन्छ। जस अनुसार सत्य निरुपणमा गणेशदत्त भट्ट र बेपत्ता आयोगको नेतृत्वमा पूर्व अध्यक्ष लोकेन्द्र मल्लिक नै सिफारिस हुने निश्चित छ।

उजुरी जाँचबुझपछि केही हप्तामै दुई आयोगका पदाधीकारी टुंगो लगाइने सिफारिस समितिका सदस्य रामनाथ मैनालीले बताए।

पढ्नुस् :

‘सत्य निरुपणमा भट्ट र बेपत्तामा मल्लिक’लाई नेतृत्वमा ल्याउने तयारी, नामावली सार्वजनिक गर्दै सिफारिस समिति



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell