२९ नोभेम्बर।
दुबईको झिलीमिलीले तिरीमिरी भइरहेको छु। बिहान ३ बजेतिर सुतेकाले छिटो उठ्न सक्ने कुरा पनि भएन।
निद्रा खुल्नसाथ मोबाइल हेरेँ - ११ बजेछ। अरुतिर हेरेँ - सात भाइ गजबले निदाइरहेका छन्।
आज शुक्रवार। यहाँ सरकारी बिदा। निजी कम्पनीले पनि धेरैलाई बिदा दिने रहेछन्।
यही मौकामा नेपालीहरुले पनि विभिन्न कार्यक्रम आयोजना गर्ने।
दुबई पुग्नसाथ मलाई यस्तै एउटा कार्यक्रममा आतिथ्यताको निम्तो आइसकेको थियो।
काभ्रे सेवा समाजका अध्यक्ष दिल तामाङले दुबई पुगेकै दिन निम्तो थमाएका थिए।
अनाथ बालबालिकाका लागि काभ्रे कल्याणकारी कोष स्थापना गर्ने उद्देश्यका साथ साँस्कृतिक कार्यक्रम आयोजना गरिएको रहेछ। नेपालबाट सेलो गायक विशाल काल्तान र लोक दोहोरी मोडल रीना थापा निम्त्याइएका। काभ्रे सेवा समाजले यसअघि पनि यस्तै कार्यक्रम गर्दै आएको रहेछ। यो चौथो पटकको अधिवेशन पनि। संस्थाले काभ्रेमात्र हैन नेपालमा विभिन्नखाले समस्या आइपर्दा सहयोग गरेको फेहरिस्त सुनाएका थिए अध्यक्ष लामाले।
कार्यक्रमको सेड्युल हेरेँ। ४ बजेपछि रहेछ। त्यसपछि म फेरि ढल्किएँ ओछ्यानमै। मजाले निदाएछु। पछि भीम भाइले झक्झकाए। एक बजिसकेछ।
हामी कपाल कटाउन ओर्ल्यौ। तर, सैलनु बन्द। कपाल काट्ने शुल्क - २५ दिराम, झन्डै ८०० नेपाली रुपैयाँ।
कपाल नकाटी हामी खानपिनका लागि केही सामान लिएर १०१० मा उक्ल्यौं। भवन १८ तलाको रहेछ। प्रत्येक तलामा १२ कोठा। त्यहाँ बस्नेका स्विमिङ पुल, जिम हल, फेमेली ओपन स्पेस। बाहिर पकाएर खाने बस्ने ठाउँ। साउनाको पनि व्यवस्था। तिनै भवन वरपरको सफा होस् भनेर अगाडि ठुलो पोखरी पनि झन्डै कमलपोखरी जत्रै।
पोखरी हेर्दै खान खाएपछि हामी लाग्यौं बर दुबईतिर। क्लब एभरेस्टमा काभ्रे सेवा समाजको कार्यक्रम शुरु हुन लागेको जानकारी आयो।
त्यहाँ पुग्न ट्याक्सी लियौं। घाम लागिरहेको थियो। बाटो निकै सफा। जुन भवन देखिए पनि चिटिक्क परेको। कतै 'नेसनल डे नजिकिएकाले चिटिक्क पारेका त हैनन्, हाम्रो काठमाडौंमा जस्तै?
नौ वर्षदेखि दुबईमा रहेका भीमलाई सोधेँ।
'सदाबहार यस्तै हो,' उनले सुनाए।
सानो सानो घर पनि देखेँ। दुबई आइपुगेपछि ठूला र अग्ला घरमात्र दिमागमा सेट भएको थियो। चिटिक्क परेका साना घर रेसिडेन्सियल एरियाका रहेछन्। त्यहाँ स्थानीय बासिन्दा बस्छन् रे! अग्ला घर, होटल र पर्यटकीय क्षेत्र।
हाम्रो कुरा सुनेपछि गफिँन थाले ट्याक्सी ड्राइभर पनि। भारतीय रहेछन्। एक वर्ष भएछ त्यहाँ काम थालेको।
'दुबई आएको कति भयो?' मलाई सोधे उनले।
भर्खर तीन दिन।
'अरे…!' उनी अचम्म परे।
घुम्न आएको भन्दा झनै पत्याएनन्। अनि पत्रकार हुँ भनेपछि मात्र केही पत्याए झै गरे।
भने, 'अरे ओ सच हे तो ए लेखो कि नेपाली लोगोको दारु कम पिओ।'
ती चालकका अनुसार नेपालीहरु धेरै मेहनत गर्छन्। तर, कमाएको पैसा रक्सीमै सकाउँछन्। त्यसैले यस्ता विषयमा कम खर्च गरे राम्रो हुने भनेर सुझाउँदै थिए।
अरुले पनि खान्छन् त रक्सी?
'नेपालका लोग दारुमे पैसा वेस्ट करता है। सब लोग मेहनत कर्ता हे। दारु भि पिता हे। मगर ठीक से पिता तो अच्छा होगा न।'
होटलमा र रक्सीमा धेरै पैसा खर्च गर्दा मेहनत खेर जाने उनको तर्क थियो।
बर दुबईमा नेपालीहरु किन धेरै बस्छन्?
उनी भन्दै थिए, 'सब लोग अपना अपना एरिया डिभाइड किया है। सत्वामा फिलिपिनी। बेजाडमा इन्डियान लोग।'
हामी गफैगफमा होटल एभरेस्ट पुग्यौं।
'कार्ड और क्यास?' उसले सोध्यो।
हामीले क्यास नै दियौं।
होटल एभरेस्टमा कार्यक्रम शुरु भयो। अतिथिहरुलाई स्वागत भयो। त्यसपछि काभ्रे सेवा समाजका पदाधिकारीले स्वागत मन्तव्य राखे। दोस्रो चरणमा साँस्कृतिक कार्यक्रम हुन लागेको थियो डा दिनेश आचार्यले केही मन्तव्य राख्ने भन्दै माइक मागे।
उनले नेपालीहरु ८०० दिराममा तल्लो स्तरमा काम नगर्न समेत सुझाव दिँदै थिए। त्यसैगरी उनले नेपालीलाई 'लभ डाँडा'मा गएर रक्सी खाएर नलड्न सुझाव समेत दिए। यसरी उनले कार्यक्रममा एक किसिमको भरङ्ग हुने विषय उठाए।
डा दिनेशले रक्सी खाएर नलड्न दिएको सुझाव भने भारतीय चालकको भनाईसँग मिल्यो। कम तलबमा काम नगर्न दिएको उनको सुझाव पनि सहि नै देखिन्थ्यो। पछि थाह पाएँ उनी यही क्लब एभरेस्टका लगानीकर्ता पनि रहेछन्। यहाँ अरु ठाउँमा पनि रहेछ, उनको लगानी। नेपालीलाई सहि ठाउँमा लाग्न र मेहनत गर्न दिएको उनको सुझाव गजबै थियो।
डाक्टर दिनेशले उल्लेख गरेको लभ डाँडाले भने मेरो मन तान्यो। लभ डाँडाको रहस्य के हो?
लभ डाँडा साँच्चिकै रमाइलै छ रे! दुबईको बर दुबई नेपालीहरु भेट्न सजिलो ठाउँ रहेछ। यता लभ डाँडा चाहिँ माया पिरतीमा जम्नेहरुका लागि लोकप्रिय रहेछ। शुक्रवारको साँझ यो डाँडा झनै रमाइलो हुने।
विशाल काल्तानको प्रस्तुती चलिरहेको थियो। मोडल रीना थापा कम्मर मर्काउँदै थिइन्। कार्यक्रम नसकी हामीलाई जान पनि सकस पर्यो। कार्यक्रम सकिन लाग्दा नयाँ कार्यसमिति चयन भएको घोषणा भयो - दिल लामाकै अध्यक्षतामा। यसअघि पनि उनी नै थिए अध्यक्ष। साँझ आठ बजे कार्यक्रम सकियो।
त्यसपछि हामी लभ डाँडा चर्न निस्किँदैछौं।
हामी त्यहाँको अर्थ मन्त्रालय हुँदै पार्कतिर जाँदैछौ। युएईको सेन्ट्रल बैंक छेवैमा रहेछ। अन्तराष्ट्रिय बैंकहरु पनि प्रशस्त रहेछन् यही क्षेत्रमा।
केही बेरमा पैदलै अल गुबैबा भन्ने ठाउँ पुगियो। हामी पार्कतिर पस्दैछौं।
पार्क पस्नेबित्तिकै डाक्टर दिनेशले भने जस्तै पात्र भेटिए।
'जाउ न भनेको,' दुई जनाले यसो भन्दै उनलाई तान्दै थिए। तर, ती व्यक्ति अररिएर भुइँमा लडिरहेका थिए। भुई दुबोले चिटिक्क सजिएको थियो। वरपट चट्ट परेका बुट्यानको सानो पर्खाल पनि। त्यही बुट्यानमुनि लडेका नेपाली।
लडिरहेका व्यक्ति वरिपरि अरु पाँच जना पनि थिए।
'उनलाई यहीँ सुताएर गए भै'गो नि, किन यसरी रगरग गरेको?' मेरो सुझाव।
त्यहाँ अरु भन्दै थिए, 'छुट्टीमा रमाइलो गरौं भनेर आएको पुग्नुपर्ने टाढा छ। अहिले नलगे त उसैलाई पछि गाह्रो हुन्छ।'
उसलाई उठाउन मुश्किल भइरहेको थियो। त्यहाँ हेरिरहन सकेनौं। अनि लाग्यौं पार्कतिर। मधुरो लाइट छ। बस्ने ठाउँहरु चिटिक्क। ती ठाउँमा प्राय: नेपाली नै लाग्ने लभ जोडीहरु गफिरहेका।
हाम्रै नजिक पनि एक जोडीलाई चटपटे सर्भ गरिरहेका छन्। हिन्दी बोल्ने उनी सायद भारीतय नै हुनुपर्छ। उनको साइकलमा चिया, चटपटेदेखि खाजा। हामीले पनि चिया माग्यौं। २ दिराम एक कप चियाको।
'चिया, चटपटे,' भन्दै उनी साइकल चढेर अर्कै जोडी भएकोतिर दौडिए।
अलिकती पर देखियो - लभ डाँडा। एक दुईमिटर आग्लो ठाउँलाई डाँडा रे! डाँडाकै बेइज्जत।
लभ डाँडा पुग्दा रातको १० बज्दै लागेको थियो। लभ गर्नेहरु फर्किसकेछन् क्यारे! कोही भेटिएनन्।
बरु दुई जना युवा गफ गरिरहेको भेटेँ। उनीहरुसँग एकैछिन कुराकानी भयो। बुटवलतिरको मगर भन्दै थिए। पूरा नाम भनेनन्। लठ्ठलठ्ठ जस्तै देखिन्छ दुवै।
रात पर्दै जाँदा भोक पनि बढेको थियो। त्यहाँबाट खाजा खोज्दै निस्क्यौं हामी।
'बसौ, बसौ' एकैछिनमा सडक पेटी छेवैको क्याफेमा एक जनाले भनिहाले। भोक लागिरहेको थियो। त्यसमाथि नेपाली स्वरको स्वागत। हामी त्यही क्याफैमा पस्यौं। अनि एभोकाडोको जुस र रोटीको रोल मगायौं। अर्खाखाँचीका रहेछन्। नाम बाहिर वेस्ट कोटमा लेखिएको थियो - शालिक राम। दुई वर्षयता दुबईमा।
हिजो राति नसुतेकाले होला, अहिले निद्राले च्याप्न थाल्यो। त्यसपछि म हतारिएँ। अनि रेल हुँदै बस चढेर रुम पुगियो, राति १२ बजेतिर।
सम्बन्धित समाचार