PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

नयाँ मन्त्रीलाई महासेठले पढाए - 'हामीले हनुमान शैलीमा काम गर्‍यौं : नेम्वाङको जवाफ - 'गफले काम हुँदैन'



नेत्र तामाङ

नयाँ मन्त्रीलाई महासेठले पढाए - 'हामीले हनुमान शैलीमा काम गर्‍यौं : नेम्वाङको जवाफ - 'गफले काम हुँदैन'

काठमाडौं : बिहीवार दिउँसो सिंहदरबारस्थित भौतिक पूर्वधार तथा यातायात व्यवस्था मन्त्रालयमा नयाँ मन्त्रीलाई स्वागत गर्ने तयारीमा थियो।

दिउँसो १ बज्दा नवनियुक्त मन्त्री मन्त्रालयमा पदबहालीका लागि आइपुग्दै थिए। नयाँ मन्त्री पुग्नु अघि नै मन्त्रालय प्रांगणमा स्वागतका लागि भिड लागेको थियो। त्यहीबेला पूर्व भइसकेका मन्त्री रघुवीर महासेठ चिटिक्क सजिएर मन्त्रालय आइपुगे।

कमैको चासो परेका उनी सीधै आफ्नो कार्यकक्ष पसे। यद्यपि, उनको कार्यकक्षमा मन्त्रीको नेमप्लेटमा लेखिएको थियो- मा. वसन्तकुमार नेम्बाङ।

कार्यकक्षमा सरासर पुगेका उनले सुरुमै एक गिलास पानी मगाए। पानी पिएपछि उनी नयाँ मन्त्रीलाई स्वागत तयार गर्न तयारी अवस्थामा बसे।

तल प्रांगणमा ठीक एक बजे आइपुगे आजै शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका नवनियुक्त मन्त्री नेम्बाङ।

शुरुमा उनलाई मन्त्रालयका सचिव देवेन्द्र कार्कीले स्वागत गरे। मन्त्रीको स्वागतमा मन्त्रालयका सचिवसहित कर्मचारीहरु भित्रैसम्म स्वागतमा उभिएका थिए।

मन्त्रालयमा स्वागत सकेपछि नेम्बाङ सीधै बैठक कक्षामा पुगे। त्यहाँ उनलाई पर्खिरहेका थिए हिजैबाट पूर्व मन्त्री भइसकेका मन्त्री महासेठ।

कार्यक्रम महासेठको बिदाई र नेम्बाङको स्वागतमा रहेछ। सचिव कार्कीले महासेठलाई धन्यवाद दिएर बिदाईको मन्तव्य राखे। त्यसपछि महासेठलाई बिदाई मन्तव्यका लागि अनुरोध भयो।

नेम्बाङलाई महासेठको १२ मिनेटको पाठ

शुरुमै धेरै समय लिन्न भनी आफ्नो भनाई शुरु गरेका उनले शुरुमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिए।

समृद्ध नेपाल र सुखी नेपाली कसरी बनाउन सकिन्छ भनेर आफूलाई यो मन्त्रालय जिम्मेवारी दिएर २० महिनासम्म काम गर्न पाएकोमा अनुग्रही भएको बताए।महासेठले भने, 'सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले जुन विश्वासका साथ मलाई २० महिना यो मन्त्रालयको जिम्मेवारी दिनुभयो। उहाँलाई धेरै धेरै धन्यवाद।'

'सडक विभागमा हानुमान शैलीमा काम भयो'

त्यसपछिउनले सडक विभागको कामको प्रशंसा गरे।

शुरुमा सडक विभागले खासै कामै नगर्ने सोचेको उल्लेख गर्दै उनले आफूले नसोचेको काम सडक विभागले गरेको दाबी गरे। मन्त्रीजी यो त असम्भव भनेर सचिवहरुले भनेको उल्लेख गर्दै उनले आफूले प्रोत्साहन दिएकोले काम सफल भएको तर्क गरे।

'तपाईहरुले सक्नुहुन्छ। हानुमानलाई लागेको थियो। म उड्न सक्दिनँ। तर जब हनुमानले बुझ्दै गयो। उ उडेरै देखायो। पहाड पहाडमा उडेर देखायो। सडक विभागले पनि यसरी नै काम गर्‍यो। म धन्यवाद दिन्छु सडक विभागलाई,' महासेठले भने।

आफ्नो पालामा अघिल्ला वर्षहरुमाभन्दा धेरै काम भएको दाबी पनि प्रस्तुत गरे। भने, 'एक सालमा ७२ भन्दा बढी पुल बनेको थिएन। ६०० किमी बढी सडक बनेको थिएन। मेरै पालामा पहिलो आर्थिक वर्षमा ८३ पुल बन्यो। पछिल्लो आर्थिक वर्षमा असार १८ गतेसम्म २सय ८३ वटा पुल बन्यो।'

त्यस्तै उनले पछिल्लो आर्थिक वर्षमा एक हजार ९८८ भन्दा बढी सडक बनेको दाबी गरे। उनले यो रेकर्ड नयाँ मन्त्रीले तोड्ने तर्कसमेत गरे।

'पानीजहाजदेखि रेलवे र सिन्डिकेटअन्त्यसम्म सफल'

पानीजहाज विभागदेखि रेल विभागसम्मको काममा भएको प्रगति फेहरिस्त सुनाउँदै उनले रेलवे सञ्चालन अन्तिम स्टेजमा रहेको बताए। महासेठले भने,'रेलवे सञ्चालनअब अन्तिम स्टेजमा छ। फागुन ७ गते सञ्चालन गर्ने सोच बनाउँदै थियो। तर, अब नयाँ मन्त्री आउनुभएको छ। नयाँ नयाँ डिपिआर पनि सम्पन्न भएको छ।'

उनले पानीजहाज नयाँ फड्को मारेको उल्लेख गर्दै सडक बोर्डसम्बन्धी, रेलसम्बन्धी नयाँ नयाँ विषय आएको बताए। त्यसैगरी उनले काठमाडौंलाई जामरहित बनाउने योजना यसपालीको रहेकोसमेत बताउन भ्याए।'हामीले काठमाडौं व्यवस्थित गर्न सकेका थिएनौ। यस वर्ष हामीले काठमाडौं व्यवस्थित गर्ने योजना बनाएका थियौ। अब यो नयाँ मन्त्रीले हेर्नुहुनेछ। पिचका लागि अर्थमन्त्रालयमा कुरा गइसकेको छ। त्यो काम हुन सकेमा काठमाडौंमा जाम हुदैन।' त्यसो त उनले सडकमा स्मार्ट लाइटको काम हुने विषय पनि आफूले प्रयास थालिसकेको बताए।

आफ्नो कार्यकालमा प्रधानमन्त्रीले सोचेभन्दा र मन्त्रालयको लक्ष्यभन्दा राम्रो काम भएको दाबी गर्दै उनले सिन्डिकेटमासमेत रेकर्ड राखेको तर्क गरे। भने, 'मेरो पालामा २५ वर्षदेखि क्रियाशिल सिन्डिकेट अन्त्य भएको थियो। यो मन्त्रालयले रेकर्ड राखेको थियो। रेकर्ड छ। उनले आफ्नो कार्यकालको प्रगति पुस्तिकासमेत चाँडै सार्वजनिक हुने बताए। भने, 'प्रगित पुस्तिका मैले तयार गरेको छु। प्रेसमा जानेवाला छ। अत्यन्तै राम्रो भएको छ।'

मन्त्री पदबाट बिदा हुँदै गर्दा पनि अत्यन्तै उत्साही देखिएका उनले झन्डै १२ मिनेट मन्तव्यकोबिट मार्नुअघिपनि प्रधानमन्त्रीलाई धन्यवाद दिँदै भने, 'म असफल मन्त्रीका रुपमा नभई सफल मन्त्रीका रुपमा जाँदै छु।' महासेठले यसो भन्दा हलमा ताली बजेको थियो।

नयाँ मन्त्रीलाई सहयोग गर्ने वचन दिँदै उनले नेम्वाङलाई सुझावसमेत दिए, 'नयाँ मन्त्रीले सहयोग मागेसहयोग दिन्छु र सल्लाह मागे सल्लाह दिन्छु। मेरो पनि स्वागत छ नयाँमन्त्रीलाई।प्रधानमन्त्रीको सोचेअनुसार काम गर्ने हुन्छ भन्नेमा म विश्वस्त छु।'

अन्त्यमा महासेठलाई बिदाईको चिनो दिँदा सबैले नयाँ मन्त्रीसँग आँगालो मार्न अनुरोध गरे। त्यसपछि भने पूर्वमन्त्री महासेठले गम्भीर प्रश्न गरे : मलाई सधैका लागि बिदाई गर्न लागेको त हैन? त्यसपछि मन्त्रालयबाट बाहिरिए महासेठ।

यता नेम्बाङ भने पदबहालीका लागि आफ्नो कार्यकक्षमा ओर्ले।

गफले काम हुँदैन, ठोकुवा गर्न सक्दिनँ

कार्यक्षमा पुगेपछि नवनियुक्त मन्त्री नेम्बाङले केरुङ काठमाडौं रेलमार्गको सम्भव्यता अध्ययन गर्न वार्ता गर्नेनिर्णयमा हस्ताक्षर गरे। नोभेम्बर २६ मा नेपाल चीन बैठक हुँदैछ। त्यही बैठकमा यस विषयमा वार्ता गर्ने पहिलो निर्णय भएको मन्त्रालयले जनाएको छ।

काठमाडौंका सडक, रेल र पानीजहाजका विषयमा प्रश्न गर्दा मन्त्री नेम्वाङले आफू भर्खरै मन्त्रालय टेकेकोले कुनै पनि विषयमा ठोकुवा गरेर भन्न नसकिने धारणा राखे। उनले भने, 'म भर्खरै मन्त्रालयमा पाइला राख्दैछु। कुन विषय कसरी अघि बढेको छ। दुई चार दिन नहेरी ठोकुवा गरी भन्न सक्ने अवस्था छैन।'

यो पनि : भौतिक पूर्वाधारमन्त्री नेम्वाङले सम्हाले पदभार

सडक मार्ग निर्माणमा आगामी दिनमा थप बुझेर तीव्र पार्ने उल्लेख गर्दै उनी सचिव र कर्मचारीलाई निर्देशन दिनका लागि राखिएको बैठकमा उक्ले।

नेम्बाङले गफले काम नहुने उल्लेख गर्दै यसमा सबै कर्मचारीको साथ चाहिने बताए।'नयाँ विभाग र नयाँ नीति छन्। डाँडाकाँड डोजर कुदाउँथ्यौ। अहिले टनेलको कुरा छ। हिजोका दिनमा ढिलासुस्ती थियो होला,' मन्त्री नेम्बाङले भने, 'अहिले स्वच्छ र तीव्र पार्ने काम हुन्छ भन्ने प्रधानमन्त्री ओलीको निर्देशन छ। यो काम म वसन्तकुमार नेम्बाङ एक्लैबाट सम्भव छैन। यहाँहरुको साथ सहयोग बिना। नयाँ तरिकाले काम नगरे यो सबै गफैमात्र हुन्छ।'

मन्त्री एक्लैको तागत र लागतले केही काम नहुने उनको भनाई थियो। नेम्बाङले भने, 'यहाँका साथीहरुको सहयोग बिना मन्त्रीको तागत र लागतले मात्र काम हुन सक्दैन। सबैले साथ दिएमा ढिलासुस्ती हट्छ। जवाफदेहितालाई यसले देखाउँछ। जति दिन यस मन्त्रालयमा रहन्छु। यही ढंगले म नेतृत्व गर्न चाहन्छु। तपाईहरुले पनि सहयोग गर्नुहुन्छ भन्न विश्वास गरेको छु।'

उनले सरकार दोस्रो वर्षमा लाग्दै गरेको उल्लेख गर्दैमहासेठको सुझाव पनि लिने बताए।

भने, 'हाम्रा ठुला आयोजना छन्। सबैले स्पिडअपमा काम गरौं। अघि मन्त्रीजीले भनिसक्नुभयो। पार्टीको स्थायी कमिटिको सदस्य पनि हुनुहुन्छ। उहाँले त्यहाँबाट पार्टीमार्फत निर्देशन दिन सक्नुहुन्छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell