PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

१४ करोड ६७ लाखको शंका कतातिर ? प्रहरी भन्दैछ- बैंक ह्याकिङ नभए कसरी खुस्कियो यति रकम !



सविन ढकाल

१४ करोड ६७ लाखको शंका कतातिर ? प्रहरी भन्दैछ- बैंक ह्याकिङ नभए कसरी खुस्कियो यति रकम !

काठमाडौः अनलाइनमार्फत करोडौं ठगीका आरोपी सार्वजनिक गर्दा महानगरीय अपराध महाशाखाका प्रहरी अधिकारीहरूले भने - 'नेपालका बैंकहरू ह्याकरको निशानामा छन् । हामी अनुसन्धान गर्दैछौं ।' 

महाशाखाले बुधवार अनलाइनमार्फत ठगीमा सक्रिय रहेको अभियोगमा पक्राउ परेका तीन जनालाई सार्वजनिक गर्‍यो।  यी तीन जनाको कनेक्सन बैंक ह्याकरसम्म रहेकाले प्रहरीले नेपाली बैंकका विषयमा बोलेको हो । 'हामीले ह्याक नै गरेको छ भनेको होइन, तर यिनीहरूको कनेक्सन ह्याकर समुहसँग भएकाले ह्याक भएका छन् वा हुनसक्ने भनेका हौं,'  महाशाखाका एसएसपी सहकुल थापाले भने।

पक्राउ पर्नेमा दोलखा फुलपाका ५२ वर्षीय रमेश खड्का, नवलपरासी रामग्रामका ३७ वर्षीय विशेश्वरप्रसाद तिवारी र संदीप कलवार छन्। खड्काको १० वर्षदेखि गत असोजमा कृषि विकास बैंक र पानस रेमिटको रकम लुट मुख्य योजनाकार पिटर हर्मन एसेन्जासँग सम्पर्क भएको देखिएको छ।

ठमेलमा होटल तथा रेस्टुरेन्ट व्यवसाय गरेर बसेका उनको सन् २०१० मा नाइजेरियन भनिएका पिटर हर्मनसँग चिनजान भएको थियो। पिटर नेपाल आउँदा खड्काको होटेलमा बसेका थिए, त्यसैबेलादेखि चिनजान भएको थियो ।

पिटर नेपालमा आएको समयमा उनीहरू बीच लुटको योजना बनेको प्रहरीको अनुसन्धानमा देखिएको छ। पिटर तिनै हुन्, जसले गत असोजमा कृषि विकास बैंक लुट प्रकरण मच्चाएका थिए। पिटरकै योजनामा कृषि विकास बैंक लहान शाखाका कर्मचारीका युजर आइडी प्रयोग गरेर ४ करोड ६३ लाख रूपैयाँ ट्रान्सफर गरिएको थियो।

त्यस्तै प्रहरीले नवरपरासीबाट पक्राउ गरेका संदीप कलवार भने मनि एक्सचेन्जर संचालक हुन्। उनी खड्काका सहयोगी हुन्। अनलाइन ठगीमार्फत खडकाको एकाउन्टबाट १४ करोड ६७ लाख रूपैयाँभन्दा बढी कारोबार भएको देखिएको छ। कारोबारको रकम उनले विदेशमा पठाइसकेका छन्। प्रहरीलाई अर्को बैंक ह्याकिङको शंका खड्काको एकाउन्टमा देखिएको कारोबार पनि हो। 'करौडौं रकम ठगी गरेर मात्र आएको हो कि होइन भन्ने स्पष्ट छैन,' एसएसपी थापाले शंका व्यक्त गरे, 'कतै ह्याकिङ र बैंक लुटको पनि हो कि भन्ने हो।'

पिटरले नेपाली र भारतीय नागरिकलाई प्रयोग गरेर बैंक ह्याकिङ तथा अनलाइन ठगी गरेको खुलेको छ। नेपालीलाई मात्र ४० जना एजेन्ट बनाएको देखिएको छ। ती एजेन्टलाई १५ देखि २० प्रतिशत कमिसन दिएर अरू पैसा बिभिन्न माध्यमबाट अन्यत्र ट्रान्सफर गरेको खुलेको छ । अहिलेसम्म धेरै रकम ठगिनेमा सपना नाम गरेकी युवती मात्र छिन्।

उनको मात्रै २४ लाख ४० हजार रूपैयाँ ठगिएको छ। प्रहरीमा अहिलेसम्म १५ जनाले उजुरी दिएका छन्। उजुरीको संख्या र खड्काको एकाउन्टबाट भएको कारोबारको रकमको तुलना गर्दा बैंक ह्याकिङतिर प्रहरीको शंका छ।

'हामीले सबै बैंकमा जानकारी दिएका छौं, तर बैंकहरूले हाम्रोबाट रकम लुटियो भन्ने जानकारी दिन चाहेका छैनन्,' एक अनुसन्धान अधिकारीले भने, 'उनीहरूमा आफ्ना सेवाग्राहीमा बीच संस्थाको छवि बिग्रिने डर छ भन्ने बुझियो।' कुनै पनि वित्तीय संस्थाबाट रकम चोरी वा ह्याकिङको खबर बाहिरिने बित्तिकै बजार बिग्रिने सम्भावना रहन्छ । त्यसैले बैंकहरूबाट अपेक्षित सहयोग नपाएको गुनासो अनुसन्धानमा संलग्नहरू अधिकारीहरूको छ ।

प्रहरीले तीन जनाको एकाउन्टबाट १४ करोड ६७ लाख रूपैयाँको ट्रान्जेक्सन भएको तथ्य फेला पारेको छ। बैक अफ काठमाडौं, प्रभु, मेगा, हिमालयन, सनराइज, सिटिजन्स, नबिल, माछापुछ्रे, एसबीआइ, नेपाल बंगलादेश, ग्लोबल आइएमइ, एनआइसी एसिया, स्ट्यान्डर्ड चार्टर्ड, एनएमबी, सिद्धार्थ र लक्ष्मी बैंकबाट कारोबार भएको देखिन्छ।

हालसम्म १७ वटा बैंकबाट ट्रान्जेक्सन भएको देखिएको रकम ठगीको मात्र हो या ह्याकरले बैंक ह्याकिङबाट झिकेको भन्ने पुष्टि भइसकेको छैन। अहिलेसम्म कृषि विकास बैंक र पानस रेमिट ह्याक भएर रकम झिकिएको भने पुष्टि भइसकेको छ।

स्मिथ मोरिस, पिटर, भारतीय नागरिक आरभी वर्मा र कृषि विकास बैंक लुट प्रकरणमा जोडिएका बैंकका कर्मचारी विजयकुमार साह र चन्द्र बुढाको सम्पर्क भएको देखिन्छ। साह र बुढाले भारतीय नागरिक मन्ताज भन्नेसँग भेटसमेत गरेको खुलेको छ।  त्यस्तै पिटर नाइजेरियन नागरिक भएको भनिए पनि उनी भारतमा बसेर ठगी धन्दा गर्दै आएको खुलेको छ।

भारतीय प्रहरीले पिटरका केही भारतीय समुहलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। ' इण्डियन पुलिसले केहीलाई समातेको छ। उनीहरूको ह्याकिङमा संलग्नता देखिएको छ,' एक प्रहरी अधिकृतले भने।

नेपाल प्रहरीको नियन्त्रणमा रहेका खड्काको खाता पिटर समेतले प्रयोग गर्ने गरेको अनुसन्धानबाट खुलेको छ। खड्कामार्फत नै पिटरले नेपालमा एजेन्ट बनाएर पैसा विदेश पुर्‍याउने गरेको महाशाखाका एसएसपी थापाको दाबी छ। हालसम्म ४० जना नेपाली एजेन्ट भएको अनुसन्धानमा देखिएको छ। यति धेरै संख्यामा एजेन्ट बनाउनुले पनि अनुसन्धानका तथ्यले नेपालमा रहेका बैंक ह्याकिङतर्फ संकेत गरेको प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

स्मिथको योजना सपनाको साथ : २० हजार पाउण्डस्टर्लिङको लोभमा गुम्यो २४ लाख



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell