PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

बैंकको खाता नै रित्याउने गरी आएको त्यो म्यासेज...



सविन ढकाल

बैंकको खाता नै रित्याउने गरी आएको त्यो म्यासेज...

समय : आइतवार दिउँसो करिब ३:३० बजेको हुँदो हो।

गोपालमान राजबहाकको मोबाइलमा घन्टी बज्यो। फोन उठाए। आवाज चाहिँ परिचित थिएन।

'म जनता बैंकबाट बोलेको। केही प्राविधिक गडबडी आएको छ। डेढ घण्टा जति मोबाइल अफ गर्नुहोला।'

सिस्टममा समस्या आएको ब्रिफिङ सहित मोबाइल अफ गर्न दिइएको सुझाव उनले तत्कालै पालन गरे।

मोबाइल अफ भयो।

उनले करिब सात बजेतिर मोबाइल अन गरे। तोकेको समयभन्दा बढी ने समय मोबाइल अफ भइरह्यो। अन गर्ने यादै रहेन उनमा।

तर, जब मोबाइल अन गरे, म्यासेजको ओइरो। तीन वटा फरक फरक समयमा म्यासेज आएको रहेछ। साधारण अक्षर चिनेका राजबहाकले अग्रेजीमा आएको म्यासेज बुझेनन्। उनले अन्य समयमा आइरहने सामान्य म्यासेज नै ठानिरहेका थिए।

म्यासेजको प्रतीकात्मक दृष्य।

उनी त्यतिखेर झसङ्ग भए जब त्यो म्यासेज उनका घरका अरुले देखे। साढे ८ बजेतिर परिवारका सदस्यलाई म्यासेज देखाएपछि राजबहाकको होस उड्यो। उनको मोबाइलमा आएको म्यासेज जनता बैकबाटै थियो। म्यासेजनमा तीन पटक गरेर १९ लाख ९९ हजार रुपैयाँ झिकिएको जानकारी थियो।

गोपालमानले कसैलाई पनि कुनै कारोबारको लागि चेक काटेका थिएनन्। न त एटिएम नै प्रयोग गरेका थिए। तर, पैसा कसरी र कसले झिक्यो त?

गोपालमानको निदहराम भयो। त्यसपछि उनले सिधै महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीलाई सम्पर्क गरे।

प्रहरीले राति नै राष्ट्र बैंक तथा जनता बैंकसँग सम्पर्क गर्‍यो। बैकले पनि अनुसन्धान शुरु गर्‍यो। बैंकका प्राविधिक तर्फका कर्मचारी राति नै बैंक पुगेर अनुसन्धान गर्दा गोपालमानलाई बैंकले उपलब्ध गराएको चेकबाट रकम नझिकी उनकै नामको नयाँ चेकबाट रकम झिकेको खुल्यो।

प्रहरीले दुई दिन लगाएर अनुसन्धान गर्दा नक्कली कागजपत्र बनाएर नयाँ चेकबुक निकालेको खुल्यो। र, त्यही चेकबाट कीर्ते हस्ताक्षर गर्दै खाताबाट रकम झिकेको फेला पर्‍यो। यही अभियोगमा प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको छ।

कीर्ते कारोबारमा पक्राउ पर्नेमा सुभाष श्रेष्ठ, कुमार तामाङ, मनिष घिमिरे, अन्जन बराल, सुमन पौडेल र गोविन्द घिमिरे रहेका छन्।

कसरी झिक्यो पैसा?

प्रहरीको अनुसन्धानमा उनीहरुले नक्कली कागजपत्र बनाएर चेक निकालेको देखिएको छ। त्यसमै कीर्ते हस्ताक्षर गरेर पैसा झिकेको देखिएको छ।

'कीर्ते हस्ताक्षर गर्न उनीहरुले रातिराति अभ्याससमेत गरेको अनुसन्धानमा देखिएको छ,' महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी बोगटीले भने, 'यसका लागि पाँच वटा रजिस्टरमा प्राक्टिस गरेको भेटियो।'

प्रहरी नियन्त्रणमा रहेका अन्जन बराल आइतवार जनता बैंकको ग्वार्को शाखा पुगेका थिए। बरालले पहिले नै गोपालमानको हस्ताक्षर, फोटो र अन्य नक्कली कागजपत्र बनाएका थिए।

आइतवार दिउँसो करिब १ बजेतिर बैक पुगेर उनले आफू गोपालमान भएको र आफ्नो चेक हराएको भन्दै नयाँ चेक बनाउन फारम फरेका थिए। उनले बैंकका कर्मचारीले मागेको आवश्यक कागजपत्र समेत उपलव्ध गराए। तर, बैंकका कर्मचारीले उनी गोपालमान हुन् वा होइनन् कुनै प्रमाणिकरण नै गरेन। मान्छे एउटा र फोटो अर्को हुँदा समेत बैंकले केही गरेन।

'यहाँ बैंकको केही गल्ती देखिएको छ। हामी यो पाटोमा कर्मचारीलाई अनुसन्धान गरिरहेका छौं,' परिसरका एसएसपी उत्तमराज सुवेदीले भने।

त्यसपछि उनीहरुको हातमा नयाँ चेक हात पर्‍यो। उनीहरुले त्यही चेकमा ९ लाख ९९ हजार रुपैयाँको रकम भरेर नयाँ बानेश्वरमा रहेको जनता बैंक पुगे। उनीहरु त्यहाँ पुग्दा साढे तीन बजिसकेको थियो। त्यहीबाट उनीहरुले गोपालमानलाई मोबाइल अफ गर्न भनेका थिए।

काटिएको चेक र पैसा पाउने व्यक्तिको नागरिकताको फोटोकपी बैंकमा दिए। त्यहाँ पनि बैंकका कर्मचारीले फोटोकपीको मानिस र पैसा झिक्ने व्यक्तिको अनुहार भिडाएको देखिएन। बैकबाट रकम झिकियो।

चार बजिसकेको थियो। बैंकको कारोबार बन्द भयो। त्यसपछि उनीहरु बैंकको इभिनिङ शाखा खोज्दै गए न्यूरोड। त्यहाँ मनिष श्रेष्ठ र शुभाष श्रेष्ठले उसैगरी दुई पटक पाँच पाँच लाख रुपैयाँ झिके।

'धेरै पटक पैसा झिक्दा शंका हुने भएकाले त्यस दिन उनीहरुले थप पैसा झिकेनन्,' महानगरीय प्रहरी परिसरका डिएसपी होविन्द्र बोगटीले भने।

गोपालमानको खातामा कूल २५ लाख रुपैयाँ थियो। त्यसमध्ये एक हजार कम २० लाख रुपैयाँ उनीहरुले निकालिसकेका थिए।

कसरी पक्राउ परे?

म्यासेज आएपछि आइतवार राति नै गोपालमानले प्रहरीलाई जानकारी दिइसकेका थिए। त्यसपछि प्रहरी, बैंकका कर्मचारी सबैलाई अलर्ट गरिएको थियो।

'बैंकको खातामा अझै रकम छ भन्ने उनीहरुलाई थाहा थियो। त्यही भएर फेरि पैसा झिक्न आउँछन् भन्ने थियो,' डिएसपी बोगटीले भने।

सोमबार बिहान १ लाख ७० हजार रुपैयाँको चेक लिएर शुभाष श्रेष्ठ फेरि बैंक पुगे। अलर्ट अवस्थामा रहेका बैंकका कर्मचारीले तत्कालै प्रहरीलाई खबर गरे। त्यसपछि उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिइहाल्यो।

त्यसपछि प्रहरीले २१ वर्षीय अन्जन बरालको कोठामा छापा मार्‍यो। उनको साथबाट ११ लाख रुपैयाँसँगै ८ सय ८० वटा विभिन्न व्यक्तिको नागरिकताको फोटो कपी, तीन सय जनाको पासपोर्ट साइजको फोटो, विभिन्न बैंकका चेक बुक र एटिएम कार्ड फेला परेको छ।

'उनीहरुले यसरी नै अन्य मानिसको खाताबाट रकम झिक्ने योजना बनाएको देखिन्छ,' डिएसपी बोगटीले भने।

प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ। उनीहरु विरुद्ध बैंकिङ कसुरमा अदालतबाट समय थप गरी अनुसन्धान भइरहेको छ। बैंकका केही कर्मचारी पनि अनुसन्धानको घेरामा छन्।

बाइक टेष्ट भन्दै चोरी गर्ने अन्जन

काभ्रे पाँचखाल घर भएका २१ वर्षीय अन्जन कालिमाटीमा कोठा लिएर बस्छन्। उनले २० हजार रुपैयाँ तिरेर फ्याट नै भाडामा लिएका छन्।

प्रहरीको अनुसन्धानमा अन्जनले बैकबाट अरुको खाता प्रयोग गरेर चोरी गर्ने मात्र होइन, मोटरसाइकल समेत चोरी गर्ने गरेको देखिएको छ।

'उसले मोटरसाइकल समेत चोरी गर्ने गरेको भेटियो। चोरी गरेको मोटरसाइकल फिर्ता समेत गरिसकेका छौं,' एसएसपी सुवेदीले भने।

बरालले सोरुम तथा अनलाइनमा बिक्रीमा राखिएका बाइक टेस्ट ड्राइभ गर्ने भन्दै जाने र फरार हुने गरेका थिए।

सम्वन्धित समाचार

मुक्तिनाथ बैंकमा पनि 'चोर'हरुको कारोबार : आफू जोगिन पाँच बोरा कागजपत्रमा आगो



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell