PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

पुरस्कारमा असमानताको गुनासो : 'सिल्भरलाई त बालै दिएनन्, यसरी त कसरी मोटिभेसन मिल्ला?'



नेत्र तामाङ

पुरस्कारमा असमानताको गुनासो : 'सिल्भरलाई त बालै दिएनन्, यसरी त कसरी मोटिभेसन मिल्ला?'

काठमाडौं : बुधवार प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एसियाली खेल(साग)मा पदक जित्ने खेलाडीलाई पुरस्कारको घोषणा गर्दै थिए। पदक विजेता खेलाडीहरु दिउँसो २ बजे प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए - घोषणाको प्रतीक्षासहित।

समयमै खेलाडी पुगे पनि पुरस्कार घोषणा भने डेढ घन्टा ढिला भयो। पुरस्कार घोषणाकै क्रममा स्वर्ण विजेता टिमका प्रत्येक खेलाडीलाई पनि पाँच/पाँच लाख रुपैयाँ पुरस्कार दिने भनियो। स्वर्ण विजेतालाई रकम दिने भएपछि रजत र कास्य पदक जितेका टिम र खेलाडीबारे केही घोषणा होला कि भन्ने चासो बढ्यो बास्केटबलका क्याप्टेन सतीश प्रधानलाई।

हल्लाखल्लामा पनि कान थापेर सुने उनले।

'पछाडि केही सुनिएको थिएन। तर, पनि एकदम ध्यान लगाएर सुनेँ। तर, सिल्भर र ब्रोन्जलाई केही अनाउन्स नै गरेन,' क्याप्टेन प्रधानले भने।

सम्पन्न सागमा बस्केटबल तर्फ नेपालले चार पदक हात पार्‍यो। बास्केटबल फूल कोर्ट महिलामा रजत र हाफ कोर्ट महिलामा कास्य पदक हात पारेको हो। यता पुरुष बास्केटबल फूल कोर्टमा कास्य र हाफ कोर्टमा रजत पदक मिलेको हो।

यसरी चारवटै इभेन्टमा पदक विजेता टिम खेलाडीलाई वेवास्ता गरेकोमा आफूलाई दु:ख लागेको प्रधानले बताए।

'केही भएन। सिल्भर, ब्रन्जको केही भएन। यो त हाम्रो पहिलो मेडल हो। चारवटै इभेन्टमा २ सिल्भर, २ ब्रोन्ज जित्यौं। प्रधानमन्त्रीले पदक विजेतालाई पुरस्कार अनाउन्स गर्दा खुशी लागेको थियो। टिम र इन्डिभिजुअललाई त एक्स्पेक्ट नै गरेको थिएनौं। हामी पर्खिरह्यौ,' उनले भने, 'तर हाम्रा बारेमा त केही पनि अनाउन्स गरिएन।'

पुरस्कार रकमबारे पनि अलमल भएको र कुनै कागजी प्रमाणसमेत नदिएकोमा आक्रोशित थिए, प्रधान।

'कसलाई कति हो प्राइज? पेपर पनि दिइएन,' उनले भने।

हरेक 'टिम गेम'का लागि उत्तिकै मेहनत गर्नुपर्ने भएकोले यस्तो खालको सरकारी रवैयाले खेलाडी निरुत्साहित हुने उनको तर्क छ। 'हामीले पनि यही मेहनत गर्ने हो। यसरी त मोटिभेसन नै भएन। हामीलाई नेग्लिजेन्स नै गरियो नि।'

आफूले पैसाको लागि यो विषय नउठाएको उल्लेख गर्दै समानताका लागि आवाज उठाउँदा राखेपा सचिव रमेश सिलवाल उनीसँग झर्किएको दाबी गरे। भने, 'पैसा सोचेको भए खेलाडी नै हुने थिइनँ। यो मेहनत र समानताको कुरा हो। इन्डिभिजुअलले पाउने भयो तर हामीले त पाएनौं नि। राखेप सचिवलाई सोध्दा त रिसाउनुभयो। जवाफ पनि दिनुभएन। विदेशमा पनि यस्तै हो रे! बाहिर त खेलाडी नै मिलिनियर हुन्छ। १७ वर्ष दु:ख गरेको हामीलाई कसरी मोटिभेसन हुन्छ त?'

मेडल ल्याएर खुशी भएका खेलाडी पुरस्कार घोषणापछि निराश भएको बास्केटबल क्याप्टेन प्रधानको भनाई रह्यो। प्रधानले भने, 'मैले राखेप सचिवलाई प्लानिङ गरेर सोधेको पनि हैन। गोल्ड बाहेक अरुको टिममा कुनै अनाउन्स नभएपछि सोधेको हो। अहिले त बास्केटबलको दुवै टिम डिमोटिभेट भएको छ। मेडल ल्याउँदा खुशी थियौं।'

देशका लागि सबै खेलाडीले पाँच छ महिना परिवारसँग छुटेर तयारी गरे पनि सरकारले भने वेवास्ता गरेको उनले बताए। यस्तो अवस्थामा कसरी अघि बढ्नुहुन्छ त? जवाफमा प्रधानले भने, 'भोलि के हुन्छ। सायद् यस्तो भयो भने धेरै खेलाडी पलायन हुन्छन्।'

रजत र कास्य पदक टिम विजेताको पुरस्कार रकममा अलमल, प्रधानमन्त्रीको जवाफ, 'सानातिना कुरा पछि मिलाउँला'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell